प्रधानमन्त्री ओलीसँग ‘वाकयुद्ध’ गरिरहेका बालेनले किन भेटे पूर्वराष्ट्रपति भण्डारीलाई ? | Khabarhub Khabarhub

प्रधानमन्त्री ओलीसँग ‘वाकयुद्ध’ गरिरहेका बालेनले किन भेटे पूर्वराष्ट्रपति भण्डारीलाई ?


२२ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीसँगको सम्बन्ध बिग्रिएर आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटसमेत ल्याउन नसकेको अवस्थामा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् ।

गत बिहीबार पूर्वराष्ट्रपति भण्डारीकै निवास बूढानीलकण्ठको भंगालमा पुगेर बालेन्द्रले करिब आधा घण्टासम्म संवाद गरेको खुलेको छ ।

उक्त भेटघाटको पुष्टि मेयर बालेन्द्रका प्रेस सल्लाहकार सुरेन्द्र बजगाईंले गरेका छन् । ‘मेयर सा’वलाई पूर्वराष्ट्रपतिज्यूबाट बोलावट भएपछि जानु भएको हो’, उनले भने, ‘उहाँहरूबीच पहिलेबाटै राम्रो सम्बन्ध थियो । पुरानै चिनजान पनि भएकाले पूर्वराष्ट्रपतिज्यूले चासो राखेर मेयर सा’वलाई बोलाउनु भएको हो ।’

विगत एक वर्षदेखि प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आक्रमक रहेका बालेन्द्रले पूर्वराष्ट्रपति भण्डारीसँग भेटेर अड्किएको बजेट, पछिल्लो राजनीतिक परिस्थितिसहितका विषयमा कुराकानी गरेको खुलेको छ ।

बालेनलाई भंगाल पुर्‍याउने काम भने काठमाडौं क्षेत्र नम्बर ९ मा नेकपा एमालेका सांसद एवम् पूर्वशिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले गरेको खुलेको छ।

नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरधन राईसमेत भंगालमा पूर्वराष्ट्रपतिसँग छलफलमा रहेका बेला बालेनलाई लिएर कृष्णगोपाल पुगेका थिए । शेरधन पनि अध्यक्ष ओलीको साथ छाडेर पछिल्लो समय भण्डारीतिरै ढल्किरहेका छन् । उनको यो राजनीतिक उचाइमा भण्डारीको ठूलो योगदान छ ।

यद्यपित पूर्वराष्ट्रपति भण्डारीका स्वकीय सचिव राजकुमार राईले भने उक्त भेटघाटबारे औपचारिक रुपमा पुष्टि गर्न चाहेनन् । उनले उक्त भेटघाटबारे आफू बेखबर रहेको जानकारी दिए । ‘पूर्वराष्ट्रपतिज्यूसँगका भेटघाट एकद्वार प्रणालीबाट मात्रै हुँदैनन् । विभिन्न माध्यमबाट भेटघाट भइरहने भएका हुनाले मेयर बालेन भंगाल आउनु भएकोबारेमा मलाई थाहा हुन सकेन’, उनले खबरहबलाई भने ।

तर, पूर्वराष्ट्रपतिनिकट अर्को श्रोतले भने बालेनसँग भेटघाट भएको पुष्टि गरेको छ। स्रोतले उक्त भेटघाटका क्रममा बालेनले पूर्वराष्ट्रपतिलाई सरकारी सेवा-सुविधा त्यागेकोमा बधाई दिँदै खुसी व्यक्त गरेको दाबी गरेको छ ।

यसका साथै बालेन अड्किएको बजेटबारे पनि गुनासो राखेको स्रोतले जनाएको छ । उनले संघीय सरकारको असहयोगले बजेट ल्याउन नसकेको गुनासो राख्दै यसमा सहजीकरणको अपेक्षा पनि भण्डारीसँग गरेका थिए । उनले वर्तमान प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई फिर्ता पठाएर भए पनि बजेट ल्याउनेबारे सहजीकरणको अपेक्षा भेटमा गरेका थिए ।

भण्डारीले गत असार १४ गते एमालेको राजनीतिमा जोडिएको घोषणा गरेकी थिइन् । स्वर्गीय मदन भण्डारीको ७४ औँ जन्मोत्सवमा आयोजित सभालाई सम्बोधन गर्दै उनले राजनीतिमा फर्किएको घोषणा गरेकी थिइन् । उनले एमालेबाटै राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यसहित आफूले पार्टी सदस्यता नवीकरण गरेको उनले बताएकी थिइन् ।

भण्डारीको सक्रियताले एमाले अध्यक्ष ओलीलाई तनाव भएको छ । त्यो कुरा उनले राष्ट्रिय सभागृहमा असार १४ मै अभिव्यक्त गरिसकेका छन् । उनले त्यहाँ मदन भण्डारीलाई पनि चार-चारवटी श्रीमती राखेको आरोप लागेको भन्दै पूर्वराष्ट्रपतितिर कटाक्ष गरेका थिए ।

पूर्वराष्ट्रपतिले एमालेको सदस्यता नवीकरण गरेर राजनीतिमा फर्किने बताएसँगै टुटेफुटेर गएका साना दल र समूह पनि यतिबेला आशलाग्दो रुपमा हेरिरहेका छन् । माधव नेपाल, भीम रावल र वामदेव गौतमहरू भण्डारी एमालेको नेतृत्वमा आए पार्टीमा फर्किन सक्ने विश्वासमा छन् ।

तर, बालेनसँगको यो भेटले भने भण्डारी र ओलीबीच तनाव बढ्न सक्ने अनुमान गरिएको छ । प्रधानमन्त्री ओली सहभागी हुने संघीय सरकारको बैठक समेत बहिष्कार गरिरहेका बालेनले भण्डारीलाई भेटेर सरकारमाथि दबाब बढाउन खोजेको रुपमा उनीनिकटले ब्याख्या गरेका छन् ।

गुरागाईंको अर्थपूर्ण मुख खोलाई

बालेनसँगको विवादमा यसअघि कहिल्यै मुख नखोलेका काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले आइतबार आफ्नो भनाइ सार्वजनिक गरेका छन्।

पुरानो बसपार्कस्थित काठमाडौं टावरको विवादमा बालेनले आफ्नो चरित्र हत्या गरेको उनले बताएका हुन् । बालेनले पूर्वराष्ट्रपति भेटेको पृष्ठभूमिमा उनले आइतबार सार्वजनिक रुपमा बोलेका हुन् । यसअघि यो विवादमा उनले कहिल्यै मुख खोलेका थिएनन् । बालेनले पूर्वराष्ट्रपति भेटेको सन्दर्भमा आइतबार बोल्दै गुरागाईंले आफूले पहिले नै भइसकेका निर्णयहरूलाई अनुमोदन मात्रै गरेको दाबी गरेका । ‘कुनै अनियमितता गरेको छैन’, उनले भने, ‘मेरो चरित्र हत्या गरिएको छ ।’

प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले पछिल्लो समय आफूमाथि कपोलकल्पित र भ्रामक सूचनाका माध्ययमबाट निरन्तर आरोप र पिप्पणी हुन थालेपछि बाध्य भएर मुख खोलेको बताएका छन् ।

आइतबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले काठमाडौं टावर नक्सा पासको विषयलाई जोडेर बालेनले आफूलाई लगाउँदै आएको आरोपमा कुनै सत्यता नभएको बताएका थिए ।

‘मैले पहिला भएका निर्णयहरू अनुमोदन र ‘इन्डोर्स’ मात्रै गरेको हो । नक्सा स्वीकृत गर्ने बेलामा पनि प्रष्टसँग त्यही उल्लेख गरेको छु,’ गुरागाईंले भनेका छन्, ‘म फेरि पनि भन्छु, मैले पहिलेका निर्णयलाई निरन्तरता मात्रै दिएको हो । त्यसमा मेरो दोष छैन । सम्बन्धित निकायले मेरो कमजोरी देखाएर नियम, कानुन र प्रक्रियामा दोषी प्रमाणित गरे कारबाही भोग्न तयार छु तर अहिले जुन ढङ्गबाट लाञ्छना लगाउने काम भएको छ, त्यो गलत छ ।’

उनले यो विवादमा आफूलाई सरकारका कुनै पनि निकायले भ्रष्टाचारी प्रमाणित नगरेको बताएका छन् । बालेनको सचिवालयले सार्वजनिक रुपमा दुष्प्रचार गरेको बताउँदै गुरागाईंले नयाँ आर्थिक वर्ष सुरू भएपछि महानगरमै बस्ने या अन्यत्र जाने भन्ने निर्णय गर्ने बताइरहेका छन् । उनले यसबारेमा सामान्य प्रशासन मन्त्री र प्रधानमन्त्रीसँग पनि परामर्श लिएर निर्णय लिने निकटस्थहरूसँग बताइरहेका छन् ।

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  ६ : ०० बजे

महोत्तरीमा करेन्ट लागेर एक मजदुरको मृत्यु

जलेश्वर – महोत्तरीको औरही नगरपालिका–७ मा रहेको कृषि सडकमा कल्भर्ट

कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाउँछौं : प्रधानमन्त्री

हुम्ला – प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली करिडोरलाई चीन र

सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता

काठमाडौं – समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सहकारीपीडितलाई रु तीन

थप सय वटा स्मार्ट विद्युतीय बस चलाउन प्रधानमन्त्री कार्यालयमा छलफल

काठमाडौं – काठमाडौं उपत्यकामा थप एक सय स्मार्ट विद्युतीय बस

विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन समय माग

काठमाडौं – प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधिको बैठकले ‘विद्यालय