राजनीति न खुसी लेख्ने कलम बन्यो, न दु:ख मेट्ने इरेजर « Khabarhub

राजनीति न खुसी लेख्ने कलम बन्यो, न दु:ख मेट्ने इरेजर



बेलायतका दुई प्रधानमन्त्री डिजरायली र ग्लेडस्टन व्यंग्यवाण चलिरहन्थ्यो। उनीहरु पालैपालो प्रधानमन्त्री हुन्थे। टोरी पार्टीका नेता डिजरायली र लेवर पार्टीका नेता ग्लेडस्टोनको संवाद सुन्न तात्कालीन महारानी भिक्टोरिया पनि संसद आइरहन्थिन्।

एकदिन कुनै पत्रकारले डिजरायलीलाई सोधेछ- ‘दुर्भाग्य र दुर्घटनामा के अन्तर छ ?’ उनले बडो गम्भीर भएर जवाफ दिए, ‘यदि प्रधानमन्त्री ग्लेडस्टोन केही कारण टेम्स नदीमा खस्नुभयो भने त्यो एक दुर्घटना हुनेछ। यदि त्यही समय कुनै व्यक्तिले ज्यानको बाजी लगाएर उहाँलाई डुब्नबाट बचाउँछ भने त्यो दुर्भाग्य हुनेछ।’ यो व्यंग्य त्यसबेला इङल्याण्डका पत्रपत्रिकामा छ्यापछ्याप्ती प्रकाशित भएको थियो।

२०१५ सालमा प्रधानमन्त्री भएपछि बीपी कोइरालाले कम्युनिष्ट पृष्ठभूमिका पत्रकार मदनमणि दीक्षितलाई सरकारको आलोचना गर्ने शर्तमा महिनाको ६ सय दिएर ‘समीक्षा’ को प्रकाशन आरम्भ गराएका थिए। सहज ढंगले पत्रपत्रिका प्रकाशनको बैधता नपाउने त्यस समयमा दर्ताको सम्पूर्ण प्रक्रिया आफैंले मिलाइदिएका थिए। पाका पत्रकार दीक्षितले आफ्नो आत्मवृत्तान्तमा पत्रिका प्रकाशनको औचित्य पुष्टि गर्दै भनेका छन्, ‘मुलुकको प्रधानमन्त्री, संसदीय प्रजातन्त्रको स्तम्भ र जहाँनिया शासनको अवशिष्ट रुढिवादी शक्तिका विरुद्ध कोइरालाका विचार अनि व्यवहारलाई समर्थन गरिनेछ।’

अंकगणितमा १, १ जोड्दा २ हुन्छ। तर राजनीतिमा १, १ को योगफल प्रायः ११ हुन्छ। अघिल्लो पुस्ताका राजनीतिज्ञ यो सत्यसँग भलिभाँती जानकार थिए। त्यो समयमा पनि नेताहरुबीच राजनीतिक र सैद्धान्तिक असहमतिका थुप्रै खाडल थिए। तर राष्ट्रिय राजनीतिको स्वार्थमा त्यो विभेदले मौलाउने अवसर पाएन। लामखुट्टे भलै रगत चुस्न आए पनि उसले मानिसलाई सतर्क रहन छनक दिन्छ। यो उसको स्वधर्म हो। अहिले त राजनीति अपराधको सटर बन्यो। राजेन्द्र लिङदेनले कमल थापाबाट खोसेको राष्ट्रिय प्रजातन्त्र पार्टीको गाई गणतन्त्रको बाली खान ताउर माउर गरिरहन्छ।

हिन्दु राज्य, राजाको सक्रिय शासन ल्याउने उसको राजनीतिक यात्रा क्रिश्चियन समुदायका व्यक्तिलाई सांसद बनाएर शुरु हुन्छ। गणतन्त्रलाई धोका मान्ने त्यो पार्टीको पाखण्ड बागमती प्रदेशमा यसरी समाप्त भयो कि प्रदेश सभामा राजहाँसको भूमिका भुवन पाठकले भ्याइदिए। टीभीको जागिरबाट मेला भर्न राजनीतिक हाटमा पसेका रवि लामिछानेको राजनीतिक नायवी कुनै समय केपी शर्मा ओलीको निगाहामा चलेको थियो। अहिले लामिछाने वित्तीय अपचलनको मुद्दा खेप्दैछन्। राजनीतिलाई जीवनको अतिरिक्त कर्म बनाएकाबाट तीन करोड जनताको व्यवस्थापन कसरी होला भन्ने प्रश्न उभिएको छ।

इतिहासको अन्तरवस्तु हेर्दा २०१७ सालको कदम चाल्नुअघि राजा महेन्द्रले आफ्नो सम्भावित कदमको लक्षण देखाएका थिए। यसको पूर्वाभ्यास स्वरुप बीपीका विश्वासपात्र मानिनेलाई आफ्नो दास बनाइसकेका थिए। बीपीकै सहोदर भाइसरह घरमै हुर्किएका विश्वबन्धु थापा, गृहमन्त्री सूर्यप्रसाद उपाध्याय, डा. तुलसी गिरी, श्रीभद्र शर्माजस्ता राजनीतिज्ञ तात्कालीन राजनीतिक परिदृश्यका दोहोरो चरित्रका खलनायक भइसकेका थिए। ‘कू’ हुने अघिल्लो दिन सुवर्णशम्शेर भारत जानुको पृष्ठभूमि पनि त्यसैको अर्को पहेली थियो। स्वयं राजा महेन्द्रले देश बनाउने भिजन आफूमा रहेको र त्यसका लागि दश वर्षको समय दिन बीपीसँग बारम्बार आग्रह गरेका थिए।

राजनीतिक ‘कू’ हुनमा को कति जिम्मेवार थिए भन्दा पनि प्रतिकूल परिस्थितिलाई उनीहरु कसरी सम्हालिएर छताछुल्ल हुनबाट जोगाउँथे भन्ने विषयले वर्तमानमा ठूलो माने राख्छ। २०१७ सालको घटनापछि सुवर्णशम्शेरले राजासंग सहकार्यको जाल मिल्काइरहे। राजालाई प्रजातान्त्रिक बनाउन त सकेनन, तर प्रजातन्त्रको पक्षमा आफ्नो उपस्थिति थोरै पनि खस्कन दिएनन्।
‘रक्सी खाने बाहुन’ भनेर चुनावमा थातथलो गोरखाबाट अस्वीकृत कृष्णप्रसाद भट्टराईले आफ्नै भूमिमा मर्ने तर प्रवास नजाने अड्डी कसेर सुराही रोजे, प्रवास रोजेनन। जेलमा जाकिएका बीपीले भलै राजनीतिक उपलब्धि हासिल गर्न नसके पनि साहित्यिक सिर्जनाको सगरमाथा उभ्याएर आफूलाई कलमको महारथिमा स्थापित गरे। शासन सत्ता हातमा लिएका राजा महेन्द्रले बीपीको उचाइलाई सधैं सम्मान गरिरहे। आफूले बनाएका पञ्चायतका प्रधानमन्त्रीसँग पनि उनले राजनीतिक असहमति भए पनि देशको सान, मान राख्न सक्षम भन्दै बीपीको बारम्बार बखान गर्ने गरेका थिए।

शासन सत्ता हातमा लिएका महेन्द्रले पनि उत्तर दक्षिणका दुई छिमेकीसंग हेपिनु नपर्ने अवस्था ल्याउन केही रणनीतिक चालबाजी रचेकै हुन्। त्यसको शुरुवात उनले पहाडेलाई तराईमा बसाइ झारेर गरे। यतिमात्र हैन, दरबारकै संरक्षण र लगानीमा केही रेडिकल कम्युनिष्टहरुलाई अप्रत्यक्ष उचालेर उनले भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुलाई ठीक लगाउने सूत्रको प्रतिपादन गरे। तर आफ्नै ढोके, हुक्के, चम्चे, बैठके र छातेहरुको असहयोगको शिकार बनेका तिनै राजाको अवसान रहस्यमय ढंगले भयो। पञ्चेका नाममा हुनु नहुनु, गर्नु नगर्नुका काम तमाम भए। बद्नामी राजाले खेप्नु प-यो। त्यसैले त भनिन्छ- राजनीतिमा भाषण कम, जवाफदेहिता ज्यादा फापसिद्ध हुन्छ।

राज्य एकीकरणका लागि बिसे नगर्र्चीसँग एक रुपियाँ चन्दा उठाउने राजा पृथ्वीनारायण शाहको इमानी विरासत त्यसपछिका राजा महाराजामा देखिएन। राजा पृथ्वीनारायण शाहले काठमाडौं जितेपछि आजभन्दा चार सय वर्षअघि नै यहाँको मनोविज्ञान पढेर आफ्नो दिव्योपदेशमा भनेका छन्– ‘यो तीन सहर भन्याकोचिस्व ढुंगो रहेछ। षेलषाल मात्रै ठुलो रहेछ। कुपको पानी षान्याछेउ बुधि पनि हुदैन। सुरो पनि हुदैन। मेरो मनसुबा त दहचोकमा दरबार बनाउला र चारै दिसा थरघरको गुरु प्रोहित भैयाद भारदार मिर उमराउको घर बनाई छुट्टा दरबार बनाउला र ई तिन सहरमा ता दरबारबाट स्वषसयललाई मात्र जाला भन्या यस्तो अविलाष थियो।’

विदेशी व्यापारीलाई अचेटन उनले गरेको आग्रह पनि कम रोचक छैन्- ‘उप्रान्त ११ देसका महाजनलाई गोडप्रसाहदेषी उभ आउन नदिनु, देसका महाजनहरु हाम्रा मुलुकमा आया भन्या दुनिञां कंगाल गरी छाड्दछन्।’

भोका नाङ्गा जनतालाई एकसरो लुगा र एकपेट रोटी दिन असफल हाम्रा नेतामा जनताको समृद्धिबाहेक अरु सबै एजेण्डामा प्रतिवद्ध छन्। नेपाली नागरिक भएको भन्दा रासन कार्डसँग भेटघाट गर्न नपाएकोमा छट्पटिनेको संख्या बढ्दो छ। आफूले पूजा गर्ने देवताको राष्ट्रिय भाषा नै हिन्दी भन्ने कुतर्क गर्नेदेखि राष्ट्रियताका नाममा भारतलाई गाली गर्न आयोजित कार्यक्रममा त्यहीँ बनेको धूप सल्काएपछि बल्ल कर्तुत खुलेको पत्तो नपाउने कथित बुद्धिजीवीहरुको पनि यहाँ खाँचो छैन।
क्रान्तिपछि शक्ति र सत्तामा पुगेको राजनेताले के गर्छ भन्ने बुझ्न एउटा उदाहरण काफी छ। नेपोलियन शासनमा आएपछि देशमा नेपोलियन कानुन संहिता १८०२ लागू गरे। जसअनुसार केन्द्रीकरण नीति अपनाउँदै सरकारी सेवामा सवैलाई खुल्ला गरे। विदेशिएका नागरिक र नन जुरिइंग पुरोहितहरुप्रति कानुन खुकुलो गरे। यो सँगै उनीहरुले स्वदेश फर्कन पाउनुका साथै आफ्नो सम्पति र माटोको स्वामित्व पाए। देशमा बाटो घाटो निर्माणलाई तीब्रता दिए। एकलौटी ठेक्कामा अनुचित फाइदा उठाउन नपाउने कानुनी व्यवस्था गरे। कुलीन वर्गका लागि कानुनले प्रत्याभूत गरेका सबै सुविधा निलम्बन गरे।

उद्योग, व्यवसाय तथा व्यापारमा उन्नति गर्ने योजना बनाए। पेरिस विश्वविद्यालय खोली शिक्षामा विकास गर्न जोड दिए। सबैका निम्ति कानुनी समानता लागू गरे। जुन कानुनले पारिवारिक जीवनको महत्त्व र नागरिकको समान सिद्धान्तलाई स्वीकारेको थियो। उनले भनेका थिए, ‘मेरो गौरव नागरिक संहिता हो।’

क्रान्तिबाटै आएका प्रचण्ड पटक पटक सरकार प्रमुख हुँदा तमाम कर्तव्य जागिरमा सीमित बन्यो। जीसस क्राइष्टले क्रसमा टाँगिएपछि भनेका थिए– ‘पिता तिनलाई माफ गर किनकी उनीहरुलाई आपूmले गरिरहेको कर्मका बारेमा थाहा छैन।’ विख्यात अंग्रेजी साहित्यकार वाल्टर लेइगलाई राजनीतिक प्रतिशोध राखेर मृत्युदण्ड दिइयो। उनले आफ्नो टाउको ठेलामा तेस्र्यादिए। जल्लादले पूर्वतिर टाउको फर्काएर घुँडा टेक्न अ-हायो। वाल्टरले शान्त स्वरमा भने– ‘हृदय सही छ भने टाउको जता फर्काए पनि फरक पर्दैन।’

आत्तिनु, मात्तिनु र पात्तिनुको घेराभित्र देश चल्दैन। रोमन कानुनमा स्वास्नी मानिसलाई भुत्ल्याउनु अपराध मानिन्छ। तर राति डकैत गर्नेलाई जोसुकैले मारे पनि अपराध ठहर्दैनथ्यो। कुनै न्यायाधीशले घुस लिएमा मृत्युदण्ड दिइन्थ्यो। कसैको घरमा आगो लगाई अपराध गरेमा उसलाई आगोमा नै हालेर सखाप पारिन्थ्यो। झुटो कुराको साक्षी बकेमा पहाडबाटै झारेर खसालिन्थ्यो। हाम्रा धार्मिक ग्रन्थकारहरु मनु, याज्ञवल्क्य, नारद, वृहस्पति र कात्यायनमाले जुन ग्रन्थहरु लेखे, त्यसमा धेरै शास्त्र पढेका, लोक व्यवहार बुझेका, नैतिक चरित्रवान उच्च व्यक्तिहरुलाई न्यायाधीश बनाउनुपर्ने उल्लेख छ। न हाँस न बकुल्लाको नियतिमा चलेका हामीहरु छातीमा हात राखेर सोचौं– देशप्रति को कति इमान्दार छौं ?

प्रकाशित मिति : २४ पुस २०८१, बुधबार  ९ : ५८ बजे

‘राम नाम सत्य’मा आधुनिक राजकुमारी बनेकी दिव्या भन्छिन्- मैले काम देखाउन पाएको छु

काठमाडौं – फिल्म ‘राम नाम सत्य’को प्रदर्शन मिति नजिकिएसँगै नायिका

क्रिटिक्स अवार्ड २०८१ : ‘साम्बाला’ उत्कृष्ट फिल्म, दयाहाङ र थिन्ले उत्कृष्ट घोषित

काठमाडौं – क्रिटिक्स अवार्ड २०८१ मा ‘शाम्बाला’ले उत्कृष्ट फिल्मको अवार्ड

३६ वर्षीय बालेनसँग हारेका ओलीले उही उमेरका सुहाङ रोकेर ७० काटेका बादललाई बोके

काठमाडौं- गत भदौमा युवाहरूको दुई दिने आन्दोलनको बलले प्रधानमन्त्रीबाट सत्ताच्यूत

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

काठमाडौं– नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को