सावित्राको आँशु : बहुविवाह गर्ने प्रहरीलाई कारबाही होस् | Khabarhub Khabarhub

सावित्राको आँशु : बहुविवाह गर्ने प्रहरीलाई कारबाही होस्


२२ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


738
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रहरी परिसर भक्तपुरमा कार्यरत भरत बस्नेतले बहुविवाह गरेको भन्दै श्रीमती सावित्रा बस्नेतले कारबाहीको माग गरेकी छिन्। बुधबार रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गर्दै उनले प्रहरी संगठनले अभियुक्त भगाउन मद्त गरेको भन्दै न्यायको लागि मिडिया धाउनु परेको गुनासो गरेकी छिन्।

श्रीमान्ले कास्कीकी मीना बानियाँसँग दोस्रो बिहे गरेपछि जिल्ला परिसदमा उनले उजुरी दिएकी थिइन्। जिल्ला अदातलले पनि पक्राउ पुर्जी दिएपछि परिसदकै सुराकीमा श्रीमान् प्रहरीकै युनिफर्ममा फरार रहेको उनको आरोप छ। श्रीमान् फरार रहेको शुक्रबार १९ दिन पुग्यो।

सावित्राका श्रीमानले सम्बन्ध विच्छेदका लागि मुद्दा दर्ता गरेका छन्। तर, श्रीमतीले आफू कसैसँग सम्बन्धमा नरहेको, श्रीमतीको कर्तव्यबाट कहिँ पनि नचुकेको र साथै श्रीमानलाई प्रेम गर्ने हुँदा सम्बन्ध विच्छेदका लागि आफू तयार नभएको स्पष्ट पारिन्।

सम्बन्ध विच्छेद नहुँदै श्रीमानले कान्छी लिएर बसेको भन्दै उनले श्रीमानले कानून अनुसारको सजाय पाउनुपर्ने माग राखेकी छन्। मुलुकी अपराधसंहिता २०७४ को १७५ को उपदफा ४ बमोजिम भरत बस्नेत र मीना बानियाँलाई तत्काल पक्राउ गरी कारबाही गर्न उनको माग छ।

श्रीमानले बारम्बार आफू र दुई छोराछोरीलाई ज्यान मार्ने धम्की पनि दिइराख्ने हुनाले सुरक्षाको लागि अपिल गरेकी छन्। भरत र सावित्राले २०६८ साल वैशाखमा प्रेम विवाह गरेका थिए। हाल उनीहरुको साथमा १४ वर्षीय छोरा र ११ वर्षीया छोरी छन्।

प्रहरीमा सावित्रा दिएको जाहेरी-

मिति २०६८ वैशाख १३ गतेका दिन रामेछाप जिल्ला लिखु तामाकोशी गाउँपालिका-२, सैपु रामेछाप स्थायी ठेगाना भएका भरत बस्नेतसँग मेरो प्रेम विवाह भएको हो। प्रेम विवाह भएको सुरुका केही वर्षमा हाम्रो सम्बन्ध राम्रै थियो।

घरमा हुँदासम्म सम्बन्ध ठिकठिकै थियो, केही वर्ष गाउँ बसेर हामी काठमाडौँ महानगरपालिका-३२ अन्तर्गतको पेप्सीकोलामा बस्ने गरेका थियौं। पेप्सीकोलामा हामी सात वर्षसँगै बसेका थियौं। हामीबाट १४ वर्षीय एक छोरा र ११ वर्षीया एक छोरीको जायजन्म भएको अवस्था छ।

सात वर्षसम्म पेप्सीकोलामा बस्दा मेरो श्रीमान् भरत बस्नेतले सधैं झगडा गर्ने, गाली गलौज गर्ने, हातपात, कुटपिट गर्ने, छोरा छोरीलाई समेत तर्साउने, अशान्ति कायम गर्ने, ममाथि घरेलु एवम् महिला हिंसा गर्ने जस्ता क्रियाकलाप गर्दथे। उनले हरेक रात मलाई मादक पदार्थ खाएर अभद्र अशिष्ट व्यवहार गर्ने, भौतिक आक्रमण गर्ने, चरित्र हत्या गर्ने, अश्लिल गाली गलौज गर्ने जस्ता क्रियाकलाप समेत गर्ने गर्दथे।

सात वर्षसम्म निज श्रीमान् भरत बस्नेतले मलाई चरम यातना, पीडा दिएका थिए। उनी नेपाल प्रहरीको हवल्दार पदमा कार्यरत रहेका कारण मैले निजका विरुद्धमा कुनै उजुर गर्न सकेको अवस्था थिएन।

यसै सिलसिलामा मिति २०८१ चैत्र २३ गतेका दिन राति निज मेरा पति भरत बस्नेतले मादक पदार्थ सेवन गरी आएका रहेछन्। मादक पदार्थ सेवन गरेर आएका निजले ममाथि अश्लिल गालीगलौज गरी तथानाम भन्न थाले। त्यसपछि ममाथि ज्यानै मार्ने गरी भौतिक आक्रमण एवम् कुटपिट गर्न थाले। त्यसपछि मेरा छोराछोरी समेत रोइकराई गर्न थाले। त्यहाँ बस्दा निज पति भरत बस्नेतले म र मेरो दुई बच्चाको ज्यानै लिनसक्ने खतरा देखिएको हुँदा म दुई बच्चा लिएर राति कोठाबाट भागेकी हुँ। चैत्र २३ गतेका दिन भागेर म चन्द्रागिरि नगरपालिका-८ मा रहेको माइतीमा गएर शरण लिएर बसेको र हालसम्म सोही ठाउँमा बसेकी छु।

फाल्गुन २ गते भ्यालेनटाइनका दिन मेरो श्रीमान् भरत बस्नेत र मीना बानियाँ चन्द्रागिरि नगरपालिका-१२ मा रहेको रमा बुढाथोकीको घरमा चार दिनसम्म सँगै बसेको भन्ने सूचना समेत मैले घरधनीबाट थाहा पाए। यहीं ४/५ दिन बस्ने हो, भ्यालेन्टाइन डे पनि र सुहागरात पनि यही मनाउने भन्दै उनीहरु त्यहाँ बसेका रहेछन्।

घरधनी रमा बुढाथोकीले मेरा श्रीमान् बस्नेत र निज मीना बानियाँ सँगै बसेको भनी भनेकै आधारमा मैले मेरा श्रीमान्लाई बहुविवाहजस्तो गम्भीर फौजदारी मुद्दाको आरोपित गर्ने कुनै प्रमाण थिएन।

त्यो बेलामा निज भरत बस्नेत र मीना बानियाँले बहुविवाह गरेको प्रमाण मसँग केही पनि थिएन। हल्ला र शंकाकै भरमा कसैलाई बहुविवाह जस्तो कसूरमा मुद्दा हाल्ने कुरा पनि भएन। म मेरो श्रीमान् भरत बस्नेत र मीना बानियाँले विवाह गरेका हुन कि हैनन् भन्ने प्रमाण जुटाउने र यदि प्रमाण भेटिएको खण्डमा निजविरुद्ध बहुविवाहमा मुद्दा हाल्ने निचोडमा पुगेको थिएँ। यसैगरी मिति २०८२ असार २० गतेका दिन सामाजिक सञ्जाल टिकटक, युट्युब र फेसबुकमा मेरो श्रीमान् भरत बस्नेत र मीना बानियाँले विवाह गरेर सिन्दुर हालेको, सँगै बसेका विभिन्न फोटो साथै राति सुत्नु अघि मेरी बुढी भन्दै गोडामा तेल लगाएको भिडियो सार्वजनिक भएको देखेपछि म छाँगाबाट खसेजस्तो भएँ।

फाल्गुन २ गते भ्यालेनटाइन डेको दिन निजसँगै बसेको, विवाह गरेको भन्ने कुराको प्रमाण मैले २०८२ असार २० गते मात्र पाएँ। अत औपचारिक रुपमा मैले मिति २०८२ असार २० गतेका दिन मात्र मेरो श्रीमान् निज विपक्षी भरत बस्नेत र मीना बानियाँले बहुविवाह गरेको भन्ने कुरा थाहा पाएँ। निज मीना बानियाँलाई मेरो श्रीमान् विवाहित र दुई बच्चा रहेको कुरा थाहा थियो। निज विपक्षी भरत बस्नेतले मलाई यौनिक तथा शारीरिक रुपमा समेत अनेक छेड्खानी गरेर मलाई अपमानित गर्दथे।

त्यस्तै विपक्षी मीना बानियाँले समेत मेरो चरित्र हत्या, मानहानी लगायतका कुरा सामाजिक सञ्जाल टिकटकबाट दैनिक रुपमा गरिरहेकी हुन्थिन्। अत निज विपक्षी भरत बस्नेतले विपक्षी मीना बानियाँसँग विवाह गरेपछि म र मेरो दुई सन्तानमाथि अन्याय भएको छ। १४ वर्षीय छोरा र ११ वर्षीया छोरीको र मेरो बिजोग भएको अवस्था छ। मेरा श्रीमान्ले मलाई लाउन खान, पालन पोषण गर्न, साथै दुई सन्तानलाई समेत लालनपालन गर्न, पठनपाठन गर्न सकेको अवस्था छैन। विपक्षी भरत बस्नेतले मसँग श्रीमतीको नाता कायम हुँदाहुँदैको अवस्थामा र विपक्षी मीना बानियाँले मेरो पति विवाहित हो भन्ने जान्दाजान्दै म र मेरो दुई छोराछोरीको संवैधानिक एवम् न्यायिक हक खोसी हामीमाथि अन्याय गर्नकै लागि जानाजान र योजनाबद्ध रुपमै बहुविवाह गरेको देखिन्छ।

त्यस्तै घरमा श्रीमती, छोरा र छोरी हुँदाहुँदै एउटी श्रीमती र छोरा छोरीलाई एक पति/पिताले गर्नुपर्ने दायित्त्व पुरा गर्न नसक्नेले गैरकानूनी रुपमा बहुविवाह गर्ने अपराध मेरो श्रीमान्ले गरेको देखिन्छ। त्यस्तै विपक्षी मीना बानियाँले पनि मेरो श्रीमान् विवाहित हो भन्ने कुरा जान्दाजान्दै, बुझ्दाबुझ्दै म र मेरा बच्चामाथि अन्याय गर्नकै लागि मेरो श्रीमानसँग बहुविवाह गरेको मेरो बुझाइ रहेको छ।

अत: मेरो श्रीमान् र निज मीना बानियाँले जानीजानी मुलुकी अपराधसंहिता २०७४ को दफा १७५ बहुविवाह गर्न नहुने सम्बन्धी कसुर गरेको हुँदा मेरो श्रीमान् भरत बस्नेत र निजकी कान्छी श्रीमती मीना बानियाँ समेतलाई मुलुकी अपराधसंहिता २०७४ को दफा १७५ को उप दफा (४) बमोजिम हदैसम्मको कानुनी कारबाही गर्न माग गरी न्याय दिलाई पाउन यस जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौंको कार्यालयमा यो जाहेरी दर्खास्त लिई उपस्थित भएकी छु। बहुविवाह गरि मेरो जिन्दगीमाथि खेलबाड गर्ने विपक्षी भरत बस्नेत र मिना बानियाँलाई प्रचलित कानुन बमोजिम हदैसम्मको सजाय गरी न्याय पाऊँ।

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहीबार  ११ : ३२ बजे

बौद्धमा यस वर्षपनि रोपाइँ जात्रा मनाइने

काठमाडौं– काठमाडौंको बौद्धमा यस वर्षपनि भव्य रूपमा रोपाइँ जात्रा मनाइने

पुटिनलाई ‘धेरै चाँडै’ भेट्ने सम्भावना रहेको ट्रम्पको भनाइ

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग ‘चाँडै

ललितपुरका धारामा पानी नआएपछि…

ललितपुर– जडान गरिएका धारामा पानी नआएपछि ललितपुरका कतिपय स्थानीय गुनासो