उपभोक्तालाई सहुलियत दिएर दुई मूल्यमा ग्यास बेच्ने तयारी गर्दै निगम | Khabarhub Khabarhub

उपभोक्तालाई सहुलियत दिएर दुई मूल्यमा ग्यास बेच्ने तयारी गर्दै निगम

ग्यासमा मात्रै हुन्छ वार्षिक ३ अर्ब घाटा



काठमाडौं– खाना पकाउने एलपी ग्यास घाटा व्यहोरेर बिक्री गर्दै आएको नेपाल आयल निगमल नयाँ प्रणाली लागू गर्ने भएको छ । खाना पकाउने ग्यासको बिक्री प्रणाली फेर्ने तयारी निगमले थालेको हो ।

निगमले व्यावसायिक र घरायसी प्रयोजन दुई आधारमा ग्यास बिक्री गर्ने तयारी अगाडि बढाएको प्रवक्ता मनोजकुमार ठाकुरले बताए । उनका अनुसार निगमले अहिले ग्यास बिक्रीका लागि सफ्टवेयर निर्माण गरिरहेको छ ।

प्रवक्ता ठाकुरका अनुसार निगमले हाल प्रतिसिलिण्डर ३ सय ३० रुपैयाँ घाटा सहेर ग्यास बिक्री गरिरहेको छ । पछिल्लो समय उद्योगीहरूले कमिशन बढाउन माग गरेपछि ग्यासको मूल्य प्रतिसिलिण्डर १२ रुपैयाँ ७५ पैसाले वृद्धि भइसकेको छ ।

जुन मूल्यवृद्धि उपभोक्ताले खरिद गर्ने मूल्यमा नजोड्ने निगमले जनाएको छ । जसले निगमको घाटा बढेर प्रतिसिलिण्डर ३ सय ४२ रुपैयाँ ७५ पैसा पुग्ने उनले बताए ।

उपभोक्तालाई सहुलियत, व्यावसायीलाई परल मूल्य

प्रवक्ता ठाकुरका अनुसार निगमले ग्यास बिक्रीका लागि सफ्टवेयर राष्ट्रिय वाणिज्य बैंकसँग मिलेर बनाइरहेको छ । ‘अहिले राष्ट्रिय वाणिज्य बैंकले सफ्टवेयर निर्माण गरिरहेको छ, अबको २ महिनामा तयारहुने जानकारी आएको छ’, उनले भने, ‘त्यसपछि कार्यविधि बनाएर ग्यास बिक्री फरक मापदण्डअनुसार अगाडि बढाउँछौं ।’

उनका अनुसार सफ्टवेयर निर्माण भइसकेपछि देशैभरका ग्यास उपभोक्ताको विवरण प्रणालीमा जोड्ने काम गरिने छ । त्यही विवरणका आधारमा ग्यास बिक्री प्रक्रियालाई निगमले अगाडि बढाउने छ ।

‘सफ्टवेयर प्रणालीमा उपभोक्ताको नागरिकता र बैंक खातालाई जोडिन्छ । ग्यास खरिद गरिसकेपछि उपभोक्तालाई सहुलियत रकम फिर्ताको व्यवस्था मिलाइनेछ, व्यावसायिक क्षेत्रलाई भने परल मूल्यमै उपलब्ध गराइनेछ’, उनले भने ।

निगमले २ जना उपभोक्ता संख्यालाई वर्षमा २ सिलिण्डरका दरले सहुलियत मूल्यमा ग्यास उपलब्ध गराउनेछ । तर, कति सहुलियतको अनुपात सफ्टवेयर बनेपछि तयार गरिने कार्यविधिमा व्यवस्था हुने प्रवक्ता ठाकुरको भनाइ छ ।

निगमले अहिले प्रतिसिलिण्डर ३ सय ४२ रुपैयाँ घाटा व्यहोरेर ग्यास बिक्री गर्दा वर्षेनि ६ अर्बभन्दा बढी घाटा व्यहोरिरहेको छ । उपभोक्ता मूल्य र व्यावसायिक मूल्य कायम गरेर अगाडि बढ्दा फाइदा हुने प्रवक्ता ठाकुरले बताए ।

दशकअघिको प्रयास

एक दशकअगाडि नै खिलराज रेग्मी नेतृत्वको सरकारले एलपी ग्यासमा निगमले ठूलो घाटा व्यहोर्न थालेपछि घरायसी र व्यावसायिक प्रयोजनका लागि रातो र निलो रंगको ग्यास सिलिण्डर बिक्री गर्ने तयारी गरेको थियो ।

तर, उक्त व्यवस्था लागू हुन नसक्दा निगमले वर्षेनि झण्डै ३ अर्ब बढी घाटा खाएर व्यावसायिक क्षेत्रलाई ग्यास बेच्दै आएको छ । राष्ट्रिय तथ्यांक कार्यालयको होटेल तथा रेष्टुरेन्ट सर्वेक्षण, २०८० प्रतिवेदन अनुसार हाल नेपालमा आवास तथा भोजन सेवा दिनेकोे संख्या १ लाख ४२ हजार २२३ छ । जुन संस्थाले लामो समयदेखि परलभन्दा कम मूल्यमा निगममार्फत् व्यावसायिक प्रयोजनका लागि ग्यास प्राप्त गर्दै आएका छन् ।

निगमले गत आर्थिक वर्षमा ५५ अर्ब ६१ करोड ८४ लाख २५ हजार रुपैयाँ बराबरको खाना पकाउने ग्यास आपूर्ति गरेको थियो । जसमध्ये निगमले खाना पकाउने ग्यास प्रतिसिलिण्डर १ हजार ९१० रुपैयाँमा बेच्न खुद्रा मूल्य तोकेको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार  ७ : ३७ बजे

कूल निर्यातमा भटमास तेलको हिस्सा एक तिहाइ, साढे ६२ अर्ब बढीको निर्यात

काठमाडौं– नेपालले निर्यात गर्ने वस्तुहरूमा सबैभन्दा ठूलो हिस्सा भटमास तेलको

प्रधानमन्त्रीले ‘बाइपास’ गरेपछि असन्तुष्ट थिइन् मन्त्री भट्टराई

काठमाडौं- संघीय राजधानी काठमाडौंमा २० दिनदेखि आन्दोलित शिक्षकहरूको माग पूरा

निजामती विधेयकमाथिको छलफल अन्तिम चरणमा

काठमाडौं– प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिमा झण्डै नौ महिनादेखि

रसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ 

काठमाडौं– बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि रसिया पठाइदिन्छु भन्दै ठगी