बारम्बर किन उठ्छ बाँके र बर्दियालाई कर्णालीमा गाभ्ने बहस ? | Khabarhub Khabarhub

बारम्बर किन उठ्छ बाँके र बर्दियालाई कर्णालीमा गाभ्ने बहस ?


२२ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – गत शनिबार बाँकेको कोहलपुरमा आयोजित तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप–२०८१ को उद्घाटन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बाँके र बर्दिया कर्णालीमा गाभ्न नसकिने जिकिर गरे ।

‘यस क्षेत्रका जनप्रतिनिधिले समय–समयमा बाँके र बर्दियालाई कर्णालीमा गाभ्ने कुरा गर्नुहुन्छ, कर्णालीमा जान्छौँ भनेर बार्गेनिङ गर्नुहुन्छ, जुन कुरा गलत हो, यो कुरा प्रदेश सरकारलाई सह्य हुँदैन,’ उनले भने, ‘बाँके र बर्दियालाई पायक पार्न प्रदेश राजधानी बुटवलबाट दाङको भालुवाङ ल्याऔँ, अब तपाईंहरूले कर्णालीमा गाभिन्छौँ भनेर बार्गेनिङ गर्न मिल्दैन ।’

८ साउन २०८१ मा प्रतिनिधिसभाको बैठकमै नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले बाँके र बर्दियालाई कर्णाली प्रदेशमा राख्न माग गरेका थिए । प्रतिनिधि सभाको शून्य समयमा बोल्दै बर्दियाबाट निर्वाचित सांसद गौतमले गठबन्धनले संविधान संशोधन गर्ने सहमति गरेको भन्दै त्यसो गर्दा बाँके र बर्दियालाई कर्णालीमा गाभ्न गरेका थिए ।  

सांसद गौतम मात्र होइन, बाँके र बर्दियाबाट प्रतिनिधिसभामा एमालेका सांसद सूर्य ढकाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका धवलशमशेर राणाले विगतदेखि नै बाँके र बर्दियालाई कर्णालीमा गाभिनुपर्ने बताउँदै आएका छन् । 

आर्थिक, भौगोलिक, सामाजिक र सांस्कृतिक हिसाबले बाँके र बर्दिया कर्णाली प्रदेशसँग नजिक रहेकाले यिनलाई कर्णालीकै जिल्ला बनाउनुपर्ने उनीहरूको भनाइ छ । 

सांसद राणा नेपालगन्ज उपमहानगरपालिका प्रमुख हुँदा नै बाँके-बर्दियालाई कर्णालीमा गाभ्ने गरी २०७७ सालमै नगर सभाबाट निर्णय गराएका थिए । त्यस्तै, कोहलपुर नगरपालिकाको २०७७ सालको सातौँ नगर सभाबाट कर्णाली प्रदेशमा गाभ्नुपर्ने निर्णय सर्वसम्म पारित भएको थियो । 

शनिबार पनि लुम्बिनीका मुख्यमन्त्री आचार्य कर्णालीमा गाभ्ने विषयमा बार्गेनिङ गरेको भनिरहँदा कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले लुम्बिनी प्रदेश सरकारले सुरुदेखि नै बजेटमा विभेद गरेको बताइरहेका थिए । 

यो बहसको सुरुवात संविधान निर्माणका क्रममा प्रमुख चार दलका नेताहरू संलग्न विशेष समितिले २०७२ को साउन २३ गते ६ प्रदेशको खाका सार्वजनिक गर्‍यो । जसमा सुदूरका ९ तथा मध्यपश्चिमाञ्चलका १० जिल्ला समावेश गरेर एउटै प्रदेशको खाका थियो बाँके र बर्दियाबाहेक । 

सार्वजनिक खाकाको असहमति जनाउँदै साविकका भेरी र कर्णाली अञ्चलमा ‘अखण्ड मध्यपश्चिम’ आन्दोलन भयो । साविकको मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा राप्ती, भेरी र कर्णाली अञ्चलका पन्ध्र जिल्ला थिए । भेरी र कर्णालीका १० जिल्लालाई छुट्टै अर्को प्रदेशमा राख्न माग गर्दै १३ दिनसम्म चलेको आन्दोलनमा सुर्खेतका यामबहादुर बीसी, टीकाराम गौतम, गोपालसिंह जबरा र जुम्लाका हरिबहादुर कुँवरको साहदत भयो ।

त्यसपछि मात्रै छुट्टै प्रदेशको खाका तयार गरियो । ‘अखण्ड मध्यपश्चिम’ आन्दोलनमा बाँके र बर्दिया लुम्बिनी प्रदेशमा गाभिए । यो आन्दोलनमा उनीहरू छुटे । राप्ती अञ्चलका रुकुम पश्चिम र सल्यानलाई मिलाएर साविक कर्णाली अञ्चलका पाँच जिल्ला भेरी अञ्चलका तीन जिल्ला गाभेर छुट्टै प्रदेश बन्यो । सबैभन्दा कान्छो सातौँ प्रदेश ।  ‘अखण्ड मध्यपश्चिम’ को आन्दोलन पनि रोकियो । 

फाइल तस्वीर

व्यापारिक सम्बन्ध

बाँके र बर्दियालाई कर्णालीमा गाभ्नुपर्छ भन्ने बहस हुनुका धेरै कारण छन् । धेरै कारणमध्ये एउटा व्यापारिक हो । कर्णाली प्रदेशको पुरानो व्यापारिक केन्द्र नेपालगन्ज र कोहलपुर हुन् । सडक सञ्जालले नछुँदासम्म हटारुबाट व्यापार त्यहीँ हुन्थ्यो । अहिले कर्णाली प्रदेशको आयात सबैभन्दा बढी कोहलपुर र नेपालगन्जबाट हुँदै आएको छ । सडक सञ्जाल बनेपछि नेपालगन्जलाई केन्द्रबिन्दु मानेर खनिएका छन् कर्णाली प्रदेशका दुई सडक । कोरिडोरमध्ये दुवैको मुख्य बिन्दु नेपालगन्ज हो ।

पहिलो, नेपालगन्ज, सुर्खेतको छिञ्चु, सल्यान, जाजरकोट, रुकुम पश्चिम भएर डोल्पा हुँदै चीनको मोरिल्ला जोड्ने भेरी करिडोर । अर्को, नेपालगन्ज हुँदै सुर्खेतको बाङ्गेसिमल, दैलेख, कालिकोट, बाजुरा, मुगु, हुम्लाको हुँदै चीनको सिमाना हिल्सा जोड्ने सडक । यिनीहरूको पहिलो आधार नेपालगन्जलाई नै मानिएको छ । 

त्यस्तै, अहिले कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट सङ्घीय राजधानी काठमाडौं जानुपर्दा बाँकेको कोहलपुर नै जानुपर्ने बाध्यता छ । त्यसको विकल्पमा अहिले मदन भण्डारी राजमार्ग बन्दै छ । मदन भण्डारी राजमार्गले सुर्खेत हुँदै दाङ छुन्छ ।

यो सडक खण्ड स्तरोन्नतिको अन्तिम चरणमा छ । यहाँबाट काठमाडौं जाने रात्रिकालीन बस छोटो दूरीबाट छुटाउन थालिएको छ । अर्कोतर्फ कर्णाली प्रदेशबाट सुदूरपश्चिम प्रदेशमा जानका लागि सुर्खेतको बड्डीचौरबाट कर्णालीको चिसापानीसम्मको सडक निर्माण भइसकेको छ । यो सडक सञ्चालन भएमा सुर्खेतबाट कोहलपुर भएर कैलालीसम्म जानुपर्ने दुरी छोटो हुनेछ ।  

यी सडकका कारणले बाँके र बर्दिया जिल्लासँगको व्यापारिक सम्बन्धमा कमी आउन सक्ने आंकलनका कारण बाँके र बर्दियालाई कर्णाली गाभ्ने बहस सुरु भएको हुनसक्ने मध्यपश्चिम विश्वविद्यालयका पूर्वडीन पिताम्बर ढकाल बताउँछन् । 

सामाजिक सम्बन्ध

कर्णालीका हजारौँ मान्छेको बाँके बर्दिया बसाई–सराई रहेको छ । मध्यपश्चिमाञ्चल विकास क्षेत्रको प्रशासनिक केन्द्र, विगतमा लामो सयमदेखिको व्यापारिक केन्द्र, उब्जाउ भूमि, शैक्षिक हिसाबले अगाडी भएको र स्वास्थ्य क्षेत्रमा अब्बल रहेकाणले कर्णालीका हजारौँ बासिन्दाको बसाइँसराइ बाँके र बर्दियामा हुने गरेको थियो ।

तर, अहिले यी संरचनाहरू कर्णालीमा बनेका छन् । प्रशासनिक संरचना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, मध्यपश्चिम विश्वविद्यालय सुर्खेत, प्रदेश अस्पताल लगायतका संरचना कर्णालीमा नै भएकाले बसाइँसराइ रोकिएको छ । 

विगतमा प्रशासनिक काम गर्न जाँदा, बिरामी उपचारमा, अध्यापन गर्न, किनमेल गर्न र अन्य कारणले जाँदा आफन्त भेटिने गरेका थिए । लुम्बिनीतिर त्यस्तो नभएकाले भावनात्मक रूपमा पनि बाँके–बर्दियाले कर्णालीका गाभ्नु पर्ने बहस उठ्ने गरेको हुनसक्ने मध्यपश्चिम विश्वविद्यालयका पूर्वडीन ढकाल बताउँछन् ।

 प्रदेश राजधानीसँग टाढाको दुरी

नेपालगन्ज र कोहलपुरबाट कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आउन करिब दुई अढाई घण्टाको दूरी छ । त्यहाँबाट लुम्बिनी प्रदेशको राजधानी भालुवाङमा जान करिब चार घण्टा लाग्छ । नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाका २०७७ मा बाँके र बर्दियालाई कर्णालीमा गाभ्नुपर्ने निर्णय गर्दा प्रदेश राजधानीसँगको दूरीको विषय उठाएका थिए ।

गत शनिबार कोहलपुरमै भएको तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप–२०८१ को उद्घाटन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले भने, ‘बाँके र बर्दियालाई पायक पार्न प्रदेश राजधानी बुटवलबाट दाङको भालुवाङ ल्याऔँ, अब तपाईंहरूले कर्णालीमा गाभिन्छौँ भनेर बार्गेनिङ गर्न मिल्दैन ।’

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहीबार  ६ : ५६ बजे

शहीद मार्गको बजेट काटेर सरकारले प्रतिशोध साँध्योः वर्षमान पुन

रोल्पा– नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’

पदबाट किन नहटाउने भन्दै सरकारले कुलमानलाई सोध्यो चार बुँदे स्पष्टीकरण

काठमाडौं – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले

फिल्म ‘११ : ५५’को ट्रेलर सार्वजनिक, निर्देशक भन्छन्- फिल्ममा हरेक १५ मिनेटमा सस्पेन्स छ

काठमाडौं – केशव पाण्डेको डेब्यू निर्देशन रहेकाे फिल्म ‘११ :

जनकपुरमै पाङ्ग्रा छुटेको बुद्ध एयरको जहाज काठमाडौं सुरक्षित अवतरण

काठमाडौं – जनकपुरबाट काडमाडौंका लागि उडेको बुद्ध एयरको जहाज अगाडिको

आजका समाचार : भूमिबाहेकका सबै अध्यादेश पास, कुलमानका नाममा दोहोरी र हमास सिद्ध्याउने ट्रम्पको धम्की 

मुलुक अब आत्मनिर्भरताको बाटोमा छ : प्रधानमन्त्रीप्रधानमन्त्री केपी शर्मा ओलीले