जंगलमै छिरेर मकुनामाथि मानिसको अत्याचार, न्याय कसले दिने ? | Khabarhub Khabarhub

जंगलमै छिरेर मकुनामाथि मानिसको अत्याचार, न्याय कसले दिने ?



काठमाडौं- चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनासहितको टोलीमाथि जाइलागेपछि तर्साउन प्रहार गरिएको गोलीबाट मकुनाको मृत्यु भयो ।

कुमरोज मध्यवर्ती सामुदायिक वनको लामीताल इलाकामा मकुना अकस्मात् फेला परेको थियो । तर, उसलाई कोर क्षेत्रतर्फ पठाउन सेनाले गोली चलाउँदा मृत्यु भएको विज्ञप्ति निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले बुधबार निकाले ।

हात्ती स्वीप गस्ती टोलीले ‘स्वीपिङ गस्ती’ गर्दै जाने क्रममा माकुना फेला परेपछि गोली हान्नुको विकल्प नभएको दाबी गरेका छन् । तर चितवन राष्ट्रिय निकुञ्जको विज्ञप्तिमा भने माकुनामाथि पटकपटक गोली प्रहार भएको देखिन्छ ।

‘…घरपालुवा हात्ती (चुरेगज) लाई सिधै आक्रमण गर्न आएकाले अन्य विकल्प नभएको अवस्थामा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २१ मा भएको व्यवस्था बमोजिम आत्मसुरक्षाको लागि २ (दुई) राउण्ड वार्निङ हवाई फायर गर्दा पनि नभागी हात्तीलाई आक्रमण गर्न आउँदा सानो हात्ती खगेन्द्रप्रसादमा सवार रेञ्जर श्याम तामाङ हात्तीबाट खसेकाले ज्यानको सुरक्षा गर्न अत्यन्तै कठिनाइ भएको कारण ३ (तीन) राउण्ड फायर गर्दा केही पर भागी पुनः फर्किएर आक्रमण गर्न आएकोमा थप १ (एक) राउण्ड फायर गर्दा अन्यत्र भागेको र पछि खोज्दै जाने क्रममा करिव १ किलोमिटर टाढा ढलेको आवस्थामा फेला परेको…’, निकुञ्ज प्रशासनले निकालेकै विज्ञप्तिको यही भनाइले पनि मकुनामाथि गोली बर्साएको देखाउँछ ।

निकुञ्ज प्रशासनको तर्क मान्ने हो भने हवाइ फायर गर्दा पनि नभागी आक्रमण गर्न आउँदा सानो हात्ती खगेन्द्रप्रसादमा सवार रेञ्जर श्याम तामाङ खसेपछि तीन राउन्ड फायर गर्नुपरेको थियो । तीन राउन्ड फायरपछि केही पर भागेको मकुना पुनः फर्किएर आक्रमण गर्न आएपछि थप एक राउन्ड गोली चलाइएको पनि जिकिर गरिएको छ ।

गोली प्रहारपछि भागेको मकुना घटनास्थलबाट एक किलोमिटर टाढा मृत अवस्थामा भेटिएको थियो । पोस्टमार्टम रिपोर्टअनुसार दाहिनेतर्फको घाँटीमै लागेको गोलीका कारण माकुना मरेको पुष्टि भएको छ । प्रशासनले हवाइ फायर भनिए पनि मकुनालाई ताकेरै मरणमा गोली हानेकै कुरा यसले पुष्टि गरेको छ।

गत पुस १५ गते पनि सौराहामा भएको ‘हात्ती महोत्वसमा’ मकुना प्रवेश गरेको थियो । त्यसबेला बाघमारा सामुदायिक वनको चौरमा कार्यक्रम थियो । उक्त चौर हात्ती ओहोरदोहोर गर्ने नियमित रुटमै पर्छ । त्यसबेला कार्यक्रमस्थलबाट सेनाले धपाउने प्रयास गरे पनि मकुना फर्कीफर्की आएको थियो ।

महोत्सव आयोजकले त्यसबेला पनि जबरजस्ती हात्तीको रुटमा कार्यक्रम राखेका थिए । मकुना आफ्नो रुटमा हिँडे पनि मानिसहरू महोत्सवका नाममा हल्लाखल्ला गरेर बसेका थिए । मकुनाको मृत्युपछि सामाजिक सञ्जालमा पशुअधिकारकर्मीदेखि आमनागरिकले विरोध गरेका छन् ।

सामाजिक सञ्जालमा गोविन्द दाहाल लेख्छन्, ‘समाधानको अन्य विकल्प हुँदाहुँदै सिधै मार्ने बाटो किन रोजियो ? त्यो पनि जङ्गलमै गएर ? मकुनाको हत्याले अबदेखि कुनैपनि जंगली हात्ती बस्ती नछिर्ने प्रत्याभूति हुन्छ ?’, उनले सोधेका छन् ।

वसन्त ढुङगाना लेख्छन्– महानिर्देशकज्यूको भनाइअनुसार निकुञ्ज विभागको आधिकारिक धारणा अस्ति निकालिएको विज्ञप्ति नै हो । यस विषयमा अब केही हुन्छ जस्तो लाग्दैन ।

त्यसैगरी, एनिमल राइट्स क्लब नेपालका संस्थापक अध्यक्ष सुराजन श्रेष्ठले मकुनालाई मान्छेले उसको घरमै गएर मारेको आरोप लगाएका छन् । खबरहबसँग कुरा गर्दै उनले भने, ‘ऊ निर्दोष थियो, उसले मानवलाई अहिलेसम्म हानी पुर्‍याएको थिएन । खतराको सम्भावनाको आधारमै उसको घरमै छिरेर आक्रमण गरी मारियो । मकुनाले न्याय पाउनु पर्छ ।’

‘उसले आफ्नो प्राकृतिक व्यवहार देखाउँदा मानव जातिको आँखाको कसिङ्गर हुन पुग्यो । विवेकशील मानव जातिले जनावरको घरलाई अतिक्रमण गरेको छ,’ श्रेष्ठ थप्छन्, ‘आफ्नो फाइदाका लागि मान्छे वन छिरेको छ । रमाइलोका लागि सफारी गरेको छ । र, उल्टै पर्यटकीय गतिविधिमा अवरोध गरेको नाममा जंगली जनावरलाई बन्दुक तेर्‍स्याएको छ ।’

आफ्नो अधिकारको चेतना नभएको प्राणीमाथि मानव सभ्यताले कहिलेसम्म अत्याचार गर्ने भनेर उनी प्रश्न गर्छन् । ‘यो सम्पूर्ण प्रकृयामा वन्यजन्तु हुनुको अस्तित्व खोई त ? जे पनि हामी मानिसले चाहेकै हुनु पर्ने ? उनीहरूको चाहना बुझेको खोई ? खोई त सबै जनावरबीच समता ?’

चितवन राष्ट्रिय निकुञ्जले वन तथा वन्यजन्तु व्यवस्थापनसँगै संरक्षणका लागि पनि हात्ती पाल्दै आएको छ । हात्तीको संरक्षणका लागि २०४४ सालमा चितवनको खोरसोरमा प्रजनन केन्द्र स्थापना गरिएको थियो । स्थापनादेखि खोरसोरमा हालसम्म ४८ छावा जन्मेका छन् । ती सबै छावाका बुवा निकुञ्जका जंगली हात्ती नै हुन् ।

प्रजनन केन्द्रका ज्वाइँ ध्रुवे, रोनाल्डो र मकुना हुन् । ध्रुवे हात्ती निकै उग्र थियो । ऊ केन्द्रमा नझुल्किएको धेरै भयो । उसले पनि निकुञ्ज प्रशासनका कयौँ गोली खाएको छ । अर्को रोनाल्डो हात्ती ध्रुवेभन्दा शालीन छ । मकुनाको ध्रुवेकोभन्दा ठूलो दारा थियो ।

चितवन राष्ट्रिय निकुञ्जमा घरेलु भाले हात्ती पनि छन् । तर पोथी हात्ती जंगलीबाट नै गर्भवती हुन्छन् । घरेलु हात्तीबाट ठूलो, बलियो र स्वस्थ बच्चा नजन्मने हुँदा जंगली हात्तीलाई नै प्रजनन केन्द्रमा प्रवेश दिइन्छ । हात्ती गभर्वती भएको २२ देखि २४ महिनामा ब्याउने गर्छन् ।

ध्रुवे हात्ती अहिले बेपत्ता छ, मकुनाको हत्या गरियो । अब प्रजननका लागि रोनाल्डो मात्रै बाँकी छ । यदि उसलाई पनि केही भएमा हात्तीको प्रजनन ठप्प हुने अवस्था छ । यो जटिल समस्याको समाधान निकुञ्ज प्रशासनसँग छैन ।

हात्ती प्रजनन् केन्द्र अहिले स्वदेशी तथा विदेशी पर्यटकको आर्कषणको केन्द्र बनेको छ । मासिक झण्डै चार हजार पर्यटक केन्द्रमा आउने गरेका छन् । प्रजनन रोकिने अवस्था आएर हात्ती नजन्मिै निकुञ्ज प्रशासनले पर्यटकलाई भविष्यमा के देखाउँछ ?

छानबिन समिति

सरकारले चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र कुमरोजमा भएको जङ्गली हात्ती (मकुना)को मृत्यु प्रकरणमा बिहीबार छानबिन समिति बनाइएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. रामचन्द्र कँडेलले वन मन्त्रालयका सहसचिव बुद्धिसागर पौडेलको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति बनाएको बताए ।

समितिमा वन विभाग, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, नेपाली सेनाका एक-एकजना प्रतिनिधि तथा चितवनका एकजना पशु चिकित्सक सदस्य रहेको महानिर्देशक कँडेलले बताए ।

प्रकाशित मिति : २५ माघ २०८१, शुक्रबार  ७ : ५० बजे

साफ यु–१९ च्याम्पियनसिप : आज नेपाल र भारत खेल्ने

काठमाडौं– १९ वर्ष मुनिको साफ च्याम्पियनसिप फुटबलमा आज नेपालले भारतसँग

अमेरिकी राष्ट्रपति ट्रम्प आजदेखि साउदीको भ्रमणमा, कतारले ५५ अर्बको बोइङ जेट उपहार दिने 

वासिंगटन डिसी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आज साउदी अरबको भ्रमणमा

आजका लागि तरकारी तथा फलफूलको मूल्य निर्धारण

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बागलुङको गाजा दहमा पर्यटकीय पूर्वाधार थपिँदै

बागलुङ– बागलुङको गाजा दह समुन्द्री सतहबाट दुई हजार ५०० मिटरको

यातायातको सुविधाले म्याग्दीको ‘मालिकाधुरी’ यात्रा सहज

म्याग्दी- सडक, यातायातको सुविधासँगै म्याग्दीको मालिका र रघुगङ्गा गाउँपालिकाको सिमानास्थित