नेपाल आँखा अस्पतालमा बिरामीको प्रतीक्षाको समय एक घण्टामा सीमित « Khabarhub

नेपाल आँखा अस्पतालमा बिरामीको प्रतीक्षाको समय एक घण्टामा सीमित


२६ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले अस्पतालमा सेवा लिन आउने बिरामीको प्रतीक्षाको समयलाई एक घण्टामा सीमित गरेको छ । सेवा प्रवाहलाई थप चुस्त बनाउन अस्पतालले बिरामीको प्रतिक्षाको समयलाई एक घण्टामा झारेको हो । यसका कारण अस्पतालमा पछिल्लो समय आँखा उपचार गराउने बिरामीको चाप बढेको छ । अस्पतालले दैनिक ६०० देखि ९०० जनासम्मलाई उपचार सेवा प्रदान गरिरहेको छ ।

अस्पतालका प्रमुख कार्यकारी अधिकृत धर्मराज गोसाईँले अस्पतालको सेवा प्रवाहलाई चुस्त बनाउन सेवा लिन आउने बिरामीको प्रतीक्षाको समयलाई एक घण्टामा सीमित पारेको बताए ।

२०३० साल चैत २६ गते त्रिपुरेश्वरमा जनसहयोगमा अग्रज समाजसेवी तथा नेत्र विशेषज्ञद्वारा सेवा सुरु गरेको सो अस्पतालले आँखाको विशिष्ट सेवा  मोतियाविन्दु, रेटिना, अकुलोप्लाष्टी, कर्निया, जलविन्दु, बाल आँखा सेवालगायत आरओपीको लागि अलग्गै विभागबाट १६ नेत्र विशेषज्ञ एवं १२५ कर्मचारीद्वारा सेवा प्रदान गर्दै आएको छ ।

प्रमुख कार्यकारी अधिकृत गोसाईँका अनुसार आर्थिक वर्ष २०८१-८२ को आठ महिनामा अस्पतालले बहिरङ्ग सेवाअन्तर्गत एक लाख ३१२, आकस्मिक २० हजार ९६, सर्जरी पाँच हजार ७९५, आँखा शिविरमा परीक्षण ४० हजार ६१५ र शिविरमा सर्जरी ८८३ जनालाई सेवा उपलब्ध गराएको थियो । अर्कोतर्फ अस्पतालले विद्यालयस्तरमा आँखा परीक्षण कार्यक्रम पनि सञ्चालन गरिराखेको छ । चालु आवको हालसम्म नौ हजार ३३९ विद्यार्थीको दृष्टि परीक्षण गरेर ४९७ जनालाई निःशुल्क चश्मा प्रदान गरेको छ ।

अस्पतालले विभिन्न प्रकारका जनशक्ति उत्पादन गर्दै आएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानअन्तर्गत एमडी, अप्टोमेट्री र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्अन्तर्गत नेत्र सहायक तालिम हुँदै आएको छ । विशिष्ट सेवाका विभिन्न सेवामा छात्रवृत्ति तालिमलाई थप प्रभावकारी रूपमा सञ्चालन गर्ने लक्ष्यसमेत रहेको उनले जानकारी दिए । हाल अस्पतालमा एमडीमा १२, अप्टोमेट्रीमा २४ र नेत्र सहायकमा ३७ जना विद्यार्थी अध्ययनरत छन् । प्रमुख कार्यकारी गोसाईँले भने, ‘भविष्यमा  अस्पतालमा बिरामीको सङ्ख्या बढ्ने अपेक्षा गरिएको छ । यसका लागि अस्पतालले अहिलेदेखि नै पूर्वतयारी गर्दै आएको छ । अस्पतालले प्रदान गर्ने सेवाको उच्च गुणस्तर कायम गर्दै विशेषगरी विपन्न र सीमान्तकृत वर्गको पहुँचका लागि सर्वसुलभ सेवा उपलब्ध गराइएको छ ।’

आगामी दिनमा अस्पतालले आफ्नो न्यूनतम शुल्कमा वा निःशुल्क सेवासमेत प्रदान गर्ने नीति लिएको छ । अस्पतालले आँखा जाँच तथा परीक्षणका लागि आवश्यक उपकरण प्रत्येक वर्ष अत्याधुनिक गर्दै लगेको छ । ज्येष्ठ नागरिकमध्येमा ८० वर्ष नाघेका व्यक्तिलाई गत वर्षदेखि मोतियाविन्दु शल्यक्रियामा ५० प्रतिशत सहुलियत गरी सेवा उपलब्ध गराइरहेको छ ।

उनका अनुसार गत चार वर्षमा अस्पतालबाट सेवा लिने बिरामीको सङ्ख्यामा ५० प्रतिशतले वृद्धि भएको छ ।  गत वर्ष एक लाख ६२ हजार ९७६ बिरामीलाई सेवा प्रदान गरिएको छ । उक्त अवधिमा अस्पतालले प्रदान गर्ने शल्यक्रिया बिरामी सङ्ख्या दोब्बर वृद्धि भएको छ ।  गत वर्ष नौ हजार ९३ शल्यक्रिया गर्न सफल भएको छ । प्रमुख कार्यकारी अधिकृत गोसाईँले भने, ‘आगामी चार वर्षभित्रमा शल्यक्रिया सेवा सङ्ख्या वार्षिक १५ हजार पुर्याउने लक्ष्य अस्पतालले लिएको छ । गत दुई वर्षदेखि कम तौल र प्रिम्याच्युर जन्मेका शिशुमा हुने दृष्टि पर्दाको रोगको उपचार (आरओपी) हालसम्म ९४५ बच्चाका आँखा परीक्षण गरिएको छ ।’

विस्तारित कार्यक्रमअन्तर्गत आँखा शिविरमार्फत गत वर्ष ८४५ जनाको आँखा शल्यक्रिया गरिएको छ भने यस वर्ष करिब एक हजार ५०० शल्यक्रिया गर्ने लक्ष्य रहेको अस्पतालले जनाएको छ । अस्पतालद्वारा जारी विज्ञप्तिका अनुसार सामुदायिक आँखा स्वास्थ्य कार्यक्रमअन्तर्गत गत वर्ष ३१ विद्यालयमा आँखा जाँच कार्यक्रम, ३०  आँखा जाँच शिविर तथा ११ आँखा शल्यक्रिया शिविरमार्फत ४० हजार ६१५ जनालाई सेवा प्रदान गरी दुई ८८४ जनालाई निःशुल्क चश्मा प्रदान गरिएको छ भने यस वर्ष ५० हजार जनाको आँखा परीक्षण गरी तीन हजार ५०० निःशुल्क चश्मा वितरण गर्ने योजना रहेको उल्लेख छ ।

अस्पतालको व्यवस्थापनमा बाराको सिमरा र गोरखाको भच्चेकमा आँखा उपचार केन्द्र तथा उपत्यकाभित्र सुन्दरीजल र खोकनामा भिजन सेन्टरको सेवालाई अझ प्रभावकारी बनाई अस्पतालको रेफरल प्रणालीलाई अझ बजबुत बनाइने अस्पतालले जनाएको छ ।

अस्पतालले सरकारको नीतिअनुरुप आँखा स्वास्थ्यमा सरकारी तथा गैरसरकारी साझेदारी नीतिलाई आत्मसात् गरी सेवा प्रवाह गर्ने नीति लिएको छ । प्रमुख कार्यकारी गोसाईँले  बिरामीको सुविधाका लागि सरकारको स्वास्थ्य बिमा योजना लागू गर्ने कार्य अघि बढाइएको बताए । आगामी चार वर्षको  लक्षित बिरामी सङ्ख्या वृद्धिलाई मध्यनजर गरी थप भौतिक पूर्वाधारको निर्माण तथा हाल भइरहेको स्थानको अधिकतम सदुपयोगतर्फ ध्यान दिइने विज्ञप्तिमा उल्लेख छ ।

अस्पतालले हाल ६ वटा शल्यक्रिया कक्षबाट सेवा प्रदान गर्दै आएको छ । यसैगरी अस्पतालमा सञ्चालित विभिन्न शैक्षिक कार्यक्रमको गुणस्तरलाई कायम राख्न आवश्यक व्यवस्था गरिने पनि जनाइएको छ । 

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलबार  ९ : ५७ बजे

सिरहाको गोलबजारमा ज्यान गुमाएका युवकको घाँटीमै गोली

काठमाडौं- प्रहरीले गत आइतबार सुनसरीको देवानगञ्जमा अपनाएकै तरिकाको प्रयोग सिरहाको

विपक्षीले जवाफ माग्दा सदन नै स्थगित

काठमाडौं– देशमा भएको पछिल्लो राजनीतिक अवस्थाको विषयमा प्रधानमन्त्री बालेन्द्र शाहसँग

सामाजिक सद्भाव र शान्ति कायम गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह

काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देशका विभिन्न भागमा विकास भइरहेका पछिल्ला

सुनसरी घटनापछि मोरङमा सर्वपक्षीय बैठक (तस्बिरहरू)

मोरङ– दुई समुदायबीच सुनसरीमा हिंसात्मक झडपपछि अन्य जिल्लामा प्रदर्शन विस्तार

राष्ट्रिय एकता र सद्भाव कायम गर्न प्रधानमन्त्रीले आवश्यक समन्वय गर्नुपर्छ : वर्षमान पुन

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता वर्षमान पुनले देशमा राष्ट्रिय एकता