गरिबका सन्तान : न परिवारको साथ, न राज्यको | Khabarhub Khabarhub

समाज

गरिबका सन्तान : न परिवारको साथ, न राज्यको

सन्तानको संरक्षण नगर्ने अभिभावक कानूनको नजरमा दोषी



काठमाडौं – पारिवारिक विखण्डनको सबैभन्दा ठूलो असर कलिला सन्तानहरुले भोग्नुपर्ने हुन्छ । सन्तानका लागि आमा र बुवाको साथ बराबर चाहिन्छ । सन्तानको संरक्षण गर्नु अभिभावकको कानूनी दायित्वसमेत हो । तर, श्रीमान–श्रीमती छुट्टिएपछि सन्तान कोसँग बस्ने ? त्यस्तो स्थितिमा बालबालिकाहरू गलत बाटोमा लाग्ने वा साहाराविहीन हुने जोखिम बढी हुन्छ ।

चर्चित ‘गौशाला–२६’ को केश यस्तै अभिभावकत्व जोडिएको छ । बुवाआमाको सम्बन्धविच्छेदपछि ‘गौशाला–२६’ होस्टल बस्दै आएकी थिइन् । उनले जीवनमा असल सम्बन्ध, असल साथी र असल परिवारबारे सिक्न पाइनन् ।

गत वर्ष चितवनको शिशु निकेतन बोर्डिङ स्कुलकी १४ वर्षीया शालिन पोखरेलले होस्टलमा आत्महत्या गरिन् । उनी पनि बाबुआमाको सम्बन्ध विच्छेदपछिको मानसिक तनाव भोग्न बाध्य बालिका हुन् ।

आमाबाबुको सही अभिभावकत्व र संरक्षण नपाउँदा वालवालिकाको अवस्था दयनीय बन्छ । यस्तो बेलामा राज्यले समेत त्यस्ता वालवालिकाको सम्बन्धमा उचित ध्यान दिनुपर्नेमा त्यसो हुन सकिरहेको छैन ।


सचिन परियारको कथा

तेह्रवर्षे बालगायक सचिन परियारको निमोनियाका कारण बिहीबार निधन भयो । गुल्मीका सचिनलाई माग्दै हिँडिरहेका बेला युट्युबरले फेला पारेर समाजसँग परिचित गराए । सामाजिक सञ्जालमा उनी ‘सन्चै हुनुहुन्छ ?’ भन्दै उदाए । उनको बालापन, निर्दोषपन र तोते बोली धेरैले मन पराए र टिकटक बनाए । उनी चर्चित बने ।

गाउँमा माग्दै हिँडेको गरिब एवम् असहाय बालक एकाएक चर्चामा आए र सेलिब्रिटी बने । मेला महोत्सवमा सचिनको माग बढ्यो ।

सचिनले गीतहरु गाउनुका साथै केही म्युजिक भिडियोमा समेत अभिनय गरे । ‘वरको छायाँले’ बोलको गीतमा सचिनले राजेश हमालसँग अभिनयसमेत गरे ।

बालकैमा सफलता हासिल गरेका सचिनले परिवारबाट राम्रो अभिभावकत्व पाउन सकेनन् । भलै, उनका पिता आफूलाई व्यवसायी एवम् राजनीतिक दलको कार्यकर्ता बताउँछन् ।

आमाले पनि श्रीमानलाई छाडेर नयाँ घरबार जोडेपछि सचिन बालकैमा अभिभावकको न्यानो मायाबाट बञ्चितजस्तै बने । तथापि घरमा पिताले कान्छी आमा भित्र्याएका थिए ।


सानैमा ‘सेलिब्रेटी’ बन्दा

लोक तथा दोहोरी कार्यक्रम इन्द्रेणीले धेरै कलाकारहरु जन्माएको छ । प्रायः आर्थिकरुपले विपन्न कलाकारहरुका लागि इन्द्रेणीले अवसर र मञ्च दिएको छ । उक्त कार्यक्रममार्फत् एक बाल गायिका नेपालीहरुको मन जित्न सफल छिन् ।

‘लाइभ दोहोरी’बाट एकाएक चर्चामा आएकी उनका सामाजिक सञ्जालमा धेरै प्रशंसक छन् । तर, केही समय अगाडि एक गायिकाको बलात्कारको सम्बन्धमा गीत गाएपछि उनको धेरै आलोचना भयो । सधैं माया र प्रशंसा पाएकी उनीमाथि गालीको वर्षा हुन थाल्यो ।

सामाजिक सञ्जालले मान्छेलाई सफलताको सिँढीमा उक्लिन जति सहयोग गर्छ, त्यति नै तल झार्न सक्छ भन्ने कुरामा उनी अनविज्ञ थिइन् । त्यो गीतलाई लिएर उनले माफी मागिन् ।

गायनसँगै उनी फिल्म अभिनयमा पनि आवद्ध भएकी छिन् । उनी बालिकाबाट किशोरवस्थामा पार गर्दै छिन् । उनको उमेर पढ्ने, खेल्ने र मनोरञ्जन गर्ने हो । धेरैभन्दा धेरै अभिभावकका साथमा समय बिताउने उमेर हो यो । तर, उनी बुवाआमाको सपना साकार पार्न दिनरात मिहेनत गरिरहेकी छिन् । यो उमेरमा उनको दिमागमा सबैभन्दा ठुलो कुरा पैसा कमाउनु हो भन्ने परेको छ ।

उनले विभिन्न युट्युब तथा पडकास्टमा आफ्नो ब्यायफ्रेन्डबारे कुरा गर्छिन् । पत्रकारलाई पनि शायद थाहा छैन, उनको उमेर । अर्थात् उमेर अनुसारको प्रश्न गर्नुपर्छ भन्ने कुरामा ख्याल गरिएको देखिँदैन ।

प्रश्नकर्ता युट्युबरहरु ज्ञान र बौद्धिकताको कुरा गर्नुपर्ने समयमा बालिकासँग शरीरको सुन्दरता र शारीरिक आवश्यकताको कुरा गरेर हिँडिरहेका छन् । छोरीले पैसा कमाएको देखेर अभिभावक पनि खुसी नै देखिन्छन् ।

बालबालिकासम्बन्धी कानुनमा के छ ?

बालबालिका सम्बन्धी ऐन ०७५ ले १८ वर्ष नपुगेकालाई ‘बालबालिका’ मानेको छ । ऐनको परिच्छेद– २ को दफा(६) ले बाबुआमासँग बस्ने र भेटघाटको अधिकारलाई सुरक्षित गरेको छ ।

दफा ७ (१) ले प्रत्येक बालबालिकालाई आफ्नो बाबुआमा र परिवारको सदस्यबाट उचित हेरचाह, संरक्षण, पालनपोषण र माया प्राप्त गर्ने अधिकारको सुनिश्चितता गरेको छ ।

साथै, दफा १७ ले बालबालिकाको हेरचाह, पालनपोषण र वृत्तिविकासमा आमाबुवा दुवैको समान दायित्व हुनेछ भनेर व्यवस्था गरेको छ ।

यदि अभिभावकले यस्तो दायित्व निर्वाह नगरेको खण्डमा अर्थात् आमाबुवाले आफ्ना सन्तानको अनुचित लाभ लिने मनसायले दुरुपयोग गरेमा परिच्छेद–९ दफा ७२ उपदफा २ बमोजिम एक वर्षसम्म कैद र पचास हजारदेखि एकलाख रूपैयाँसम्मको जरिवानाको प्रवन्ध गरिएको छ ।

असल अभिभावकत्व राज्यको पनि दायित्व हो : समाजशास्त्री

बाल्यावस्था र किशोरवस्थालाई मानिसको सबैभन्दा स्वर्णिम र तरल अवस्था मानिन्छ । यो उमेरका मानिसहरु सिर्जनशील, जिज्ञासु, जोश जाँगर र चञ्चलताले भरिएको हुन्छ । यो अवस्थामा अभिभावकको सही मार्गदर्शन पाउन सकेमा उनीहरुले राम्रो लय समात्छन् । तर, गल्ती गर्ने सम्भावनाबाट रोक्नुपर्ने हुन्छ ।

कलिलो उमेरका छोराछोरीले पैसा कमाएर ल्याएका छन् भन्ने कुरामा मात्रै अभिभावक केन्द्रित बन्नु हुँदैन । छोराछोरी कस्ता मानिसको संगतमा छन् भन्ने कुराको मतलब गरिनु पर्ने विज्ञहरु बताउँछन् ।


त्रिवि समाजशास्त्र विभागकी उपप्राध्यापक ऋद्धि आचार्य असल अभिभावकत्व राज्यको पनि दायित्व भएको बताउँछिन् । उनी भन्छिन्, ‘हरेक अभिभावकको सोच, क्षमता र कार्यशैली एउटै हुँदैन । तर, बाल अधिकारको कुरा हरेकको एकै हो । अभिभावकबाटै बालबालिका असुरक्षित हुने अवस्थामा राज्यले पनि दायित्व लिनुपर्छ ।’

उनी अगाडि भन्छिन्, ‘असल अभिभावकत्व हामीले सिक्दै गरेको अवस्थामा छौं । सन्तानले राम्रो गरोस् भन्ने चाहना सबैमा छ । तर चरित्र, व्यवहार र संस्कार कसरी दिनुपर्छ भन्नेमा अभिभावक सचेत नहुँदा छोराछोरी गलत मान्छेको संगतमा पुग्छन् ।’

उनले हरेक बाबुआमा आफ्ना छोराछोरीको साथी बन्न सक्नुपर्ने बताइन् । गलत संगतबाट जोगाउनका लागि अभिभावकले सन्तानलाई साथी सरहको व्यवहार गर्नुपर्ने उनको तर्क छ ।


अशोक दर्जीको कथा

आर्थिकरुपमा विपन्न परिवारका सन्तानले पनि यदि सही अभिभावकत्व पाए भने सफलताको सिँढी चढ्न सक्छन् । अभिभावकत्व सधैँ घरभित्रैबाट मात्रै हुन्छ भन्ने पनि छैन, घरबाहिरका मान्छेले पनि असल अभिभावकत्व ग्रहण गर्न सक्छन् । यस्तै एउटा सकारात्मक उदाहरण हुन् अशोक दर्जी ।

अशोक गरिब परिवारमा जन्मिए । आर्थिक अवस्था नाजुक भएकै कारण उनले २ कक्षासम्म पढेर छोडे । उनी केही वर्षअगाडि पूर्वी नेपालको भुटानी शरणार्थी शिविरतिर गीत गाउँदै गरेका भेटिन्थे । सानो मान्छे, तर जिम्मेवारी भने ठूलो थियो । गीत गाएर आफू र परिवारको जीविकोपार्जन गर्दै आएका थिए ।

अशोकले सडकमा गाउँदै पैसा माग्दै गरेको एउटा भिडियो युट्युब च्यानलमा एक्कासि भाइरल भयो । त्यसपछि उनलाई डिजे रुपेश र गायक टंक बुढाथोकीले काठमाडौं ल्याए र उनको गीत रेकर्ड गराए ।

‘मनबिनाको धन ठूलो कि धनबिनाको मन ?’ यो गीत बजारमा आएपछि अशोक दर्जीको झनै चर्चामा आए । गीत हिट भएपछि टंकले अहिले यसमा फिल्मसमेत बनाउँदैछन् । यसमा अशोकको पनि अभिनय रहनेछ ।

हाल अशोकले संगीतसँगै पढाइलाई पनि अघि बढाउँदै छन् । उनी मलेसिया र दुबई लगायतका विदेशका कार्यक्रममा गइसकेका छन् । सांगीतिक कार्यक्रमबाट कमाएको पैसाले जग्गा किनेर यतिबेला घर पनि बनाइसके ।

उनी अन्तवार्ताहरूमा पनि निकै सरल रुपमा प्रस्तुत हुन्छन् । उनी कुनै विवादमा आएका छैनन् । हाल उनी टंककै संरक्षण र अभिभावकत्वमा छन् ।

हुन त कतिपय मानिसहरु टंकले अशोकलाई ‘मागी खाने भाँडो’ बनाएको आरोपसमेत लगाउँछन् । तर, समाजमा कुरा काट्नेहरूको पछाडि लागेर साध्य हुँदैन । बालबालिकाको संरक्षण गर्ने कार्यलाई सकारात्मकरुपमा हेरिनुपर्दछ । तर, उनीमाथि श्रम वा अन्य प्रकारका शोषण भने कसैले पनि गर्नु हुँदैन ।

प्रकाशित मिति : २३ पुस २०८१, मंगलबार  १२ : ४५ बजे

इस्तानबुलका मेयरका वकिल पनि पक्राउ

इस्तानबुल-  इस्तानबुलका जेलमा रहेका मेयर एकरेम इमामोग्लुले शुक्रबार सामाजिक सञ्जालमार्फत आफ्ना

सर्वसाधारणका घरबाट सामान निकालेर जलाउँदै राजावादी

काठमाडौं– काठमाडौंको तीनकुनेमा भेला भएका राजावादीहरूले सर्वसाधारणका घरबाट सामान निकालेर

समाजवादी मोर्चा नेपालको जनसभा सुरु

काठमाडौं– समाजवादी मोर्चा नेपालको जनसभा सुरु भएको छ । काठमाडौंको

राजावादीले ढुंगा बर्साएको तीनकुनेको एक घरमा आगजनी

काठमाडौं– काठमाडौंको तीनकुनेस्थित एक घरमा आगजनी गरिएको छ । राजावादीहरूको

राजावादी र प्रहरीबीच झडपले रणमैदान बन्यो तीनकुने (तस्बिरहरू)

काठमाडौं- राजावादी र प्रहरीबीचको झडपले तीनकुने क्षेत्र रणमैदान जस्तै बनाएको