सेती लोकमार्ग : सुदूरको समृद्धि सडकमा समस्याका चाङ | Khabarhub Khabarhub

पूर्वाधार

सेती लोकमार्ग : सुदूरको समृद्धि सडकमा समस्याका चाङ

१४ वर्षसम्म खुलेन ट्रयाक, वनको विवादमै बहाना, बजेट अभाव


२६ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : 6 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

धनगढी – सेती लोकमार्ग सुदूरपश्चिको समृद्धिको आधारका रूपमा अघि सारिएको नेपाल सरकारकै प्राथमिकताको सडक आयोजना !

सडक अवधारणा अघि बढाइएकै ४० वर्ष नाघ्न लाग्यो । निर्माण थालिएको पनि १४ वर्ष पूरा भयो । तर, सडक अझै अधुरै छ । सडक उत्तर र दक्षिण गरी दुई खण्डका बाँडिए पनि कामको गति दुवैतिर देखिँदैन ।

कैलालीको टीकापुरदेखि बझाङको उरै भञ्जयाङ हुँदै तिब्बतको (ताक्लाकोट) सीमा नाकासम्म सडक जोड्ने लक्ष्यसहित आयोजना सञ्चालनमा छ । कूल ३५९ किलोमिटर लामो सेती लोकमार्गको दूरी हो ।

त्यसमध्ये हालसम्म १८७ किलोमिटर मात्रै ट्रयाक खोलिएको छ । राज्यकै प्राथमिकतामा राखिएको र २०६६ पछि कुनै वर्ष पनि नीति कार्यक्रम र बजेटबाहिर नराखिएको सडक हो, सेती लोकमार्ग ।

नीति तथा कार्यक्रममा अटाए पनि, नेताहरूको नियत र पवित्र मनसायमा भने कहिल्यै अटाउन सकेको छैन । । १० वर्षभित्र निर्माण सक्ने लक्ष्य राखिएको थियो ।

तर, १४ वर्षसम्म अधुरै, त्यो पनि ट्रयाक समेत नखुलेपछि स्थानीय आक्रोशित छन् । सेती लोकमार्ग त्रिदेशीय सडकले मात्रै बिशेष छैन ।, डोटी, अछाम, बाजुरा र बझाङका स्थानीयको दैनिकजीवनसँग पनि खास अर्थ राख्ने सडक हो ।

यहाँका स्थानीय र अगुवाहरूले सेती लोकमार्गलाई समृद्धिको मार्गको रूपमा लिने गरेका छन् । तर निर्माण गतिले निराश बनाएको छ ।

सेती लोकमार्ग निर्माणलाई तीव्रता दिन दक्षिणी खण्डका लागि अछामको साँफेबगर र उत्तरी खण्डका लागि बझाङको चैनपुरमा छुट्टाछुट्टै योजना कार्यालय राखिएका छन् । त्यहाँ कर्मचारी बस्छन्, कामको प्रतिवेदन उठाउँछन् र जागिर बचाउँछन् । त्यसबाहेक अर्को प्रगति देखिँदैन ।

यस्तो हुनुको प्रमुख दोष भने फेरि पनि कर्मचारीलाई राज्यकै नीति र बजेटसँग जोड्ने गरेका छन् । ‘प्राथमिकताको आयोजना हो, तर सरकारले बजेट वार्षिक २० करोड रुपैयाँसम्म छु्टाउँदैन् । अनि काम हुन्छ कसरी ?’, सेती लोकमार्गको दक्षिण खण्ड साँफेबगर अछाम कार्यालयका सूचना अधिकारी केशवदत्त मिश्र बताउँछन् ।

उत्तरी खण्ड चैनपुरबाट चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सीमा उरैभञ्ज्याङसम्म ११७ किलोमिटर दूरी पर्छ । ट्रयाक केबल ४० किलोमिटर मात्र खोलिएको छ । २०७४ सालबाट यो सडकखण्डमा काम थालिएको थियो । ७ वर्षको प्रगति पनि निराशाजनक छ ।

‘यस खण्डमा कामको जिम्मा लिएका निर्माण कम्पनीले कहिले तेल अभाव त कहिले साइटमा समस्याको बहाना बनाउँछन् । सरकारको बजेट अभाव त अर्को कुरा भइहाल्यो’, बझाङका नागरिक अगुवा रमेश केसी बताउँछन् ।

टीकापुरदेखि चैनपुरसम्म दक्षिणी खण्डमा पर्ने २०४ किलोमिटरमध्ये १२६ किलोमिटर ट्रयाक खोलिएको छ । अझै ७८ किलोमिटरमा काम नै सुरु भएको छैन ।

सडकखण्ड कैलालीमा पर्ने ७२ मध्ये ७० किलोमिटर, डोटीमा पर्ने ८० मध्ये ५६ किलोमिटरमा ट्रयाक खोलिएको छ । डोटीको ४० र बाजुराको १२ किलोमिटरमा काम सुरु भएको छैन ।

दक्षिणी खण्डमा अछाम र कैलालीको काम सन्तोषजनक देखिए पनि डोटी र बाजुराको अवस्था निराशाजनक छ । सेती लोकमार्ग सञ्चालन भए पहाडी जनजीवन तराई र प्रदेशको राजधानी जोड्न सहज हुने देखिन्छ । बाजुराका स्थानीय ३ सय ३२ किलोमिटर दूरी पार गरेर धनगढी पुग्ने पर्ने बाध्यता सेती लोकमार्ग सञ्चालनसँगै हट्ने थियो । बाजुरादेखि धनगढी सेती लोकमार्गको दूरी मात्रै २०४ किलोमिटर छ ।

हाल दक्षिणी खण्डमा १० र उत्तरी खण्डमा २ वटा निर्माण कम्पनीले काम गरिरहेका छन् । तर बजेट धेरै न्यून छ । दक्षिणी क्षेत्रमा ट्रयाक खोल्नकै लागि २ अर्ब, १२ करोड ८८ लाख बजेट आवश्यक देखिन्छ । तर, राज्यले हालसम्म ५५ करोड ३८ लाखमा सीमित बनाएको छ ।

सेती लोकमार्ग दक्षिणी खण्ड सडक डिभिजन कार्यालय साँफेबगरका सूचना अधिकारी इन्जिनियर केशव मिश्रका अनुसार दक्षिणी खण्ड निर्माणका लागि ट्रयाक खोल्न अझै १ अब ५० करोड, ग्राभेल गर्न ७ अर्ब र कालोपत्रे गर्न ११ अर्ब बजेट आवश्यक पर्छ । तर हालको गतिले अझै दशकसम्म सेती लोकमार्ग बन्ने आश छैन ।

अर्बौँ बजेट आउनुपर्नेमा हरेक वर्ष सरदर २० देखि ३० करोड छ । त्यो बजेटले न काम भएको छ न सडक निर्माणले गति नै लिन्छ । राज्यले सेती लोकमार्गलाई नीतिमा प्राथमिकता दिए पनि कार्यान्वयन र बजेटमा विभेद गरेको बुझाई कर्मचारीको छ । सुदूरपश्चिम प्रदेश सरकारले सेती लोकमार्गलाई गौरवको योजना भन्ने गरेको छ । तर निर्माणलाई गति दिन उसको पनि गतिलो चाल छैन ।

अछामको सेती र बुढीगंगा दोभानदेखि साँफेबगरसम्म २४ किलोमिटर र साँफेबगर–घुघुरकोट–बिडासैनसम्म ३३ किलोमिटर ट्रयाक खोलिएको छ । दक्षिणी खण्डअन्तर्गत पर्ने बझाङको रानागाउँदेखि तमेल हुँदै चैनपुरसम्म पनि ३८ किलोमिटर पनि ट्रयाक खोलिसकेको छ । तर दक्षिणी खण्डकै बौनियाँदेखि ठूलीगाडसम्म २० किलोमिटर, डोटीको ठूलीगाडदेखि सेती–बूढीगंगा दोभानसम्मको ४० किलोमिटरको कामको सुरसार छैन । ।

रुख कटानमा विवाद छ । मन्त्रालय र मन्त्रिपरिषद्ले अनुमति दिएको २ वर्ष बित्न लाग्यो । तर सरकारले अझै त्यसैलाई बाहना बनाइरहेको देखिन्छ । रुख काट्न कानुनीरुपमै अनुमति पाएपछि काम सुरु गर्नुपर्ने हो, किन ढिलाइ भएको छ। कर्मचारी स्वयम् अन्यौलमा देखिन्छन् । बजेट नदिने तर अनुमति मात्रै दिने सरकारको कुराले कर्मचारी पनि हैरान देखिन्छन् ।

सेती लोकमार्ग धेरैका लागि सपना जस्तै बनेको छ । राती देख्ने तर दिनमा नदेखिने । १४ वर्ष पहिला दशक भित्रै कालोपत्रे सहीतको चिल्लो सडक पहाड-तराई जोड्ने र त्रिदेशीय सम्बन्धको पुल बन्ने आश्वासनसहित निर्माण सुरु गरिएको थियो ।

तर अहिलेसम्म गति नलिँदा यहाँका स्थानीय निराश छन् । ‘मेरै जीवनकालमा सेती लोकमार्गबाट धनगढी पुग्ने रहर थियो, अधुरै हुने भयो’, अछामका रने साउँदले भने । ७६ कटेका रनेका लागि सेती लोकमार्ग बन्ने कुरा जीवनकै खुसीको विषय थियो । तर निर्माण गति देखेर उनी निराश छन् ।

कैलाली र डोटी जिल्लाको पूर्वी भाग, अछाम, बाजुरा र बझाङका धार्मिक तथा पर्यटकीय गन्तव्य सेती लोकमार्गसँग जोडिएका छन् । विशेषतः हिन्दु धर्मावलम्बीका लागि आस्थाको केन्द्र मानिने कैलाश मानसरोवरसम्म पुग्न सेती लोकमार्ग पश्चिमभरिमा सबैभन्दा छोटो र कम लागत लाग्ने सडक आयोजना हो । भारतको उत्तरप्रदेशका तीर्थयात्रीलाई मात्रै हिँडाउन सके सेती लोकमार्ग नभई समृद्धिको मार्ग बन्ने निश्चित छ ।

मान्यताअनुसार कैलाश मानसरोवर जान भारतको नैमिसारण्डदेखि सुरु गर्नुपर्छ । सेती लोकमार्गले नैमिसारण्डदेखि भारतको तिकुनियाँहुँदै टीकापुर, डोटीको पूर्वीभाग, अछामको वैद्यधानधाम, खप्तड हुँदै ताक्लाकोटबाट कैशाल मानसरोवर जान सकिन्छ ।

अछाम घर भएका राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा. जनकराज शाह सेती लोकमार्ग सुदूरपश्चिमको आर्थिक, धार्मिक र पर्यटकीय दृष्टिकोणले लाइफलाइनका रूपमा लिन्छन् । तर कहिल्यै वन, कहिल्यै बजेट र कहिल्यै अन्य कुनै विवादले सेती लोकमार्ग समस्याको जग जस्तै बनेको छ ।

‘उत्तर–दक्षिण जोड्ने यो सडक आर्थिक रणनीतिक मार्ग मात्रै नभएर सुदूरपश्चिमको लाइफलाइन हो’, नेकपा एमाले बाजुराका अध्यक्ष लालबहादुर ओली भन्छन्, ‘यसले यहाँको जनजीवनलाई एउटा उचाइमा पुर्‍याउने छ ।’ प्रगति सुस्त हुँदा ओली दुःखी छन् ।

उसो त यस्तो हुनुमा आरोप दलका नेताहरूलाई लाग्ने गरेको छ । आयोजनाको काम सुस्त भएपछि अछाम क्षेत्र नं. १ बाट निर्वाचित शेरबहादुर कुँवरले गत वैशाख ५ गतेको प्रतिनिधिसभा बैठकमा बोल्दै सरकारको ध्यानाकर्षण गराएका थिए । ‘उत्तर प्रदेशको १८ करोड जनसंख्याको १० प्रतिशत मात्रै पर्यटक मानसरोवरसम्म यही मार्ग भएर ल्याउन सकिए धेरै फाइदा हुने थियो’, उनी भन्छन् ।

‘सुदूरपश्चिमको पर्यटन विकास, पहाडी जिल्लाहरूको बसाइँसराइ रोक्न र यहाँको आर्थिक रूपान्तरणका लागि सेती लोकमार्ग महत्वपूर्ण हुने थियो ।यसमा कुनै बहानाबाजी, आलटाल हाम्रा लागि सैह्य हुँदैन’, उनी भन्छन् ।

वन मन्त्रालयका कारण चार वर्षसम्म रूख कटान गर्नुपर्ने कैलाली र डोटीमा वातावरणीय प्रभाव मूल्यांकन हुन सकेन । त्यो विषयले निकाश पाएपछि अहिले कामले झनै गति लिएको छैन । । कैलाली र डोटीमा रुख कटान विवाद समाधान भएर यसैवर्षबाट निर्माण थाल्ने दक्षिणी सडकखण्ड साँफेबगर आयोजनाले जनाएको छ ।

हाल धनगढीबाट साँफेबजर पुग्न २७० किलोमिटरमा कम्तीमा १० घण्टा समय लाग्छ । टीकापुरदेखि सेती लोकमार्ग हुँदै साँफेबगरसम्मको दूरी १३५ किलोमिटर मात्रै छ ।

दूरी हेर्दा समय ठ्याक्कै आधा लाग्ने देखिन्छ । सेती लोकमार्ग निर्माण भए तीन घण्टामै साँफेबगर पुग्न सकिने छ । ६ घण्टामा बाजुरा पुगिन्छ । हाल बाजुरा पुग्न १० देखि १२ घण्टा लाग्ने गरेको छ ।

सेती लोकमार्ग बनेमा बाजुरा, बझाङ, अछाम र डोटीका स्थानीयले यतैबाट जाने थिए । डडेल्धुरा भएर जानेको संख्या घट्ने डरले केही नेताहरूले निर्माणमा अवरोध गरिरहेको आरोपसमेत लाग्ने गरेको छ । तर त्यो कुराको औ‍पचारिक तथ्य छैन ।

बझाङको चैनपुरदेखि ताक्लाकोटसम्म पर्ने उत्तरी खण्डको निर्माण आर्थिक वर्ष २०८४/०८५ मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । अछामसम्मको सडक त्यो भन्दा अगाडि सक्ने लक्ष्य सरकारको छ । तर पूरा हुने छाँट कतैबाट देखिँदैन ।

‘एक आर्थिक वर्षमा सरकारले करिब एक अर्ब बजेट सेती लोकमार्गको लागि व्यवस्थापन गर्न सकेको भए काम अघि बढ्थ्यो । पुल निर्माणसहित मुस्किलले १७/२० करोड मात्रै आउँछ,’ कुँवरले भने,‘खटिएर काम गरे सरकारले एक आवमा उपलब्ध गराउने बजेट बराबरको काम एक महिनामै सकिनेमा प्राविधिक विश्वस्त छन् ।’

टीकापुरदेखि चैनपुरदेखिसम्म हेर्ने सेती लोकमार्ग दक्षिणी खण्ड सडक डिभिजन कार्यालय साँफेबगरका प्रमुख वीरेन्द्र चन्दले वन मन्त्रालयले रूख कटान आदेश दिएसँगै काम अघि बढ्ने विश्वास व्यक्त गरे । ‘चार वर्षसम्म रूख कटानका लागि वातावरणीय प्रभाव मूल्यांकन नै हुन सकेन’, उनले भने, ‘अहिले कैलालीमा रूख कटान सुरु भएको छ । डोटीमा छपान कार्य भइरहेको छ ।’

त्रिदेशीय नाकाबाट हुन सक्ने व्यापार, पश्चिमको पर्यटन विकास, आर्थिक रूपान्तरण र देशकै लागि चिन्ताको विषय बनेको पहाडी जिल्लाको बसाइँसराइ नियन्त्रणका लागि यो आयोजना कोसेढुंगा सावित हुनेछ । कैलालीको धनगढीस्थित त्रिनगर नाकाको विकल्पका रूपमा भारतीय तिकुनियाँ हुँदै खक्रौला नाकालाई उत्तरी सीमावर्ती चीनसँग जोड्ने छोटो मार्ग सेती लोकमार्ग निर्माणमा सरकारको ध्यान जानुपर्ने स्थानीय बताउँछन् ।

४२ सालको अवधारणा ८१ सम्म अधुरै

दक्षिणको छिमेकी भारत र उत्तरको चीनको ताक्लाकोट सीमा नाका जोड्ने त्रिदेशीय सडकको रूपमा सेती लोकमार्ग अवधारणा सुरु गरियो । २०४२ सालमा त्यसको चर्चा सुरु भयो । जुन समय सुदूरपश्चिम घर भएका लोकेन्द्र बहादुर चन्द तत्कालीन प्रधानमन्त्री थिए । सेती लोकमार्गको अवधरणा गर्दा चन्द पहिलोपटक प्रधानमन्त्री बनेका थिए ।

उत्तर–दक्षिण सीमा जोड्ने सेती लोकमार्गको अवधारणा ल्याउने तिनै चन्द चार पटक देशको प्रधानमन्त्री भए । आफैंले अघि सारेको सेती लोकमार्गको अवधारणा चर्चामै सीमित बन्यो । चन्द २०३९, २०४६, २०५३ र २०५८ गरी चारपटक प्रधानमन्त्री भएका हुन् ।

उसो त चन्दलाई समेत उछिन्दै सुदूरपश्चिमबाटै शेरबहादुर देउवा पाँच पटक प्रधानमन्त्री भइसकेका छन् । उनी २०५१, २०५७, २०६१, २०७३ र २०७७ गरी पाँच पटक प्रधानमन्त्री बने । कांग्रेस–एमाले सत्ता समिकरणको समझदारी कायम भए, फेरि अर्को पटक प्रधानमन्त्री हुने लाइनमा पनि तीनै देउवा छन् । तर सेती लोकमार्गले गति लिन सकेन ।

नेकपा एमालेबाट निष्कासित पूर्व उपप्रधान रक्षा तथा गृह मन्त्री भीम रावल पनि निर्माण थालनी भएको अवधी पछि २ पटक शक्तिशाली मन्त्री भइसकेका छन् । तर उनले पनि सेती लोकमार्गका लागि केही गर्न सकेनन् । नेताहरूले चुनावी नारा मात्रै बनाएकोमा स्थानीय आक्रोशित छन् ।

प्रकाशित मिति : २६ माघ २०८१, शनिबार  ११ : २७ बजे

विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा किन फर्कने ?

पछिल्लोपटक सामाजिक सञ्जालतिर एउटा शब्द प्रचलित छ – ‘भाइरल’ !

नेपाल–कम्बोडिया सम्बन्धका विविध पक्षमा छलफल

काठमाडौं– कम्बोडिया अधिराज्यका लागि नेपालका गैरआवासीय राजदूत धनबहादुर ओलीले नोम

माधवको टिप्पणी- ओलीले पदका लागि नयाँ गठबन्धन गरे

काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले वर्तमान

क्यान्सरलाई न्यूनिकरण गर्न सचेतना कार्यक्रम आवश्यक : मन्त्री पौडेल

काठमाडौं – स्वास्थ्यमन्त्री प्रदीप पौडेलले क्यान्सर रोगलाई न्यूनिकरण गर्न सचेतना

दिल्लीका पूर्वउपमुख्यमन्त्री सिसोदिया पनि पराजित

काठमाडौं– भारतको दिल्ली विधानसभा निर्वाचनमा पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि