गण्डकीको सामाजिक समितिमा माओवादीकी दमयन्ती निर्वाचित « Khabarhub

गण्डकीको सामाजिक समितिमा माओवादीकी दमयन्ती निर्वाचित

एमालेले लेखा समिति नछाड्दा सदनमा झनै कमजोर साबित भयो माओवादी 


२३ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी प्रदेशसभाको सामाजिक विकास तथा कृषि समितिको सभापतिमा नेकपा (माओवादी केन्द्र)की सांसद दमयन्ती रुचाल निर्वाचित भएकी छन् । शुक्रबार समितिमा निर्वाचन तालिका रहेकामा उनको मात्र एकल उम्मेदवारी परपछि रुचाल निर्विरोध भएकी हुन् । 

गत वर्षको जेठमा तत्कालीन सभापति फणिन्द्र देवकोटा मन्त्री नियुक्त भएपछि समिति नेतृत्वविहीन रहँदै आएको थियो । समिति सभापति चयन गर्न प्रदेश सभा नियमावली नै संशोधन गर्नुपरेको थियो । सामाजिक विकास तथा कृषि समिति सभापतिका लागि नेपाली कांग्रेस, एमाले र माओवादीबीच सहमति भएको थियो । 

प्रदेश सभाका ४ समितिमध्ये कांग्रेसले दुई, एमालेले एक र माओवादीले बाँकी एक समितिको दाबी गरेपछि सहमति जुटेको हो । एमालेले लेखा समिति छोड्न अस्वीकार गरेपछि विशेषाधिकार समिति थप्ने प्रस्ताव गरियो, तर सहमति नजुटेपछि माओवादीलाई रिक्त समितिको सभापतित्व दिने सहमति भयो । 

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, एमाले संसदीय दलका नेता खगराज अधिकारी र माओवादी नेता चुमानको छलफलपछि अन्ततः रुचालको उम्मेदवारी निष्कर्षमा पुगेको हो ।

गण्डकी प्रदेश सभाका चारवटै समिति पूर्ण भए पनि सदनमा प्रतिपक्षको उपस्थिति झनै कमजोर हुँदै गएको छ । ६० सदस्यीय प्रदेश सभामा माओवादीका जम्मा ७ सांसद छन्, जसका कारण संसद्देखि संसदीय समितिसम्म प्रभावकारी प्रतिपक्षको भूमिका निर्वाह गर्न सकेको देखिँदैन । 

सार्वजनिक लेखा समिति जस्तो संवेदनशील संसदीय संयन्त्रको नेतृत्व परम्परागत रूपमा प्रतिपक्षले पाउने भए पनि यसपटक एमालेले त्यसलाई छोडेन । बाहिरी भाषणमा एमालेले लेखा समिति छाड्न तयार रहेको बताए पनि भित्री मनसाय भने त्यस्तो थिएन । 

लेखा समिति छाड्नु परे विशेषधिकाकार समिति पाउनुपर्ने अडानमा एमाले थियो । प्रदेशप्रति आलोचना बढिरहेका बेला फेरी अर्को समिति थपेर सुविधा दिँदा नकारात्मक सन्देश जाने भनेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एमालेको प्रस्ताव अस्वीकृत गरिदिएका थिए ।

सत्तारुढ एमालेका सुधीर पौडेल सार्वजनिक लेखा समितिको सभापति छन् भने कांग्रेसले आर्थिक विकास र प्रदेश मामिला तथा कानुन समितिको सभापतित्व पाएको छ । यस्तो अवस्थामा माओवादीले धेरै प्रयास गरे पनि लेखा समिति गुमाउन पुग्यो । अन्ततः एमाले र कांग्रेसबीचको समझदारीले माओवादीलाई सामाजिक विकास तथा कृषि समितिको सभापतिमा चित्त बुझाउन लगाइयो । 

त्यसो त संघीयता कार्यान्वयनको सुरुदेखिनै निरन्तर सत्तमा रहेको माओवादी पोहोर असारमा केन्द्रमा सत्ता गठबन्धन फेरिएपछि गण्डकी प्रदेशमा प्रतिपक्षको भूमिकामा पुगेको हो । अघिल्लो कार्यकालमा एमालेका पृथ्वीसुब्बा गुरुङ र कांग्रेसका कृष्णचन्द्र नेपाली नेतृत्वको सरकारमा पालैपालो सहभागी भइसकेको माओवादी यस कार्यकालको सुरुवातमा पनि केन्द्रको समीकरणअनुसार सत्ता पक्षमै थियो । 

प्रदेशको अंकगणितीय संयोजनमा एमाले र माओवादीले सभामुखलाई समेत गणनामा राखेर सरकार बनाउने प्रयास गर्दा अदालतले त्यसलाई असंवैधानिक ठहर गरिदिएको थियो । 

यसपछि कांग्रेसका सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारले माओवादी र एमालेबिना नै विश्वासको मत प्राप्त गर्‍यो । राप्रपाका दुई सांसद, स्वतन्त्र राजीव गुरुङ (दीपक मनाङे), र माओवादी चुनाव चिह्नबाट निर्वाचित नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटाले पाण्डेलाई समर्थन दिएका थिए ।

गण्डकी प्रदेशसभाको राजनीतिक परिदृश्यले सत्तारुढ गठबन्धनको प्रभावशाली नियन्त्रण र माओवादी केन्द्रको प्रभावहीन प्रतिपक्षीय भूमिकाको प्रतिबिम्ब देखाएको छ । 

रुचालको सभापति चयन माओवादीको सन्तुलन खोज्ने प्रयासका रूपमा देखिए पनि शक्तिशाली अनुगमन संयन्त्र खोसिएको अवस्थामा प्रतिपक्षको प्रभाव घट्दो छ । यसले दीर्घकालीन रूपमा गण्डकी प्रदेशमा लोकतान्त्रिक चेक एन्ड ब्यालेन्सप्रति गम्भीर प्रश्न उठाएको राजनीतिक विश्लेषकहरू बताउँछन् ।

प्रकाशित मिति : २३ जेठ २०८२, शुक्रबार  ५ : १० बजे

पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

मुस्ताङ– हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले

पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको  पर्व ‘क्रिसमस डे’ का

प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड

मोरङ– कोशी प्रदेशमा प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सामुदायिक बीउ

भाँडी खोला क्षेत्रस्थित मेची राजमार्ग अवरुद्ध

ताप्लेजुङ– यहाँको पाथीभरा याङवरक गाउँपालिका–१ भाँडी खोला क्षेत्रस्थित मेची राजमार्गमा

देवघाटलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिँदै

चितवन– देवघाटको धार्मिक क्षेत्रलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिने भएको