चेपाङ समुदायले आज न्वांगी पर्व मनाउँदै « Khabarhub

चेपाङ समुदायले आज न्वांगी पर्व मनाउँदै


२२ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

चितवन– चेपाङ समुदायले आज न्वांगी (छोनाम) पर्व मनाउँदै छन् । यस समुदायले राष्ट्रिय एवं धार्मिक पर्वका रूपमा न्वांगी (छोनाम) पर्व हरेक वर्ष भदौ २२ गते सामूहिक रूपमा मनाउँदै आएका छन् ।

न्वांगी पर्व भदौ महिनाभरि नै मनाउने भए पनि २२ गते भने सामूहिक रूपमा भेला भएर विभिन्न सांस्कृतिक कार्यक्रम गरी मनाउँदै आएका छन् ।

यस वर्ष चितवनको इच्छाकामना गाउँपालिका–६ कालिखोलामा देशभरका चेपाङ एकै ठाउँमा भेला भएर न्वांगी मनाउन लागिएको नेपाल चेपाङ सङ्घका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङले जानकारी दिए ।

उनका अनुसार चेपाङ बाहुल्यता रहेको चितवन, मकवानपुर, धादिङ र गोरखामा हरेक वर्ष पालैपालो गरी भदौ २२ गते राष्ट्रिय पर्व न्वांगीलाई उत्सवका रूपमा मनाउने गरिएको छ ।

उक्त उत्सवमा सहभागी हुन नपाउनेले आआफ्नो घर र टोलटोलमा मनाउने गर्छन् । भदौ २२ गते सामूहिक रूपमा न्वांगी मनाउँदै आए पनि आफ्नो कूलअनुसार चेपाङ समुदायले भदौ महिनाभरि नै न्वांगी मनाउने परम्परा रहेको छ ।

उनले भने, ‘हामीले भदौ २२ गते न्वांगीलाई राष्ट्रिय रूपमा सामूहिक मनाउँदै आएका छौँ, हाम्रो जातिमा पनि विभिन्न थर हुन्छन् उहाँहरूको कूलअनुसार भदौको पूर्णिमादेखि भदौ महिनाभरि नै मनाउने गरिन्छ ।’ उनका अनसार चेपाङ जातिका ६४ वटा थर रहेका छन् ।

चेपाङ समुदायमा पितृलाई नचढाई र पूजा नगरी नयाँ फलफूल र अन्नपात खान हुँदैन भन्ने धार्मिक मान्यता छ । न्वांगी पर्वका दिन घैया धानको चामल, काउनो, पिँडालुलगायत अन्न र फलफूल भूमि र पितृलाई चढाउने गरिन्छ । यो पर्व चेपाङले नयाँ अन्न खाने दिन पनि रहेको उनको भनाइ छ ।

न्वांगीमा चेपाङ झाँक्री (पान्दे)ले ढ्याङ्ग्रो ठोक्दै कुखुराको बलि चढाउँछन् । यस दिन चेपाङ समुदायले कुनै काम नगरी रमाइलो गर्छन् । नाता कुटुम्बलाई पनि निम्तो गरेर सामूहिक भोज खाने, नाचगान गर्ने र सुखदुःख साट्ने गर्छन् । न्वांगी चेपाङ जातिको जीवनशैली र संस्कृतिसँग जोडिएको पर्व हो ।

राष्ट्रिय जनगणना २०७८ का अनुसार नेपालमा चेपाङको सङ्ख्या ८४ हजार ३६४ जना छन् । चेपाङ समुदायका मानिसहरूको २६ जिल्लामा बसोबास रहेको पाइन्छ । चितवनमा मात्र चेपाङको सङ्ख्या ३५ हजार ६३७ छ ।

यसपछि मकवानपुरमा २३ हजार ६५०, धादिङमा १७ हजार १६० र गोरखामा चार हजा २६८ जना रहेको जनगणना २०७८ को तथ्याङ्कले देखाएको छ ।

चेपाङहरूको राष्ट्रिय पर्व न्वांगीका अवसरमा बागमती प्रदेश सरकारले २०७९ सालदेखि चितवन, मकवानपुर र धादिङ गरी तीन जिल्लामा भदौ २२ गते सार्वजनिक बिदा दिँदै आाएको अध्यक्ष चेपाङले बताए । साथै गोरखाको गण्डकी गाउँपालिकाले पनि सार्वजनिक बिदा दिँदै आएको छ ।

चेपाङ समुदायले राष्ट्रिय पर्वका रूपमा आफ्नो घरघर र टोलमा मनाउँदै आएको न्वांगी पर्वलाई नेपाल चेपाङ सङ्घको अगुवाइमा २०६३ सालदेखि भने भदौ २२ गते सामूहिक रूपमा मनाउँदै आएका छन् ।

प्रकाशित मिति : २२ भाद्र २०८२, आइतबार  १० : १४ बजे

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतको भेट, नेपाल–चीन सम्बन्धबारे छलफल

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले

प्रधानमन्त्री शाह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटवार्ता

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत

परराष्ट्र मन्त्रालयको भवन निर्माण आगामी वर्षदेखि सुरुवात गरिने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले परराष्ट्र मन्त्रालयको आफ्नै भवन निर्माणको काम

विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन कार्यदल गठन

काठमाडौं– सरकारले विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन गर्न

चार हजार सहकारी बचतकर्ताको रकम फिर्ता

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले हालसम्म करिब चार हजार बचतकर्ताको