नदीजस्ती दिया मास्के - कलाका बहुविधामा ठोक्किँदै, बग्दै ! | Khabarhub Khabarhub

कला

नदीजस्ती दिया मास्के – कलाका बहुविधामा ठोक्किँदै, बग्दै !


२५ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 8 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दिया मास्के कलामा रुचि राख्ने दर्शक, श्रोता र पाठकमाझ अबलाई परिचित नाम हो । दियाले आफूलाई नायिका मात्रै होइन, बोल्ड नायिकाकै रूपमा स्थापित गराइसकेकी छिन् ।

दियालाई चिनाउँदा औपचारिकताका लागि ‘रङ्गमञ्च पृष्ठभूमिकी नायिका’ भन्ने गरिन्छ, जुन परिचय सीमामा उनी त्यत्ति सन्तुष्ट हुँदिनन् ।

कारण हो – रङ्गमञ्च पृष्ठभूमिभन्दा अघि दियाले नृत्य र टेलिभिजन कर्ममा बटुलेको अनुभव !

दियाले कथ्थक नृत्यमा स्नातकोत्तर गरेकी छन् । उनको कलाकारिता यात्रा नृत्यबाटै सुरु भएको हो ।

उनी फिल्मी परिवारमा जन्मिएकी होइनन्, तर सात वर्षकै उमेरमा उनले फिल्मका गीतमा नृत्य गरेकी थिइन् । पछि व्यवसायिक नृत्य अभ्यास गरेरै थियटरमा प्रवेश गरेकी हुन् ।

दियाले नृत्यबाट म्यूजिक भिडियो र म्यूजिक भिडियोबाट सिरियलमा अभिनय गरिन् । सिरियलपछि मात्रै उनी थियटर पुगेकी हुन् ।

‘थियटर पृष्ठभूमिकी नायिका’ भनिदिँदा दियाका यत्तिका अनुभव ओझेल पर्छन् । अनि कसरी सन्तुष्ट हुनु !

होस्टेलमा बाल्यकाल

दियाको पुख्र्यौली घर काठमाडौंस्थित असन हो । उनका हजुरबुवा सर्लाही बसाइँ गए । बुवाले ललितपुरको कुपण्डोललाई स्थायी थलो बनाए ।

उनको जन्म कुपण्डोलमै भयो । उनी एक दिदी र दाइपछि जन्मिएकी कान्छी छोरी हुन् ।

दिया बामे सर्न थालेकै बेला बुवालाई ब्रेन ह्यामरेज (मष्तिष्कघात) भयो । मृत्युलाई त जिते, तर परिवारमा नेतृत्वदायी भूमिका निभाउन स्वास्थ्यले खास साथ दिएन ।

बुवा बिरामी भएपछि तीन सन्तानको लालनपालन र संरक्षण जिम्मा आमामा सर्‍यो । चार वर्षको उमेरसम्म उनी आमाकै संरक्षणमा हुर्किइन् ।

प्राथमिक तहको शिक्षा कुपण्डोलस्थित ‘अमर शिशु विद्यालय’मा लिइन् । त्यही स्कूलको होस्टलमा चार वर्षदेखि किशोरावस्थासम्म बिताइन् ।

कक्षा पाँचपछि अर्को स्कूलमा पढ्न गएकी थिइन्, तर अमर शिशुकै होस्टल बसिन् । अर्थात्, दियाको बाल्यकालका सम्झाना होस्टल केन्द्रित छ ।

होस्टलमै बाल्यकाल बिताउनुपर्दाका केही असन्तुष्टि दियामा अझै बाँकी छ । ‘बुवा र आमाको संरक्षणमा हुर्किन पाउनुपर्ने हो, मैले त्यो पाइनँ । होस्टल बसेकाले परिवारसँग मेरो बाल्यकालको सम्झना नै छैन भन्दा हुन्छ,’ खबरहबसँगको कुराकानीमा दियाले सुनाइन् ।

पढाइको मामलामा सजिलै पास हुने विद्यार्थीमा परे पनि ०५६ सालमा एसएलसीको फलामे ढोका थोरै अङ्कले पार गरिन् ।

नृत्यमा रुचि

दिया नृत्यलाई आफ्नो बाल्यकाल सम्झनलायक बनाउने तत्त्व मान्छिन् । स्कूलमा नृत्य प्रस्तुति दिइरहने दिया गुरुजनकी प्रिय छात्रा थिइन् ।

शिक्षकहरूबाट नृत्य प्रस्तुतिमाथि आउने प्रतिक्रियाले यस क्षेत्रमा उनको लगाव झनै बढ्यो । ‘असाधारण नाच्ने केटी’ भनी प्रतिक्रिया आउँथ्यो ।

पाँच पास भएर पनि आफू अमर शिशुको होस्टलमा बस्नु पाउनुको कारण पनि नृत्य नै थियो ।

नृत्य पक्ष सबल बनाउन दियाले प्रशिक्षकका रूपमा हालका वरिष्ठ निर्देशक तथा कोरियोग्राफार राजु शाह पाएकी थिइन् ।

भन्छिन्, ‘राजु सर हाम्रो स्कूलको नृत्य प्रशिक्षक हुनुहुन्थ्यो, सोही कारणले मेरो नृत्यमा निखारपन आयो ।’

शाहले नृत्य सिकाउने मात्र होइन, उनलाई विभिन्न फिल्मका गीतमा नृत्य गर्नसमेत लैजान्थे ।

सोहीकारण उनले सात वर्षको उमेरै फिल्म ‘दुई थोपा आँशु’को गीत ‘जुन त लाग्यो ताराले’मा बालकारका रूपमा नृत्य गर्न पाइन् । दियाको कलाकारिता यात्रा यही गीतबाट सुरु भएको हो ।

राजेश हमाल र करिश्मा मानन्धर स्टारर फिल्म ‘परिभाषा’को गीत ‘सपनीमा हुन्छौ तिमी’मा उनले ग्रुप डान्स गरिन् । त्यतिखेर उनी करिब १० वर्षकी थिइन् ।

त्यही गीतमा नृत्य दौरान दियाले पहिलोपटक दिलीप रायमाझीलाई भेटेकी हुन् । त्यतिखेर दिलीप नायक बनिसकेका थिएनन्, कोरस डान्सरका रूपमा सङ्घर्षरत थिए ।

नृत्य प्रशिक्षक शाहले दियालाई नाच्न मात्रै होइन, असिस्ट गर्नसमेत सिकाउँथे । सोही क्रममा त्यतिखेरै दियाले चलचित्र क्षेत्रमा हाल सक्रिय कलाकारहरूलाई डान्स स्टेप सिकाएकी थिइन् ।

स्कूलमा रहँदा नृत्यसँग जोडिएका दियाका मुख्य सम्झना यिनै हुन् । स्कूलमा वा कुनै कार्यक्रमको मञ्चमा नाचेर जितेका पुरस्कारको सङ्ख्याभन्दा प्रेरणादायी प्रशंशा नै दियाका लागि अमूल्य भैदिए ।

भन्छिन्, ‘कति नाचेँ, कति अवार्ड जितेँ, त्यो यादै छैन । एकदमै लगावले नाच्थेँ । एकदमै रुचि थियो । नृत्यले मलाई प्रशंसा नै प्रशंसामात्र दिलायो ।’

राजु शाहको उत्प्रेरणाले नै आफूलाई कलाकार बन्न उत्प्रेरणा दिएको दियाले सुनाइन् । भनिन्, ‘सबैले राम्रो नाच्छस् भन्नुहुन्थ्यो, राजु सरले फिल्मका काममा लैजान लागेपछि कोरिग्राफर वा डान्सर नै बन्छु भन्ने भयो ।’

यद्यपि उनलाई अभिनय गर्ने इच्छा भने युवावस्थामा पलाएको हो ।

नृत्यमै स्नातकोत्तर

दिया नृत्यकी विद्यार्थी हुन् । नियमित पढाइमा एसएलसी दिँदै गर्दा उनी भारतको अलाहवादमा कथ्थक नृत्यमा स्नातक गर्दै थिइन् ।

काठमाडौंको इन्स्टिच्युटमार्फत भारतीय नृत्य स्कूलमा भर्ना हुन पाइन्थ्यो । भारतमै गएर पढ्न अनिवार्य थिएन, वर्ष दिनमा परीक्षा हुन्थ्यो, भारतका जाँचकीहरूले काठमाडौंमै आएर परीक्षा लिन्थे । उनीहरूको मूल्याङ्कनअनुसार विद्यार्थी कक्षा चढ्थे । त्यहाँ उमेरले छेक्दैनथ्यो । क्षमता भए कक्षा जम्प गर्न पाइन्थ्यो ।

२१ वर्षको उमेरमै दियाले कथ्थक नृत्यमा स्नातकोत्तर सकेकी थिइन् । उनी कथ्थक नृत्यको गोल्डमेडलिस्ट नै हुन् ।

नियमित पढाइतर्फ पनि दियाले प्लस टूमा नृत्य विषय लिएर पढेकी हुन् । यहाँ भने उनले नृत्यको अर्को विधा भरतनाट्यम पढेकी हुन्, जो भारतीय उपमहाद्विपमा प्रचलित शास्त्रीय नृत्यको प्रमुख विधा हो ।

दियाले समाजशास्त्रमा पनि स्नातकोत्तर गरेकी छन् ।

महजोडीसँग भेट र म्यूजिक भिडियो

दिया एसएलसी (प्रवेशिका परीक्षा) दिएर नतिजा कुर्दै थिइन् । सोही बेला हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठको ‘मह–गाईजात्रा’मा डान्सरका रूपमा जोडिन प्रस्ताव आयो ।

यो प्रस्तावको कारक भने स्कूलमै गरेको एक नृत्य थियो । उक्त नृत्य गर्दाको समयमा उनी १० वर्षकी थिइन् ।

त्यसबेला एक शास्त्रीय भारतीय गीतलाई गायक प्रकाश गुरुङले गाएका थिए । सङ्गीतका लागि सुरेन्द्र श्रेष्ठको ‘सुर–सुधा’ समूह आएको थियो ।

दियाले नाचेको सुरेन्द्रले त्यहीँ देखेका थिए । वर्षौंपछि उनै सुरेन्द्रले घरमा फोन गरेर दियालाई भने, ‘एसएलसी सकेको भए महजोडीका लागि डान्सर चाहिएको छ । तिमी नाच्छौ त ?’

दिया एसएलसी पछिको बिदामा थिइन्, नृत्य पनि सिकिरहेकी थिइन् । उनले अवसर छोपिहालिन् ।

सुरेन्द्रकै सिफारिसमा उनी ‘मह–गाईजात्रा’मा सहभागी भइन् । त्यही कार्यक्रम अन्तर्गत रहेर उनले बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (हालको संसद् भवन)मा नृत्य प्रस्तुति दिइन् । ३० हजार रुपैयाँ पारिश्रमिक पाइन् ।

वि.सं. ०५६ मा ३० हजार रुपैयाँ ठूलो रकम थियो । अकबरी सुन नै तीन तोला आउँथ्यो ।

लगत्तै महजोडीमार्फत् नै उनी नृत्यका लागि बेलायतको लण्डन पुगिन् । त्यसपछि भने उनको नृत्य यात्राले थप गति लियो । विभिन्न व्यक्ति र समूहसँग चिनजान भयो । स्टेजमा नृत्यका काम पाउन थालिन् ।

महजोडीसँग काम गरेलगत्तै म्यूजिक कम्पोजर, फिल्म लेखक तथा निर्देशक नारायण रायमाझी नेतृत्वको टोलीसँग उनले ‘नेपाल टूर’ गर्ने अवसर पाइन् ।

यसरी कला क्षेत्रको एउटा वृत्तमा परिचित भएपछि उनले काम पाइरहिन् । नृत्य प्रस्तुतिकै लागि दिया बेलायत, जापान, फ्रान्स र भारतलगायत आधादर्जन देश पुग्ने अवसर पाइन् ।

दियाले सुनाइन्, ‘म महजोडीसँग जोडिएर काम गरेदेखि स्टेज नृत्यमा व्यस्त भइरहेँ । आम्दानी पनि राम्रै हुन्थ्यो, घरमा खर्च माग्नुपरेन । कलेज खर्च र व्यक्तिगत खर्च आफ्नै कमाइले पुग्न थाल्यो ।’

स्टेज नृत्यमार्फत् उनले अर्को काम पाइन् । त्यो थियो – म्यूजिक भिडियोको मोडल !

उनले डेब्यू गरेकै वर्ष तीन म्यूजिक भिडियोमा नृत्य गरिन् । त्यसबेला उनले गरेका चर्चित म्यूजिक भिडियो ‘भिज्यो सिरानी’ र ‘कति राम्रो’लगायत हुन् ।

‘दलन’मा अभिनय, नाटकमा अवसर

दियालाई सुरुमा अभिनयमा रुचि नै थिएन । रुचि थियो त डान्स कोरियोग्राफर बन्ने !

तर, अकस्मात एक फोन आयो । जुन फोनले उनलाई फरक दुनियाँमा लैजाँदै थियो । त्यो फोन आउँदा उनी स्तानक तेस्रो वर्षको परीक्षा तयारीका लागि साथीको घरमा थिइन् ।

टेलिसिरियल ‘दलन’बाट फोन आएको थियो । फोन गर्ने व्यक्तिले अडिसनका लागि उनलाई बोलाए । उनलाई अभिनयमा रुचि त थिएन, तर फोनै गरेर बोलाएका कारण अडिसन दिन जान तयार भइन् ।

अडिसन पार गरिन् । उनी ‘दलन’को केन्द्रीय कलाकार चयन भइन् । यस सिरियलमा वरिष्ठ रङ्गकर्मी अनुप बराल, अभिनेता दयाहाङ राई र कलाकार पुस्कर गुरुङजस्ता हाल स्थापित अनुहार थिए ।

सिरियलमा अनुप बरालको जोडीको भूमिकामा दिया पक्का भइन् । सिरियलका निर्देशक अहिलेका फिल्म निर्देशक नवीन सुब्बा हुन् ।

उनले सिरियल खेल्दै गर्दा आफूलाई ‘दलन’बाट फोन आउनुको कारण थाहा पाइन् । कारण रहेछ – आफ्नो चर्चित म्यूजिक भिडियो ‘भिज्यो सिरानी’ !

‘दलनका लागि मान्छे खोजीरहनुभएको रहेछ । रङ्गकर्मी वीरेन्द्र हमालले भिज्यो मेरो सिरानी गीतको भिडियो देखाएर दियालाई लिँदा हुन्छ भन्नुभएको रहेछ । वीरेन्द्र सरको सिफारिसले मलाई कल आएको रहेछ,’ दियाले त्यो संयोगबारे सुनाइन् ।

आकस्मात आइलागेको प्रस्तावले दियालाई सिरियलमा अभिनय मात्रै गराएन, यसप्रति चाख पनि पलायो ।

भन्छिन्, ‘सिरियलका लागि अनुप सरले वर्कसप दिनुभएको थियो, वर्कसपले मलाई अभिनय भनेको हलुका कुरा होइन भन्ने महसुुस भयो, म अभियप्रति आर्कषित भएँ ।’

दलन छायाङ्कनकै क्रममा उनलाई नाटक खेल्नेसंयोग जुर्‍यो । नाटकमा अभिनय उनको रुचिको विषय थिएन, तर संयोग आइलागेपछि उनी किन हट्थिन् !

‘दलन’ छायाङ्कनकै क्रममा एक परिस्थिति विकास भयो, जुन दियालाई रङ्गमञ्च प्रवेश गराउँदा ‘सर्प पनि मर्ने, लाठी पनि नभाँचिने’ विकल्प थियो ।

दलनको छायाङ्कन स्थलमा विकास भएको परिस्थिति थियो– अनुप बराल ‘खुमा’ नाटक लिएर भारतको महोत्सवमा जाँदा दलनको छायाङ्कन प्रभावित हुने अवस्था !

दलनकै कलाकार आशा मगराती उक्त नाटकमा एक कलाकार थिइन् । आशा र अनुप भारत जाँदा दलनको छायाङ्न प्रभावित हुने भयो । अनुप बाहिर जाँदा दियासमेत खाली हुने भइन् ।

उनी सुनाउँछिन्, ‘अनुप सर र म जोडी थियौँ, उहाँ नहुँदा मेरो सुटिङ हुँदैन थियो । आशा मगराती र अनुप सर जाँदा दुई पाटोको छायाङ्कन रोकिने थियो । म र अनुप सर जाँदा एक पाटोको मात्रै छायाङ्कन रोकिन्थो । दलन टिमबाट अनुप सरलाई आशा मगरातीको ठाउँमा दियालाई लिएर जाऊ भन्ने सुझाव आयो ।’

यही परिस्थितिले दियालाई रङ्गमञ्चमा डेब्यू गरायो । तर, ‘खुमा’मा उनी कोरसमा थिइन् । सानो भूमिका भए पनि दियालाई रङ्गमञ्चबारे कौतुहलता प्रदान गर्न सोही नाटक पर्याप्त भयो ।

पहिलो नाटकले नै अभिनय त धेरै सिरियस काम रहेछ चेत विकास भयो । ‘थप बुझौं न’ भन्ने भयो ।

कौतुहलता पैदा भइरहेकै बेलासंयोग पनि त्यस्तै जुर्‍यो । दलनको काम सकेपछि अनुप बराल ‘एक्टर स्टुडियो’ खोल्ने योजनामा थिए । दियाले पनि अनुपको योजनाबारे थाहा पाएकी थिइन् ।

अनुपलाई ‘तपाईंले एक्टर स्टूडियो खोल्ने भए म पनि अभिनय सिक्छु’ भनिन् । अनुपले स्टूडियो खोले, दिया पनि आबद्ध भइन् ।

एक्टर स्टूडियोमा उनी पहिलो ब्याचकी विद्यार्थी हुन् । त्यहीँबाट नाट्यमञ्चमा दियाको औपचारिक प्रवेश भएको हो ।
उनी अभिनय नै गर्ने लक्ष्यसाथ भन्दा पनि अभिनय जान्ने उत्सुकताले एक्टर स्टूडियो गएकी थिइन् ।

हुन पनि उनको पढाइ नृत्यबारे थियो । एक्टर स्टुडियो धाउँदासम्म आम्दानीको स्रोत नृत्य नै थियो । स्टेज कार्यक्रममा व्यस्तता छँदैथियो । नृत्य कोरियोग्राफर बन्ने इच्छा कायमै थियो ।

फिल्ममा डेब्यू

भुषण दाहाल निर्देशित फिल्म ‘कागबेनी’लाई नेपाली सिनेमाको पछिल्लो कोसेढुङ्गा मानिन्छ, जुन फिल्म सन् २००८ मा प्रदर्शनमा आएको थियो ।

सिनेमाका केही पक्षले ‘कागबेनी’लाई नेपाली फिल्मप्रति हेर्ने दृष्टिकोणमै परिवर्तन ल्याउने फिल्मका मान्छन् ।

उक्त फिल्म व्यवसायिक रूपमा पनि सफल बनेको थियो । दियाको डेब्यू फिल्म पनि त्यही थियो । उनी सो फिल्मको केन्द्रीय भूमिकामा थिइन् ।

फिल्ममा पनि उनी ‘अडिसन सामना गर्ने अभ्यास’ क्रममा चयन भइन् । कागबेनीमा दियाले निर्वाह गरेको भूमिकाका लागि २४ वर्षभन्दा बढी उमेरको महिला कलाकारका लागि अडिसन खुलाइएको थियो । त्यसबेला उनी २४ वर्ष पुगेकी थिइनन्, तर अडिसनमा सहभागी भइन् ।

भन्छिन्, ‘म एक्टर स्टुडियोको पढाइ सकेर विद्यार्थी प्रोडक्सनको नाटक गर्दै थिएँ । हामी नाटकका साथीहरूले अडिसन खुलेको थाहा पायौँ । २४ वर्षको पुगेकी युवती खोजेको पनि थाहा थियो । फिल्मको अडिसन सामना गर्ने अभ्यास हुन्छ, जाऊँ न भनेर हामी केही साथीहरू गएका थियौँ ।’

अभ्यासका लागि दिएको अडिसनले दियाको जीवनको नयाँ अध्याय सुरु गरिदियो । अब उनले ‘नायिका दिया’को परिचय पाइन् ।

भन्छिन्, ‘म सँग कसैले अटोग्राफ लिन आएको नै कागबेनी फिल्म गरिसकेपछि हो ।’

‘कागबेनी’पछि दिया फिल्ममा केन्द्रित भइन् । अर्थात्, उनलाई फिल्मले स्थापित नायिका बनायो ।

तर, उक्त फिल्मपछि उनले सर्ट फिल्म बढी मात्रमा गरिन् । तर, उनलाई दर्शकले फिचर फिल्मबाटै चिनेका हुन् ।

कागबेनीपछि दियाले दर्शन सुरुचि बटुल्नेगरी अभिनय गरेका फिल्म सुनगाभा, फिटकिरी, साँघुरो लगायत हुन् ।

रोडिजको जज र फिल्मी यात्रा

एक समय खास काम नगरिरहेका बेला दियालाई रोडिजको जज बन्न प्रस्ताव आयो ।

डेब्यू फिल्मदेखि सन् २०१५ सम्म दिया व्यस्त थिइन् । त्यस अवधिमा उनले आधादर्जन फिल्म, कैयन् सर्ट फिल्म र नाटक गरिन् ।

रोडिज प्रसारण सन् २०१७ बाट सुरु भयो । त्यस अघिको केही समय भने उनी कलाकारितामा लागेपछि पहिलोपटक खाली बस्नुपरेको थियो ।

खाली समयमा उनले रोडिजको जजका रूपमा काम पाइन् । अहिले सिजन ६ सम्म आइपुग्दा पनि उनले जजमै निरन्तरता पाइरहेकी छन् ।

अहिले फिल्ममा पनि दियाको व्यस्तता उत्तिकै छ । यो वर्षमात्र उनको अभिनय रहेका तीन फिल्म प्रदर्शनमा आए ।

ती फिल्महरू ‘१२ गाउँ’, ‘कार्साङ’ र ‘ममी’ हुन् । ‘ममी’ उनको पछिल्लो फिल्म हो, जुन अहिले प्रदर्शनरत छ ।

प्रकाशित मिति : २५ माघ २०८१, शुक्रबार  २ : १५ बजे

वर्तमान सरकार उल्टो बाटोतीर : अध्यक्ष केसी

काठमाडौं – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले वर्तमान सरकार

जलविद्युत आयोजना रोकिए देशलाई घाटा हुन्छ : मन्त्री खड्का

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सरकारसँग भएको

कानून निर्माणमा सरकारले प्रक्रिया मिच्न खोज्यो : माओवादी

काठमाडौं – नेकपा माओवादी केन्द्रले कानून निर्माणमा सरकारले प्रक्रिया मिच्न

चीनद्वारा अमेरिकाको ‘शीत युद्ध मानसिकता’को आलोचना

एजेनसी – चीनले शुक्रबार ल्याटिन अमेरिकामा संयुक्त राज्य अमेरिकाको ‘शीतयुद्ध

आवासीय चिकित्सकहरूले सरकारीसरह निर्वाह भत्ता पाउने 

काठमाडौं– निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकलाई सरकारी सरहको निर्वाह