अपर म्याग्दी जलविद्युत् आयोजनाको क्षमता बढ्यो « Khabarhub

अपर म्याग्दी जलविद्युत् आयोजनाको क्षमता बढ्यो


२१ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

म्याग्दी- धवलागिरि गाउँपालिकामा निर्माणाधीन अपर म्याग्दी जलविद्युत् आयोजनाको क्षमता बढेको छ । 

यसअघि ३७ मेगावाट रहेको आयोजनाको क्षमता बढाएर ४६ दशमलव २५ मेगावाट बनाइएको प्रवर्द्धक कम्पनी हाइड्रो इम्पायर प्रालिले जनाएको छ । 

आयोजना प्रमुख रमेश सुवेदीले पानीको स्रोत पर्याप्त भएकाले नौ दशमलव २५ मेगावाट क्षमता बढाइएको जानकारी दिए । 

‘सुरुङको आकार, हेड (विद्युत्गृह र बाँधको उचाइ), टर्वाइनको क्षमता बढाउने र लगानी थप गरेपछि आयोजनाको क्षमता बढाउन विद्युत् विकास विभागबाट सैद्धान्तिक सहमति प्राप्त भइसकेको छ’, उनले भने, ‘थप जग्गा अधिग्रहण र वन क्षेत्र उपभोग गर्न नपर्ने हिसाबले क्षमता अभिवृद्धि गरिएको हो ।’

यसअघि ३१४ मिटर अग्लो रहेको हेडलाई बढाएर ३१७ मिटर र खोलाबाट सुरुङमा हालिने पानीको मात्रा १४ दशमलव ४१ घनमिटर प्रतिसेकेण्डबाट बढाएर १७ दशमलव २४ घनमिटर प्रतिसेकेण्ड बनाइएको छ । 

अनुमानित लागत रु आठ अर्ब ४६ करोड ५४ लाख दुई हजार रहेको हाइड्रो इम्पायरका प्रबन्ध निर्देशक जितबहादुर घर्तीले बताए । धवलागिरि–४ सिङकोश दोभानमा बाँध र घिम्लेटी (खारपानी) मा विद्युत्गृह निर्माण सुरु भएको छ । आयोजनाको हालसम्म ३५ प्रतिशत भौतिक प्रगति भएको छ । 

विसं २०८१ फागुनदेखि तीन हजार ८३८ मिटर लामो सुरुङ निर्माण सुरु भएको थियो । बाँधस्थल, चेचुङको अडिट र घिम्लेटीको आउटलेटबाट हालसम्म दुई हजार ४०० मिटर सुरुङ निर्माण भइसकेको छ । घिम्लेटीमा आयोजनाको प्रशासनिक भवन निर्माण भएको छ । 

आउटलेटबाट विद्युत्गृहसम्म ८४३ मिटर लामो पेनस्टक पाइपलाइन रहनेछ । यो आयोजना रन अफ द रिभर (नदी प्रभाहमा आधारित) हो । 

आयोजनाको सिभिल ठेकेदार आरएससी आरजे जेभी र माछापुच्छ्रे इञ्जिनियरिङ प्रालि रहेका छन् । साथै इलेक्ट्रोमेकानिकल कार्यका लागि ठेकेदार कम्पनी ट्रोयर इटली रहेको छ । हाइड्रोमेकानिकल कार्यका लागि माछापुच्छ्रे मेटल एण्ड मेसिनरी वर्कसप प्रालि परिचालित भएको छ । 

वित्तीय व्यवस्थापनका लागि सिद्धार्थ बैंकको अगुवाइमा नेपाल एसबीआई बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, एभरेष्ट बैंक र नवील बैंकले लगानी गरेका छन् । यसमा ७०–३० को अनुपातमा आधारित बैंक र स्वपुँजी रहनेछ । 

यस आयोजनाबाट उत्पादन हुने विद्युत् नेपाल विद्युत् प्राधिकरणको डाँडाखेत सबस्टेशनमार्फत केन्द्रीय ग्रिडमा जोडिनेछ । 

करिब १० किलोमिटर लामो १३२ केभी क्षमताको डबल सर्किट प्रसारण लाइन निर्माणको तयारीमा छ । शिवरात्रि खोलादेखि बाँध निर्माणस्थलसम्म करिब १८ किलोमिटर पहुँचमार्ग निर्माण भएको छ । 

आयोजनाले धवलागिरि गाउँपालिकाको सिफारिसमा खिवाङ र चेचुङ गाउँमा सडक पुर्‍याउन सहयोग गरेको छ । विसं २०८३ चैतसम्म विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको आयोजना प्रमुख सुवेदीले बताए । 

क्षमता अभिवृद्धिको प्रक्रियाअनुसार आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा सरोकारवालाको सुझाव सङ्कलन गर्न शनिबार धवलागिरि–४ नाउरामा मस्यौदा परिमार्जित प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनको सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ । 

परामर्शदाता इनर्जी रिसोर्सेस एण्ड सलुसन्स प्रालिका प्रबन्ध निर्देशक शङ्कर बस्यालले आयोजना निर्माणका क्रममा पर्ने वातावरणीय, सामाजिक, आर्थिक असर तथा न्यूनीकरणका उपायका विषयमा प्रतिवेदन प्रस्तुत गरेका थिए । 

आयोजना प्रभावित क्षेत्रमा नीतिगत व्यवस्थाअनुसार समुदाय सहयोगका विभिन्न कार्यक्रमका लागि रु छ करोड ३४ लाख ९१ हजार बजेट प्रस्ताव गरिएको छ ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा वडाध्यक्ष यामबहादुर घर्ती, वडा सदस्य हरिप्रसाद तिलिजा, जनसुधार युवा क्लबका अध्यक्ष लीलबहादुर घर्ती, खाम्लाका बासिन्दा केशरमान पुन, चन्द्रज्योति मावि व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर पुन र नाउराका बासिन्दा कुलबहादुर घर्तीले सुझाव दिए  । 

पहुँचमार्गको स्तरोन्नति, खिवाङ–मुदी जोड्ने सडकमा मोटरबेल पुल, सडकको धुलो नियन्त्रण, सामाजिक उत्तरदायित्व कार्यक्रमका बजेटको पारदर्शी परिचालन गर्न उनीहरुले सुझाव दिएका थिए । 

प्रकाशित मिति : २१ मंसिर २०८२, आइतबार  २ : ११ बजे

केपी ओलीलाई पत्थरी, दीपक खड्कालाई पखाला

काठमाडौं- हालै पक्राउ परेका दुई भीभीआईपी नेपाल प्रहरीको हिरासतमा नभई

आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित

शिक्षा मन्त्रालयले फेरि जारी गर्‍यो ब्रिज कोर्स बन्द गर्ने सूचना

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रवेश परीक्षा तयारी

वरिष्ठ अधिवक्ता भट्टराई भन्छन् : ‘पपुलिजम’को उत्कर्षमा न्यायलयको धेरै भरोसा नगर्नू

काठमाडौं – वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले पपुलिजमको उत्कर्षको अवस्थामा न्यायालयमाथि

श्रीलङ्कामा विद्युतको मूल्य करिब ४० प्रतिशतले वृद्धि

कोलम्बो – श्रीलङ्काले मध्यपूर्वमा युद्धको कारण ऊर्जा अभावको सामना गरिरहेका