सुर्खेत– कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा अब चार दिनको एक दिन मात्र खानेपानी आउने भएको छ । सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले सुख्खा खडेरीका कारणले चार दिनमा एक दिन पानी वितरण गर्ने जनाएको हो ।
सुर्खेत उपत्यकामा खानेपानी वितरण गर्दै आएको संस्थाले अबदेखि ९६ घण्टापछि उपभोक्ताका धारामा पानी वितरण गरिने भएको छ । सुख्खा खडेरीका कारण पानीको स्रोत घट्दै गएपछि संस्थाले तीन दिनको फरकमा पानी वितरण गर्न लागेको हो । खडेरीमा हरेक वर्ष उपत्यकामा पानीको हाहाकार नै हुँदै आएको छ । अघिल्ला वर्षहरूमा चैतदेखि खानेपानीको संकट सुरु हुने गरेको थियो ।
पछिल्लो समयमा वीरेन्द्रनगरमा बढ्दो सहरीकरणका कारणले पनि खानेपानीको अभाव हुने गरेको सुर्खेत खानेपानी उपभोक्ता संस्थाका कार्यालय प्रमुख डम्बरबहादुर गौतमले बताए ।
‘खानेपानीको मुहान सुकेका कारणले अहिले हामीले चार दिनमा एक दिन खानेपानी वितरण गर्ने गरेका छौँ,’ उनले भने, ‘वैकल्पिक उपाय नभएमा यो समस्या रहिरहन्छ ।’
संस्थाले हाल नगरका २० हजार उपभोक्तालाई खानेपानी वितरण गर्दै आएको छ । खडेरीमा हरेक वर्ष उपत्यकामा पानीको हाहाकार हुन्छ र मागअनुसार पानी पुर्याउन नसकेको प्रमुख गौतमले बताए । ‘अहिले २० हजार उपभोक्ता छन्,’ उनले भने, ‘खानेपानीको नयाँ धारा जडानको माग पनि बढेकै छ । विगत केही वर्षदेखि नयाँ धारा जडान गरेका छैनौँ ।’
उपत्यकामा सहज रूपमा खानेपानी आपूर्ति गर्न दैनिक तीन सय ८८ लिटर प्रति सेकेन्ड खानेपानी आवश्यक छ । वर्षा र हिउँदको समयमा समेत आयोजनाको डिजाइन क्षमता अनुसार झुप्रा खोलाबाट ८६, खरिखोला बोरीखोलाबाट ३०, ईत्राम खोलाबाट २७, दुन्दुरे खोलाबाट ५ र खोर्के खोलाबाट १० लिटर प्रति सेकेन्ड गरी जम्मा १५८ लिटर प्रति सेकेण्ड खानेपानी उपलब्ध हुने गरेको थियो ।
खानेपानीको स्रोतहरूमा ह्रास आएपछि अहिले झुप्रा खोलाबाट ५०, खरीबोरी खोलाबाट २०, ईत्राम खोलाबाट १०, दुन्दुरे खोलाबाट ५ र खोर्के खोलाबाट ५ लिटर प्रति सेकेण्ड १५८ लिटर पानी आपूर्ति भइरहेको संस्थाका प्रमुख ईन्जिनियर बालाराम तिवारीले बताए । अबदेखि चार दिनको फरकमा खानेपानी वितरण गर्ने गरी वितरण समय तालिका बनाएको तिवारीले बताए ।
उपत्यकाको असमान भुबनोटका कारण कुनै धारामा पानी जाने कुनैमा नजाने समस्या देखिन सक्ने भएकाले संस्थालाई खबर गर्न इन्जिनियर तिवारीले जानकारी दिए । ‘हाम्रा नौ वटा स्किमहरू रहेका छन्,’ उनले भने, ‘तिनै स्किममा समस्या पर्ने भएकाले कार्यालयमा जानकारी दिन भनेका छौँ ।’
२०६२ देखि २०७७ सम्म डिजाइन अवधि रहेको आयोजनाको हाल उक्त अवधि समाप्त भइसकेको छ । हाल वीरेन्द्रनगरको जनसंख्या दुई लाख बढी रहेको छ । उपत्यकामा बढ्दो शहरीकरणसँगै जनसंख्या वृद्धि हुँदै जाँदा खानेपानीको माग अनुसार आपूर्तिमा सन्तुलन कायम गर्न नसक्दा अहिलेको समस्या आएको हो । २५ वर्ष पुरानो खानेपानीको स्रोतले वीरेन्द्रनगरमा माग अनुसारको खानेपानीको आपूर्ति धान्न नसक्ने भन्दै २०६८ सालबाटै आयोजनाको पुनरावलोकनका लागि आवाज उठाउँदै आएको भए पनि सरकारी तवरबाट हालसम्म कुनै सुनुवाइ भएको छैन ।
भेरीको पानी वीरेन्द्रनगर झारिने
वीरेन्द्रनगर नगरपालिकाको खानेपानीको विकल्पमा रूपमा लिइएको बहुचर्चित भेरी पम्पिङ आयोजना अन्तर्गत पहिलो चरणको काम भइरहेको छ । भदौ महिनामा चिनियाँ कम्पनी सिंज्याङ टम्र्स इन्टरनेशनल इकोनोमी एण्ड टेक्निकल को–अपरेसनले यो आयोजना निर्माणको जिम्मा पाएको थियो । उक्त कम्पनीसँग तीन अर्ब पाँच करोड आठ लाख १५ हजार लागतमा सम्झौता भएको आयोजनामा चार महिनाको अवधि अर्थात् पुस मसान्तसम्म २६ करोड ३० लाख रकम खर्च भएको छ ।
यो आयोजनाका लागि चालु आर्थिक वर्ष १ अर्ब २० करोड ९ लाख ९८ हजार रकम विनियोजन गरिएको छ । तीन तहका सरकारको समन्वयमा निर्माण अघि बढेको आयोजनामा चालु आर्थिक वर्ष केन्द्र सरकारले १ अर्ब ६ करोड ५९ लाख ९८ हजार, कर्णाली सरकारले ३ करोड ५० लाख र वीरेन्द्रनगर नगरपालिकाले १० करोड रकम विनियोजन गरेका छन् ।
६ अर्ब रुपैयाँ लागतमा सम्पन्न हुने यस आयोजनामा केन्द्र सरकारले ८० प्रतिशत र प्रदेश सरकार र वीरेन्द्रनगर नगरपालिकाले २० प्रतिशत लगानी जुटाउनुपर्ने छ । स्थानीय विवाद निरूपण, पहुँचमार्ग विस्तारदेखि आवश्यक पूर्वाधार काम नगरपालिका आफैँले गर्नुपर्नेछ ।
आयोजनाका लागि रुख कटान अनुमति सरकारले दिइसकेको छ । अबको साढे दुई वर्षमा भेरीको पानी उपत्यका झार्ने गरी योजना तीव्र गतिमा निर्माणको काम सुरु भएको नगरपालिकाले जनाएको छ ।
संघीयताको मर्मअनुसार तीनै सरकार आयोजनाको काममा लागि परेका छन् । अहिले वीरेन्द्रनगरको खानेपानी समस्या समाधान गर्न भेरी लिफ्ट खानेपानी आयोजनाको निर्माण कार्य भइरहेको हो । निर्माण कम्पनीले ज्वाइन्ट सर्भेको कार्य सम्पन्न गरिसकेको छ, भने क्रसर प्लान्ट, ब्याचिङ्ग प्लान्ट रहोनिर्माण सामग्रीको परीक्षण गर्न ल्याब स्थापना गरिसकेको छ ।
पहिलो चरणमा भेरी नदीबाट पानी ल्याउन पाँच किमी फलामे पाइप जोडी वीरेन्द्रनगर–१० को अमृतडाँडामा ९० लाख लिटरको पानी जम्मा गरिने छ । यसका साथै २९ किमी पाइप बिछ्याइने छ । यसै गरी आयोजनाको भेरी नदीबाट पाँच सय ६० लिटर प्रतिसेकेन्ड पानी लिफ्ट गरिने छ । वीरेन्द्रनगर नगरपालिकाका कुल १६ वटा वडामध्ये १३ नम्बर वडामा खानेपानी वितरण गर्ने लक्ष्य राखिएको छ ।
प्रतिक्रिया