विमानस्थल निर्माणमा अर्बौं स्वाहा, आम्दानी ४४७ रुपैयाँ ! | Khabarhub Khabarhub

विमानस्थल निर्माणमा अर्बौं स्वाहा, आम्दानी ४४७ रुपैयाँ !



काठमाडौं– अर्बौं रुपैयाँ खर्चेर बनाइएको विमानस्थलबाट वार्षिक आम्दानी ४४७ रुपैयाँ आम्दानी भयो भन्दा अचम्म लाग्छ । खोटाङको बहुचर्चित लामिडाँडा विमानस्थलले गत वर्ष गरेको आम्दानी यत्ति नै हो ।

खोटाङ विमानस्थलको यो हालत नेताहरूलाई विकासको स्टन्ट देखाउन मन लागेर जताततै बनाइएका विमानस्थल कुन स्थितिमा चलेका छन् भन्ने एक खराब उदाहरण हो ।

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (एनएसी)का सम्पूर्ण जहाज ग्राउन्डेड भएसँगै सञ्चालनमा रहेका भनिएका विमानस्थलमै उडान ठप्प छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अनुसार अहिले नेपालमा ५४ वटा विमानस्थल छन् । जसमध्ये २८ वटामात्रै सञ्चालनमा छन् । अन्य विमानस्थल सञ्चालनमा आउन सकेका छैनन् ।

विगतमा आंशिक सञ्चालन भएका कतिपय विमानस्थल पछिल्लो समय सञ्चालनमा आउन सकेका छैनन् भने कतिपय नयाँ विमानस्थलहरू सञ्चालन हुन नसकेको क्यानले जनाएको छ ।

अर्बौं रुपैयाँ खर्च गरेर बनाइका झण्डै आधा सङ्ख्याका विमानस्थल सञ्चालनमा नआइरहँदा राज्यको हवाई नीतिमै प्रश्न उठेको छ ।

उडान ठप्प, स्टन्ट कायमै !

नेपालमा अहिले त्रिभुवन, गौतमबुद्ध र पोखरा गरी तीनवटा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा छन् । यी मध्ये भैरहवा र पोखरामा अपेक्षित व्यावसायिक उडान हुन सकेको छैन ।

विराटनगर, नेपालगञ्ज र धनगढीलाई क्यानले आन्तरिक हब विमानस्थलको रूपमा सञ्चालन गर्दै आएको छ । जहाँबाट अन्य आन्तरिक विमानस्थलमा उडान हुने गरेको छ ।

आन्तरिकतर्फका बैतडी, बझाङ, बाजुरा, भरतपुर भोजपुर, चन्द्रगढी, दाङ, डोल्पा, डोटी, फाल्गुनन्द सुकिलुम्बा, गुल्मी, जनकपुर, जोमसोम, जुम्ला, खानिडाँडा, फाप्लु, राजविराज, रामेछाप, रारा, सल्ले, साँफेबगर, सिमरा, सिमीकोट, सुर्खेत, ताप्लेजुङ, तेन्जिङ हिलारी, तामाखर्क र तुम्लिङटार विमानस्थल सञ्चालनमा रहेका क्यानले जनाएको छ । तर, ती कुनै पनि विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा छैनन् ।

सञ्चालनमा आएकामध्ये तीनवटै अन्तर्राष्ट्रिय विमानस्थल, विराटनगर, चन्द्रगढी, धनगढी, जनकपुर, नेपालगञ्ज, सिमरा र राजविराज विमानस्थलमा रात्री उडानको समेत सुविधा छ ।

क्यानको वार्षिक प्रतिवेदन, २०२४ बाट ।

तर, निर्माण सम्पन्न भएकामध्ये आन्तरिक तर्फका २० वटा विमानस्थल भने सञ्चालनमा छैनन् । बागलुङ, रुकुमको चौरजहारी, दार्चुला, ढोरपाटन, गोर्खाको पालुङटार, जिरी, कालिकोट, कमलबजार, काँगेलडाँडा, खिजी चण्डेश्वर, लाङटाङ, लामिडाँडा, महेन्द्रनगर, मनाङ, डोल्पाको मसिनेश्वर, मेघौली, रोल्पा, रुम्जाटार, स्याङबोचे र टीकापुर विमानस्थल सञ्चालनमा आउन सकेका छैनन् ।

आर्थिक वर्ष ०८०-८१ मा क्यानले विमानस्थल सञ्चालनवापत १४ अर्ब ६५ करोड २१ लाख २ हजार ३९ रुपैयाँ आम्दानी गरेको छ । जसमध्ये त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सबैभन्दा धेरै १२ अर्ब ८६ करोड ६६ लाख ५४ हजार ७१४ रुपैयाँ आम्दानी गर्दा सबैभन्दा थोरै लामिडाँडा विमानस्थलबाट ४७४ रुपैयाँ मात्रै आम्दानी गरेको छ ।

गत आर्थिक वर्षमा १३ वटा विमानस्थलले १० लाख रुपैयाँभन्दा कम आम्दानी गरेका छन्‌ । गुल्मीको रेसुंगा, इलामको सुकिलुम्बा फाल्गुनन्द, डोटी, साँफेबगर, तामाखर्क, ताप्लेजुङ, रुम्जाटार, रुकुमको सल्ले, म्यानम्यारी खडानन्द, लामिडाँडा, दाङ, भोजपुर र बझाङ विमानस्थलले १० लाख रुपैयाँभन्दा कम आम्दानी गरेका हुन्‌ ।

क्यानले गत आर्थिक वर्षभर विमानस्थलहरूको सञ्चालन निम्ति तीन अर्ब ८८ करोड ४४ लाख ४८ हजार रूपैयाँ छुट्याएको थियो । त्यस्तै, सो अवधिमा विमानस्थलहरूको मर्मत तथा सरसफाइका लागि २७ करोड ७२ लाख ४३ हजार ६०८ रूपैयाँ खर्चिएको थियो ।

सञ्चालन जिम्मेवारी क्यानको भए पनि विमानस्थल निर्माणमा भने सरकारी लगानी, ऋण लगानी र क्यानको लगानी हुने गरेको छ । चालु आर्थिक वर्षका लागि पनि सरकारले क्यानलाई ८६ करोड ९० लाख रुपैयाँ बजेट उपलब्ध गराएको छ ।

बझाङ विमानस्थलबाट वर्षमा ४५१ जनालाई सेवा 

सन् १९६३ देखि हालसम्म नेपालले विभिन्न ४२ वटा देशसँग द्विपक्षीय हवाई उडान सम्झौता गरेको छ । जसमा विभिन्न १५ वटा विमान कम्पनीले २८ वटा विमानमार्फत् उडान गर्दै आएका छन् ।

त्यस्तै, आन्तरिक उडानतर्फ नौ वटा विमान कम्पनी र १२ वटा कम्पनीका हेलिकप्टरले सेवा प्रवाह गर्ने गरेका छन् । क्यानको तथ्यांकअनुसार सन् २०२३ मा त्रिभुवन विमानस्थलमा ३१ हजार ४६० बाह्य र ९६ हजार ९८९ आन्तरिक उडान भएका थिए । जसमार्फत् आन्तरिकतर्फ ४३ लाख २५ हजार ५६ र बाह्यतर्फ ४३ लाख २९ हजार ४ सय यात्रुले सेवा लिएका थिए ।

तर, सोही अवधिमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नौ लाख दुई हजार ९९९ र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट द्ई लाख ७२ हजार ३८२ जना यात्रुले हवाई सेवा लिएका थिए ।

त्यस्तै; सोही अवधिमा नेपालगञ्ज विमानस्थलबाट चार लाख ७३ हजार, विराटनगर विमानस्थलबाट ६ लाख ७१ हजार, चन्द्रगढीबाट तीन लाख ४२ हजार, धनगढी तीन लाख ५० हजार, सुर्खेत विमानस्थलबाट आठ लाख ७४ हजार र भरतपुरबाट दुई लाख २७ हजार यात्रुहरूले हवाई सेवा लिएका थिए ।

सन् २०२४ को जनवरी महिनादेखि नोभेम्बरसम्म सञ्चालनमा रहेका ३४ वटा विमानस्थलमध्ये त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले सबैभन्दा धेरै ३७ लाख २७ हजार ६५१ र सबैभन्दा थोरै बझाङको विमानस्थलले ४५१ जना आन्तरिक यात्रुलाई हवाई सेवा प्रदान गरेको थियो ।

सो अवधिमा सञ्चालनमा रहेकामध्ये २० वटा विमानस्थलमा ५० हजारभन्दा कम यात्रुले सेवा लिए । जसमध्ये ६ वटा विमानस्थलमा सेवा लिने यात्रुको सङ्ख्या एक हजारभन्दा कम छ ।

किन बन्छन् नचल्ने विमानस्थल ?

सञ्चालनमा आउन नसक्ने विमानस्थल क्यानले किन बनायो त ?

क्यानका महानिर्देशक प्रदीप अधिकारी यो प्रश्नप्रति नै सहमत छैनन् । विमानस्थल यातायात सेवा भएकाले सो विषयलाई अन्य व्यवसायको नजरबाट हेर्न नहुने उनको तर्क छ ।

विमानस्थलहरू सञ्चालनमा आउन नसक्नुका पछाडि सडक यातायातको विस्तार र जहाजको समस्या रहेको उनको भनाइ छ । ‘कतिपय विमानस्थल हिजोको दिनमा सञ्चालनमा थिए र आज सञ्चालन हुन सकेका छैनन्, किनकी त्यहाँ अहिले सडक पुगेको छ, गोरखाको पालुङटार विमानस्थल यसैको उदाहरण हो’, उनी भन्छन्, ‘हिजोको दिनमा सडक सञ्जाल नपुगेको ठाउँमा अहिले सडक सञ्जालको विकास भएपछि पनि विमानस्थल सञ्चालनमा नआएको एउटा कारण हो ।’

महानिर्देशक अधिकारी नेपालमा विमानस्थल विकास भएको अनुपातमा उडान गर्ने जहाजहरूको सङ्ख्या नबढ्दा पनि सञ्चालन हुन नसकेको बताउँछन् ।

विगतको तुलनामा जहाजको सङ्ख्या घट्दै गएको र उडानमा प्रतिस्पर्धात्मक अवस्था सिर्जना हुन नसक्दा उडान महँगो हुन गई यात्रुहरूले स्थल यातायात रोज्नुले पनि विमानस्थल सञ्चालन हुन नसकेको उनले बताए ।

‘हाम्रो इकोनोमी कस्तो भयो भने विमानस्थलहरूको विकास त भयो, तर, उड्ने जहाज थप हुन सकेनन्, जसकारण उडानमा प्रतिस्पर्धा हुन नसक्दा आन्तरिक उडान महँगो भयो’, अधिकारीले भने ।

पछिल्लो समयमा कतिपय विमानस्थल निर्माण गर्दा पनि व्यवसायिक सञ्चालनमा समस्या आएको छ । महानिर्देशक अधिकारीले आफ्नो कार्यकालमा भने नयाँ आन्तरिक विमानस्थल थप गर्ने काम नभएको बताउँछन् ।

‘विमानस्थल निर्माणको निर्णय गर्ने काम राजनीतिक स्तरबाट नै हुन्छ । तर, म क्यानको जिम्मेवारीमा आइसकेपछि भने नयाँ विमानस्थल निर्माण गर्ने काम भएको छैन, धरानमा विमानस्थल निर्माण गर्ने पछिल्लो प्रस्तावलाई पनि सम्भावना नभएको कारणले रोकिएको हो’, उनी भन्छन्, आगामी दिनमा विमानस्थल निर्माण गर्ने विषयलाई हामीले सञ्चालन सम्भावना हेरेर मात्रै अघि बढाउनुपर्छ ।’

नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता हंसराज पाण्डेका अनुसार नेपाल वायुसेवा निगमका सबै साना जहाज ग्राउन्डेड भएपछि दुर्गम क्षेत्रमा उडान गर्ने जहाजको सङ्ख्या पनि घटेर सातवटामा सीमित भएको छ ।

विमानस्थलहरूको अनुपातमा विमानको सङ्ख्या नहुँदा पनि आन्तरिक तर्फका हवाई उडानहरू नियमित हुन नसक्नु स्वाभाविक भएको प्रवक्ता पाण्डेको तर्क छ ।

प्रकाशित मिति : २४ पुस २०८१, बुधबार  १२ : ०७ बजे

कांग्रेसलाई निर्वाचनको होइन, देशको चिन्ता छ : महामन्त्री शर्मा

झापा – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसलाई आगामी निर्वाचनको

खुम्बुमा भूकम्पको परकम्प

सोलुखुम्बु – सोलुखुम्बुको खुम्बु क्षेत्रमा पटक–पटकको भूकम्पका परकम्प गएको छ

धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती

काठमाडौं – सूर्य धनु राशिमा रहेका बेला पशुपतिनाथ मूल मन्दिरमा

पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो

पर्वत – आवश्यक संरक्षण र उपयोग गर्न नसक्दा पर्वतका वन

सर्वेन्द्र खनाललाई प्रश्न : माओवादीमा जाने की रावललाई साथ दिने ?

काठमाडौं– आइतबार नेकपा एमाले पार्टीबाट अलग भएको घोषणा गरेका नेपाल