जेनजी पुस्ताको प्रदर्शनसामु झुके इण्डोनेशियाका राष्ट्रपति | Khabarhub Khabarhub

जेनजी पुस्ताको प्रदर्शनसामु झुके इण्डोनेशियाका राष्ट्रपति

सांसदको भत्ता फिर्ता, डेलिभरी राइडरका ‘हत्यारा’लाई कारबाही हुने



काठमाडौं– इण्डोनेशियामा पाबोवो सुबियान्तोले राष्ट्रपति पदको जिम्मेवारी सम्हालेको एक वर्ष पनि पुगेको छैन । तर, उनी र अरू नेताविरुद्ध आक्रोशको आगो तीव्र गतिमा फैलिरहेको छ ।

अहिले इण्डोनेशियामा व्यापक प्रदर्शन भइरहेको छ । र प्रदर्शनको अग्रमोर्चामा छन्– नयाँ पुस्ताका जेनजीहरू ।

सांसद र जननिर्वाचित प्रतिनिधिलाई आवास तथा अरू सुविधा दिने निर्णयको विरोधमा अहिले इण्डोनेशियाका विभिन्न प्रान्त, शहर र गाउँमा प्रदर्शन चलिरहेको छ । प्रदर्शनमा लाखौँ सर्वसाधारण सहभागी छन् ।

मुलुकमा बढ्दो आर्थिक असन्तुलनप्रति उनीहरु आक्रोशित छन् । त्यसैगरी, उनीहरूको दृष्टिकोणमा सरकारले मुलुक र जनताको आर्थिक अवस्था माथि उकास्न सकेको छैन ।

प्रदर्शनका क्रममा हालसम्म १० जनाले ज्यान गुमाइसकेका छन् भने कैयौँ घाइते भएका छन् । झण्डै ३ हजार जना पक्राउ परेका छन् ।

प्रान्तीय संसद् भवन र सार्वजनिक पूर्वाधारमा आगजनी भएका छन् । यसलाई पूर्वशासक सुहार्तोको ३२ वर्षे तानाशाही पतन भएयताकै ठूलो प्रदर्शन मानिएको छ ।

आक्रोशको झिल्को

गत फेब्रुअरी महिनामा सुबियान्तो सरकारले सित्तैमा पौष्टिक खानेकुरा खुवाउने अभियानका लागि पैसा जुटाउन व्यापक सार्वजनिक खर्च कटौतीको घोषणा गरेको थियो । सरकारको यही घोषणा तीव्र असन्तुष्टिको झिल्को साबित भयो ।

त्यसपछि सरकारी खर्च कटौती सम्बोधन गर्न स्थानीय तहले सम्पत्ति कर बढाउन थाले । यसले अवस्था अझ खराब बनाउँदै लग्यो भने जनआक्रोश थप चुलियो ।

यहीबीचमा सरकारले बहालवाला सैन्य अधिकारीलाई महत्वपूर्ण नागरिक पदमा सेवा गर्न मिल्नेगरी अर्को विवादास्पद घोषणा गर्‍यो । इण्डोनेशियाले आफ्नो इतिहासमा सैनिक सरकारको अधिनायकवादी शासन पनि खेपेको छ । त्यसमाथि सुबियान्तो आफैँ पूर्वसैनिक अधिकारी हुन् ।

सरकारको घोषणाले असन्तुष्टि थप चुलियो । सामाजिक सञ्जालमा विरोधका स्वरहरु सुनिन थाले । टिकटक, फेसबुक, ट्विटर, रेडिट, डिस्कर्डजस्ता सामाजिक सञ्जाल प्रयोगकर्ताहरु ‘इण्डोनेशिया गेलाप’ अर्थात् ‘अँध्यारो इण्डोनेशिया’ नामक ह्यासट्यागमार्फत् संगठित हुन लागे ।

उनीहरुले भ्रष्ट भनिएका सांसद्, कर्मचारी, सैन्य अधिकारीहरु र उच्च ओहोदामा रहेका व्यक्तिहरुको आलिशान जीवनशैलीको खुलासा गर्न थाले । यसपछि सामाजिक सञ्जालमा भ्रष्टाचारविरुद्ध व्यापक माहोल सिर्जना भयो ।

नेपो बेबी

इण्डोनेशियाली जनमानसमा अघिल्लो निर्वाचनदेखि नै एक किसिमको असन्तुष्टि पैदा भएको देखिन्छ । इण्डोनेशियाका पुर्वराष्ट्रपति जोको विदोदोले आफ्ना छोरा जिब्रान राकबुमिङलाई उपराष्ट्रपति बनाउनका लागि विभिन्न संवैधानिक तिकडम र हेराफेरि गरेपछि वर्तमान सत्तासँग तीव्र असन्तुष्टि चुलिएको हो ।

उपराष्ट्रपतिको उम्मेदवारी दिने बेला जिब्रान २६ वर्षका मात्रै थिए । जबकी त्यहाँ उपराष्ट्रपति हुनका लागि ४० वर्षको उमेरहद तोकिएको छ । उनको उम्मेदवारीलाई जायज बनाउन अदालतले कानुनमा अपवादको व्यवस्था गर्‍यो । जिब्रानका एक जना आफन्त त्यतिबेला संवैधानिक अदालतका प्रमुख न्यायाधीश थिए ।

यो निर्णयलाई विपक्षी तथा नागरिकले नातावादको चरम दुरुपयोगको भएको भन्दै विरोध सुरु गरे । त्यसबेला राजनीतिक वंशवादको विरुद्ध त्यहाँ ठूलै अभियान चलेको थियो ।

‘पङ्क’ सङ्गीत, ‘वान पिस’ को ‘जोली रोजर’ झण्डा

साङ्गीतिक जोडी सुकातानीले सन् २०२३ मा सार्वजनिक गरेको युवापुस्तामाझ लोकप्रिय ‘बायार, बायार, बायार’ गीत यस अभियानको पहिचानका रुपमा स्थापित गरियो । यो जोडीले पङ्क शैलीको सङ्गीत सिर्जना गर्छ । सरकारको विरोध गर्न ‘बायार, बायार, बायार’ गीतको प्रयोग भएपछि यसमा प्रयोग भएका शब्दलाई लिएर सरकारी पक्षबाट व्यापक आलोचना भयो ।

जकर्ता पोस्टका अनुसार यो गीतमा आफ्नो अधिकारको दुरुपयोग गर्ने प्रहरी अधिकारीको आलोचना गरिएको छ । सरकार विरोधी अभियानमा आफ्नो गीतको प्रयोग भएपछि सुकातानीलाई सार्वजनिक माफी माग्न बाध्य पारियो ।

इण्डोनेशियाले हरेक वर्ष अगस्ट १७ का दिन स्वतन्त्रता दिवस मनाउँछ । ८० वर्षअघि डच उपनिवेशबाट स्वतन्त्रता पाएको उपलक्ष्यमा यस वर्ष स्वतन्त्रता दिवस मनाइयो । स्वतन्त्रता दिवसका अवसरमा राष्ट्रिय झण्डा फहराउने चलन छ । तर, यस वर्ष सरकारसँग असन्तुष्ट युवाहरुले राष्ट्रिय झण्डा फहराएनन् ।

उनीहरुले जापानी माङ्गा र एनिमे सिरिज वान पिसमा लोकप्रिय लुटेराले प्रयोग गर्ने ‘जोली रोजर’ झण्डा फहराएर विरोध जनाए । यस झण्डमा कङ्काल अङ्कित छ । यो झण्डामा अङ्कित कङ्कालले विशेष किसिमको टोपी लगाएको देखिन्छ ।

यस स्वतन्त्रता दिवसको छेकोमा इण्डोनेशियाका घर, सडक, कार, मोटरसाइकल, डुङ्गा जताततै वान पिसको ‘जोली रोजर’ झण्डा देखियो ।

प्रदर्शनको डढेलो

गत वर्ष इण्डोनेशियामा एउटा कानुन संशोधन गरी हरेक सांसदलाई प्रतिमहिना ५ करोड इण्डोनेशियाली रुपिया अर्थात् ३ हजार डलर (४ लाख २३ हजार ८ सय नेपाली रुपैयाँ बराबर) भत्ता दिने निर्णय गरिएको थियो । यसअघि कायम तलबसँगै सांसदलाई यति ठूलो रकम वितरण गरिएपछि आक्रोशको झिल्को प्रदर्शनको डढेलोमा परिणत भयो ।

अल जजीराका अनुसार आवास खर्चबापत सांसदलाई दिइएको यो रकम राजधानी जकर्ताको न्यूनतम आयभन्दा १० गुणा र मुलुकका अरु गरिब क्षेत्रको न्यूनमत आयभन्दा २० गुणा धेरै हो । प्रहरी, कर्मचारी र जनप्रतिनिधिहरु व्यापक भ्रष्टाचारमा संलग्न हुने गरेको इण्डोनेशियाली जनतामाझ आम बुझाइ छ ।

बजेट पारदर्शीताका लागि इण्डोनेशियाली मञ्च नामक एउटा गैरसरकारी संस्थाका अनुसार बढेको भत्तासँगै इण्डोनेशियाली सांसदले हरेक महिना २३ करोड रुपिया अर्थात् झण्डै १४ हजार अमेरिकी डलर प्राप्त गर्दै आएका छन् । सार्वजनिक खर्च कटौती गर्ने, कर वृद्धि गर्ने सरकारको निर्णयपछि संसादलाई रकम वितरण गरिएको घटनापछि युवापुस्ता थप आक्रोशित भयो ।

यससँगै इण्डोनेशियालीको धैर्यताको बाँध टुट्यो र व्यापक प्रदर्शन शुरु भयो । प्रदर्शनकारी सडकमा उत्रिए । हेर्दाहेर्दै यो प्रदर्शन राजधानी जकर्तासहित, मकासार, मेडान, वानडुङ, गोरोनाटालो, बञ्जारमासिन, योग्याकार्ताजसता ठाउँमा पनि फैलियो ।

ती शहर र प्रान्तमा रहेका विश्वविद्यायल, प्रान्तीय संसद् भवन, सरकारी कार्यालय, उच्च पदस्थ व्यक्तिका निवासअगाडि आन्दोलनकारीले व्यापक प्रदर्शन र नाराबाजी गरे । कतै–कतै आन्दोलनले हिंसात्मक रुपसमेत लियो ।

डेलिभरी राइडरको मृत्यु

अगस्ट २७ का दिन प्रदर्शनकारीले पश्चिमी कालिमान्तान प्रान्तको संसद भवनमा आक्रमण गरे । २८ अगस्टका दिन पनि जकर्तामा प्रदर्शन भइरहेको थियो ।

जकार्तामा भएको प्रदर्शनले उग्ररुप लिन थालेपछि मुलुकको अर्धसैनिक प्रहरी बलको एउटा बख्तरबन्द गाडी प्रदर्शनकारीको हुलमा गएर ठोक्कियो । यस घटनामा एक जना डेलिभरी एवम् राइड शेयरिङ सवारी चालकको मृत्यु भयो ।

२१ वर्षीय अफ्फान कुर्नियावानको मृत्यु भएपछि प्रदर्शन झन् हिंसात्मक बन्न पुग्यो । प्रदर्शनकारीहरु प्रहरी र अर्धसैनिक बलका सुरक्षाकर्मीमाथि ‘हत्यारा’ भन्दै जाइलाग्न थाले ।

ढुङ्गामुढा, आगजनी र तोडफोडका दृश्य यत्रतत्र देखियो । यस्ता दृश्य टिकटक लगायतका सामाजिक सञ्जालमा सुख्ख जङ्गलमा लागेको डढेलोजस्तै फैलियो । पछि टिकटकले केही समयका लागि इण्डोनेशियामा लाइभस्ट्रिमिङ सेवा बन्द गर्ने घोषणा समेत गर्‍यो ।

२९ अगस्टका दिन मकासारको क्षेत्रीय संसद भवनमा प्रदर्शनकारीले आगजनी गरे । आगजनीमा परेर भवनभित्र रहेका तीन जनाले ज्यान गुमाए । यस्तै दृश्य सुराबाया, वानडुङ र योग्यकर्तामा पनि देखियो ।

त्यसपछि प्रदर्शनकारीको कुटाइबाट एक जना संदिग्ध प्रहरी गुप्तचरको ज्यान गयो । योग्यकर्तामा विश्वविद्यालयमा अध्ययनरत अर्का एक जनाको ज्यान गयो । त्यसैगरी, मध्य जाभामा भएको प्रदर्शनमा सहभागी एक जना ज्येष्ठ नागरिक पनि अश्रुग्यासको प्रहारबाट ज्यान गयो ।

यस प्रदर्शनका क्रममा आन्दोलनकारीहरु मन्त्री, सांसदको घरमा प्रवेश गरी लुटपाट, तोडफोड, आगजनी गरे । विलासी गाडीमा आगो लगाइयो । प्रदर्शनकारीले महङ्गा विद्युतीय सामान र फर्निचर लुटेर लगे । प्रदर्शनकारीले यस किसिमको लुटपाटलाई ‘भ्रष्ट नेताले लुटपाटको क्षतिपुर्ति’ का रुपमा व्याख्या गरेका छन् ।

यस किसिमको प्रदर्शनका कारण राजधानी जकर्तामा मात्रै झण्डै ५ सय जना घाइते भए । १५ सय जनालाई पक्राउ गरियो भने हालसम्म २० जना प्रदर्शनकारी अझै बेपत्ता रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

झुके सुबियान्तो

प्रदर्शन उग्र भएपछि राष्ट्रपति सुबियान्तो झुकेका छन् । सुबियान्तोले साङ्घाई सहयोग संगठन एससीओको सम्मेलनमा सहभागिता जनाउन चीन जाने कार्यक्रम थियो ।

तर, प्रदर्शन चर्किएपछि उनी एससीओ सम्मेलनका लागि चीन जान पाएनन् । यद्यपि उनी बेइजिङमा आयोजित सैन्य परेडमा उपस्थित हुनका लागि छोटो समयका लागि हतार हतार चीन भने पुगेका थिए ।

प्रदर्शन चर्किपछि सुबियान्तोले केही सांसदले पाउने आवास भत्ता कटौती गर्ने घोषणा गरेका छन् ।

उनले २१ वर्षीय डेलिभरी राइडरको ज्यान गएको घटनाका आरोपीमाथि कारवाही गर्ने बाचा गरेका छन् । यद्यपि उनले आतंकवाद र देशद्रोहलाई स्वीकार गर्न नसकिने चेतावनी दिएका छन् ।

फिलिपिन्समा पनि

यस किसिमको प्रदर्शन अहिले छिमेकी फिलिपिन्समा पनि देखिएको छ । पछिल्लो समय फिलिपिन्सको राजधानी मनिलामा बाढीको प्रकोप छ । सरकारले बाढीबाट उत्पन्न विपदको सम्बोधन गर्न नसकेको भन्दै फिलिपिनीहरु आक्रोशित छन् । सरकारको बाढी नियन्त्रण परियोजनामा व्यापक भ्रष्टाचार भएको आरोप लागेको छ ।

कतिपय परियोजनाहरु कागजमा मात्रै सीमित रहेको र वास्तवमा कुनै काम नभएको भन्ने आरोप पनि लागेको छ । सन् २०२२ यता मात्रै फिलिपिन्सले यस्ता सरकारी परियोजनाका लागि ५ खर्ब ४५ अर्ब फिलिपिनी पेसो अर्थात् ९ अर्ब ६० करोड अमेरिकी डलरभन्दा धेरै खर्च गरेको छ ।

तर, यसमध्ये १ खर्ब पेसो अर्थात् १ अर्ब ७६ करोड अमेरिकी डलरभन्दा धेरै केबल १५ वटा ठेकेदारले पाएका छन् । यसमध्ये अधिकांश ठेकेदारहरु नेताका नजिकका मानिसहरु रहेको बताइएको छ ।

गत सेप्टम्बर १ का दिन सिनेटको ब्यू रिबन समितिमा आयोजित सुनुवाइमा ६ हजार २१ वटा परियोजनामा ३ खर्ब ५० अर्ब पेसो अर्थात् ६ अर्ब १७ करोड अमेरिकी डलर बराबर अनियमितता भएको जनाइएको थियो । यसविरुद्ध फिलिपिन्सका युवाहरु पनि आन्दोलनमा उत्रिएका छन् ।

नेपालमा पनि भ्रष्टाचार, सामाजिक सञ्जालमाथिको प्रतिबन्धको विरोधमा युवापुस्ता सडकमा उत्रिन लागेको छ । नेपालमा हुन लागेको यो आन्दोलनले के कस्तो परिणाम ल्याउँछ त्यो भने हेर्न बाँकी नै छ ।

प्रकाशित मिति : २२ भाद्र २०८२, आइतबार  ७ : ३० बजे

धानको बीउ बिक्रीबाट किसानको आम्दानी वृद्धि

सुदूरपश्चिम– कैलालीको गोदावरी नगरपालिका- ८ का किसान बुद्धिराम चौधरी गुणस्तरीय

प्रचण्डको घरमा पैसा लुकाएको प्रचार गर्ने पूर्व एआईजीविरुद्ध साइबर ब्यूरोमा उजुरी

काठमाडौं – गलत प्रचार गरेको आरोपमा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक

पर्सामा  महिलाको नाममा ३६३ घरेलु उद्योग सञ्चालन

पर्सा– सरकारले महिला उद्यमीको स्वामित्वमा नयाँ घरेलु तथा साना उद्योग

बर्दियाका किसानलाई धान भित्र्याउने चटारो (तस्बिरहरू)

बर्दिया– अन्नको भण्डार भनेर चिनिएको बर्दिया जिल्लाको राजापुर नगरपालिकामा यतिबेला

आविष्कार केन्द्रलाई मैले बजेट छुट्याउनु अनैतिक हुन्छ : शिक्षामन्त्री पुन

काठमाडौं – शिक्षामन्त्री महावीर पुनले आफू मन्त्री भएपछि राष्ट्रिय अविष्कार