‘सेकेण्ड ह्याण्ड’ पहिरन : समाधान कि आदत ? | Khabarhub Khabarhub

जीवनशैली

‘सेकेण्ड ह्याण्ड’ पहिरन : समाधान कि आदत ?

कुनै पनि चिजको अधिक प्रयोग घातक हुन सक्छ



काठमाडौं– अरुले पहिल्यै प्रयोग गरिसकेको ‘सेकेण्ड ह्याण्ड’ पहिरन प्रयोग गर्ने चलन पछिल्लो समय संसारभरि बढ्दो छ । निम्न वर्गले बाध्यतावश लामो समयदेखि सेकेण्ड ह्याण्ड सामानको प्रयोग गर्दै आएको भए पनि पछिल्लो समय सम्भ्रान्त वर्गमा पनि यो चलन बढेर गएको छ ।

‘थ्रिफ्टिङ’ भनिने यो चलन ‘फास्ट फेसन’ को प्रतिक्रियास्वरुप आएको हो । फास्ट फूडजस्तै सस्तो, तत्कालै उत्पादन गर्न सकिने र कम गुणस्तरको पहिरनलाई ‘फास्ट फेसन’ भन्ने गरिन्छ ।

सेकेण्ड ह्याण्ड पहिरन प्रयोग गर्ने चलनलाई फेसन उद्योगका कारण जलवायुमा परेको प्रभावसँग पनि जोडेर हेर्ने गरिएको छ ।
सन् २०१९ मा संयुक्त राष्ट्रसंघले सार्वजनिक गरेको एउटा रिपोर्टअनुसार फेसन संसारकै दोस्रो ठूलो प्रदूषक उद्योग हो ।

विश्वमा कुल कार्बन उत्सर्जनको १० प्रतिशत हिस्सा फेसन उद्योगबाट हुने गरेको विश्व आर्थिक मञ्चको तथ्यांक छ ।

संयुक्त राष्ट्रसंघको वातावरण कार्यक्रम यूएनईपीका अनुसार एक जोर जिन्सको लुगा बनाउनका लागि कुल ३ हजार ७ सय ८१ लिटर पानी आवश्यक पर्छ । कपास उत्पादन गर्नदेखि पसलमा लैजाँदासम्म एक जोर जिन्सले झण्डै ३३.४ किलो कार्बन उत्सर्जन गर्छ

संयुक्त राष्ट्रसंघको वातावरण कार्यक्रम यूएनईपीका अनुसार एक जोर जिन्सको लुगा बनाउनका लागि कुल ३ हजार ७ सय ८१ लिटर पानी आवश्यक पर्छ । कपास उत्पादन गर्नदेखि पसलमा लैजाँदासम्म एक जोर जिन्सले झण्डै ३३.४ किलो कार्बन उत्सर्जन गर्छ । यो भनेको १११ किलोमिटर सडकमा सवारी चलाउँदा उत्सर्जन हुने औसत कार्बन बराबर हो ।

धनी देशमा आयातित उपभोग्य वस्तुका कारण विश्वव्यापी जलवायु संकट उत्पन्न हुने गरेको बताइन्छ । यसअनुसार उपभोग र कार्बन उत्सर्जनबीच प्रत्यक्ष सम्बन्ध छ । धनी देशहरुले गर्ने उत्सर्जनका कारण जलवायु संकट उत्पन्न हुने र त्यसको परिणाम भने गरिब देशहरुले भोग्नुपर्ने परिस्थिति बनेको भन्दै बारम्बार आलोचना समेत हुने गरेको छ ।

‘फास्ट फेसन’को क्षेत्रमा जारा र एचएण्डएमसँगै चीनको शेइन नामक खुद्रा बिक्रेताको नाम पनि अगाडि आउँछ । सस्तो, शोषणकारी र असुरक्षित श्रमका कारण यस्ता कम्पनीले सस्तो दर र ठूलो परिमाणमा सामान बेच्दै आएका छन् ।

उदाहरणका लागि सन् २०१३ मा बंगलादेशको राजधानी ढाकामा रहेको राना प्लाजा ध्वस्त हुँदा १ हजारभन्दा धेरै श्रमिकले ज्यान गुमाएका थिए भने अरु २५ सयभन्दा धेरै घाइते भएका थिए । उक्त प्लाजामा रहेको कारखानाले जेसीपेनी, चिल्ड्रेन्स प्लेस र वालमार्टजस्ता कम्पनीका लागि पहिरन उत्पादन गर्दथ्यो । यस घटनाले धनी देशका कम्पनीले सस्तो र असुरक्षित श्रमबाट मुनाफा आर्जन गर्दै आएको विषय उजागर गरेको थियो ।

‘फास्ट फेसन’को यही यथार्थको प्रतिक्रियास्वरुप ‘थ्रिफ्टिङ’ गर्ने चलन बढेर गएको हो । ‘फास्ट फेसन’को तुलनामा वातावरण र आर्थिक हिसाबमा दिगो र सस्तो हुने भएकाले यस चलनप्रति आकर्षण बढेको बताइन्छ ।

तस्बिर स्रोत- क्लोथ बैंक, नेपालगञ्ज

सेकेण्ड ह्याण्ड पहिरनको प्रयोगले ठूलो परिमाणमा कपडा उत्पादन गर्ने दबाब कम हुन्छ र फलस्वरुप थोरै मात्र फोहोर निष्कासन हुन्छ ।

तर, सेकेण्ड ह्याण्ड पहिरनको प्रयोगले दीर्घकालीन समाधान दिनेमा भने आशंका छ । विश्लेषकहरु ‘ओभर कन्जम्सन’ अर्थात् अधिक उपभोगबाट समस्या पैदा हुने गरेको बताउँछन् । फस्ट फेसनजस्तै आवेगका आधारमा सामान खरिद गर्ने, उच्च उपभोग र छोटो समय मात्रै कायम रहने जस्ता समस्या थ्रिफ्टिङमा पनि उत्पन्न हुनसक्ने चिन्ता छ ।

सस्तो हुने भएकाले ठूलो परिमाणमा सेकेण्ड ह्याण्ड सामानको खरिद गर्नेहरुको संख्या पनि कम छैन । तर, सेकेण्ड ह्याण्ड नै भए पनि ठूलो परिमाणमा सामान खरिद गर्ने प्रवृत्तिले ‘ओभर कन्जम्सन’लाई नै मलजल गरिरहेको हुन्छ ।

ठूला फेसन ब्राण्डहरुले विश्वलाई गुमराहमा पार्न वातावरणीय प्रभावबारे भ्रामक दाबी गरेको सन् २०२३ मा ग्रिनपिसले सार्वजनिक गरेको रिपोर्टमा उल्लेख छ । उक्त रिपोर्टमा विभिन्न १४ वटा फेसन ब्राण्डको अध्ययन समेटिएको थियो ।

उपभोक्ताले यसअघि नै अरुले प्रयोग गरिसकेका सेकेण्ड ह्याण्ड सामान खरिद गरेर मात्रै हुँदैन । यसका लागि उपभोग गर्ने बानीमा नै परिवर्तन आवश्यक छ 

स्वभावैले फास्ट फेसनको अभ्यास दिगो छैन । फेसन उद्योगलाई दिगो बनाउन ठूला कम्पनीहरुले चक्रीय उत्पादन पद्धति, वातावरणमैत्री पदार्थको प्रयोग र नैतिकरुपमा स्वीकार्य उत्पादन प्रक्रिया अपनाउनुपर्ने आवश्यकता देखिन्छ । यद्यपि यस्ता कम्पनीहरुले आफूले उत्पादन गर्ने सामग्रीको घटाउनु त परै जाओस्, उत्पादन परिमाण समेत सार्वजनिक नगर्ने अवस्था छ ।

उपभोक्ताले यसअघि नै अरुले प्रयोग गरिसकेका सेकेण्ड ह्याण्ड सामान खरिद गरेर मात्रै दिगो हुँदैन । यसका लागि उपभोग गर्ने बानीमा नै आमूल परिवर्तन आवश्यक छ । आफूले प्रयोग गरिसकेका सामान अरुलाई दान वा उपहारस्वरुप दिँदा अथवा सेकेण्ड ह्याण्ड सामान किन्दा वातावरणका लागि योगदान गरेको अर्थमा बुझ्नेहरुको संख्या धेरै छ । तर, यसले ‘ओभर कन्जम्सन’लाई नै बढावा दिइरहेको हुन्छ ।

यस कुचक्रबाट जोगिनका लागि उपभोक्ताहरुले आफ्नो व्यवहारलाई सन्तुलनमा राख्नुपर्ने आवश्यकता छ । एकपटक किनेको लुगा लामो समय प्रयोग गरिरहने, च्यातिएका कपडा सिलाएर लगाउने अथवा आफूसँग भएका पुराना कपडालाई नयाँ स्टाइलमा लगाएर पनि ‘ओभर कन्जम्सन’लाई कम गर्न सकिन्छ ।

प्रकाशित मिति : २६ माघ २०८१, शनिबार  १० : ०० बजे

२७ वर्षपछि दिल्लीमा भाजपाको ‘कमब्याक’

काठमाडौं– सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)ले २७ वर्ष लामो प्रतीक्षापछि

नेपालका पाँच विश्वविद्यालयबीच सहकार्यका लागि सम्झौता 

सुर्खेत– नेपालका पाँच विश्वविद्यालयहरूले शैक्षिक सहकार्य र अनुसन्धान साझेदारीलाई प्रवर्द्धन

विश्व खाद्य मूल्यमा गिरावट : एफएओ

एजेनसी –  मुख्यतया चिनी, तेल र मासुको मूल्यमा आएको कमीका

उपप्रधानमन्त्री सिंहबाट आगलागी भएको खानेपानी मन्त्रालयको निरीक्षण

काठमाडौं– उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले आगलागी भएको खानेपानी मन्त्रालयको

प्रदेशको बजेट खर्च : छ महिनामा १६ प्रतिशत

काठमाडौं– चालु आर्थिक वर्षको छ महिनामा प्रदेशहरूको बजेट खर्च निराशाजनक