उपचारमा साथ नदिएपछि केपी र माधव दुवैसँग विरक्तिएका प्रदीप नेपाल | Khabarhub Khabarhub

उपचारमा साथ नदिएपछि केपी र माधव दुवैसँग विरक्तिएका प्रदीप नेपाल


२४ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : 7 मिनेट


7.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चर्चित वामपन्थी नेता एवम् साहित्यकार प्रदीप नेपालले पार्किन्सन रोगसँग लड्दा लड्दै मंगलबार थापाथलीस्थित नर्भिक अस्पतालमा देह त्याग गरे ।

साहित्य क्षेत्रमा सञ्जय थापाका नामले परिचित उनी राजनीतिबाट विरक्तिएर पछिल्लो समय गुमनाम जस्तै बाँचिरहेका थिए । ७१ वर्षको उमेरमा देह त्याग गर्नुअघि उनले आफ्नो अन्तिम इच्छामा कुनै पनि दलको झन्डा नओढाउनसमेत भनेका थिए ।

मालेकालबाटै राजनीतिमा जोडिएका उनी पछिल्लो समयमा एमालेमा देखिएको शत्रुता, धोका र स्वार्थी सम्बन्धका कारण दिक्क भएका सुनिन्थे ।

उनले मृत्युपछि लामो समय काम गरेको एमाले र २०७८ मा केही समय साथ दिएको एकीकृत समाजवादी दुवै दलको झण्डा ओढ्न समेत चाहेनन् । नेपालले पार्टी कार्यालयमा आफ्नो शव राखेर श्रद्धाञ्जलीसभा पनि नराख्न भनेका थिए ।

आत्मस्वीकृति

उनले यो कुरा पाँच वर्षअघि प्रकाशित निबन्धको पुस्तकमार्फत् नै अभिव्यक्त गरेका थिए । नेपालले वि.सं. २०७८ मा सार्वजनिक गरेको ‘एक मानु हो चाहिने’ निबन्ध संग्रहमा आत्मस्वीकृति शीर्षक दिएर आफ्नो अन्तिम इच्छा लेखेका थिए । जहाँ उनले लेखेको सन्देशले एमालेकै कार्यकर्ता पनि तरंगित छन् । ‘म मरेपछि मेरो शवमा पार्टीको झण्डा नराख्नुहोस्’, शत्रुता, धोका र स्वार्थको अर्को नामलाई राजनीति भनेका उनले आफ्नो इच्छा यसरी व्यक्त गरेका थिए ।

उक्त निवन्ध संग्रहको पृष्ठ १५९ मा नेपालले आफ्नो मृत्युकर्म पनि कसैले नगरोस् भनेर लेखेका थिए । ‘मेरो मृत्युपछि, मेरो परिवारले मेरो नाममा कुनै मृत्युकर्म नगरोस् । मृत्युपश्चात् फोन गरी गरी मलामी नबोलाओस् । पार्टी कार्यालय अथवा प्रज्ञाप्रतिष्ठानमा लासको प्रदर्शन पनि नगरोस् । मैले आँखादान गरिसकेको बाँकी रहेका कुनै अङ्ग अर्को मानिसलाई काम लाग्छ भने त्यो त्यो पनि यही आत्मस्वीकृतिमार्फत दान दिएको छु । मेरा नाममा श्रद्धाञ्जलीका कुनै कार्यक्रम आयोजना नगरिऊन् । मलामी खुवाउने काम गर्दै नगरियोस्’, उनले उक्त पुस्तकमा भनेका थिए ।

उनकै शब्दमा अन्तिम इच्छा

मेरो मृत्युपछि, मेरो परिवारले मेरो नाममा कुनै मृत्युकर्म नगरोस् । मृत्युपश्चात् फोन गरी गरी मलामी नबोलाओस् । पार्टी कार्यालय अथवा प्रज्ञाप्रतिष्ठानमा लासको प्रदर्शन पनि नगरोस् । मैले आँखादान गरिसकेको बाँकी रहेका कुनै अङ्ग अर्को मानिसलाई काम लाग्छ भने काम लाग्छ भने त्यो पनि यही आत्मस्वीकृतिमार्फत् दान दिएको छु । मेरा नाममा श्रद्धाञ्जलीका कुनै कार्यक्रम आयोजना नगरिऊन् । मलामी खुवाउने काम गर्दै नगरियोस् ।

म एक्लै आएँ, जिन्दगीको लामो हिस्सा एक्लै बिताएँ, आफैँ नेता भएँ, आफैँले नेता पद त्यागेँ, आफैँ साहित्यकार भएँ र जाँदा पनि म एक्लै जाने छु भन्ने सत्य मलाई थाहा छ । मेरो मात्र युग समाप्त हुने छ, अरू सबै यथावत् रहने छ । बाँचुन्जेल मैले मेरो स्वतन्त्रतालाई अक्षुण्ण राखेँ । म मर्दा पनि स्वतन्त्र भएरै मर्न पाऊँ । लासको प्रशस्ति गाउने चलन छ नेपालमा । मेरा नाममा त्यो नगरियोस् किनभने मृत्युपछिको कुनै संसार हुँदैन भन्ने मलाई थाहा छ । थाहा मात्र होइन, विश्वास पनि छ ।

म जहाँ जन्मिएँ, जस्तो परिवेशमा हुर्किएँ, त्यहाँदेखि यहाँसम्मको जीवनयात्रा एउटा कथा हो । स्वयम् मेरा लागि पनि कथा हो । धनी भएपछि मानिस आफ्नो जन्मको परिवेश, साथीभाइ, इष्टमित्र बिर्सन्छन् । तर मैले बिर्सन सकिनँ । जिन्दगी एउटा नोस्टाल्जिया बन्यो । केही नभए पनि अहिलेसम्म मेरा लागि उही गोगने, जहाँ म जन्मिएँ, उही भोजपुर जहाँ म हुर्किएँ, यिनै मेरा लागि…।

विरक्ति

२८ पुस २०१० सालमा उनी भोजपुरको जन्मिएका थिए । नेपाल किशोरउमेरमै वाम साहित्यतर्फ झुकाव राख्थे । उनी वि.सं. २०२६ सालदेखि नै विद्यार्थी राजनीतिमा जोडिएका थिए । जसका कारण त्यहीबेलादेखि नै उनी विद्रोही नेताका रूपमा चिनिए ।

नेपाल २०५१ सालमा तत्कालीन एमाले अध्यक्ष मनमोहन अधिकारी नेतृत्वको नौ महिने कम्युनिस्ट सरकारमा सञ्चारमन्त्री भए । त्यसअघि उनी २०५० सालमा राष्ट्रिय सभा सदस्य बनेका थिए । २०५१ सालपछि उनी २०५५ सालमा जलस्रोत र स्वास्थ्यमन्त्री भए ।

२०५६ सालमा उनी काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा विजयी भए । त्यसपछि उनी माओवादी सशस्त्र संघर्ष र जनआन्दोलनपछि २०६३ मा बनेको गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा शिक्षामन्त्री भए । तर त्यसपछि उनी राजनीतिमा ओरालो यात्रातिर लागे । २०६४ सालको पहिलो संविधान सभा चुनावमा उनी नेपाली कांग्रेसका प्रकाशमान सिंहसँग पराजित भए ।

नेपालका दलहरूमा नमरुञ्जेल पद ओगट्ने समस्या छ । तर नेपालले उमेर हदको बहस छेडेका थिए । उनले ६० वर्ष नाघेपछि नेताहरूले राजनीतिक विश्राम लिनुपर्ने अडान लिएका थिए । उनले आफू ६० काटेपछि राजनीतिक अवकाशमा जाने घोषणा गरेका थिए । २०२६ सालदेखि राजनीतिमा होमिएका नेपाल झापा विद्रो हुँदै पञ्चायतविरुद्धको भूमिगत संघर्षमा पनि होमिए । पञ्चायतविरुद्धको त्यही संघर्षका क्रममा उनी जेल परे । नख्खु ‘जेल ब्रेक’ गरेपछि उसबेलै उनी नेपाली राजनीतिमा छाइसकेका थिए । उनीको अर्को परिचय भनेको कोअर्डिनेशन केन्द्र (कोके) का संस्थापक सदस्य ।

२०६४ सालको संविधानसभामा पराजित भएसँगै राजनीतिमा ओरालिएका नेपाल एमालेमा पनि पछि परे । उनी एमालेमा स्थायी कमिटी सदस्यमै सीमित रहे । २०६५ सालमा बुटवलमा भएको एमालेको आठौँ महाधिवेशनमा महासचिव पदमा पराजित भए ।

जहाँ अध्यक्षमा झलनाथ खनाल विजयी हुँदा केपी ओली पनि हारेका थिए । २०७१ सालमा काठमाडौंमा भएको नवौँ महाधिवेशनमा केपी ओलीकै प्यानलबाट उपाध्यक्ष उठ्दा पनि पराजित भए । उनले नवौँ महाधिवेशनमा ओलीलाई जिताउन धेरै मिहिनेत गरे । तर त्यसपछि उनी ओलीको पनि कर्नरमा पर्दै राजनीतिबाट पाखा लगाइए ।

पञ्चायतविरुद्धको लामो राजनीतिक यात्रा छिचोल्दै अघि बढेका उनै नेपालले २०५३ सालमा शेरबहादुर देउवाको सरकार ढाल्न एमाले लागेपछि आफूलाई विरक्त लाग्न थालेको बताएका थिए ।

पार्किन्सन रोगले २०७१ मा एमालेको उपाध्यक्षमा पराजित भएपछि राजनीतिबाट उनले करिब करिब विश्राम लिइसकेका थिए । तर उनलाई २०७४ को निर्वाचनमा पार्टीले समानुपातिक प्रणालीबाट सांसद बनाइदिओस् भन्ने आशा थियो । त्यो आशाभित्र पनि कारण थियो, आफ्नो स्वास्थ्योपचार ।

राजनीतिबाट करिब किनारा लागिसकेका उनले आफ्नो उपचार हुने आशमा एमालेले समानुपातिक सांसद बनाइदिओस् भनेर अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालकहाँ पनि धाएका थिए । दुवै नेतालाई भेटेर उनले आफ्नो इच्छा व्यक्त गरे । तर उनलाई दुवै नेताले धोका थिए ।

२०७४ मङ्सिर १० र २०७४ मङ्सिर २१ गते दुई चरणमा प्रतिनिधिसभाको निर्वाचन हुने तयारी भइरहेको थियो । त्यसबेला समानुपातिक सूची बनाउँदै गरेका उनले एमालेका शीर्ष नेतालाई आफूलाई पनि एक पटक सांसद बनाइदिन भनेका थिए ।

नेपालले यो कुरा २०७४ कात्तिक २० गते सोमबार एपीवान टेलिभिजनमा टीकाराम यात्रीसँग खुलाएका छन् । उनले त्यही बेला ‘एमाले अब मैले बनाएको जस्तो पार्टी रहेन’ भनेर विरक्ति पोखेका थिए । त्यो विरक्ति आफ्नो उपचार सहज हुने आशमा केपी ओली र माधव नेपाललाई गरेको आग्रह अस्वीकार गरेपछि पोखिएको थियो ।

उनले त्यही बेला आफू देशकै लागि असान्दर्भिक भइसकेको गुनासो गरेका थिए । ‘मैले अरूलाई दोष दिन मिल्दैन, म देशकै लागि असान्दर्भिक भएको छु ।

म जस्ता सयौँ कार्यकर्ताहरू छन्, जो समानुपातिकमा परेनन्’, उनले उक्त अन्तर्वार्ताका क्रममा भनेका थिए, ‘समानुपातिकमा नेताका आफन्त र ५२/५४/६० मा एमालेमा आएकाहरू परेछन् । तत्कालीन मालेकालका कोही पनि परेनन् । हाम्रो पार्टी हाम्रो सपनाभन्दा बाहिर गइसक्यो ।’

नेता नेपालले देशमा कुनै प्रणाली नरहेको टिप्पणी त्यसबेला गरेका थिए । ‘हाम्रो देश, पार्टी र राजनीतिमा प्रणाली छैन । हाम्रोमा तल्ला कमिटीबाट सुझाव लिएर निर्णय गर्नुपर्ने हो । तर स्थायी कमिटीले निर्णय गर्छ अनि केन्द्रीय कमिटीलाई आदेश दिन्छ’, उनले त्यसबेला दिक्दारी व्यक्त गर्दै भनेका थिए, ‘मैले निर्माण गरेको जस्तो पार्टी अब छैन । २०५३ सालदेखि नै एमाले लिकबाहिर गइसकेको छ। शेरबहादुर देउवाको सरकार ढाल्न जे नचाहिँदो काम गरियो, त्यहीँदेखि बिग्रियो ।’

नेपालले मदन भण्डारीको विचार र नीतिविपरीत सरकार बनाउन जोसँग पनि मिल्ने परिपाटीले एमालेले लिक छाडेको उल्लेख गरेका थिए । ‘देउवाको सरकार ढालेपछि जोसँग मिलेर पनि सरकारमा जानुपर्छ भन्ने भयो । सरकार बनाउन बहुमत ल्याउनुपर्छ भन्ने मदन भण्डारीको नीतिविपरीत एमाले जोसँग पनि मिल्यो’, उनले भनेका थिए, ‘एउटा सरकारमा म पनि गएँ । ऊर्जा तथा जलश्रोत मन्त्री भएँ । त्यो पनि मैले ठीक गरेनछु भन्ने लाग्छ ।’

साहित्यिक नाम सञ्जय थापा लेख्ने उनले २०७४ सालमै आफूलाई एमाले नेता नभन्न आग्रह गरेका थिए । ‘मलाई एमाले नेता नभनी साहित्यकार भनिदिनु भए राम्रो हुन्छ’, उनले २०७४ को चुनावको मुखमा उक्त टेलिभिजन अन्तर्वार्तामा भनेको वाक्य हो यो ।

उनले उक्त अन्तवार्ताका क्रममा राजनीतिमा लाग्नेले पहिलो शर्तका रुपमा पढ्नुपर्ने उल्लेख गरे । ‘तपाईं राजनीतिमा लाग्नु हुन्छ र नेता हुने हो भने पहिलो शर्त अध्ययन हो’, उनको बुझाइ थियो, ‘बीपी कोइराला, मनमोहन अधिकारी र मदन भण्डारी अध्ययनशील थिए ।’

नेपालले २०७४ को चुनावमा आफूले पदको लोभभन्दा बढी उपचार हुने अपेक्षासहित सांसद बन्न खोजेको सुनाएका थिए । ‘म बाहिर गएर उपचार गर्न चाहन्थेँ । त्यसका लागि मलाई सांसद पद चाहिएको थियो । नेपालको अस्पतालको शुल्क तिर्न नै मलाई महाभारत छ । २०/२५ लाख रुपैयाँ मैले कहाँबाट ल्याउने ?’, उनले यसरी दुखेसो पोखेका थिए, ‘म केपी ओलीलाई जिताउन उनको गुटमा पसेँ, म नगएको भए उनी जित्दैन थिए । यदि नवौँ महाधिवेशनमा हारेको भए उनी पनि गइसक्थे ।’

उनले आफ्नो राजनीतिक उचाइ आफ्नै मिहिनेतका कारण सम्भव भएको स्वमूल्यांकन त्यसबेला गरे । ‘जे जे पाउँदै गएँ , आफ्नै क्षमताले पाउँदै गएँ । अहिले म मेरो क्षमताले उपचार गराउन सक्दिनँ । सभासद भएँ भने सरकारले थोरै सहयोग गर्छ, सांसद भएँ भने जहाजको टिकट पनि पाउँथे’, उनले भनेका थिए, ‘तर मलाई नेताहरूले पत्याएनन् । केपी ओली डिफ्याक्टो भए पनि जहिल्यै कार्यकारी हो । मैले ओलीलाई ग्रान्डी अस्पतालमा पुगेर पनि समानुपातिकमा नराखेकोबारे गुनासो गरेको थिएँ ।’

ओली-नेपाल दुवैसँग दिक्क

२०७४ को चुनावअगाडि एमाले अध्यक्ष केपी ओली ग्रान्डी अस्पतालमा थिए । नेता नेपाल त्यसबेला ओलीलाई भेट्न ग्रान्डीमै पुगे । जहाँ उनले आफ्नो नाम समानुपातिकबाट काटिएकोबारे ओलीसँग कुरा राखेका थिए ।

ग्रान्डीमा नेपाले पार्टीमा जिताउन लागेको आफ्नो नाम काटेर न्याय नगरेको गुनासो राखे । ‘म केपीको गुटकै मान्छे हो । केपीलाई जित्न सहयोग गरेको मान्छे हो तर मलाई उहाँले न्याय नै गर्नु भएन । बाँच्ने इच्छा त सबैलाई हुन्छ नि, मैले केपी ओली ग्रान्डीमा हुँदा सोधेको थिएँ- समानुपातिकबाट मेरो नाम किन काट्नु भयो भनेर’, उनले त्यसबेला भनेका थिए, ‘तर ओलीले, मैले होइन माधव नेपालले काटेको भन्ने जवाफ दिनु भयो ।’

त्यसपछि उनले त्यसबेलाका वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि कुरा गरे । ‘माधव नेपाललाई यस्तो के गरेको, तपाईंले किन मेरो नाम काटेको भन्दा उहाँले पनि, होइन केपीले काटेको जवाफ दिनु भयो’, उनले यसरी सुनाएका थिए, ‘त्यसबारे पछि मैले थाहा पाएँ, मेरो नाम त विद्या भण्डारिबाहेक कसैले सुन्न चाहेकै रहेनछन् । वामदेव गौतमले मलाई यो कुरा बताउनु भयो ।’

त्यसबेला वामदेव गौतमले आफ्नो गुटमा नआएका कारण समानुपातिका राख्ने कुरामा समर्थन जनाउन नसकेको जवाफ आफूलाई दिएको उनले बताएका थिए । ‘वामदेव गौतमले तपाईं मेरो गुटमा कहिले नआउने, मेरो कहिले नहुने भन्नु भयो । त्यहीकारण मैले तपाईंलाई समर्थन गर्न सकिनँ भन्ने जवाफ दिनु भयो’, नेपालले त्यसबेला यसरी सुनाएका थिए ।

नेपालको साथ पनि छाडे

एमालेको राजनीतिबाट विरक्तिएका नेपालले देख्दा-देख्दै २०७८ सालमा पार्टी फुट्यो । २ भदौ २०७८ मा माधवकुमार नेपालले एकीकृत समाजवादी पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिए ।

बिरामीले थलिँदै गएका नेपाललाई तान्न त्यसबेला ओली र नेपाल दुवै समूहका नेता-कार्यकर्ता काँडाघारी पुग्थे, फकाउँथे । ओलीका कारण कर्णरमा परिसकेका नेपालले पटक पटकको प्रयासपछि माधव नेपाललाई सघाउने बचन दिए । उनले सार्वजनिक रूपमै आफू नेपालको साथमा रहेको पनि बताए ।

तर माधव नेपालले दल दर्ताका लागि निवेदन दिएको भोलिपल्ट ३ भदौ २०७८ मा प्रदीप नेपालले एकीकृत समाजवादीमा नबस्ने घोषणा गरे । उनले माधव नेपाल नेतृत्वको एमाले समाजवादीको केन्द्रीय सदस्यमा राखिए पनि आफू त्यसमा नरहेको घोषणा गरे ।

केन्द्रीय सदस्यको सूची सार्वजनिक भएपछि नेपालले भनेका थिए,‘म माधव नेपालको मान्छु हुँ । अहिले मेरो कुनै कमिटी छैन । छ वर्षदेखि म कमिटीविहीन अवस्थामा छु ।’

काठमाडौंमा भएको एमालेको नवौँ महाधिवेशनबाट उपाध्यक्षमा पराजित नेपाल केन्द्रीय कमिटीमा भने निर्वाचित भएका थिए । त्यसपछि एमालेमा भाँडभैलो सुरू हुँदा कतै नखुलेका उनले माधव नेपालनिकट भए पनि उनलाई पनि लामो समय साथ दिएनन् ।

एमाले र एकीकृत समाजवादी कतै नजोडिएका नेपाल पछिल्लो समय केपी ओली र माधव नेपाल दुवैकाबारे दिक्दारी व्यक्त गर्थे । पार्टी विभाजनपछि त उनी झनै विरक्तिएका थिए । त्यही विरक्ति उनले आफ्नो पुस्तकमा व्यक्त गर्दै एमाले र समाजवादी दुवैको झन्डा आफ्नो लाशमा नओढाउन सन्देश छाडेका थिए ।

उनी पार्टीमा सक्रिय हुँदा नीतिगत र सैद्धान्तिक बहसमा खरो रुपमा उत्रिन्थे । उनी जीवनको उत्तरार्द्धमा सार्वजनिक अन्तर्वार्ताका क्रममा कम्युनिस्ट पार्टीप्रति दिक्दारी पोखिरहन्थे । उनले दलहरू सिद्धान्तबाट विचलित भएको, पद प्रमुख भएको, आन्तरिक लोकतन्त्र मरेको र नेतृत्वको दम्भले समस्या बढाएको टिप्पणी गर्थे । पञ्चायतको कठोर समयमा कम्युनिस्टको झन्डा ओढेर संगठन बनाउँदै हिँडेका उनले आफ्नो देहान्तपछि त्यही झन्डा ओढ्न चाहेनन् ।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  ६ : ४५ बजे

आज विश्व रेडक्रस दिवस मनाइँदै

काठमाडौं– ‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ आज नेपालमा पनि

राजावादीले आज आन्दोलनको घोषणा गर्दै

काठमाडौं–  नवराज सुवेदी नेतृत्वको राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन

मन्त्रिपरिषद बैठक बस्दै, के–के छन् एजेण्डा ? 

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।

बालबालिकालाई पानी कम भयो ? किड्नीमा असर पर्न सक्छ

अहिले गर्मी मौसम चलिरहेको छ। यो मौसम वातावरणीय हिसाबले पनि

गण्डकी प्रदेश कमिटीको विज्ञप्तिप्रति एमाले पर्वतको आपत्ति 

पोखरा– नेकपा एमाले पर्वत जिल्ला कमिटीले गण्डकी प्रदेश कमिटीद्वारा जारी