फापरले गाँसेको टुकुचे–तोगा मितेरी साइनो | Khabarhub Khabarhub

उस्तै ठाउँ

फापरले गाँसेको टुकुचे–तोगा मितेरी साइनो



झुप्पामा फूल्छन् फापरका फूल । ठाउँ र जातअनुसार बदलिन्छन् फापरका रङ । जापानमा सेतो फुल्छ भने नेपालमा गुलाफी । भिन्न रङ भए पनि दुई भिन्न गाउँलाई मित बनाइदिएको छ त्यही फापरले । सेतो फापरको फूलले ढकमक्क जापानी गाउँ तोगा र रातो फापर फुल्ने नेपाली गाउँ टुकुचेबीच मितेरी साइनो जोडिएको छ । नेपाल–जापान सम्बन्धको प्रसंग चल्नुमात्र पर्छ, टुकुचे–तोगाको कुरा उठिहाल्छ ।

धेरै कुरामा समानता पाइन्छ टुकुचे र तोगाबीच । टुकुचेलाई बीचमा पारेर कालीगण्डकी र थाकखोला बगेका छन् भने तोगामा तोगा, मोमोसे र सो नदी बग्दछन् । दुवै गाउँ एउटै प्रकृति र भौगोलिक अवस्थितिमा छन् । तोगामा तातेयामा (३०१५ मि) पर्वत छ भने टुकुचेको सिरानमा निलगिरी (७०६१ मिटर अग्लो) हिमाल छ । तोगाको हरियाली मनोहर छ भने टुकुचेको भूदृश्य चित्ताकर्षक । फापरका निम्ति प्रसिद्ध छन् दुवै गाउँ ।

टुकुचेले फापरको जन्मभूमिका रूपमा पहिचान राखेको छ भने तोगा फापरका परिकारका कारण प्रसिद्ध छ । त्यहाँको फापर परिकारशाला (सोवानो सातो) मा फापरका गजब गजबका व्यञ्जन पाइन्छन् । दुवै गाउँका तन्नेरीहरूमा सहर पस्ने रोग छ । त्यसैले दुवै गाउँमा बुढाबुढी र केटाकेटीहरूको बर्चस्व छ ।

टुकुचे र तोगाबीच मितेरी साइनो गाँसिएको ११ जनवरी सन् १९८९ मा हो । त्यसदिन टुकुचेको सबैभन्दा पुरानो गुम्बासम्म गुम्वामा स्थानीय वासिन्दाले पूजाआजा गरेर यो साइनो लगाइदिएका हुन् । साइनोलाई औपचारिक रुप दिन टुकुचेका तत्कालीन प्रधानपञ्च अमृतलाल शेरचन र तोगाका तत्कालीन मेयर मिचिमासा मियाजाकीले दस्तखत गरेका थिए । तर, टुकुचे–तोगा मैत्री सम्बन्धका सेतु भने शिच्शु विश्वविद्यालयका प्राध्यापक प्रो. आकियो उजिहाता हुन् र कारण हो फापरसम्बन्धी उनको अध्ययन । फापरमा विद्यावारिधि गरेका यिनी फापरकै अनुसन्धानका सिलसिलाका सन् ८० को दशकमा तोगा र टुकुचे पुगेका हुन् । उनी मितेरी सम्बन्धी नै आउजाउ गरिरहन्थ्ये नेपाल । नेपालको फापरलगायत अन्य अन्नबालीको अध्ययन अनुसन्धानमा यिनले गुन लगाएका छन् ।

नागानो केनका यी फापर विशेषज्ञ तोगाको अध्ययनपछि टुकुचे आए, जहाँ उनको भेट स्थानीय पुरेत (तिब्बती बौद्धमार्गी लामा) शशिध्वज तुलाचनसँग भयो । उनका मनोहर मण्डल र पौभा चित्र देखेर उत्साहित भएका उनले तुलाचनलाई तत्कालै तोगामा मण्डल बनाइदिने प्रस्ताव गरे । यही निहुँमा दुई गाउँलाई मित्रताको धागोमा उन्ने सपना थियो उनको ।

तोगेलीको उत्थानमा गम्भीर चासो राख्ने तत्कालीन मेयर मियाजाकीलाई यस कुरामा मनाउनु गाह्रो काम थिएन पनि । मेयर जब टुकुचे आए र त्यहाँको गुम्बाको भित्तामा कोरिएका चित्र देखे, दङ्ग नपरिरहन सकेनन् । तुलाचन र उनका पिताले बनाएका परम्परागत चित्र तोगामा गएर बनाइदिने उजिहाराको प्रस्ताव मियाजाकीले दोहोर्‍याए । मुस्ताङमा मण्डलाको काम अधूरै छाडेर गइदिए उनी तोगातिर । डेढ वर्ष लगाएर सन् १९९१ को मार्चमा ४/४ मिटरको दुई मण्डला र ४/४ मिटर बराबरको दुई वटा पौभा तयार गरिदिए ।

शान्तिका ४२ देवदेवी, ५८ देवदेवी, सुखपाटिका र हजारबाहु अबलोकितेश्वर बुद्धका विशाल चित्रलाई तिब्बती बौद्ध धर्मको सम्पदा मान्छन् जापानीहरू । त्यसैले यी कलाकृति अहिले पनि त्यहाँको ध्यानशाला –मेसोनो सातो) को भव्य कोठामा छुट्टाछुट्टै सजाएर राखिएको छ–दुई गाउँको मितेरीको प्रतीकका रूपमा ।

सन् १९९२ मा तोगामा आयोजित ‘वल्र्ड सोबा एक्स्पो’ –फापरलाई जापानी भाषमा सोबा भनिन्छ) मा पन्ध्र जनाको टोलीलाई नेतृत्व गर्दै तुलाचन तोगा पुगे जसमा टुकेचेका चार जना महिलाको पनि सहभागिता थियो । नेपाल, चीनलगायत १५ मुलुक सहभागी भएको त्यो मेलामा टुकुचे टोलीले आफ्नो स्थानीय लामा नाच देखाउनुका साथै फापरका थकाली पकवान प्रदर्शन गरेको थियो । तुलाचनका सुन्दर तथा विशाल पौभा र मण्डलले मेलामा आकर्षण थपेको थियो ।

तोगा गाउँका ऐतिहासिक तथा सांस्कृतिक महत्वका नाचगान र झाँकीसमेत समावेश फापर मेला लगातार एकतीस दिन चल्यो । मेला यति अविस्मरणीय सिद्ध भयो कि, अपरिचित तोगाको नाम सनसनीपूर्ण समाचार झैँ फैलियो । र, सहर पलायत गरेका तन्नेरी तोगेली मात्र होइन, आफ्नो गाउँको कूल जनसंख्याको सय गुना बढी –करीव १ लाख छत्तीस हजार) जापानी र विदेशी पर्यटक भित्र्याउन सफल भयो तोगा । यसपछि त केही गर्नु छ भने तोगा गएर सल्लाह लिनु’ भन्ने चलन समेत शुरु भएको छ ।

विश्व फापर मेलापछि तोगामा, तोलामी, इनामीलगायतका सहरमा ‘टुकुचे–तोगा वल्र्डवाइड भिलेज’ लेखिएका १२/१० फिट अल्ला होर्डिङ राखिएका छन् । तोगा–टुकुचेको मितेरी सम्बन्धलाई लिएर गगन विरहीको निर्देशनमा ‘मितेरी गाउँ’ भन्ने सिनेमा पनि बनेको थियो । तोगामा २१ दिन सुटिङ गरिएको स्मुति सिनेमाका नायक गणेश लामाका लागि अविस्मरणीय छ । उनका अनुसार उक्त सिनेमाले दुई गाऊँबीचको सम्बन्धमा जीवन्तता थपेको छ ।

फापर मेलाको अपूर्व सफलतापछि टुकुचेको सहयोगका लागि अग्रसर भए तोगेली मेयर मियाजाकी । मैत्री सम्बन्धको पहिलो उपलब्धी हो, टुकुचे प्राथमिक विद्यालयमा सहयोग । नदी कटान नियन्त्रणका लागि पटकपटक गरी एक करोड रुपैयाँ तोगाबाट आएको छ भने मियाजाकीको कार्यकालको अन्त्यतिर टुकुचेमा एक संग्राहलय निर्माणका लागि सहयोग भइसकेको छ । टुकुचेका केही युवालाइृ सात वर्षसम्म तालिम र सांस्कृतिक कार्यक्रमका लागि वर्षेनी ६ जना नन्नेरी तोगा गए ।

मैत्री सम्बन्धपछि जापान भ्रमणको अवसर पाउने टुकुचेवासी पनि थोरै छैनन् । सन् १९८९ मा तोगाको सतवार्षिकीका अवसरमा तत्कालीन प्रधानपञ्च धनबहादुर थकालीसहित आठ सदस्यीय टोली त्यहाँ गयो भने सन् १९९१ को सेप्टेम्बरमा प्राविधिक शिक्षाका लागि टुकुचेका तीन विद्यार्थी गए । तोगाबाट टुकुचे आउनेको पनि ताँती नै छ । सन् १९९८ को डिसेम्ब्रमा तत्कालीन मेयर मियाजाकीसहित १९ सदस्यीय टोली आए । यसले अन्तर्राष्ट्रिय सम्बन्ध र मित्रताको विकासमा राम्रो काम गर्‍यो । टुकुचेको आर्थिक, सामाजिक र शैक्षिक परिदृश्यमा उन्नति भयो ।

टुकुचे–तोगाको मितेरी सम्बन्धमा भुल्नै नसकिने नाम हो, मियाजाकी । स्थानीय विकास र सामूहिक काममा अरुलाई हँसाइहँसाई काम लिन सक्ने नौनीजस्ता नरम मान्छे हुन् यिनी । टुकुचेको जीवनस्तर उकास्न विविध सहयोग गर्न रुचाउने व्यक्ति पनि हुन् यी आएपिच्छे ‘कुन कुन ठाउँमा के भइरहेको छ ? किन भयो ? कस्तो उपाय अपनाए के हुन्छ ?’ जस्ता कुरामा चसो र छलफल गर्छन् उनी । खबर बुझ्ने मात्र होइन, सुझाव दिन पनि कञ्जुस्याईं गर्दैनन् ।

मेयरको तीन पटकको पदावधि सकिएपछि पनि टुकुचे आउन नछाडेका उनी अहिले निजी व्यवसाय गर्छन् । उनको कार्यकालमै विकासको तोगा गाउँबाट नगरमा परिणत भएको थियो । तोगाली जनताको उन्नतिका लागि चिन्तनशील मियाजाकी सम्झिरहन्छन्– हुरीबतास र पहिरो छिचोल्दै घोडा चढेर पहाडी भिरालो बाटोमा गरेको यात्रा । टुकुचेवासीको न्यानो आतिथ्य, स्कुले केटाकेटी, लामा नाच, फापर, मण्डला, पौभा अनि विश्वास र मायामा अडेको निस्वार्थ एवम् दह्रो मितेरी !

प्रकाशित मिति : २१ भाद्र २०८२, शनिबार  २ : ५५ बजे

दक्षिण अफ्रिकामा हुने जी–२० शिखर सम्मेलनमा सहभागी नहुने ट्रम्पको घोषणा

वाशिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस वर्षको अन्त्यमा दक्षिण

एमाले विधान महाधिवेशन : विभिन्न प्रतिवेदनमा समूहगत छलफल

काठमाडौं– नेकपा एमालेको जारी दोस्रो विधान महाधिवेशनअन्तर्गत प्रस्तुत विभिन्न प्रतिवेदनहरूमा

लुम्बिनी भ्रमणमा भारतीय प्रधानन्यायाधीश गवई

लुम्बिनी– भारतका प्रधानन्यायाधीश भुषण रामकृष्ण गवईले आज भगवान् गौतम बुद्धको

अबदेखि भेरी अस्पतालमा ‘अल्टेप्लेज इन्जेक्सन’ निःशुल्क

नेपालगञ्ज– नेपालगञ्जस्थित भेरी अस्पतालमा अबदेखि मस्तिष्कघातका बिरामीलाई अल्टेप्लेज इन्जेक्सन निःशुल्क

अमेरिकासँगको सम्बन्ध सकारात्मक रहेको भारतका प्रधानमन्त्री मोदीको भनाइ

नयाँ दिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार भारत र अमेरिकाबीचको