धनगढी– बझाङको केदारस्युँ गाउँपालिका-१ की सविता बोहरालाई गर्भजाँच गरेको स्वास्थ्य संस्थाले आगामी माघ २४ गते मात्रै बच्चा पाउने मिति दिएको थियो । घरपरिवार त्यसैको आधारमा तयारी गर्दै थिए । रोजगारीका लागि भारतको कर्नाटकमा रहेका पति उमेश बोहरा पनि माघ दोस्रो साता घर आउने तयारीमा थिए।
सविताले भैरवनाथ स्वास्थ्य चौकीमा अन्तिम ८ औँ पटक जाँचसमेत गराइसकेकी थिइन् । स्वास्थ्यकर्मीले पनि अवस्था राम्रै रहेको बताएका थिए । एकाएक व्यथा लाग्ला र यस्तो अवस्था आउला भन्ने परिवार र सविता कसैले सोचेका थिएनन् । तर, पुस २१ गते साँझबाट सविताको पेट दुख्न सुरु भयो । मध्यरातिसम्म कसैलाई भनिनन्, पीडा सहेर बसिन् ।
तर उनले सहनै नसक्ने अवस्था आयो । सासु र नन्दालाई पेट दुखिरहेको खबर गरिन् । त्यसबेलासम्म सहनै नसक्नेगरि पेट दुखिरहेको थियो ।
पति विदेशमा थिए । घरमा वृद्ध सासू-ससुरा, सानै उमेरकी नन्द । उपाय लगाउने कोही थिएनन् । त्यसैमा ससुरा दृष्टिविहीन । छिमेकीलाई खबर गर्न पनि उनको परिवारले ध्यान दिएन ।
बिहान पौने ५ बजेतिर घरबाट निस्किए । गाउँमा सडक पुगेको छ । छिमेकीसँग अटो पनि थियो । पालिकासँग एम्बुलेन्स । स्वयम्सेविकासँग स्ट्रेचर पनि । तर, उनीहरूले कसैलाई केही नभनेरै रायल प्राथमिक स्वास्थ्य चौकी जाने निधो गरि हिँडे । अत्यधिक दुखाईबीच हिउँदको चिसोमा पहाडको बाटो छिचोल्दै थिए।
घरबाट करिब २ किलोमिटर बाटो हिँडेपछि सवितालाई हिँड्न गाह्रो भयो । जंगलको बाटो, बीचबाटोमै थचक्क बसिन् ।
त्यसबेलासम्म न छिमेकीलाई भनेका थिए न त बाटो छेउछाउ पर्ने कसैलाई । स्वास्थ्यकर्मीलाई जानकारी गराउनु त परको कुरा । बाटोमै सविताले बच्चा जन्माइन् । जन्मेको शिशु छोरो थियो । दुईजना सानै उमेरकी नन्द र सासू खुसी भए । लगत्तै कान्छी नन्द देवु बोहरा बाटोनजिकै पर्ने वडा सदस्य प्रेम बोहराको घर पुगिन् । आँसी मागिन् । पौने ६ भइसकेको थियो । किन केका लागि भन्दा पानीको घैला पनि दिनु, भदु जन्मियो भन्दै उनीहरू त्यहाँबाट हिँडेको वडा सदस्य प्रेम बोहरा बताउँछन् ।
बोहराले स्वास्थ्यकर्मीलाई खबर गर्न सल्लाह दिए । उनीहरू हतारमा भाउजू सुत्केरी भएको ठाउँमा गए । त्यहाँ पुगेसम्म सविताको शरीर रगतले भिजिसकेको थियो । पीडाले ज्यान शिथिल हुँदै थियो । जन्मेको शिशुले श्वास फेर्न छोडिसकेको थियो । वडा सदस्य बोहरा पनि घरनजिकै भएकोले त्यही पुगे । हतारमा प्राथमिक स्वास्थ्य केन्द्रका सिनियर अहेव कमल कुमार मल्ललाई फोन गरे । एम्बुलेन्स लिएर आउन भने ।
सुत्केरी भएको ठाउँबाट स्वास्थ्य संस्था ५ देखि ७ किलोमिटरको सडक दूरीमा पर्छ । सिनियर अहेब मल्ल पनि साथमा स्टाफ नर्स जानकारी कुमारी भण्डारीलाई लिएर एम्बुलेन्ससहित साढे ६ बजेतिर पुगे । तर, स्वास्थ्यकर्मी र एम्बुलेन्स पुग्दासम्म न शिशुको श्वास बाँकी थियो, न त आमाको ।
मृतशिुश आमाको काखमा थियो । आमा सासूको काखमा थिइन् । २१ वर्षकी सविता र उनको प्रेमको निशानी दुवैले काखमै प्राण त्यागे ।
उक्त स्थानमा पुग्दासम्म दुवैको श्वास रोकिएको सिनियर अहेव कमल कुमार मल्लले बताए ।
‘साँझ नै खबर गरेको भए, आमा र शिशु दुवै बाँच्न सक्ने अवस्था थियो । बिहान पनि घरबाट नआएर एम्बुलेन्सका लागि खबर गरेको भए, हुन्थ्यो,’ मल्लले भने ।
गाउँमा अझै कसैलाई पनि व्यथाबारे भन्नु हुन्न भन्ने कुप्रथा कायमै छ । त्यसबेला पनि स्वास्थ्य संस्थाभन्दा धामीलाई बोलाइदिन सविताकी सासूले अनुरोध गरेको वडा सदस्य प्रेम बोहरा सुनाउँछन् ।
बुहारी मृत्युसँग लडिरहेको र शिशुले श्वास बन्द गरिसकेको अवस्थामा पनि पुरानै मान्यता र अशिक्षामा हुर्केकी सविताकी सासूले धामी बोलाइदिन अनुरोध गर्दै, पानी खुवाउन र फेरि पनि श्वास आउने विश्वासमा बिलौना गरिरहेको भिडियोमा देख्न सकिन्छ ।
सविता र उमेशले बिहे गरेको वर्ष दिन पुगेको छैन । गत वैखमा उनीहरूले बिहे गरेका थिए । बिहेलगत्तै उमेश कामको खोजीमा भारत गए । अहिले सविता र नवजात शिशु बितेको दृश्य देख्दा र सुन्दा मन थाम्न सक्ने अवस्था छैन ।
वडा सदस्य प्रेम बोहराले भने, ‘पहिलो कमजोरी परिवारकै देखिन्छ । छिमेकीलाई भन्नु पर्ने, नभए घरकालाई समयमै खबर गर्नु पर्ने, आफैँ काल खोजेजस्तो घटना भयो। पालिकाले सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरेको छ । त्यसबारेसमेत जानकारी आफन्तले नराखेको देखिन्छ ।’
परिवारको तयारी र पूर्व जानकारी नभएकै कारण अकालमै ज्यान गुमाएको गाउँपालिका अध्यक्ष गणेश बहादुर शाहीले बताए ।
‘घटनाबारे थप अध्ययन गर्न पालिका स्वास्थ्य शाखाको बैठक बोलाइसकेको छु, वास्तविकता त्यहाँ पनि थाहा होला, कमजोरी कसको भनेर, तर आफ्नो ख्याल, स्वयम र परिवारले गर्नु पर्ने हो, छिमेकीलाई समेत खबर नगर्नु थप समस्या हो, उनले भने रातभरिको व्यथा, हिउँदको चिसो र अत्यधिक रक्तश्राव मृत्युको कारण बन्यो ।’
केही महिनाअघि त्यही पालिकाको ६ नम्बर वडाका एक आमाले सुत्केरी अवस्थामै ज्यान गुमाएकी थिइन् । सचेतनाको कमी र पारिवारिक बेवास्ताले पनि सुत्केरी आमाको ज्यान जोखिममा पर्ने गरेको देखिन्छ ।
राज्यले नीतिगत रूपमै सुत्केरी सुरक्षालाई विशेष प्राथमिकतामा राखे पनि यस्ता घटना भइरहेका छन् । सबैभन्दा बढी दुर्गमका गाउँहरूमा यस्तो समस्या दोहोरिने गरेको छ ।
प्रतिक्रिया