ट्रम्प चाहन्छन् भारतले रूसी तेल नकिनोस्, मोदी किन मानिरहेका छैनन् ? | Khabarhub Khabarhub

ट्रम्प चाहन्छन् भारतले रूसी तेल नकिनोस्, मोदी किन मानिरहेका छैनन् ?


२१ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : 6 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग घनिष्ठ सम्बन्ध बनाएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मस्कोमाथि प्रतिबन्ध लगाएका पश्चिमी राष्ट्रहरूलाई निराश बनाइरहेका छन् । रुस–युक्रेन युद्धमा आफ्नो देश तटस्थ भएको दाबी गर्दै मोदीले एउटा कठिन सन्तुलन कायम गरिरहेका छन् ।

सीएनएनका अनुसार अब ट्रम्पले आफ्नो धैर्य गुमाउने अवस्था देखिँदैछ । भारतले सस्तो रूसी तेलको निरन्तर खरिदलाई आफ्नो व्यापार युद्धमा लाभको रूपमा प्रयोग गरेको ठानिरहेका ट्रम्पले मोदीसँग अन्ततः एउटा पक्ष रोज्नुपर्ने माग गर्नेछन् ।

दुई राष्ट्रवादी नेताहरू ट्रम्प र मोदी जसले एकअर्काबीच प्रायः आफ्नो मित्रतालाई न्यानो शब्दमा वर्णन गर्छन्, यी दुवैबीच ठूलो चुनौती र प्रश्न तेर्सिएको छ ।

सोमबार ट्रम्पले सीएनबीसीसँगको एक अन्तर्वार्तामा भारतले अझै पनि रूसी तेल किनिरहेकोले ‘आगामी २४ घण्टामा’ ‘ठूलो रूपमा’ कर बढाउने बताएका थिए । नयाँ कर दर के हुनेछ भन्ने कुरा स्पष्ट छैन, ट्रम्पले किन भारतले वर्षौँदेखि व्यापार सम्बन्ध राखिरहेको कुरामा विवाद झिकिरहेका छन् । ट्रम्पको नयाँ चुनौती गत हप्ता भारतबाट आउने सामानहरूमा न्यूनतम् २५ प्रतिशत कर लगाउने घोषणापछि आएको हो ।

‘साथै, उनीहरूले सधैँ आफ्नो सैन्य उपकरणहरू अत्यधिक मात्रा रूसबाट खरिद गरेका छन् । र, चीनसँगै उनीहरू रूसको ऊर्जाको सबैभन्दा ठूलो खरिदकर्ता हुन्, यस्तो समयमा जब सबैजना चाहन्छन् कि रूसले युक्रेनमा हत्या बन्द गरोस् – कुनै कुरा राम्रो छैन’, ट्रम्पले गत हप्ता ट्रुथ सोशलमा लेखेका थिए ।

तर ट्रम्पको चहानाअनुसार मोदीका लागि यसो गर्न त्यति सजिलो छैन । धेरै अन्य देशहरूले ट्रम्प प्रशासनसँग व्यापार सम्झौता गर्न हतार गरे पनि विश्वको चौथो ठूलो अर्थतन्त्र भारतले आफूलाई अनुचित रूपमा लक्षित गरिएको जनाएको छ । यो विषयलाई नकारेको भारतले दृढतापूर्वक आफ्नो अडानमा टिक्ने निर्णय गरेको छ।

भारतीय विदेश मन्त्रालयले वक्तव्य नै निकालेर अमेरिका र युरोपले अझै पनि रूससँग युरेनियमसहितका रसायन र अन्य उत्पादनहरूको व्यापार गरिरहेको जनाएको छ ।

भारतीय विदेश मन्त्रालयले सोमबार निकालेको वक्तव्यमा भनिएको छ, ‘भारतले रूसबाट तेल आयात युक्रेन द्वन्द्वपछि मात्रै सुरु गरेको हो, त्यो पनि परम्परागत आपूर्तिहरू युरोपतिर मोडिएपछि। त्यतिबेला त संयुक्त राज्य अमेरिका स्वयंले भारतलाई यस्तो आयात गर्न प्रोत्साहित गरेको थियो, ताकि विश्व ऊर्जा बजारमा स्थायित्व रहोस् ।’

भारतको तुलनामा युरोपेली संघले सन् २०२४ मा रूससँग ६७.५ अर्ब युरोको वस्तु व्यापार गरेको तथा २०२३ मा १७.२ अर्ब युरो बराबरको सेवा व्यापार गरेको विदेश मन्त्रालयले उल्लेख गरेको छ । यो भारतको कुल व्यापारभन्दा धेरै भएको तथ्य पनि वक्तव्यमा प्रस्तुत गरिएको छ।

युरोपले सन् २०२४ मा रूसबाट १६.५ मिलियन टन एलएनजी आयात गरेको पनि वक्तव्यमा उल्लेख गरिएको छ, जुन सन् २०२२ को कीर्तिमानभन्दा पनि बढी हो।

त्यस्तै, युरोप–रूस व्यापारमा ऊर्जा मात्र नभई मल, खानीजन्य पदार्थ, रसायन, फलाम र स्टिल तथा मेसिनरी र यातायात उपकरणहरू पनि समावेश भएको भारतले जनाएको छ ।

संयुक्त राज्य अमेरिका स्वयम्‌ले पनि आफ्ना आणविक उद्योगका लागि युरेनियम हेक्साफ्लोराइड, विद्युतीय सवारी साधनका लागि प्यालाडियम, मल र रसायनहरू रूसबाट आयात गरिरहेको भारतले स्मरण गराएको छ ।

वक्तव्यको अन्त्यमा भनिएको छ, ‘यस सन्दर्भमा भारतमाथिको निशाना अनुचित र अविवेकपूर्ण छ । कुनै ठूलो अर्थतन्त्रझैँ भारतले पनि आफ्नो राष्ट्रिय हित र आर्थिक सुरक्षाको संरक्षणका लागि आवश्यक सबै कदमहरू चाल्नेछ।

भारत किन रूसी तेल किन्ने विषय बन्द गर्न अनिच्छुक छ भन्नेबारे तपाईंले जान्नुपर्ने कुराहरू :

भारतलाई किन चाहिन्छ रुसी तेल ?

भारत लामो समयदेखि बढ्दो अर्थतन्त्र र बढ्दो जनसङ्ख्यालाई धानिरहन कच्चा तेलको लागि रूसमा निर्भर रहँदै आएको छ । जहाँ अहिले १.४ अर्ब भन्दा बढी जनसङ्ख्या छ । रुसले भारतलाई सस्तो मूल्यमा कच्चा तेल दिइरहेको छ । जसले एकातिर रुसलाई युद्ध टिकाइरहन सजिलो भएको छ अर्कातिर भारतलाई महंगी नियन्त्रणमा सजिलो भएको छ।

रोयटर्सका अनुसार विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको यो राष्ट्र पहिले नै विश्वव्यापी रूपमा तेलको तेस्रो ठूलो उपभोक्ता हो । र, भारतको खपत दर अझै पनि द्रूत गतिमा बढ्दै जाँदा यसले २०३० सम्ममा चीनलाई उछिन्ने अपेक्षा गरिएको छ ।

आर्थिक महाशक्तिका रूपमा भारतको रूपान्तरणले लाखौँ घरपरिवारलाई माथि उठाएको छ । जसले गर्दा धेरै कार र मोटरसाइकल किनिएका छन् । तसर्थ भारतमा पेट्रोलको माग बढ्दो छ ।

भारतको समग्र आयातमा रूसी कच्चा तेलको योगदान ३६ प्रतिशत छ । जसले गर्दा मस्को भारतको शीर्ष आपूर्तिकर्ता बनेको छ । ट्रेड इन्टेलिजेन्स फर्म केप्लरका वरिष्ठ तेल विश्लेषक मुयु जूले यस वर्षको पहिलो ६ महिनाको तथ्याङ्क उद्धृत गर्दै भनेङ्कँ छन् ।

भारतले किन अन्तबाट तेल पाउन सक्दैन ?

सन् २०२२ मा रूसले युक्रेनमा आक्रमण गरेपछि युरोपेली राष्ट्रहरूले धेरै हदसम्म रूसी तेल किन्न बन्द गरे । यो अब मुख्यतया एसियामा चल्न थालेको छ । चीन, भारत र टर्की रूसका ठूला ग्राहकहरू हुन् र मस्कोका लागि यो एक महत्त्वपूर्ण राजस्व स्रोत हो ।

दिल्लीले रूसी तेल भारी छुटमा किनिरहेको छ । ‘जुन परम्परागत तेल र ग्यास आपूर्तिकर्ताले दिने थिएनन्,’ जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू) को रूसी तथा मध्य एसियाली अध्ययन केन्द्रका सह–प्राध्यापक अमिताभ सिंहले भने ।

उनले थपे, ‘भारतको निरन्तर खरिद ‘विशुद्ध आर्थिक वा व्यावसायिक निर्णय’ थियो ।’ भारतीय अधिकारीहरूको पनि यही तर्क छ । तर यस कदमले युक्रेन र यसका समर्थकबाट उपहास र आक्रोशको सामना गर्नु परेको छ ।

भारतले वर्षौंदेखि आफ्नो तेल स्रोतहरूलाई विविधीकरण गरेको छ । तर रूसी तेललाई पूर्ण रूपमा काटौती गर्दा एउटा खाडल सिर्जना हुनेछ, जसलाई परिपूर्ति गर्न गाह्रो छ ।

भारतले आवश्यकताको ८० प्रतिशत तेल आयात गर्छ । घरेलु तेल उत्पादनले यो अभाव परिपूर्ति गर्न सक्दैन । विश्वका शीर्ष तेल उत्पादकहरूको गठबन्धन, ओपेकसँग ‘केही अतिरिक्त क्षमता हुन सक्छ, तर उनीहरूलाई रातभर ३४ लाख ब्यारेल पम्प गर्न भन्न गाह्रो छ,’ जुले जुलाईमा सीएनएनसँग कुरा गर्दै रूसको दैनिक समुद्री निर्यातलाई उल्लेख गर्दै भनेकी थिइन् ।

अन्य अमेरिकी कदमहरूले पनि भारतको विकल्प सीमित पारेको छ । ट्रम्पले इरान र भेनेजुएलाबाट तेल खरिद गर्ने देशविरुद्ध प्रतिबन्ध लगाएर शुल्क लगाउने धम्की दिएपछि भारतले त्यहाँबाट तेल खरिद बन्द गर्न बाध्य भएको थियो ।

रोयटर्सका अनुसार खरिद रोक्नुअघि भारत इरानको सबैभन्दा ठूलो ग्राहकमध्ये एक थियो । जसले प्रति दिन ४,८०,००० ब्यारेलसम्म खरिद गर्थ्यो । ‘हामीले हाम्रो हात पछाडि बाँधेका छौं,’ सिंहले भने, ‘भारतीय तेल अर्थतन्त्र वा बजार सञ्चालन गर्न सक्ने सीमित ठाउँ छ ।’

उनले थपे, ‘अहिलेका लागि दिल्लीले ट्रम्पको मागसामु झुक्ने सम्भावना कम छ । मोदी प्रशासनले अमेरिकासँग व्यापार वार्ता जारी राख्नेछ र मध्यपूर्वी तेलको ‘परम्परागत मार्ग’ अन्वेषण गर्नेछ । तबमात्रै भारतले रूसी कच्चा तेल खरिद गर्न छाड्नेछ । तर यो रातारात गर्न सक्दैन,’ सिंहले भने ।

विश्वव्यापी तेलको मूल्य बढाउन सक्छ

रुसको तेलले भारतको अर्थतन्त्रलाई पनि धान्छ । जसले विश्वव्यापी तेल व्यापारमा महत्वपूर्ण भूमिका खेल्छ । रुसबाट खरिद गर्दा विश्वव्यापी तेलको मूल्य कम रहने भारतको तर्क छ । किनकि यो मध्यपूर्वी तेलको लागि पश्चिमी राष्ट्रहरूसँग प्रतिस्पर्धा गरिरहेको छैन ।

‘जो बाइडेन प्रशासनको समयमा युक्रेन–रूस युद्ध सुरु हुँदा ‘सबैलाई थाहा थियो, भारतले रूसबाट तेल किनिरहेको छ,’ सिंहले भने, ‘तर पश्चिमी राष्ट्रहरूले यसलाई सहन गरेका पनि छन्, किनभने उनीहरूलाई थाहा थियो, यदि भारतले रूसबाट तेल नकिनेमा मुद्रास्फीति बढ्नेछ ।’

यदि भारतले अन्यत्रबाट महँगो मूल्यमा तेल आयात गर्न थाले अमेरिकी उपभोक्ताहरूले पनि यसको मार भोग्ने सम्भावना छ । भारतमा पठाइएको केही रूसी कच्चा तेल त्यसपछि प्रशोधन गरिन्छ र अन्य देशहरूमा फिर्ता निर्यात गरिन्छ । मस्कोमाथिको प्रतिबन्धमा रूस बाहिर प्रशोधित उत्पादन हुने छैनन् ।

मस्कोसँगको तेल खरिद प्रक्रियाले भारतको अर्थतन्त्र र अन्य प्राप्तकर्ता राष्ट्रहरू दुवैलाई फाइदा पुर्या‍एको छ । राष्ट्रिय एसियाली अनुसन्धान ब्यूरो (एनबीआर) का अनुसार सन् २०२३ मा भारतले ८६.२८ अर्ब डलरको परिष्कृत तेल उत्पादन निर्यात गरेको थियो । जसले गर्दा भारत विश्वको दोस्रो ठूलो पेट्रोलियम उत्पादन निर्यातकर्ता बनेको थियो ।

ऊर्जा तथा स्वच्छ वायु अनुसन्धान केन्द्र (सीआरईए) का अनुसार रूसी कच्चा तेलबाट बनेका यी परिष्कृत उत्पादनका केही ठूला खरिददारहरूमा युरोप, अमेरिका र बेलायत छन् । स्वतन्त्र संस्थाले जी७ (जीसेभेन) राष्ट्रहरूलाई यो खाडल बन्द गर्न आग्रह गरेका छन् किनकि यसले भारत जस्ता तेस्रो देशहरूलाई रूसी कच्चा तेल आयात गर्न निरुत्साहित गर्ने तर्क गरेको छ ।

ऐतिहासिक साझेदारी र युगल सम्बन्ध

भारत र रुसको साझेदारी केवल तेलभन्दा बाहिर पनि छ र दशकौंदेखि जारी छ – अर्को कारण यो भत्काउन त्यति सजिलो छैन ।

अमेरिका र सोभियत संघबीचको शीतयुद्धको समयमा भारत आधिकारिक रूपमा असंलग्न राष्ट्र थियो । यद्यपि १९७० को दशकमा जब अमेरिकाले भारतको छिमेकी र लामो समयदेखिको प्रतिद्वन्द्वी पाकिस्तानलाई सैन्य र आर्थिक सहयोग प्रदान गर्न थाल्यो तब भारत सोभियत संघतर्फ झुक्न थाल्यो । यो त्यतिबेला थियो जब रूसले भारतलाई हतियार प्रदान गर्न थाल्यो ।

हालैका वर्षहरूमा भारत वासिङ्टनसँग नजिक भएको छ । अमेरिका, फ्रान्स र इजरायल लगायत उसका सहयोगीहरूबाट भारतले हतियार खरिद बढाएको छ ।

एसआईपीआरआईका अनुसार भारत रूसी हतियारको शीर्ष आयातकर्ता हो । र, मोदी पुटिनसँग मैत्रीपूर्ण रहन्छन् । उनले गत वर्ष मस्कोको विवादास्पद भ्रमण पनि गरे । जहाँ रूसी राष्ट्रपतिले आफ्ना समकक्षी मोदीलाई अँगालो हालेर स्वागत गरेर व्यक्तिगत रूपमा घुमाए ।

ट्रम्प र मोदीले पनि पहिले नै आफ्नो मित्रताको प्रशंसा गरिसकेका छन् । ट्रम्पले सन् २०१९ को एक र्‍यालीमा घोषणा गरेका थिए– भारतमा ‘राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा राम्रो मित्र कहिल्यै थिएन ।’

प्राध्यापक सिंह भन्छन्– ट्रम्प आफ्नो दोस्रो कार्यकालका लागि ह्वाइट हाउस आइपुग्दा मित्रता ‘जारी रहनेछ’ भन्ने अपेक्षा गरिएको थियो । तर यस पटक सम्बन्ध तिक्ततापूर्ण भएका छन्, पछिल्लो भारत–पाकिस्तान द्वन्द्वमा युद्धविरामको श्रेय ट्रम्पले लिएकोमा वा उनीहरूको तेल खरिदले ‘रूसी युद्ध मेसिनलाई समर्थन गरिरहेको छ’ भन्ने आरोपबाट मोदी खुसी छैनन् ।

ट्रम्पले पनि युक्रेन–रूस युद्ध अन्त्य गर्न असमर्थ भएकोमा बढ्दो निराशा व्यक्त गरेका छन् । जुन कुरा उनले आफ्नो पदभार ग्रहणको पहिलो दिनमा गर्ने वाचा गरेका थिए । ‘भारतले रूससँग के गर्छ मलाई वास्ता छैन,’ ट्रम्पले गत हप्ता ट्रुथ सोशलको एक आवेगपूर्ण पोस्टमा लेखेका थिए, ‘तिनीहरूले आफ्नो मृत अर्थतन्त्रलाई सँगै ध्वस्त पार्न सक्छन्, मलाई सबै कुराको वास्ता छ ।’

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार  ७ : ३१ बजे

करेन्ट लागेर एक जनाको मृत्यु

भीमफेदी – मकवानपुरमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।

सप्तरी गोलीकाण्ड : चारबुँदे मागसहित सङ्घर्ष समितिले बुझायो ज्ञापनपत्र

सप्तरी – सप्तरीको राजगढमा प्रहरीको गोली लागेर स्थानीय लालु यादवको

पोखरीमा डुबेर बारामा सात वर्षीय बालकको मृत्यु

बारा – बाराको कलैया उपमहानगरपालिका– ३ गङ्गापुरमा आज दिउँसो पोखरीमा

वरिष्ठ पत्रकार तेजबहादुर भण्डारीको निधन

कञ्चनपुर – नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय उपाध्यक्ष तथा वरिष्ठ पत्रकार

स्थानान्तरण गरिएको ओखरबोट माविको भवन पहिरोको जोखिममा

म्याग्दी – म्याग्दीको मालिका गाउँपालिका–४ मा रहेको ओखरबोट माध्यमिक विद्यालयको