चितवन अदालतले पनि भन्यो- प्राप्त प्रमाणका आधारमा रवि निर्दोष छन् भन्ने अवस्था रहेन « Khabarhub

चितवन अदालतले पनि भन्यो- प्राप्त प्रमाणका आधारमा रवि निर्दोष छन् भन्ने अवस्था रहेन


२४ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


765
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सहारा सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई चितवन जिल्ला अदालतले ५४ लाख धरौटी लिएर छाड्न आदेश दिएको छ ।

बिहीबार जिल्ला अदालत चितवनका न्यायाधीश दयाराम ढकालको इजलासले रविलाई उक्त रकम बराबरको धरौटी लिएर रिहा गर्न आदेश दिएको हो । तर अदालतले रविलाई अहिले नै निर्दोष भन्न नसकिने पनि उल्लेख गरेको छ ।

बिहीबार साहारा चितवन सहकारीको बचत रकम ठगी प्रकरणमा न्यायाधीश ढकालको इजलासले लामिछानेलाई ५४ लाख धरौटीमा छाड्न आदेश दिएको चितवन जिल्ला अदालतका श्रेष्तेदार बिष्णु प्रसाद आचार्यले जानकारी दिए ।

लामिछानेले यस अदालतमा बयान गर्दा आफू निर्दोष रहेको भनी कसूरमा इन्कार गरे पनि प्राप्त प्रमाणका आधारमा कसुरमा संलग्नता नरहेको भनी अहिले नै भन्न सकिने अवस्था देखिएको आदेशमा उल्लेख रहेको आचार्यले बताए ।

‘…जाहेरवालाहरूको किटानी जाहेरी परेको, मौकामा अनुसन्धान अधिकारीसमक्ष सहप्रतिवादीहरू छविलाल जोशी र कुमार रम्तेलले यी प्रतिवादी रवि लामिछानेलाई समेत पोल गरी बयान गरेको, मौकामा घटना विवरण कागज गर्ने मानिसहरू शैलेन्द्र रेग्मी, अर्जुन श्रेष्ठ समेतका मानिसहरूको भनाइ तथा मूल मिसिल संलग्न बरामदी मुचुल्कासमेतका उल्लिखित तत्काल प्राप्त प्रमाणका आधारमा यी प्रतिवादी रवि लामिछानेको दाबीको कसुरमा संलग्नता नरहेको भनी अहिले नै भन्न सकिने अवस्थाको विद्यमानता नरहेकाले पछि मुद्दामा थप प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी तत्काल निज प्रतिवादी रवि लामिछानेबाट मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ बमोजिम ५४ लाख रुपैयाँ धरौट वा जमानत वा बैंक जमानत लिनू,’ न्यायाधीश ढकालले जारी गरेको आदेशमा उल्लेख छ ।

यसअघि कास्की, काठमाडौं र रुपन्देही जिल्ला अदालतले पनि रविलाई अहिलेकै अवस्थामा कसुरदार नरहेको ठहर गर्न नसकिने उल्लेख गरेका थिए । चितवनसहित चारै अदालतले रविमाथि अनुसन्धान हुँदै जाँदा थप प्रमाणका आधारमा अन्तिम निर्णयका बेला थप आदेश हुन सक्ने भनेका छन् ।

सहारा सहकारीको ३८ करोड ९ लाख रुपैयाँ ठगी गरेको आरोपमा लामिछानेसहित ३२ जनाविरूद्ध मंगलबार मुद्दा दायर भएको थियोसाहारा चितवन सहकारी ठगी प्रकरणको मुद्दामा थुनछेक बहसपछि न्यायाधीश दयाराम ढकालको इजलासले उनलाई ५४ लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको थियो ।

लामिछाने संलग्न उक्त मुद्दामा सरकारको तर्फबाट सरकारी वकिलहरु रवि न्यौपाने, शम्भुकुमार बस्नेत, दशरथ पंगेनी, भोलानाथ निरौला, बुद्धबहादुर थापा, अमृत सुवेदीलगायतले बहस गरेका थिए । पीडितको तर्फबाट वरिष्ठ अधिवक्ताहरू डा.सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठीलगायतले बहस गरेका थिए ।

कास्कीस्थित पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पुस २५ गते ६५ लाख, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा माघ २ गते ६० लाख र बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा माघ १३ गते एक करोड धरौटीमा रवि रिहा भएका थिए । अब लामिछानेविरुद्ध पर्सामा सानो पाइला सहकारी प्रकरणकोझ ठगी मुद्दा अघि बढ्नेछ ।

प्रकाशित मिति : २४ माघ २०८१, बिहीबार  ७ : २२ बजे

चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी पुनः सुरु भएको छ

दसैँको बक्सअफिसमा चार स्टारको भिडन्त, कसले मार्ला बाजी ?

काठमाडौँ– नेपाली चलचित्रका लागि दसैँ केवल चाडपर्वको समय होइन, बक्सअफिसमा

अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्दै

लमजुङ– बाढीपहिरो र हिमपातका कारण प्रभावित बनेको अन्नपूर्ण चक्रीय पदमार्गमा

चार देशमा प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको संसदीय सुनुवाइ समितिको बैठक आज

विश्वासको शिर कहिल्यै झुक्ने छैन : कांग्रेस उपसभापति भण्डारी

काठमाडौंँ– नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति डा. चन्द्रकान्त भण्डारीले आफूलाई विश्वास