ओली सरकारले बढायो सार्वजनिक यातायातको भाडा (सूचीसहित) | Khabarhub Khabarhub

ओली सरकारले बढायो सार्वजनिक यातायातको भाडा (सूचीसहित)

मालबाहक सवारी साधनको पनि भाडा बढ्यो


२२ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


7.5k
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– केपी शर्मा ओली नेतृत्वको सरकारले देशभरिका सार्वजनिक यातायातको भाडा बढाएको छ । सरकारले मालबाहक सवारी साधानको पनि भाडा बढाएको छ ।

यात्रुबाहक सवारीको भाडा ३.३० प्रतिशत बढेको छ भने पहाडी बाटोमा चल्ने मालबाहक सवारीको भाडा ०.८३ प्रतिशत बढेको छ । तराईको बाटोमा चल्ने मालबाहक सवारीको भाडा ०.०५ प्रतिशत बढेको छ ।

इन्धनको अंश ३५ प्रतिशत र अन्य सूचकहरुको अंश ६५ प्रतिशत मानेर सरकारले भाडा समायोजन गर्दै आएको र सोही अनुरुप भाडा बढाइएको यातायात व्यवस्था विभागले जनाएको छ ।

बढेको भाडादर पुस २२ गते सोमबारदेखि नै लागू हुने जनाइएको छ ।

यस्तो छ देशभरिका सवारी साधनको नयाँ भाडादर (लिंकमा क्लिक गर्नुहोस्)

संघीय राजधानी काठमाडौंबाट सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीको सडक दूरी ६८८ किलोमिटर छ । काठमाडौंबाट धनगढी बसमा यात्रा गर्ने यात्रुले अब कम्तीमा २०११ देखि २८९५ रुपैयाँ भाडा तिर्नुपर्ने भएको छ । 

सरकारले सोमबारदेखि वृद्धि गरेको भाडादर अनुसार काठमाडौंबाट धनगढी जाने यात्रुले नर्मल बसमा २०११ रुपैयाँ, डिलक्स बसमा २४१३ रुपैयाँ र सुपर डिलक्स बसमा २८९५ रुपैयाँ तिर्नुपर्ने भएको छ । 

भाडादर वृद्धि हुनुअघि सरकारले गत २०८० साउन ३१ मा काठमाडौं–धनगढीको एकतर्फ भाडा १९४६ रुपैयाँ तोकेको थियो । 
काठमाडौंबाट पश्चिमी सीमान्त सहर महेन्द्रनगर (कञ्चनपुर) पुग्न यात्रुले २०१७ देखि २९१९ रुपैयाँ भाडा तिर्नुपर्ने छ । यसअघि काठमाडौं–महेन्द्रनगरको भाडादर १९६२ रुपैयाँ तोकिएको थियो । 

वृद्धि भएको भाडादरअनुसार महेन्द्रनगर जाने यात्रुले नर्मल बसमा २०२७ रुपैयाँ, डिलक्स बसमा २४३२ रुपैयाँ र सुपर डिलक्स बसमा २९१९ रुपैयाँ खर्च गर्नुपर्ने छ । 

काठमाडैंबाट पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरा जाने यात्रुले नर्मल बसमा २३६९, डिलक्स बसमा २८४२ र सुपर डिलक्स बसमा ३४११ रुपैयाँ भाडावापत दिनुपर्ने छ । काठमाडौंबाट ७७३ किलोमिटरको दूरीमा रहेको डडेल्धुराको यसअघि २२९३ रुपैयाँ बसभाडा निर्धारण गरिएको थियो । 

यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापा जान काठमाडौंबाट कम्तीमा १८०२ रुपैयाँ देखि बढीमा २५९५ रुपैयाँ लाग्ने भएको छ । यसअघि काठमाडौंबाट झापा (कुमारखोद) सम्मको भाडादर १७४४ रुपैयाँ कायम थियो । काठमाडौंदेखि कुमारखोज (झापा)को दूरी ६१५ किलोमिटर रहेको छ । 

वृद्धि भएको भाडादरअनुसार काठमाडौंबाट नर्मल बसमा जाने यात्रुले अब १८०२ रुपैयाँ, डिलक्समा यात्रा गर्ने यात्रुले २१६२ रुपैयाँ र सुपर डिलक्समा यात्रा गर्ने यात्रुले २५९५ रुपैयाँ भाडावापत बस व्यवसायीलाई बुझाउनुपर्ने भएको छ ।     

यातायात वयवस्था विभागले भाडादर वृद्धिबारे जारी गरेको सूचनाअनुसार डिलक्स सुविधा लिएका र सुपर डिलक्सको सुविधा लिएका यात्रुवाहक सवारी साधनले निर्धारित भाडादरमा २० प्रतिशत थप रकम लिन सक्ने उल्लेख छ । 

‘डिलक्स सुविधा लिएका जुनसकै प्रकारका यात्रुवाहक सवारी साधन (ब्लु बुकमा यातायात व्यवस्था विभाग अन्तर्गत भीएफटीसी कार्यालयहरूबाट डिलक्सको सुविधा लिएको प्रमाणित भएको) ले तोकिएको भाडादरमा २० प्रतिशत रकम थप गरी लिन सक्ने र सुपर डिलक्सको सुविधा लिएका जुनसुकै प्रकारका यात्रुवाहक सवारी साधनले (ब्लु बुकमा यातायात व्यवस्था विभाग अन्तर्गत भीएफटीएस कार्यालयहरूबाट सुपर डिलक्सको सुविधा लिएको प्रमाणित भएको) डिलक्सको भाडादरमा २० प्रतिशत रकम थप गरी लिन सक्ने,’ सूचनामा भनिएको छ ।

प्रकाशित मिति : २२ पुस २०८१, सोमबार  ६ : ११ बजे

सशस्त्र प्रहरीका चार डीआईजीको पदावधि थप गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं – मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका चार प्रहरी

पशुपतिनाथमा धनुर्मास पूजाको तयारी पूरा

काठमाडौं – सूर्य धनु राशिमा रहेका बेला पशुपतिनाथ मूल मन्दिरमा

शीतलहर प्रभावितलाई एकद्वार प्रणालीमार्फत कम्बल वितरण गरिने

पर्सा – जिल्ला प्रशासन कार्यालय पर्साले जाडोयाममा शीतलहरबाट प्रभावित हुने

चिसो बढेपछि विद्यालय बन्द

रौतहट – केही दिनदेखि हुस्सु र चिसो सिरेटोसँगै बढेको जाडोका

सोलुखुम्बुमा भूकम्पले एक सरकारीसहित आठ घरमा क्षति

सोलुखुम्बु – आज बिहान आएको भूकम्पले सोलुखुम्बुमा एक सरकारीसहित आठ