नयाँ दिल्ली- पाकिस्तान अधिनस्थ कश्मीरभित्र भारतीय सेनाले गरेको हवाई आक्रमणपछि भारतभर युद्धस्तरको सतर्कता अपनाइएको छ।
केन्द्रीय गृह मन्त्रालयको निर्देशनअनुसार बुधबारदेखि देशका विभिन्न राज्य र शहरहरूमा आपतकालीन अवस्थामा कसरी सुरक्षित हुने भन्ने विषयमा व्यापक रुपमा ‘मोक ड्रिल’ सुरू गरिएको छ।
राजधानी नयाँ दिल्लीका विभिन्न क्षेत्रमा सिभिल डिफेन्स, होम गार्ड, एनसीसी, एनएसएस लगायतका स्वयंसेवी तथा स्थानीय बासिन्दाको सहभागितामा अभ्यास गरिएको छ।
पश्चिमी दिल्लीकी जिलाधिकारी डा. किन्नी सिंहका अनुसार यो अभ्यासले नागरिकलाई संकटको बेला कसरी सुरक्षित रहने, कहाँ शरण लिने र अफवाहबाट कसरी जोगिने भन्नेबारे जानकारी दिइएको छ।
उत्तराखण्डको देहरादूनमा पनि सायरनसहित मोक ड्रिल गरिएको छ। त्यहाँको आईएसबीटी तथा एमडीडीए कोलोनीमा गरिएको अभ्यासमा खोज र उद्धार (सर्च एन्ड रेस्क्यू) कार्यसमेत समावेश थियो। प्रहरी एसपी प्रमोद कुमारले बताएअनुसार यो अभ्यासले नागरिकलाई युद्धजस्तै परिस्थितिमा सचेत र संयमित रहने अभ्यास गराएको हो।
गृह मन्त्रालयले राजधानी दिल्लीको एनडीएमसी कार्यालयमा पनि विशेष अभ्यास गराएको जानकारी दिएको छ । देशभरका २५९ संवेदनशील जिल्लामा यस्तो अभ्यास आज र भोलि जारी रहनेछ।
यस अभ्यासको पृष्ठभूमिमा भारतले आज बिहानै पाकिस्तानतर्फ ‘अपरेशन सिन्दूर’अन्तर्गत हवाई आक्रमण गरेको छ। पहलगाममा भएको आतङ्कवादी आक्रमणपछि भारतले दोषीहरूलाई कडा जवाफ दिने नीति अवलम्बन गरेको जनाइएको छ।
आगामी ७ र ८ मेमा पाकिस्तान सीमावर्ती क्षेत्रमा भारतीय वायुसेनाले युद्धाभ्यास गर्नेछ, जसमा राफेल, मिराज–२०००, तेजस र सुखोई–३० जस्ता अत्याधुनिक लडाकू विमानहरू प्रयोग गरिनेछ।
महाराष्ट्र, गुजरात, राजस्थान, तेलङ्गना लगायत राज्यहरूमा पनि ठूला सहर र तटीय क्षेत्रहरूमा व्यापक मोक ड्रिल हुँदैछ। महाराष्ट्रका मुम्बई, पुणे, ठाणे, नासिक, सिंधुदुर्ग लगायतका १६ स्थानहरूमा हवाई हमला वा आपतकालीन स्थितिका लागि जनतालाई तयारी गराइँदैछ।
गुजरातमा राज्यका गृहमन्त्री हर्ष संघवीको अध्यक्षतामा तयारी समीक्षा गरिएको छ। अहमदाबाद, वडोदरा, सूरत, जामनगर, कच्छ लगायतका १९ स्थानमा मोक ड्रिल सञ्चालन हुँदैछ।
यसको मुख्य उद्देश्य देशमा सम्भावित आतङ्कवादी हमला वा युद्धको स्थितिमा नागरिक सतर्कता बढाउने, संस्थागत समन्वय सुदृढ बनाउने र आपतकालीन प्रतिक्रियालाई प्रभावकारी बनाउने राखिएको छ ।
प्रतिक्रिया