कुलमानले ठीकठाकै चलाएको विद्युत प्राधिकरण हितेन्द्र आउनासाथ किन समस्यामा ? | Khabarhub Khabarhub

कुलमानले ठीकठाकै चलाएको विद्युत प्राधिकरण हितेन्द्र आउनासाथ किन समस्यामा ?


२४ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल विद्युत प्राधिकरणका प्रबन्धक निर्देशक हितेन्द्रदेव शाक्यले गएको शुक्रबार पत्रकार सम्मेलन गर्दै श्वेतपत्र सार्वजनिक गरे । उनले श्वेतपत्रमार्फत् प्राधिकरणलाई ‘स्रोतको क्रन्च’ बढ्दै गएको बताए ।

प्राधिकरण ‘टाट पल्टिएको’ अवस्थामा भएको भन्दै शाक्यले सरकारले सहयोग नगरेको अवस्थामा निकै अप्ठ्यारो पर्ने समेत बताए ।

‘अहिले प्राधिकरणको खल्ती टाट पल्टिएको अवस्थामा नेपाल सरकारले ऊर्जा क्षेत्रमा गर्ने लगानी तत्काल प्रतिफल दिने लगानी हो, थप बजेट व्यवस्था गरिदिएको खण्डमा प्राधिकरणलाई अलिकति राहत हुने थियो’, उनले पत्रकार सम्मेलनमा भनेका थिए ।

शाक्यले प्राधिकरणको अप्ठ्यारो तथ्याङ्क देखाउँदा पत्रकारले ‘घाटाको तथ्याङ्क देखाएर विद्युतको महसुल बढाउन खोजेको हो ?’ भनेर प्रश्न गरे ।

जवाफमा शाक्यले ‘जे पर्छ, त्यो गर्नुपर्‍यो, कि त ऋण दिनपर्‍यो हजुर, कि त महसुल बढाउनुपर्‍यो, कि त हाम्रो दायित्वलाई मिलान गरिदिनुपर्‍यो, केही त गर्दिनुपर्‍यो, नत्र छैन त पैसा के गर्ने ? ढाँटेर कति लुकाउने ? भएको कुरा यही हो’ भने ।

प्राधिकरणले ठेक्काको काम लिएका निर्माण व्यवसायीलाई ११ अर्ब बढी भुक्तानी गर्न नसकेको, विभिन्न आयोजनामा ७० अर्ब रुपैयाँ बराबरको लगानी प्रतिबद्धता गरेको, प्रतिबद्धताअनुसार माग गर्न आएमा विकराल अवस्था रहेको समेत शाक्यले बताए ।

‘ती आए भने के होला ? विकराल अवस्था देखिन्छ, नेपाल सरकारले यदि थप ऋण नदिने हो भने प्राधिकरण त्यो पैसा तिर्नको लागि कहाँ, के र कुन ठक्कर खानुपर्ने हो, कसरी गर्ने हो ? त्यसको लागि नेपाल सरकारको सहयोग अत्यन्तै जरूरी छ’, उनले भने ।

महालेखाको प्रतिवेदन र श्वेतपत्र मिल्दोजुल्दो, भाष्य भने नोक्सानीको

महालेखापरीक्षक कार्यालयको ६१औँ प्रतिवेदनले प्राधिकरणको दीर्घकालीन ऋण दुई खर्ब १६ अर्ब ३० करोड, स्थगित कर दायित्व आठ अर्ब ३८ करोड, अन्य चालु दायित्व ४५ अर्ब ३० करोड र चालु दायित्व ६५ अर्ब ७२ करोड सहित पाँच खर्ब ७७ अर्ब २० करोड रुपैयाँ पुँजी तथा दायित्व रहेको औँल्याएको छ ।

त्यस्तै, प्राधिकरणको स्थिर सम्पत्ति दुई खर्ब १५ अर्ब ५० करोड, निर्माणाधीन सम्पत्ति एक खर्ब ७६ अर्ब ४२ करोड, शेयर लगानी २७ अर्ब ८५ करोड, अन्य सम्पत्ति ४४ अर्ब ४६ करोड र एक खर्ब १२ अर्ब ९७ करोड बराबरको चालु सम्पत्ति रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । महालेखाले ४४ अर्ब ३२ करोड प्राधिकरणको बक्यौता पुगेको पनि प्रतिवेदनमा उल्लेख गरेको थियो ।

प्रबन्ध निर्देशक शाक्यले श्वेतपत्रमार्फत् प्राधिकरणको कुल सम्पत्ति ६ खर्ब ४४ अर्ब बराबरको रहेको, जसमा दुई खर्ब ३५ खर्ब बराबरको स्थिर सम्पत्ति र दुई खर्ब २० अर्ब रुपैयाँ बराबरका निर्माणाधीन आयोजना रहेको उल्लेख गरेका छन्, जुन महालेखाले गत आर्थिक वर्षसम्म देखाएको सम्पत्तिको तुलनामा धेरै हो ।

शाक्यले श्वेतपत्रमा ठेक्कापट्टा अन्तर्गत बिलहरूको भुक्तानी हुन बाँकी ११ अर्ब ६१ करोड, नेपाल सरकारलाई भुक्तानी गर्नुपर्ने ऋणको ब्याज र टनकपुर विद्युत बापत ३२ अर्ब पाँच करोड र महालेखाले देखाएअनुसार अवकास कर्मचारीलाई भुक्तानी गर्नुपर्ने ४७ अर्ब ८७ करोड रुपैयाँ दायित्व रहेको देखाएका छन् ।

श्वेतपत्रमा शाक्यले प्राधिकरणको कुल दायित्व तीन खर्ब ८५ अर्ब रहेको उल्लेख गरेका छन् । उनले महालेखा प्रतिवेदनले उठाएको कतिपय सम्पत्ति र खर्च विवरण पनि विगतमा लेख्न छुटाएको पनि श्वेतपत्रमा लेखेका छन् ।

गएको फागुन मसान्तसम्म बक्यौतातर्फ डेडिकेटेड फिडर तथा ट्रंकलाइनतर्फको सहित ४४ अर्ब ५४ करोड रहेको र सोही अवधिसम्म प्राधिकरणको कुल सञ्चित नाफा ४६ अर्ब ४७ करोड रुपैयाँ रहेको समेत श्वेतपत्रमा उल्लेख छ ।

तर, शाक्यले भने कुल सञ्चिति नाफामा ह्रासकट्टी गर्दा फागुन मसान्तसम्मको अवधिमा प्राधिकरण पाँच अर्ब २६ करोड नोक्सानी रहेको बताए । साथै, उनले चालु खातामा जम्मा दुई अर्ब मात्रै रहेको समेत पत्रकारहरूलाई बताए । प्राधिकरणको सम्पत्तिको अनुपातमा दायित्व कम भएकाले प्राधिकरणको अवस्था सकारात्मक भएको पनि उनले बताएका थिए ।

आर्थिक वर्ष ०७८/७९ मा २० अर्ब, आव ०८०/८१ मा १३ अर्ब र चालु आवमा चार अर्ब २६ करोड रुपैयाँ सरकारले उपलब्ध गराएको उनले बताए । जसमध्ये चालु आवको फागुन मसान्तसम्म जम्मा १ अर्ब ४६ करोड रुपैयाँ सरकारबाट प्राप्त भएको छ ।

सामान्यतयाः पछिल्ला वर्षहरूमा प्राधिकरणको सम्पत्ति, दायित्व र कारोबारमा वृद्धि हुँदै गएको महालेखा र श्वेतपत्रमा उल्लेख गरिएका तथ्याङ्कले देखाएका छन् ।

पत्रकार सम्मेलनमा प्राधिकरणको तर्फबाट पछिल्लो समयमा थपिँदै गएको लगानी र वृद्धि भएको सम्पत्तिलाई हाइलाइट नगरीकन सञ्चालन नाफाको अवस्थामा भएको नोक्सानीलाई प्रबन्ध निर्देशक शाक्यले बढी ‘हाइलाइट’ गरेको देखिन्थ्यो । जसकारण आमसञ्चारमाध्यममा ‘प्राधिकरण घाटामा’ भन्ने भाष्य स्थापित गर्नेगरी समाचार सार्वजनिक भयो ।

यसअघि भएको क्रेडिट रेटिङमा प्राधिकरणले निरन्तर ‘एए प्लस’ रेटिङ प्राप्त गर्दै आएको छ । जसले प्राधिकरण आफ्नो वित्तीय तथा आर्थिक दायित्व बहन गर्नक्ने क्षमतामा रहेको देखाउँछ ।

तर, नेतृत्व सम्हाल्ने बित्तिकै प्रबन्ध निर्देशक शाक्यले प्राधिकरण टाट पल्टिने अवस्थामा पुगेको बताउनुले अबको व्यवस्थापनले प्राधिकरणलाई कता लैजान्छ भन्ने प्रश्न उठेको छ ।

शाक्यले ठेकेदारलाई भुक्तानीको लागि तत्काल १० अर्ब रुपैयाँ अल्पकालीन ऋण लिने बताएका छन् भने ‘सरकारले सहयोग नगरे कस्तो स्थितिको सामना गर्नुपर्ने हो ?’ भनेर प्रश्न समेत गरेका छन् ।

श्वेतपत्रबारे के भन्छन् कुलमान ?

सरकारले चैत ११ गते बर्खास्त गरेको केही दिनपछि पत्रकार सम्मेल गरेर प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक कुलमान घिसिङले प्राधिकरणको अवस्थाबारे बताएका थिए ।

उनले आर्थिक वर्ष ०७२/७३ मा दुई खर्ब ११ अर्ब रहेको प्राधिकरणको कुल सम्पत्ति चालु आर्थिक वर्षसम्म वृद्धि भएर ६ खर्ब ४४ अर्ब रुपैयाँ पुगेको उल्लेख गरेका थिए । जुन सम्पत्ति सो बीचमा तीन पटकसम्म २५ प्रतिशत विद्युत महसुल घटाउँदा समेत जोड्न सम्भव भएको उनको भनाइ थियो ।

प्राधिकरणमा आफ्ना उत्तराधिकारी शाक्यले शुक्रबार श्वेतपत्र सार्वजनिक गरेपछि सोमबार विभिन्न सञ्चारमाध्यममा अन्तर्वार्ता दिँदै पूर्व-प्रबन्ध निर्देशक घिसिङले ‘श्वेतपत्र एउटा व्यक्तिलाई नराम्रो नराम्रो देखाउने उद्देश्यले ल्याइएको’ प्रतिक्रिया दिए ।

‘यो के हो भने एकजना व्यक्तिलाई गलत भन्ने सावित गर्नको लागि देशमै उर्जा सेक्टरलाई अप्ठ्यारोमा पार्ने हिसाबले कन्फिडेन्स नराम्रो हिसाबले बिल्डअप गर्ने हिसाबले ल्यायो, यो चाहिँ एकदम गलत हो’, उनले सेतोपाटीका अमित ढकालसँग कुरा गर्दै भने, ‘… विद्युत प्राधिकरण घाटा हुँदैछ, यो हुँदैछ… गलत इन्फर्मेसन हो, मिस इन्फर्मेसन, गलत डेटाहरू दिएर प्राधिकरण घाटामा छ, प्राधिकरण यस्तो छ, उस्तो छ भनेर जुन दिइराख्नु भाछ त्यसले फाइदा कसलाई गर्छ त ? त्यसले देशलाई त फाइदा गर्दैन ।’

उनले विद्युत प्राधिकरणमा समस्या छ भनेर महसुल दर बढाउने, पीपीएको दर बढाउने, ऋण लिने लगायतका विषयमा गलत नियतले प्रवेश पाउने बताए ।

‘कन्फ्युजन क्रियट गरेको हो, नाफा हाम्रो जति भनेको छ त्यही हो, सञ्चित नाफा हाम्रो ४६ अर्ब ४७ करोड हो, उहाँले पनि त्यही लेख्नुभा’छ, सञ्चित नाफा यही हो…विगत मेरो कार्यकालको कुरा गर्छु, ०७३/७४ बाट आठ वर्ष करिब–करिब ८२ अर्ब रुपैयाँ सञ्चित नाफा गरेका छौँ’, उनले भनेका छन्, ‘त्यसमा ३५ अर्ब पहिलाकै सञ्चित घाटा थियो, त्यसलाई माइनस गर्‍यौँ, यो ४६/४७ अर्ब गर्दाखेरि ८२ अर्ब रुपैयाँजति नाफा भयो ।’

घिसिङले आफ्नो कार्यकालमा भएको सञ्चित नाफालाई नाफा हैन भन्न नसकेको, तर श्वेतपत्रमा देखाइएको घाटा अलमल पार्न ल्याएको बताए ।

घिसिङले ह्रासकट्टी र कर परीक्षणअनुसार पनि प्राधिकरण सञ्चालन नाफामा रहेको तर्क गरेका छन् । साथै, खर्च भएको, लेखाङ्कन नभएको विषय पनि श्वेतपत्रमा लेखिएको भन्दै प्रतिवाद गरेका छन् ।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  १ : ५२ बजे

साम्बाको ह्याट्रिकमा गुइगाम्पा विजयी

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित स्ट्राइकर सावित्रा भण्डारी

स्रोत नखुलेको १४ लाखसहित दुई जना पक्राउ

तनहुँ – तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनीटारबाट स्रोत नखुलेको रु १४

चेन्नई र कोलाकाताको खेलमा बम बिस्फोट गर्ने धम्की, सुरक्षा सतर्कता बढाइयो

काठमाडौं – इण्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को ५७ औं

आईपीएल : १८० रनको लक्ष्य पछ्याउँदै चेन्नई

काठमाडौं – इण्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकोता नाइट राइडर्सले

रोहित शर्माद्वारा टेस्ट क्रिकेटबाट सन्न्यास लिएको घोषणा

काठमाडौं – भारतीय क्रिकेट टिमका कप्तान रोहित शर्माले टेस्ट क्रिकेटबाट