प्रमुख दलले पार्टी सुधार गर्ने उपयुक्त समय अहिले हो । ठूलो सपना नै नेतृत्वको प्रेरणा हो, जसले देशलाई नयाँ दिशातर्फ लैजान्छ । समस्या जब सुरु हुन्छ, तब सपना केवल भाषणमा सीमित रहन्छन् । त्यसलाई पुरा गर्ने ठोस योजना, समयसीमा र स्रोत स्पष्ट देखिँदैन । सपना देख्नु गलत होइन, तर सपना पूरा गर्ने बाटो स्पष्ट नभएपछि जनतामा शंका पैदा हुन्छ र विश्वास कमजोर बन्छ । अहिले प्रमुख दलमाथि जनताको विश्वास गुमेको अवस्था हो ।
विगतमा हामीले धेरै पटक ठूलठूला वाचा सुनेका छौं । उदाहरणका लागि, प्रधानमन्त्री स्तरका नेताले घर–घर ग्यास पाइप लाइन विछ्याउने, देशभर रेलमार्ग विस्तार गर्ने वा ठूला अन्तर्राष्ट्रिय स्तरका खेलकुद स्टेडियम निर्माण गर्ने वाचा गरेका छन् । यी घोषणाले तत्काल जनताको ध्यान त खिच्छ, तर जब कार्यान्वयन हुँदैन तब प्रश्न उठ्छ । त्यसको जवाफ प्रस्ट देखिँदैन । पुराना वाचा, अधुरो सपना कुनै एक नेतामा मात्र सीमित छैनन् । धेरै वरिष्ठ नेताले आफ्ना भाषण वा चुनावी कार्यक्रममा ठूला दाबी गरेका छन् ।
केही नेताले “दश वर्षमै देशलाई दक्षिण एसियाकै अगाडि पुर्याउने” भन्दै युरोपेली स्तरमा विकासको चित्रण गरे । अर्को नेताले काठमाडौं–पोखरा–बेनीसम्म रेल जाने योजना सुनाए । यहाँसम्म कि “घरघरमा ग्यास सिलिण्डरको खेल सकिन्छ, पाइपबाटै ग्यास पुर्याइन्छ” भन्ने घोषणा पनि सार्वजनिक रूपमा गरियो । एउटा चर्चित भाषणमा त यस्तो भनिएको थियो “पोखरा रेल आयो भने बेनीसम्म नजाने कुरै हुँदैन, कुश्मा त स्टेशन हुने ठाउँ हो ।” अर्को प्रसङ्गमा भनिएको थियो– “अब नेपालीको खल्तीमा पैसा नभएको हुँदैन, सरकारले खल्ती मै हालिदिन्छ ।”
सपना देख्नु गलत होइन, तर सपना पूरा गर्ने बाटो स्पष्ट नभएपछि जनतामा शंका पैदा हुन्छ र विश्वास कमजोर बन्छ । अहिले प्रमुख दलमाथि जनताको विश्वास गुमेको अवस्था हो ।
यस्ता वचनले जनतालाई तत्काल उत्साही बनाउँछ, अन्ततः ती विषय मजाक र व्याङ्ग्यकै विषय बन्छन् । एउटा टेलिभिजन अन्तर्वार्तामा सरकारका प्रमुख नेताले दुई वर्षभित्रको कामको नतिजा देखाएर जनतालाई चुनौती समेत दिएका थिए, “दुई वर्षपछि मलाई भेट्न आउनुस्, यो रेकर्ड अगाडि राखेर भन्नुस् कि विकास भएन ।” वास्तविकतामा दुई वर्षपछि नतिजा देखाउन कठिन भयो । यी सबै उदाहरणले देखाउँछन्– हाम्रो राजनीतिमा सपना देखाउने परम्परा बलियो छ, तर सपना पुरा गर्ने संस्कृति कमजोर छ ।
संरचनात्मक समस्या : किन अधुरा हुन्छन् सपना ? यसरी अधुरा सपना र घोषणा दोहोरिनु केवल व्यक्तिगत कमजोरी मात्र नभएर यसले हाम्रो राजनीतिक संस्कृतिको संरचनात्मक समस्या पनि देखाउँछ । शक्ति सन्तुलन गलत हुँदै गएको छ । पार्टी भित्र आन्तरिक लोकतन्त्र कमजोर छ । युवा नेतृत्वलाई अघि बढाउने बाटो स्पष्ट छैन । यही कारण दशकदेखि करिब–करिब एउटै अनुहार निर्णयको केन्द्रमा घुमिरहेका छन् ।
जेन-जी अर्थात् नयाँ पुस्ताले ल्याएको विचार वा जोशलाई प्रणाली मै स्थान दिन नसक्दा, नयाँ सोच व्यवहारमा उतार्ने सम्भावना कमजोर बनेको छ । पार्टी भित्र पनि सुधारको माग निरन्तर उठिरहेको छ । धेरै युवा नेता र कार्यकर्ता भन्छन्, “पुरानै शैलीले अब जनताको आशा पुरा हुँदैन ।”
नयाँ पुस्ताले आन्तरिक पुनर्संरचना, जवाफदेहिता र पारदर्शिताको माग गरिरहेका छन् । केही नेताले त खुलेआम भनिरहेका छन्, “वरिष्ठले एक कदम पछाडि हटेर नयाँ पुस्तालाई मौका दिनुपर्छ ।” यस्तो आत्म विश्लेषण सकारात्मक हो । यसले सुधारको ढोका खोल्छ । तर केवल वाचा गरेर या भाषण गरेर मात्र सुधार सम्भव हुँदैन । जबसम्म लिखित, सार्वजनिक र कानुनी प्रतिबद्धता हुँदैन, तबसम्म विश्वास जगाउन कठिन हुन्छ ।
नयाँ पुस्ताले ल्याएको विचार वा जोशलाई प्रणाली मै स्थान दिन नसक्दा, नयाँ सोच व्यवहारमा उतार्ने सम्भावना कमजोर बनेको छ । पार्टी भित्र पनि सुधारको माग निरन्तर उठिरहेको छ ।
अन्तर्राष्ट्रिय उदाहरण हामीले छिमेकी वा अन्य मुलुकबाट पनि धेरै सिक्न सक्छौं । दक्षिण कोरियामा २०१६–१७ को आन्दोलनमा युवा पुस्ताले भ्रष्टाचार विरुद्ध आवाज उठाए, जसको परिणाम नयाँ नेतृत्वको उदय भयो । श्रीलङका २०२२ मा आर्थिक संकटले पुराना नेताको कमजोरी प्रष्ट देखायो । नयाँ विकल्प खोज्ने प्रक्रिया सुरु भयो । यी उदाहरणले देखाउँछन्– केवल भाषण वा वाचा गरेर होइन, स्पष्ट जवाफदेहिता र व्यवहारिक सुधार गरेर मात्र नेतृत्व टिक्छ ।
आजको मुख्य प्रश्न अब उठ्छ– के अहिलेको नेतृत्वसँग दीर्घकालीन योजना कार्यान्वयन गर्ने क्षमता छ ? यदि छैन भने किन दशकदेखि एउटै अनुहार सत्ता र निर्णयमा अडिएका छन् ? के उनीहरूले वास्तवमै नयाँ पुस्तालाई बाटो खुला गर्नेछन् ? यी प्रश्नको जबाफ सजिलो छैन । तर यथार्थ भनेको, जनताले अब केवल वाचा सुन्न चाहँदैनन् । जनताले परिणाम खोज्छन् । निष्कर्ष आजको राजनीतिक परिस्थितिमा मुख्य तीन मागलाई स्पष्ट रूपमा सम्बोधन गर्नुपर्छ । आन्तरिक जवाफदेहिता, ठूला वाचा कार्यान्वयन र युवा पुस्तालाई जिम्मेवारी दिने स्पष्ट, लिखित प्रतिबद्धता आवश्यक देखिन्छ ।
अब स्पष्ट छ – वरिष्ठ नेताले पद र निर्णयमा एक कदम पछाडि हटेर युवा नेतृत्वलाई जिम्मेवारी दिनुपर्छ । केवल नाम मात्र परिवर्तन पर्याप्त हुँदैन । जबसम्म परिवर्तन लिखित, सार्वजनिक र कानुनी प्रतिबद्धतासहित हुँदैन तबसम्म त्यो विश्वासिलो हुँदैन ।
सपना देख्न रोक्नु हुँदैन, तर सपना पुरा गर्ने बाटो देखाउनु जरुरी छ । जनताले अब भाषण होइन, परिणाम मागेका छन् ।
सपना देख्न रोक्नु हुँदैन, तर सपना पुरा गर्ने बाटो देखाउनु जरुरी छ । जनताले अब भाषण होइन, परिणाम मागेका छन् । नेताले आफ्नो मान्यता सुरक्षित राख्न चाहन्छन् भने स्पष्ट, लिखित प्रतिबद्धता देखाउनै पर्छ । यही बाटोले मात्र देशलाई नयाँ पुस्ताले देखेको आशा र सुधारको दिशातर्फ अघि बढाउँछ ।
(लेखक नेपाल कल्चरल सोसाइटी अफ ब्रिटिस कोलम्बिया क्यानेडा र कन्विनर, साउथ एसिया स्टडी सेन्टरका अध्यक्ष हुन् ।)













प्रतिक्रिया