काठमाडौं– सत्ता रुढ नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठक आज (मंगलबार) नै समापन हुने भएको छ । आइतबारबाट ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा सुरु भएको आठौं केन्द्रीय कमिटी बैठक तेस्रो दिन समापन हुन लागेको हो ।
बैठकमा राजनीतिक प्रतिवेदनमाथिको छलफलपछि अहिले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली समापन सम्बोधन गर्दैछन् ।
सोमबार ६४ जना केन्द्रीय सदस्य, ५२ जना पोलिटब्युरो र स्थायी कमिटीका सदस्यहरूले धारणा राखेका थिए । मंगलबार बाँकी केन्द्रीय सदस्यहरूले धारणा राखेपछि बैठक समापन हुन लागेको हो ।
अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि धारणा राख्न एमालेले सबैलाई ३ मिनेटको समय छुट्टाएको थियो ।
अध्यक्ष ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अनावश्यक ‘दाउपेच र छलछाम’ कारण कांग्रेस–एमाले गठबन्धनको सरकार बनेको तर्क गर्दै मुलुकको राजनीतिक स्थायित्वका लागि २०८४ सम्म गठबन्धन कायम रहने बताएका छन् ।
प्रतिक्रिया