८२ वर्षे हजुरआमाको अर्ती - मागेर नखानू | Khabarhub Khabarhub

८२ वर्षे हजुरआमाको अर्ती – मागेर नखानू

नारी दिवसले नचिनेका कर्मठ नारीको कथा


२४ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : 5 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज अन्तर्राष्ट्रिय नारी दिवस विश्वभरि मनाइयो । नेपालमा पनि विभिन्न कार्यक्रम गरेर प्रत्येक वर्ष आजकै दिन नारी दिवस मनाउने गरिएको छ । विभिन्न संघसस्था र महिला अधिकारकर्मीले नारी दिवस सफल पारौँ लगायत लेखिएका ब्यानर, पर्चा, पम्पलेट बोकेर हिँडेको काठमाडौं लगायत देशका विभिन्न ठाउँमा देखियो ।

नारी दिवस के हो भन्नेमा कयौँ नारीहरु अनविज्ञ छन् । कसैले वास्ता नगरेर त कसैलाई समय र परस्थितिले त्यहाँसम्म पुग्नै नदिएर उनीहरु नारी दिवससँग बेखबर जस्तै बनेका हुन् ।

घाँसदाउरा, मेलापात, चुलोचौकोमै कयौँ नारीको जीवन अस्तव्यस्त छ । हामी अन्त नजाऔँ, देशको संघीय राजधानी काठमाडौंको सडकलाई मात्र हेरे पुग्छ ।

गाउँबाट हजारौँ सपनाको झोली बोकर राजधानी पसेका महिलाहरु आफ्नै संघर्षमा विलीन छन् । काठमाडौंका गल्लीहरुमा कोही साग बेचेर, मकै पोलेर, पानी बेचेर वा चटपटे पानीपुरीलाई नै जिन्दगी बनाएर बसेका थुप्रै आमा, दिदिबहिनीहरु भेट्न सकिन्छ ।

यहाँ नारी दिवसले थाहा नपाएका केही पात्रहरुको चर्चा गरौं ।

भगवानले हातखुट्टा दिएका छन्, सकुञ्जेल आफैँ गरेर खानुपर्छ : हरिमाया शाही

रानिपोखरीस्थित दरबार हाईस्कुलको गेटैमा चाउचाउ, बिस्कुट, बदाम लगायत सामान्य खानेकुराको पसल थापेर बसिरहेकी हरिमाया शाही उमेरले ८२ नाघिन् । श्रीमान बितेको २५ वर्ष भएछ ।

श्रीमानले छाडेर गइसकेपछि उनले आफैँ संघर्ष गरेर आफैँलाई पाल्दैछिन् । आफैं पनि अशक्त रहेकी हरिमाया अझै जिन्दगीको लडाइँ लड्दैछिन् ।

०७२ मा आएको शक्तिशाली भूकम्पमा उनले कान्छी छोरी गुमाइन् । उनको आफ्नै पनि खुट्टो भाँचियो । टाउको फुटेको खत अझै छ । उनकी एउटी छोरी बेपत्ता छिन् । हजारौं ठक्कर, हण्डर खाएर पनि हार नमान्ने महान नारी हरिमाया ज्येष्ठ नागरिक हुन् ।

‘दुनियाँका अगाडि हात फैलाउँदै हिँड्न मन लाग्दैन । विभिन्न आश्रमबाट पनि लिन आउँछन् तर म जाँदिनँ । सकुञ्जेल आफैँ गरेर खानुपर्छ । भगवानले हातखुट्टा दिएका छन्’ उनले खबरहबसँग भनिन् ।

इमान्दारिता नै सबैथोक हो भन्छिन् हरिमाया । उनका साथमा उनका नाबालिका दुई नाति नातिना छन् । बुहारी बिरामी भएर बितेको हरिमायाले सुनाइन् । छोरा मानसिक रुपमा स्वस्थ नभएका कारण हिँड्डुल गर्न पनि साहारा चाहिने हरिमायाको काँधमा अझै ठूलो जिम्मेवारी छ ।

श्रीमान सँगै हुँदा पनि उनले धेरै संघर्ष गरेको सुनाइन् । ‘धेरै वर्ष डेरामा बिताएँ । त्यसपछि सुकुमबासी बस्तिमा पसेर त्यहाँ बसियो । रोई कराई गरेर सानो बस्ने ठाउँ दिनुहोस् भनेर भन्दा खोलाका स्थानीयले अलिकति सस्तोमा जग्गा दिए । अहिले पनि त्यही जग्गामा बसेका छौँ’, उनले भनिन् ।

मन भुलाउन भए पनि दिउँसो सडकतिर आउने गरेको उनले बताइन् ।

‘दिवसले खान, बस्न दिँदैन, गरिखाने आफैँले हो’

अन्जना श्रेष्ठ उमेरले अहिले ३८ वर्ष पुगिन् । उनले काठमाडौंका गल्लीमा धपेडी मारेको वर्षौं भयो । काठमाडौंको जमलस्थित एउटा पसलको कुनामा बसेर स्टाबेरी र अमला बिक्रीमा राखेकी छिन् । महानगर प्रहरीले लखेट्ने डरले लुकेर बस्नपरेको उनी सुनाउँछिन् ।

‘सटर लिएर व्यापार गर्ने हैसियत छैन । बाटोमा बसेर व्यापार गर्न महानगरले दिँदैन’, नारी दिवसका दिन सडकमा भेटिएकी अञ्जनाले भनिन् ।

आजभन्दा १६ वर्षपहिले दोलखाबाट काठमाडौँ पसेपछि अन्जनाले सिजन अनुसारका फलफुल व्यापार गरेरै घरपरिवार चलाएकी छन् । उनका दुई छोरी छन् । छोरीहरुको जिम्मेवारी आफ्नै काधमा रहेको उनी बताउँछिन् । आफ्नो काम बाहेक बाकीँ चासो छैन अन्जनालई । उसो त आज नारी दिवस हो । तर, उनीजस्तै कयौँ नारीलाई छोएको छैन यो दिवसले ।

उनले भनिन, ‘जुनै दिवस आए पनि खान, बस्न दिँदैन । गरिखाने आफैँले हो । दिउँसो काम नगरी बेलुका के खाने ? भाडामा बसेका छाँै । छोरीहरुलाई पढाउनुपर्छ । भाडा तिर्नपर्यो यसैबाट गुजारा चलाएकै छौँ।’

अन्जना सानैदेखि व्यापारमा रुची राख्थिन् । आफ्नी आमाबाटै सिकेकी हुन् उनले सानोतिनो व्यापार गरेर पैसा कमाउन ।
यो काम मात्रै किन ? यो बाहेक केही किन गर्नुभएन ? यो प्रश्नमा उनले भनिन् ‘सानैबाट यस्तैमा हुर्किएँ, यस्तै काम गर्न सहज लाग्यो । आमाहरुले यस्तै काम गर्थे । जागिर खान धेरै पढेको छैन् ।’

अन्जनासँगै शोभा श्रेष्ठले पनि उस्तै व्यापार गर्छिन् । दुवै जना सँगै बसेर स्टाबेरी प्याकिङ गर्दै थिए । अन्जना र शोभा साथी जस्तै छन् । शोभाले पनि आफ्नो जिविकोपार्जन फलफूल बेचेरै चलाएकी छन् ।

‘सडक पेटीमा महानगरले लखेट्छ र अरुको पसल छेउछाउ जाँदा भाडा तिरेको छाैं भन्छन् र टाढैबाट खेदाउँछन्’ उनले गुनासो गरिन् ।’

नारी दिवसमा पनि काम गर्नै पर्ने उनीहरुको बाध्यता छ ।

“अब हाम्रो त यो नै व्यवसाय हो । केको बिदा हुन्छ र, पैसा सबैलाई चाहिन्छ । कमाउन आफै पर्छ, कसैको भर पर्नुपदैन गर्ने खाने हो,’ शोभाले भनिन् ।

जे भएपनि आफु आत्म निर्भर भएकोमा गर्व लाग्छ उनीहरुलाई ।

‘दुःखले सुख खोज्यो, सुखले काल खोज्यो भनेजस्तै भयो’

भृकुटीमण्डपको बाहिरैपट्टि सानो पसल थापेर बसेकी अर्की पात्र हुन् रामकुमारी शाही । उनलाई पनि आज नारी दिवसले छोएन । उनको आफ्नै संसार छ । कतिबेला ग्राहक आउलान् र सामान किनिदेलान् भन्ने कुरा मात्र मनमा खेलाइरहन्छिन् ।

रामकुमारी ०५० सालमा काठमाडौँ पसेकी हुन् । उनका श्रीमानले पनि उनलाई साथ दिएका छन् । उनीहरुले काठमाडौंमा संघर्ष गरेर चार छोराछोरी हुर्काए ।

“धेरै सपना बोकेर काठमाडौं पसेका थियौँ आज आएर न त गाउँ फर्किएर जान सकियो, न यता केही व्यवस्था गर्न सकियो’ रामकुमारी गाउँबाट शहर पसेका मानिसको व्यथा बोल्छिन्, ‘दुःखले सुख खोज्यो, सुखले काल खोज्यो भनेजस्तै भयो।’

आज नारी दिवस हो नि भन्दा उनले अचम्म मान्दै भनिन् ‘हो र ? मलाई त केही थाहा छैन । आफ्नै काममा छौँ, केही थाहा हुँदैन ।’

रामकुमारीले आफ्नो अनुभव सुनाउँदै भनिन्, ‘जे होस् छोरी मान्छे आत्मनिर्भर चाहिँ बन्नैपर्ने रहेछ । एउटा स्याम्पो किन्न समेत श्रीमानसँग पैसा माग्दा कस्तो असजिलो लाग्थ्यो । केही नभए पनि छोरी मान्छेले आफ्ना आवश्यकता पूरा गर्नसक्ने चाँहि बन्नुपर्छ।

आफ्ना लागि आफैँ संघर्ष गर्नुपर्छ भन्ने शाही अहिले उमेरले ६० वर्ष नाघिन् । तर, पनि उनको जोश जाँगर जवानै छ ।

स्वदेशमै छ गरिखाने ठाउँ

चटपटे पसलमा व्यस्त रहने नीतालाई नारी दिवसमा पनि चटपटे बनाउँदैमा भ्याई नभ्याई छ । अनामनगर घट्टेकुलोमा सानो सटर भाडामा लिएर चटपटे, पानीपुरी बेचेर उनले घर व्यवहार चलाइरहेकी छन् ।

आजभन्दा ६ वर्ष अगाडिदेखि चटपटे बेच्दै आएकी नीताले धेरै दुःख पाएको बताइन् । सटरमा बस्न थालेको दुई वर्ष मात्रै भयो । त्योभन्दा पहिला गल्ली गल्लीमा ठेलामा चटपटे बेचेको उनले बताइन् । ठेला गुडाउँदै कति पानीसँग, कति घामसँग जुध्नुपर्यो, बेहिसाब छ ।

बच्चाहरुसँगै काम पनि गरेर जिविकोपार्जन गरिरहेकी छन् नीता ।

उनका श्रीमानले विदेशिने योजना नबनाएका हैनन् । तर, नीताकै साथ र हौसलाले श्रीमानलाई विदेशिनबाट रोक्यो ।

दोलखाबाट काठमाडौं आएर चटपटे बेचेको कुराले आफन्तबाटै हेलाहोचो हुने गरेको उनको गुनासो छ । अहिले बुढाथोकी दम्पत्ति मिलेर राम्रै आमदानी गरिरहेका छन् । सानैबाट सुरु गरेर सफल व्यवसायी हुनेमा विश्वस्त छिन् नीता ।

चटपटेसँग नीताको गहिरो नाता छ । ठेलादेखि सटरसम्मको नीताको यात्रा कठिन भए पनि त्यसले उनलाई झन बलियो बनाएको छ । गरिखान सकिन्छ भन्ने आत्मविश्वास बढेको छ । बिहान १० बजेदेखि राति ८ बजेसम्म पसलमै हुने नीता अब चटपटेलाई नै जीवन बनाएर काम गर्दै छिन् ।

यी त केही प्रतिनिधि पात्र मात्रै हुन् । देशका विभिन्न ठाउँमा रातदिन मेहनत मात्र गरिरहने कयौँ महान र प्रभावशाली नारीहरु छन् । उनीहरुप्रति नारी दिवसको शुभकामना ।

प्रकाशित मिति : २४ फाल्गुन २०८१, शनिबार  ७ : ३७ बजे

बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ

काठमाडौं– बैंकिङ कसुरमा फरार रहेका एक जना व्यक्ति पक्राउ परेका छन्

‘ड्रोन’ बाट आगलागी नियन्त्रण तालिम गर्दै काठमाडौं महानगर 

काठमाडौं– आगलागीका सम्भावित घटनालाई तत्काल नियन्त्रणमा लिन काठमाडौं महानगरपालिकाले प्रविधिको

चीनले वृद्धवृद्धाको स्याहारमा एआई प्रयोग गर्ने

बेइजिङ– चीनले वृद्धवृद्धा र सामाजिक हेरचाहमा बौद्धिक कृत्रिमता (एआई) र

एमालेबाट जितेका पूर्ववडाध्यक्ष, रास्वपातिर

धनगढी– कमलबजार नगरपालिका–४ चाल्साका निवर्तमान वडा अध्यक्ष ललित ढोली हाल राष्ट्रिय

सुदूरपश्चिम सुन्दर मात्रै होइन, सम्भावनाको प्रदेश हो : प्रधानमन्त्री ओली

धनगढी– प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिमलाई सम्भावनाको प्रदेश भएकाे बताएका छन्