‘बर्मादेखि अफगानिस्तानसम्म ठूलो भूकम्पको शक्ति सञ्चय भएको छ’ | Khabarhub Khabarhub

‘बर्मादेखि अफगानिस्तानसम्म ठूलो भूकम्पको शक्ति सञ्चय भएको छ’

थुप्रै हिमताल उच्च जोखिममा पर्न सक्ने



काठमाडौं- चीनको तिब्बतमा मंगलबार बिहानै ठूलो भूकम्प गयो । सबेरै बिहान त्यसको धक्का नेपालका विभिन्न भागमा पनि महसुस गरिएको छ । बिहान ६ः५० जाँदा तिब्बतको सिगात्से र नेपालको पूर्वी पहाडको सीमा क्षेत्रमा ७.१ म्याग्निच्युडको भूकम्पको धक्का महसुस भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले पुष्टि गरेका छन् । उक्त कम्पन काठमाडौँ उपत्यका लगायत मुलुकका पूर्वी तथा मध्यपहाडी भूगोल र मधेसमासमेत महसुस गरिएको छ। भूकम्पको ठूलो कम्पन महसुस भएपछि बिहानै मानिसहरू घरबाट निस्केर खुल्ला ठाउँमा बसेका थिए ।

यसले पुर्‍याएको क्षतिको विवरण आइरहेको छ । ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्पको प्रभाव नेपालमा नेपालको पहाडी भेगमा कस्तो पर्छ ? विशेषगरी जलवायु विज्ञहरूले यसबाट निम्तिन सक्ने जोखिमबारे थप चिन्ता गरिरहेका छन् । पहाडी क्षेत्रमा र तिब्बती हिमशृंखलामा पर्ने नेपालका थुप्रै हिमताल उच्च जोखिममा छन् । यस भूकम्पका कारण ती हिमताल फुट्न सक्ने र उच्च जोखिममा हुन सक्ने चिन्ता व्यक्त गरेका छन् ।

नेपालमा भूकम्पको धक्का नयाँ त भएन तर २०७२ को विनाशकारी भूकम्पपछि धेरै पटक यस्तो महसुस गरिरहेका छौँ । तर मंगलबार बिहानको भूकम्प फरक प्रकृतिको महसुस भएको छ । सर्वसाधारणले लामो समय हल्लाएको भनिरहेका छन् । यही विषयमा भूकम्पविद् खड्ग सेन ओलीसँग कृष्ण तिमल्सिनाले गरेको कुराकानी :

आज बिहान काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा भूकम्प आएको छ । तपाईंको जानकारीका आधारमा यो कस्तो प्रकृतिको हो ? यसले नेपालमा यति ठूलो धक्का किन दियो ?

यो ठूलो भूकम्प हो । यसको प्रारम्भिक जानकारी आउने क्रम जारी छ । हिमाली क्षेत्रमा केन्द्रबिन्दु भएकाले हिमतालहरू भुट्न सक्ने सम्भावना रहन्छ । हामी चीनको सीमा क्षेत्रमा रहेकाले यो हाम्रा लागि चासो र चिन्ताको विषय हो ।

हाम्रा लागि महत्त्वपूर्ण भनेको ०७२ पछि धेरै परकम्पहरू भोगिरहेका छौँ, त्यसैले हामीले भूकम्प आउन सक्छ भन्ने कुरामा सजग भइरहनुपर्छ । क्षतिलाई कसरी कम गर्नेमा केन्द्रित हुनुपर्छ । यसलाई चेतावनी घण्टी बजाएको रूपमा लिनु पर्छ । १९९० को भुइँचालोको स्मृतिमा २०५५ देखि भूकम्प सुरक्षा दिवस मनाउने गरिएको छ । २७ औँ भूकम्प सुरक्षा दिवस मनाउने क्रममा छौँ । माघ २ को तयारी भइरहेका बेला ठूलो भूकम्प गएको छ ।

यो पटकको नारा नै पनि विगतका भुइँचालोको पाठ सिक्ने भन्ने छ । हामीले अब बलियो संरचना बनाउन सके भने सुरक्षित रहन सक्छौँ । सुदृढ पूर्वतयारी चाहिने कुरा अहिलेको नारामा राखिएको छ । त्यसैले यस्ता भूकम्पले पूर्वतयारीमा काम गर्न अझ बढी लाग्नु पर्ने आवश्यकता र औचित्यलाई पुष्टि गरेको छ।


अन्तर्राष्ट्रिय भूकम्प मापन गर्ने वेबसाइटमा आएका विवरण हेर्दा नेपाल र तिब्बती सीमा आसपास मा शृंखलाबद्ध ४ देखि ७ म्याग्निच्युडका ठूला भूकम्प आइरहेका छन् । मंगलबार पनि सगरमाथा आसपासको क्षेत्रमा ७.१ म्याग्निच्युडको भूकम्प आयो । त्यसै त उच्च हिमताल जोखिममा छन् । हामी भूकम्पीय हिसाबबाट संसारको जोखिमयुक्त सहरमा बसिरहेका छौँ । भूकम्पपछि त्रसित हुने तर बिर्सिजाने बानी छ । ०७२ को भूकम्पपछिको अवस्था के छ त ?

खासगरी हिमाली क्षेत्रअन्तर्गत पूर्व बर्मादेखि पश्चिम अफगानिस्तानसम्मको २५०० किलोमिटर भूकम्पको उच्च जोखिममा छ । हामी पनि जोखिममा छौँ । त्यसकारण यो ठाउँमा आउन सक्ने भूकम्प एउटा कुरा भयो । तर त्यसले हिमाली क्षेत्रमा निम्त्याउने क्षति ठूलो हुन सक्छ । हिमालय क्षेत्र भएकोले हिमताल फुट्ने जोखिम उच्च छ । त्योसँग सम्बन्धित अन्य जोखिम निम्तिन सक्ने सम्भावना छ ।

२०७२ सालको भूकम्पपछि केही सुधार भएको छ । त्यसयता हामी सुरक्षाको दृष्टिले अलिकति अगाडि बढेका छौँ । ०७२ सालपछि बनेका ८ लाख जति घर भूकम्पीय दृष्टिले सुरक्षित छन् ।

भवन निर्माण संहिता कार्यान्वयनमा नगरपालिका अगाडि छन् । नक्सा पासको प्रक्रियामा कडाइ गरिएको छ । हामीले यसमा काम गरिरहेका छौँ । सुधार भइरहेका छन् । नयाँ घरलाई सुरक्षित बनाउन सक्यौँ भने जोखिम कम गर्न सक्छौँ । सम्भावित मानवीय र पूर्वाधारको क्षतिलाई घटाउन सकिन्छ । अहिले बिल्डिङ कोडअनुसार बनेका संरचनामा सुरक्षाको प्रत्याभूति भएको पाउन सकिन्छ ।

तर अहिले पनि हामीकहाँ उद्धारका लागि पर्याप्त प्राविधिक सामान छैनन् । तालिमहरू थपेका छौँ तर पर्याप्त छैन । अब हामीले भूकम्प आएपछि आफैं अनुभव गरेर बस्ने तहबाट अगाडि बढ्नु पर्छ ।


आजको भूकम्पसँगै हाम्रो पश्चिम पहाडमा पनि निरन्तर धक्का महसुस भइरहेको छ । खासगरी सुदूरपश्चिम र कर्णालीका विभिन्न जिल्लामा निरन्तर भूकम्पीय धक्का आइरहेको छ । तिब्बती प्लेटले सिर्जना गरेको कम्पन र हामीले महसुस गरेको कम्पनबारे केही अनुसन्धान भइरहेको छ कि ?

भूगर्भविद्, भूगोल विभागका विज्ञहरूले यसमा अध्ययन गर्नु भएको होला, केही भन्नु होला । तर, मैले बुझेसम्म हाम्रो पश्चिमी भूभागमा एउटा ठूलो भुइँचालोको शक्ति सञ्चय गरेर बसेको देखाउँछ । यो प्राकृतिक प्रक्रिया भएकोले कहाँ कसरी जान्छ भन्ने यकिन गर्न सकिँदैन । तर पश्चिममा ठूलो भूकम्प जाने सक्ने सम्भावना छ । नेपालको पश्चिम र पूर्व भन्ने कुरै भएन, बर्मादेखि अफगानिस्तानसम्म पृथ्वीभित्रको गतिशील प्रक्रिया जारी छ । त्यसले ऊर्जा सञ्चित गरेकाले त्यो रिलिज हुँदा कुन ठाउँमा कसरी जान्छ ठ्याक्कै भन्न सकिँदैन । नेपालको समग्र भूभागमा अझै ठूला, साना, मझौला भुइँचालो जान सक्छन् । त्यसमा हामी सज हुन सक्नु पर्‍यो । वैज्ञानिक आधारमा अनुसन्धान कति के भएका छन् ? त्यसको खोजी जनतालाई सचेत गर्नुपर्छ । यी भूकम्पहरू अन्तरसम्बन्धित त छन् । हाम्रो पूर्व, पश्चिम र तिब्बतसँग जोडिएका छन् । फेरि एउटै टेक्टोनिक प्लेटको मात्रै नभएर फल्ट लाइनको अर्को चिरा आउँछ । नेपालमा ९२ वटा फल्ट लाइन छन् ।

त्यो फ्रन्ट लाइनको कारणले स्थानीय भूकम्पहरू बढ्दा फल्टलाइनले कुन ठाउँमा कहाँ जान्छ कति जान्छ भन्ने कुरा त्यसले पनि तय गर्छ । तर यसमा अहिले अध्ययन नै भएको कुराहरूमा आधारित भएर पनि हेर्नुपर्छ ।


सूचना आदानप्रदानमा समन्वय कतिको छ ? बर्मादेखि तिब्बत, नेपाल र भारतका उच्च हिमाली भेगका सन्दर्भमा एकअर्का देशबीच ।

अहिले खासगरी भौगोलिक र भूकम्पीय हिसाबले संयुक्त प्रयासमा केही रिसर्च भएका छन् । खोज र उद्धारका लागि क्षेत्रीयस्तरमा काम गरेको अनुभव छ । ०७२ सालको भूकम्पमा पनि भारत र पाकिस्तानबाट आएको खोज उद्धारकर्मीको समूहले काम गर्दा पनि एउटै सिस्टम विकास भएको थियो । त्यस्तो काम गरेको अनुभव छ हामीसँग ।

खोज तथा उद्धारकर्मीका लागि एडभान्स सोर्सेस स्कुलमा क्षमता अभिवृद्धि गर्ने सन्दर्भमा हामी संलग्न थियौँ । त्यसको एउटा सोच नै के हो भने कमसेकम क्षेत्रीयस्तरका समस्याको आपत्कालीन अवस्थामा काम गर्दा कुनै मुलुकको समूह आउँदा एउटै प्रणालीमा काम गर्दा प्रभावकारी हुन्छ भन्ने हो । त्यसैले हाम्रो जमिनमुनि के भइरहेको छ भन्ने सन्दर्भमा क्षेत्रीय तहमा अध्ययन भएका छन् । अर्को जमिनमाथिका लागि पूर्वतयारी र उद्धारको काम गरौँ भन्ने तहमा केही कुरा भएका छन् । तर यसमा पनि हामीसँग भएको सार्क नै निष्कृय जस्तो भएको छ । त्यसका कारण हामीलाई मिलेर काम गर्न केही समस्या भएको छ ।

सार्कमा एउटा म्यानेजमेन्ट सेन्टर थियो, जसलाई कुनै बेला बृहत् सोचका साथ अगाडि बढाइएको थियो, त्यो पनि सक्रिय हुन सकेको छैन । त्यसका संयन्त्र र संरचनालाई सक्रिय बनाएर क्षेत्रीय तहमा त्यही दृष्टिकोणबाट काम गर्न सकिन्छ, त्यो जरुरी छ ।
यसका लागि विश्वमा प्रयासहरू भएका छन् । सूचना आदानप्रदानसँगै अरु संयन्त्रहरुका लागि प्रकोप निम्तेका बेला केही काम भएको छ । भूकम्पीय जोखिमका सन्दर्भमा अहिले ग्याप देखिएको छ ।

प्रकाशित मिति : २३ पुस २०८१, मंगलबार  ७ : ४६ बजे

अर्थसंक्षेप : आधा दर्जन कानुन बनाउन सरकारलाई आयोगको सुझाव, आर्थिक वृद्धिदर ३.४ प्रतिशतमा सीमित

काठमाडौं– उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई आधा दर्ज कानुन

विपिनको रिहाइमा पहल गरिदिन परराष्ट्रमन्त्रीको आग्रह 

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालका लागि इजरायली राजदूत

सहकारी ठगी प्रकरण : रविसहितको मुद्दामा बिहीबार आदेश आउने सम्भावना

कास्की- पोखरास्त सूर्यदर्शन सहकारी संस्थाको बचत हिनामिना र अपचलन मुद्दामा

तिब्बतमा भूकम्पपछि ६४६ परकम्पन

ल्हासा– दक्षिण–पश्चिम चीनको स्वायत्त क्षेत्र तिब्बतको तिङ्ग्री काउन्टीमा मंगलबार बिहान

रौतहटमा एकैदिनमा २० जना फरार प्रतिवादी पक्राउ

रौतहट– जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटहरूले एकैदिनमा २०