जब बिन्दबासिनीले बिहेको प्रस्ताव अस्वीकार गरिन्… | Khabarhub Khabarhub

अन्तर्वार्ता

जब बिन्दबासिनीले बिहेको प्रस्ताव अस्वीकार गरिन्…

राजनीतिबाट फिर्ता हुँदिनँ, महिला मन्त्रालय हाँक्ने मन छ




काठमाडौं– वयस्क महिला–पुरुषबीच प्रेम झाँगिनु स्वभाविकै हो । तर, सबै प्रेमसम्बन्ध विवाहमै परिणत हुन्छन् भन्ने ग्यारेन्टी छैन । बिहे नगर्दै प्रेम ‘ब्रेकअप’मा परिणत हुन सक्छ । कतिपय जोडी लिभिङ टुगेदरमा बसिसकेपछि छुट्टिन्छन् त कोही बिहेपछि पनि सम्बन्ध बिच्छेद गरेर अलग बस्छन् । प्रेम, लिभिङ टुगेदर वा विवाह जे भएर छुट्टिए पनि पूर्वजोडीले एक–आपसमा शत्रुतापूर्ण सम्बन्ध राख्नुहुँदैन भन्ने सभ्य समाजको मान्यता छ ।

तर, नेपाली समाजमा आफूले प्रेम गरेकी केटीले सम्बन्धलाई निरन्तरता दिन मानिन भनेर उसमाथि भौतिक वा मानसिक आक्रमण गर्ने जंगली स्वभावका पुरुषहरुको कमी छैन । अझ, आफूले एकतर्फी रुपमा मात्रै मनपराएकी केटीले आफूलाई वास्ता नगरेकै कारण एसिड खन्याउने सम्मका अमानवीय अपराध हुनु त झनै गम्भीर पक्ष हो । यही अमानवताको शिकार बनिन्– मकवानुपरकी बिन्दबासिनी कंसाकार ।

भनिन्छ, प्रेम भनेको प्राप्ति मात्रै हैन, त्याग पनि हो । तर, बिन्दबासिनीका लागि लागि ठीक उल्टो भयो । प्रेमको पवित्र परिभाषा एउटा तुच्छ बदला भावमा बदलियो ।

१९ वर्षको उमेरमा घरमै तेजाब आक्रमणमा परेकी कंसाकार तीन वर्षसम्म जीवन र मरणको दोसाँधबाट गुज्रिइन् । गल्ती नै नगरेको कुरामा उनले सजाय भोग्नु पर्‍यो ।

बिहे गर्ने प्रस्ताव अस्वीकार गरेकै आधारमा दिलिपराज केशरी नाम गरेको व्यक्तिले ०७० साल वैशाख ९ गते कंसाकारको अनुहार र शरीरमा तेजाब खन्याएर भागे । त्यसपछि कंसाकारको जीवनले फरक मोड लियो ।

यो पनि पढ्नुहोस् :

जब पाथीभरा होटलमा हातबाट मोबाइल खस्यो…

कारागारबाटै फोन….

कंसाकारको जीवन बर्बाद पार्ने दिलीपराज केशरी अहिले भीमफेदी कारागारमा सजाय भोगिरहेका छन् । केही साता अगाडि कंसकारलाई फोन गरेर उनले थप पीडा दिए ।

नेपालको कानुनअनुसार पीडकले जेलबाट पीडितलाई कल गर्न पाउने व्यवस्था छैन । तर, जेलमा भएका अपराधीलाई कंसाकारको नम्बर कसले दियो र कल आयो ? यो प्रश्न निरुत्तरित छ ।

कंसाकारका अनुसार फोन गरेर पीडकले ‘म फलानो’ भन्दै परिचय दिए । त्यसपछि उतैबाट फोन काटियो । उनी भन्छिन्, ‘उसैले फोन गरेर फोन नराख्नु न भन्यो । उतैबाट फोन काटियो ।’

सांसद कंसाकारले गृहमन्त्री रमेश लेखकलाई फोन गरेर घटनाबारे जानकारी गराइन् । मन्त्री लेखकले जेलभित्र कसले नम्बर दियो भनेर खोजी गर्न कारागार प्रशासनलाई आदेश दिए । तर, अहिलेसम्म रहस्य पत्ता लागेको छैन ।

पीडकको फोनबाट त्रसित बनेकी सांसद बिन्दबासिनी खबरहबसँग भन्छिन्, ‘मन दुख्यो, पोल्यो नि । मैले त केही सोच्न नै सकिनँ । असुरक्षित महसुस भयो ।’

कंसाकार अगाडि भन्छिन्, ‘उसलाई कसले नम्बर दियो ? जुन व्यक्तिले तेजाब हाल्न सक्छ, जुन व्यक्तिले जेलबाट पीडितलाई फोन गर्न सक्छ, निस्किएपछि के होला भनेर डर लाग्छ ……..।’

यतिभन्दा कंसाकारका आँखा पुरै रसाए । गहभरि आँसु निकालेर उनले थपिन्, ‘मेरो परिवार त्यहीँ (मकवानपुरमै) हुनुहुन्छ । केही दिन त निद्रा पनि लागेन । आखिर मैले गल्ती नै के गरेको हो ?’

खबरहबसँग कंसाकारले आफूलाई परेको पीडाको घटना, संसदीय राजनीतिक यात्रा, जलन र तेजाब आक्रमणबारे बनाइनुपर्ने कानुन र जलन अस्पताल अभावबारे आफ्ना अनुभव र विचारहरु सुनाइन् ।

कंसाकार सरकारले हरेक प्रादेशिक अस्पतालमा जलनको उपचार गर्ने व्यवस्था मिलाए मृत्युदर घट्ने बताउँछिन् । उनी कीर्तिपुर बर्न अस्पतालमा तत्काल बेड थप्न र केन्द्रमा सुविधासम्पन्न जलन अस्पताल निमार्ण अगाडि बढाइहाल्न सरकारसँग आग्रह गर्छिन् ।

कुराकानीका क्रममा कंसाकारले खुलेर संवाद गरिन् । तर, आफ्नो पीडा र जलनसम्बन्धी प्रश्नमा भने उनी भावविह्वल बनिन् ।

राजनीतिमा आउनु अगाडि तपाईँ के गर्नुहुन्थ्यो ?

हेटौडाको मुख्य बजार पिपलबोटमा घर छ । हाम्रो भाँडा पसल छ । म त्यहीँ बस्थेँ । मैले प्लस टु हेटौडामै पढेँ । ब्याचलर पनि त्यहीँ पढेँ । तर, ब्याचलरको पढाइ सकिएको छैन अझै पनि । किनकि म १२ कक्षा सकेपछि तेजाब आक्रमणमा परेँ । त्यसपछि उपचारलाई जोड दिनुपर्ने भयो । पढाइ रोकियो ।

म व्यवस्थापनकी विद्यार्थी हुँ । हाम्रो मुख्य पेशा पसल हो । मेरो पाँच जनाको परिवार हो । अहिले दाजुभाइको बिहे भइसकेकाले ८ जनाको परिवार छ । हाम्रो परिवार पसलमै निर्भर थियो । पछि मैले कुमारी बैंकमा काम थालेँ । क्यासियर थिएँ । लोकसेवाको पनि तयारी गरिरहेकी थिएँ ।

तपाईँमाथि तेजाब आक्रमणको घटना कसरी भयो ?

दिलीपराज केशरी भन्ने व्यक्तिले तेजाब आक्रमण गर्नुभएको हो । उहाँ मेरो फुपूको छोराको साथी । हाम्रो सामान्य चिनजान थियो । मैले उहाँलाई दाइ भन्थँे । कलेज आउने–जाने क्रममा भेट हुन्थ्यो । म अचानक भेट भएको होला भन्ठान्थेँ तर उहाँले नियतवश नै त्यसो गर्नुभएको रहेछ ।

म साथीहरूसँग कलेज आवत–जावत गर्थेँ । मलाई एकदिन बिहेका लागि उहाँले प्रस्ताव गर्नुभयो । म त अचम्ममा परेँ । मेरो कुनै रुची थिएन । भर्खर १९ वर्षकी थिएँ ।

मैले घरमा गएर कुरा गर्नु भनेँ । परिवारको निर्णय के हुन्छ, त्यहीअनुसार गर्छु भनेँ । त्यसपछि उहाँले मलाई मानसिक तनाव दिन थाल्नुभयो । यो कुरा मैले बुबालाई सुनाएँ ।

पसलमा बस्न पनि मलाई अप्ठ्यारो लाग्न थाल्यो । किनकि उहाँ विभिन्न बाहना बनाएर पसलमा आउन थाल्नुभयो ।

एक दिन बुबा र म पसलमा थियौँ । बुबाले किन आएको भनेर सोध्नुभयो । उहाँले हाँस्दै ऊ एक्लै पसलमा बसेकी थिई, म भेट्न आएको भन्नुभयो । त्यसपछि बुबाले पनि नर्मल तरिकाले छोरी एक्लै बस्छे, अब आइराख्नु पर्दैन भन्नुभयो । त्यसपछि उहाँ जानुभयो ।

त्यसको १०–१२ दिनपछि महको सीसीमा केही चिज लिएर आउनुभयो र सुरुमा मलाई दिन खोज्नुभयो । मैले यो के हो ? भनेँ उहाँले आफ्नी हजुरआमालाई दिनू भन्नुभयो तर बट्टा दिनुभएन । म पनि वास्ता नगरी चुप बसेँ । त्यसपछि बट्टा खोल्यो र अनुहारमा छ्याप्यो ।

उसले छ्याप्ने बित्तिकै धेरै पोल्न थाल्यो । तर, त्यो के चिज हो भन्ने मलाई थाहा थिएन । मलाई तातोपानी, चिया वा कफी किन फाल्यो भन्ने मात्र दिमागमा घुमिरह्यो । के गर्ने, कसो गर्ने भयो । म घरमाथि कुद्दै गएँ । ऊ भागिसके छ ।

मम्मीले अरुबेला बाटा(आरी)भरि पानी राख्ने गर्नुभएको थियो । तर, कारणबस त्यो दिन बाटामा पानी थिएन । म दौडँदै, चिच्याउँदै गएँ । आँखा पनि खोल्न सकेकी थिइनँ । आफैँले पानी निकालेर सफा गर्न सकिनँ । बुबा आउनुभयो र गन्धबाटै तेजाब हो भनेर थाहा पाउनुभयो ।

बुबाले पानी डेढ–दुई सय लिटर खन्याउनुभयो । तर, अनुहारमा कम पानी परेछ । स्थानीय अस्पताल लगियो । अस्पतालमा मल्हम लगाएर पेनकिलर दिइयो । त्यो बेलासम्म अनुहार पुरै नीलो भइसकेको थियो रे । बुबाले भन्नुभएको । त्यो ११ बजेदेखि साढे ११ बजेसम्मको घटना हो ।

त्यसपछि मलाई काठमाडौं ल्याइयो । तिलगंगामा उपचार भयो । बीएण्डबी अस्पताल लगियो । नेपाल मेडिकल कलेज लिएर आउनु भन्नुभयो । त्यहाँ तीन महिना उपचार भयो । प्लास्टिक सर्जरीदेखि सबै भयो । अहिलेको जस्तो मिडिया थिएन । आफन्तहरु आउनुहुन्थ्यो ।

तीन महिनाको त्यो अस्पताल यात्रा मलाई सम्झन मन नै लाग्दैन…..त्यस्तो बिजोग र पीडादायी थियो । तीन महिनापछि मलाई भारत रेफर गर्दिनु भयो ।

किन ? नेपालमा उपचार सम्भव भएन ?

हो । उपचार यहाँ सम्भव छैन, भारत गएरै उपचार गराउनुपर्छ, जति गर्न सकिन्छ, हामीले गरिसक्यौं भने । ११ वर्ष अगाडि त नेपालका अस्पतालमा जलनसम्बन्धी उपचारका इक्युप्मेन्टसम्म थिएनन् ।

त्यहाँ अस्पताल खोज्दै जाँदा उत्तर प्रदेशमा राम्रो अस्पताल भेटियो । डाक्टरले पनि ठ्याकै यहीँ जानू भनेर नलेखेकाले समस्या भयो ।

देवदास अस्पतालका डाक्टरले राति १० बजे आएर हेर्नुभयो । पुरै ठीक नहुने, ७० देखि ८० प्रतिशत मात्र ठीक हुने ग्यारेन्टी गराउनुभयो । प्लास्टिक सर्जनहरु आएर पहिलाको फेस र अहिलेको फेस जुधाएर हेर्नुभयो ।

उहाँहरूले नेपालमा गरेको प्लास्टिक सर्जरी निकालेर त्यहाँ अर्को गर्नुभयो । किनभने, हावा, धुँवा, धुलो लागेको थियो । छाला बाक्लो थियो । त्यो फाल्नुपर्ने भयो ।

त्यहाँ पनि निरन्तर डेढ–दुई महिनासम्म उपचार भयो । अहिलेसम्म त्यही अस्पतालमा उपचार गराइरहेकी छु ।

अहिले कस्तो उपचार चल्दै छ ?

जलनको केशमा डाक्टरले प्लास्टिक सर्जरी र कस्मेटिक सर्जरी दुईवटै गर्नुहुन्छ । अनुहारको प्लास्टिक सर्जरी एकैपटक गरेर पनि हुँदैन । प्लास्टिक र कस्मेटिक दुईवटै सँगै लिएर गयो भने कुन ठाउँमा स्किन राख्नुपर्छ, कुनमा राख्नु पर्दैन भन्ने थाहा हुन्छ र छुट्याउन सकिन्छ वा प्लास्टिक सर्जरी नै गर्नुपर्ने स्थिति आउन सक्छ ।

प्लास्टिक सर्जरी सौन्दर्यका लागि मात्रै प्रयोग हुन्छ भन्ने मान्छेको सोचाइ छ, जलनको केसमा चाहिँ त्यो सौन्दर्यका लागि मात्र होइन । यसबाट जलनको घाउ नरम बनाइराख्न मिल्छ ।

मैले मास्क पनि ३ वर्षसम्म लगाएर हिडेँ । ब्यान्डेज पनि लगाएर हिडेँ । बेलुका हिँड्दा मान्छे तर्सिन्थे ।

डेढ वर्षपछि बाहिर निस्केँ । तीन वर्षपछि पसलमा बस्न थालेँ तर प्रश्न धेरै आउने । त्यही पसलमा आक्रमण भएकाले पनि बस्न मन लाग्दैनथ्यो । मानसिक डिस्टर्ब हुन्थ्यो । ग्राहकले पनि प्रश्नहरु सोध्ने ।

उपचारका क्रममा के–के गर्नुपर्‍यो ?

तिघ्राको छाला निकालेर नाकभन्दा माथि पूरै प्लास्टिक सर्जरी गरेको हो । पेट र कान पछाडिको स्किन निकालेर फेसमा टाँसिएको छ । नाकमाथिदेखि आँखाको भाग पनि पुरै सिलाएको छ । आँखाको तल, माथि र निधार टाउकोसम्म पुरै सिलाएको छ ।

प्लास्टिक सर्जरी गरेको स्किनलाई प्लास्टिक र कस्मेटिक दुबैलाई फोकस गर्नुपर्ने रहेछ । मेरोचाहिँ अनुहारमा फोकस भएछ । पाखुरा, घाँटी र छातीमा पनि जलेको छ । त्यहाँ छाला नै काटेर राख्नुपर्ने स्थिति भएन । अनुहारचाहिँ पुरै सर्जरी गर्नुपर्ने भयो । कति गाह्रो भयो, भयो नि । आँखाको तलको छाला तलै फर्किएको थियो, माथिको माथि नै । फर्किएको थियो ।……आँखा बन्द हुँदैनथ्यो । सुत्दा पनि र उठ्दा पनि दुःखाइ अति थियो । दुःखाइको कुरा म व्यक्त गर्न सक्दिनँ । १०÷१५ मिनेटमा आइड्रप लगाइरहनुपर्ने ।

एकदिन म निदाइरहेकी रहेँछु आँखामा औषधी हाल्नुपर्ने भएछ । म आत्तिएर ब्यूझिएँ । झर्को लागेछ । गहिरो निद्रामा रहेछु । उठेर म निदाएका बेला उठाएर औषधी लगाइदिनु पर्दैन ? भनेँ । बुबाले तेरो आँखा खुल्ला छ, मलाई के थाहा ? भन्नुभयो । त्यसपछि मलाई थाहा भयो कि मेरा आँखा त ४–५ महिनादेखि खुल्ला नै रहेछन् ।

मैले ऐना पनि करिब पाँच महिनापछि हेरेँ । घरबाट ऐना हेर्न दिनुभएन । हेर्न त मन लाग्थ्यो…..तर कसैको सहाराबिना उठेर हेर्न सम्भव थिएन । डाक्टरले पूरै अनुहार ब्यान्डेज गर्नुभएको थियो । आँखा र नाकको प्वाल मात्र राखिएको थियो ।

एक–डेढ वर्षसम्म बेड रेस्ट चल्यो । परिवारको पुरै सहयोग नभएको भए अहिले म बाँच्ने थिइनँ । तीन वर्षसम्म त सबै कुरा परिवारले नै गर्दिनु भएको हो । मनमा कति कुरा खेल्थ्यो, त्यो भनीसाध्य छैन । म बिरामी परेकाले घर नै बिरामी परिरहेजस्तो भयो । खर्च अभाव उस्तै थियो । उपचार नगर, काम दिँदैन भन्ने आफन्तहरु पनि थिए ।

उपचार गर्न सरकारीतर्फबाट कुनै सहयोग मिलेन ?

त्योबेला आएन । सबै परिवारबाट नै हो । मैले अहिले उजुर गरेपछि आएको छ । हालसाल मात्र आएको हो । मैले अस्पतालको बिल समेत बुझाएकी थिएँ । ०७६ सालसम्मको मात्र १ करोड १४ लाख बिल बुझाएकी थिएँ । त्यो बिलको अमाउन्ट मात्र आयो । खर्च त अहिले पनि गर्नुपरेको छ । महिनावारी खर्च नै ५/६ हजार अहिले पनि छ । भारत जाँदा साढे ३ लाख खर्च अहिले पनि उपचारमा हुन्छ । पहिला सुरुमा तीन महिनामा बोलाएको थियो, पछि ६–६ महिनामा बोलाउनुभयो । अहिले १–२ वर्षमा बोलाउनुहुन्छ । अब जानुपर्ने, नगएको २ वर्ष हुन लागेको छ ।

अहिलेसम्मको खर्च कति भयो उपचारमा ?

सबै हिसाब त गरेको छैन । तर, १ करोड ५० लाख भन्दा बढी भएको छ । सरकारबाट ११ वर्षपछि १ करोड १४ लाख पैसा आयो । जबकि मलाई ०७० साल वैशाख ९ गते आक्रमण भएको हो ।

यहाँलाई आक्रमण गर्ने मान्छे कहिले समातिए ?

ऊ ६–७ वर्षपछि समातियो । अहिले भीमफेदी कारागारमा छ । भागेर भारत गएको रहेछ । उसको सबै अवस्था ठिक थियो । आक्रमणमा पर्दा म १९ वर्षकी थिएँ, ऊ ३०/३२ को थियो । पक्राउ परेको दिन त न्याय पाएजस्तो अनुभूति भयो । म आक्रोशित भएँ । तर, बदलाको नियत आएन । अपराधी पक्राउ परेसम्म पनि म ब्यान्डेज लगाएर हिड्थेँ ।

तिमी अनुहार खोलेर कहिले हिँड्ने भन्ने प्रश्नहरु आउँथे, त्यसको उत्तर पाएँ । अर्को, तिमीलाई तेजाब हाल्ने अपराधी अहिलेसम्म समातिएन ? भन्ने प्रश्न थियो, त्यसको पनि उत्तर पाएँ । यो केटीले गल्ती नै नगरी तेजाब हानिएछ हो ? भन्ने प्रश्नको पनि उत्तर पाएँ । यी प्रशनहरुबाट छुटकारा भएँ ।

तपाईले त भारतमा गएर उपचार गराउनुपर्‍यो । अहिले नेपालमा जलन र तेजावबाट पीडितको उपचार गर्ने उपकरणको अवस्था के छ ?

मैले आफ्नो विषय पनि भएकाले यसको अध्ययन गर्दा अहिले जति पनि उपकरण छन्, ती पर्याप्त भएको छ । तर, जलनका अस्पताल र बेडहरू पर्याप्त नभएका कारण समस्या छ । जलनको बिरामीको कति प्रतिशत जलन छ, त्यो हेर्नुपर्छ । यो जुनसुकै बेला हुने घटना भएकाले सरकारले गम्भीर भएर सोच्न आवश्यक छ ।

नेपालमै जलनको उपचार गर्ने अस्पताल र बेडहरू भए भने उपचार नपाएर मृत्यु हुने अवस्था रोकिन्छ ?

जलन अस्पताल एक ठाउँमा खोल्ने परम्परा छ । त्यो पनि केन्द्रमा मात्र खोलिन्छ । केन्द्रमा मात्र जलनको अस्पताल खोलेर मृत्युदर घट्दैन । नेपालका कुना–कुनामा मान्छेहरू जलनमा परिरहेका हुन्छन् । कमसेकम प्रदेशगत रूपमा यसको उपचार सुरु गरे धेरै हदसम्म समस्या समाधान हुन्छ ।

अस्ति सानदार ममकै कुरा गर्ने हो भने ११ जना मान्छे जल्नुभयो । चार जना बित्नुभयो । एकजना मान्छेले गाडीमा लगेर उपचार नगराएको भए ७ जना मान्छेको पनि बाँच्ने अवस्था थिएन । केन्द्रमा त यो हालत छ । नेपालको कुना–कुनाको हालत के होला ?
मेरो काठमाडौं नजिकै हेटौडामा यस्तो घटना हुँदा त यो अवस्था छ । नेपालको भौगोलिक विकटता उस्तै छ । हुम्ला जुम्लाको अवस्था उस्तै छ । प्रादेशिक अस्पतालमा जलनको उपचारका लागि आइसीयु र बेडहरू छुट्याउनु पर्छ । निःशुल्क उपचार हुने व्यवस्था गर्नुपर्छ ।

अस्ति पोखरामा अर्थमन्त्री र मेयर दुर्घटनामा पर्नुभयो, त्यहाँ सरकारी अस्पताल भएको भए उहाँहरूलाई सहज हुने थियो नि । अहिले त बजेट पनि हरेक प्रादेशिक अस्पताललाई एक–एक करोड छुटाइएको छ । तर बजेट छुट्याए पनि उपकरण र बेड छैनन् । भूगोल हेरेर उपकरण राख्नुपर्छ । नेपालमा मेडिकल कलेज धेरै छन्, मेडिकल कलेजमा पनि जलनका लागि न बेड छ, न उपकरण छन् । त्यहाँ पढाइ गर्नुपर्ने भएकाले त्यहाँ पनि राख्नुपर्छ ।

जलनमा महिला, बालबालिका र वृद्धहरू परिरहेका छन् । प्रदेशमा उपचार हुन नसकेका बिरामी मात्र केन्द्रमा पठायो भने लोड पनि कम हुन्छ । कीर्तिपुर बर्न अस्पतालमा पनि अहिले बेड नभएर समस्या भएको छ ।

तपाई एसिड आक्रमणमा पर्नुभयो । यो विषयमा नेपालको कानून ठीक छ ? तपाईलाई कस्तो लाग्छ ?

एसिडको कानुन मात्र छ । आगोले पोलेको विषयमा कानुन आएको छैन । यहाँलाई थाहा नै छ, आफैंले विधेयक दर्ता गरेको छु । तेजाबको कानुन जति बनेको छ, त्यो कानुनमा तेजाब भण्डारण गर्ने बेच्न, किन्न लाइसेन्स चाहिन्छ । किन्न आउने मान्छेको पनि परिचयपत्र चाहिन्छ । तर, विडम्बना के छ भने त्यो व्यवहारमा लागू भएको छैन । किनभने, कसैले तेजाब आक्रमण गरेको छ भने उसलाई सजाय कति दिने ? क्षतिपूर्ति कति दिने ? कसले दिने ? यी प्रश्नहरु छन् ।

मैले तेजाब किन्न पाउँछु कि पाउँदिन ? पसलेले बिना लाइसेन्स तेजाब बेच्न पाउँछ कि पाउँदैन ? आज पनि बजारमा खुलेआम तेजाब बेचिइरहेको छ । यी धेरै कुरा मैले ‘मानव शरीर जलन विधेयक’ २०८१ मा पनि राखेकी छु । यो विधेयक साउन ३१ गते दर्ता गराएकी हुँ ।

तपाईले दर्ता गराएको विधेयकको उद्देश्य के हो ?

यो विधेयकको उद्देश्य तेजाब बेच्ने र किन्ने प्रावधानको मात्र होइन, तेजाबजस्तै अरु पनि जलनशील पदार्थलाई समेटेर विधेयकमा समावेश भएको छ । जल्दा मात्र उपचार हैन, उद्धारका लागि के गर्न सकिन्छ र उद्धार भएपछि जीविका अगाडि कसरी बढ्छ ? सरकारले पीडितको भविष्यको विषयमा पनि सोच्नुपर्छ ।

हामीजस्ता युवा पनि जलेका छन् । बच्चा, अपाङ्ग जलेका छन् । उनीहरूको जीवन र पढाइ सबै कुरा हेर्नुपर्ने हुन्छ । उनीहरूलाई सक्षम भएपछि रोजगारी पनि दिनुपर्छ । यो सबै कुरा विधेयकमा समावेश गरिएको छ ।

आर्थिक अभावका कारण पीडितको उपचार हुन पाएको छैन । जलनशील पदार्थलाई नियमन गर्न सकिन्छ । साथै जनचेतनालाई कसरी समेट्ने भन्ने सबै कुराहरु विधेयकमा राखिएको छ ।

विधेयक आफैं बनाउनुभयो या विज्ञ र आफ्नो पार्टीसँग पनि छलफल गर्नुभयो ?

विज्ञ पनि राख्यौँ । विभिन्न संघ संस्थासँग पनि कुरा गर्‍यौं । यो बनाउन ६ महिना लाग्यो । पार्टीका अन्य सांसदहरु पनि बसेर विधेयक तयार गरेका हौँ । गैरसरकारी विधेयक भनेर कुनै वकिललाई दिएर यो विषयमा विधेयक बनाइदिनू भनेको होइन । हामी आफैँले काम गरेका छौँ । आफैँले लेखेका छौँ । यो विधेयक अब कानुन बनेपछि सर्वसाधारण जनतालाई धेरै सहज हुन्छ । उहाँहरूलाई काठमाडौँसम्म आउनुपर्ने बाध्यता हुँदैन । आफू बसिरहेको ठाउँबाटै उहाँहरूको उपचार सहज ढंगले गर्न सकिन्छ । पार्टीमा पनि जलन विधेयकको सन्दर्भमा कुरा भइरहेको भएर मलाई सहज भएको छ ।

अलिकति राजनीतिक कुरा गरौं । तपाई राजनीतिमा लागेको धेरै भएको छैन, कसरी जोडिनुभयो रास्वपाको राजनीतिमा ?
जिल्लाको जिम्मेवारीमा छु । मकवानपुर र स्याङ्जा गइरहन्छु । मलाई पार्टीले राम्रो जिम्मेवारी दिएको छ । म खास राजनीति मन नपराउने व्यक्ति हो । मेरो केसले गर्दा पनि हो । मान्छेले राजनीतिलाई राम्रो मान्दैनन् । मेरो पनि सोचाइ त्यही थियो । सभापति रवि लामिछानेले नै पार्टीमा आउन अफर गर्नुभएको हो ।

उहाँले अफर गर्दा म उपचार गर्न गएकी थिएँ । अफर ०७९ को निर्वाचनमा समानुपातिक नाम दिने बेलामा आएको हो । अपरेसन भएकै दिन कुरा भयो । त्यसपछि घरमा सल्लाह गर्दा बुबाहरूले पनि हुन्छ भन्नुभयो । त्यो दिन डिसिजन गर्न सकिनँ । किनकि दुःखाइ बढी भएको थियो ।

अन्तरवार्ता लिने क्रममा रवि दाइसँग एकपटक मात्र भेट भएको थियो । त्यसपछि हुन्छ भनेर मैले भारतको रेल वे स्टेसनबाटै फर्म भरेँ । प्रिइलेक्सनमा मेरो राम्रो मत आयो र म समानुपातिक उम्मेदवार छानिएँ ।

कुमारी बैँकमा जागिर गरेको पैसाले मेरो सामान्य खर्च धान्ने थियो । १८ हजार तलब थियो । त्यसपछि जागिर छाडेर पार्टीमा लागेँ । मनमा डर चाहिँ जागिर छाडेर के गर्ने भन्ने थियो । तर, पार्टीमा काम पार लागेन भने उमेर छ, लोकसेवा पढ्छु भन्ने थियो ।
हेटांैडाबाट पनि सपोर्ट पाएँ । सबै सकारात्मक हुनुभयो । चुनावमा पनि धेरै बोलेर भोट मागिनँ । मैले जे भोगेँ, अरूले भोग्न नपरोस् भनेर भोट मागेँ । भाषण गरिनँ ।

आफू सांसद बन्छु भन्ने थियो ?

त्यो थिएन । निर्वाचन अगाडि पनि थिएन । हाम्रा सांसद ढाका कुमार श्रेष्ठ निलम्बित भएपछि पनि थिएन । नाम त मेरै थियो । तर, उहाँको मुद्दा बाँकी नै थियो । रवि दाइले प्रेसमिटमै अब बिन्दबासिनीलाई ल्याउँछु भन्नुभएको थियो । तर, अदालती प्रकृया ढाकाजीको चलिरहेको थियो ।

मलाई कुनै पूर्वजानकारी र सूचना थिएन । रवि दाइले मेरो नाम भन्ने बित्तिकै सोच्ने समय भएन । म पसलमा थिएँ । मेरो नाम आएपछि फोनको घण्टी बजिरह्यो । म त अप्रत्याशित भएँ । सोच्न, बोल्न सकिनँ । के गर्ने भन्ने अन्योल भयो । तर, पार्टीबाट पनि खबर आएपछि हो रहेछ भन्ने भयो ।

समानुपातिकमा पर्न अरुले त मोटो रकम बुझाउँछन् भन्ने सुनिन्छ…

मैले एक रुपैयाँ पनि बुझाइनँ । मसँग पैसा नै थिएन, के बुझाउने ? पार्टीलाई सहयोग गर्नुपर्ने त हो तर मसँग पैसा नै थिएन । ऋणै ऋण थियो । पार्टीले पैसा मागेको पनि थिएन । मैले उपचार गर्दा नै बुबा ‘ब्याक लिस्टेट’ मा हुनुहुन्छ भनेकी थिएँ । किनकि ऋण धेरै थियो । मैले पैसा दिन सक्दिनँ भनेर पहिला नै भनेकी थिएँ । म खुलेआम भन्छु– मैले कुनै पनि हिसाबले पार्टीलाई पैसा बुझाएको छैन ।

पहिलो पटक सदनमा जाँदा कस्तो अनुभव भयो ?

संसद भवन नै छिरेकी थिइनँ । म छिरेँ । सत्तापक्ष र प्रतिपक्षको अलग कुर्सी हुँदा अन्योल थियो । मलाई थाहा नै थिएन, आफू कुन पक्ष हो । । पार्टी प्रतिपक्षमा थियो ।

सबैले बोलेको सुनेँ । मेरो पालो कहिले आउँछ भन्ने भइरहेको थियो । बोल्ने पालो आउँदा पोडियममा गएर एकछिन हेरँे र भावुक भएँ । हातखुट्टा काँपिरहेका थिए । म त एउटा प्रकृयाबाट आएकी, नमर्स थिएँ ।

हाम्रो संसदीय अभ्यास कस्तो लाग्यो ?

अभ्यास त ठिक छ तर अब यसलाई थोरै परिमार्जन गर्नुपर्छ कि जस्तो लाग्छ । किनकि सभामुख– उपसभामुखले दलको जस्तो व्यवहार नगरेर सदनलाई मर्यादित बनाउनुपर्छ । पक्ष र प्रतिपक्ष दुवैको सभामुख हुनुपर्छ । स्वविवेक प्रयोग गर्नुपर्छ । दलको सभामुख होइन, सदनको सभामुख बन्नुपर्छ । सदन त मर्यादित हुनुपर्छ नि ।

रास्वपा पनि पुराना दलजस्तै देखियो भन्ने आरोप लगाउँछन् नि ?

हाम्रो सभापति नै गृहमन्त्री हुँदा दुई महिना सदन कसले बन्द गरेको हो ? एउटा मुद्दालाई लिएर २ महिना सदन अवरुद्ध हुनु कति जायज हो ? हामीले त केही पनि गरेको छैन । नयाँ भएर कमी कमजोरी भयो होला, तर हामीले भन्दा पनि उहाँहरूले हामीमाथि प्रहार गर्नुभएको छ । म त अनौठो लाग्छ, किन रास्वपासँग यसरी किन डराउनुभएको होला ? राजा बोल्दा डराएको छ । रास्वपा बोल्दा डराएको छ । कसैले कसैमाथि व्यक्तिगत प्रतिशोध राखेर राजनीति गर्नु ठिक भएन नि । सही र गलत छुट्याएर काम गर्नुपर्छ ।

कहिलेकाहीँ बित्थामा राजनीतिमा आइएछ जस्तो लाग्दैन ?

लाग्दैन । मलाई पनि केही गर्ने हुटहुटी भएका कारण त्यस्तो लागेको छैन । मजस्ता पीडितको कुरालाई न्याय दिने मन छ ।

पछिल्लो समय यहाँले डुल्नुभएका गाउँमा रास्वपाको लहर कस्तो छ ?

रास्वपाप्रति आकर्षण छ । तर, खुलेर आउन अझ पनि सक्नुभएको छैन । हामीले अझ विश्वास जगाउनु छ । कर छैन, मनले के भन्छ त्यही पार्टी रोज्ने हो । उहाँहरू बिस्तारै बुझेर आउनुहुन्छ ।

०८४ को चुनावमा रास्वपाको पोजिसन कस्तो होलाजस्तो लाग्छ ?

पुरानो पार्टी भए यो ठाउँमा यति भोट आउँछ, यसरी जितिन्छ भन्न हुन्थ्यो । नयाँ पार्टी भएकाले दाबी गर्न सकिँदैन । तर, ०८४ मा पार्टी पहिलो बनाउने योजना छ । जनताले स्वविवेकले जसले काम राम्रो गर्छ, त्यसलाई भोट दिन्छन् ।

यहाँलाई ०८४ मा पार्टीले टिकट दियो भने निर्वाचन लड्नुहुन्छ ?

म कोसिस गर्दैछु । मेरो प्रयत्न नै त्यसमा छ । पार्टीले टिकट दिन्छ भनेर ढुक्क छु । टिकटमा मेरो दाबी रहन्छ । राजनीतिमा आइसके अब राजनीति नै राम्रोसँग गर्ने हो । हामी जनताको जीवनस्तर माथि उकास्ने योजनामा छौँ । अहिले म धेरै माथि जान सक्दिनँ ।

तर, एकपटक महिला बालबालिका क्षेत्रको मन्त्रालय चलाएर राम्रो काम गर्ने सोचमा छु । तर, यो पटक नै भन्ने छैन । अर्को पटकसम्म हुने प्रयत्न रहन्छ । त्यसपछि हेर्दै जाने हो । यति वर्षसम्म नै राजनीति गर्छु भनेर सोचेको छैन । तर अब राजनीतिबाट फिर्ता हुँदिनँ । युवा आउनुपर्छ भनेर पनि लागेकी छु ।

भन्न मिल्छ भने यहाँ अविवाहित हो ?

अविवाहित हो । तत्काल विवाह गर्ने योजना पनि छैन ।

माननीय हुनुहुन्छ, बिहेको प्रस्ताव त आउँछ होला नि ?

यहाँले भनेको जस्तै अफर त आउँछन् । तर, मेरो ध्यान त्यतातिर छैन । अँ, यो चाहिँ मेरो बिहे गर्ने मान्छे ! भन्ने पनि छैन ।

अविवाहित महिलालाई राजनीति गर्न कत्तिको गाह्रो हुने रहेछ ?

गाह्रो त हुन्छ । मैले त्यसलाई इग्नोर गर्छु । मसँग ममी, बुबा र दाजुभाइ हुनुहुन्छ । उहाँहरूसँग सल्लाह हुन्छ । विवाह भइदिए पनि हुन्थ्यो जस्तो त लाग्छ तर तत्काल तयारी छैन ।

प्रकाशित मिति : २४ फाल्गुन २०८१, शनिबार  ११ : २५ बजे

ईसेवाबाट ४ हजार जनाको १ करोडभन्दा बढी चोरी, २२ वर्षीय युवा पक्राउ 

काठमाडौं– फिसिङ लिङ्क पठाई ईसेवाको रकम चोरी गरेको आरोपमा काठमाडौं अनामनगर बस्ने

भारतीय पर्यटकलाई सीमापार आवागमन सहज बनाइँदै, धार्मिक र साहसिक पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं – नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकहरूका लागि सीमापार आवागमनलाई

सरकारको गति : असोजमा बाढी पहिरो, वैशाखमा क्षति आंकलन

काठमाडौं– गत असोजमा अविरल वर्षाका कारण सिर्जित मनसुनजन्य विपदबाट क्षतिग्रस्त

प्रधानमन्त्रीसमक्ष सगरमाथा संवाद कार्यक्रमबारे माओवादीको ध्यानाकर्षण

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेकपा (माओवादी केन्द्र) को वन,

प्रधानमन्त्रीसमक्ष आगामी नीति तथा कार्यक्रमका लागि एमालेको सुझाव हस्तान्तरण

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आगामी आर्थिक वर्षको नीति तथा