अहिले गर्मी मौसम चलिरहेको छ। यो मौसम वातावरणीय हिसाबले पनि स्वास्थ्यका लागि प्रतिकूल तथा संवेदनशील मानिन्छ। गर्मी मौसममा सरसफाइको कमी, सडेगलेका फलफूल, बाहिरको खाना र पानीको शुद्धतामा ध्यान नदिँदा विभिन्न संक्रामक रोगले आक्रमण गर्ने गर्दछन्। अझ विशेष गरी बालबालिका यस्ता संक्रामक रोगबाट बढी प्रभावित हुने गरेको पाइन्छ।
बासी सडेगलेका फोहोर खानेकुरा खाने, फोहोर बानीबेहोरा र फोहोर पानीको प्रयोगका कारण बालबालिकामा यस्ता संक्रामक रोग वयष्कको तुलनामा धेरै देखिने गरेको चिकित्सक बताउँछन्। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा कार्यरत बालरोग विशेषज्ञ डा. दिनेश कोइरालाका अनुसार ज्वरो आउने, पखाला लाग्ने लगायतका समस्या लिएर उपचारका लागि बाक्लै बालबालिकालाई अस्पताल ल्याउने गरिएको छ।
उनका अनुसार यस्तो समस्या लिएर १० वर्ष मुनिका बालबालिका धेरै आउने गरेको र त्यसमा पनि एक वर्ष मुनिका बालबालिका जलविनियोजनको समस्या देखिने गरेको छ। साना बालबालकालाई घर भित्रै राख्ने, आवश्यक मात्रामा पानी लगायत तरल पदार्थ नखुवाउने गर्नाले प्राय बच्चामा डिहाइड्रेशनको समस्या देखिने गरेको उनले बताए।
त्यस्तै एक वर्ष भन्दा माथि विद्यालय जाने उमेरका बालबालिका भने विद्यालय जाने, बाहिर जथाभावी खेलेर राम्रोसँग हात नधोई खाना खाने लगायत आवश्यक सरसफाइ नगर्ने भएकाले विशेष गरी झाडापखालाबाट प्रभावित हुने गरेको उनको भनाइ छ।
साना बालबालकालाई घर भित्रै राख्ने, आवश्यक मात्रामा पानी लगायत तरल पदार्थ नखुवाउने गर्नाले प्राय बच्चामा डिहाइड्रेशनको समस्या देखिने गरेको छ।
यस्ता समस्याबाट बचाउन के गर्ने ?
मुख्य गरेर अहिले गर्मीको मौसममा डिहाइड्रेशनको समस्या हुने भएकाले तरल पदार्थ प्रशस्त मात्रामा खुवाउनुपर्छ। त्यस्तै बालबालिकालाई खुला वातावरणमा खेल्न दिने गर्नुपर्छ भने अहिले पानी पर्ने समय भएकाले बाहिर खेलेर आइसकेपछि राम्रोसँग सरसफाइ गर्ने, बाहिरको खानेकुरा नखाने, घरको पानी उमालेर वा फिल्टर गरेर मात्रै खान र खुवाउन डा. कोइरालाको सुझाव छ।
झाडापखाला लाग्दा के गर्ने ?
दिनमा ३–४ पटक पातलो दिसा जानुलाई पखाला लागेको मानिन्छ। त्यस्तो अवस्थामा सबैभन्दा पहिले जीवनजल खुवाउने गर्नुपर्दछ। पखाला सँगसँगै बान्ता हुने, ज्वरो आउने, मुख सुख्खा हुने, आँखा गडेको जस्तो देखिन थाल्यो भने तुरुन्तै अस्पताल जान डा. कोइरालाले सुझाव दिएका छन्।
पहिलेको जस्तो घरमा नुन चिनी पानी बनाएर खुवाउनु उपयुक्त मानिदैन। डब्लुएचकोको मापदण्ड अनुसार शरीरका लागि चाहिने आवश्यक तत्वको मात्रा मिलाएर तयार पारिएको जीवनजल नै खुवाउनु उपयुक्त हुने डा. कोइरालाले बताए। घरमा जीवनजल बनाउँदा मात्रा मिलेन भने झन् अर्को समस्या आउनसक्ने खतरा हुने उनको भनाइ छ।
बालबालिकालाई खुला वातावरणमा खेल्न दिने गर्नुपर्छ भने अहिले पानी पर्ने समय भएकाले बाहिर खेलेर आइसकेपछि राम्रोसँग सरसफाइ गर्ने, बाहिरको खानेकुरा नखाने, घरको पानी उमालेर वा फिल्टर गरेर मात्रै खान र खुवाउन चिकित्सकको सुझाव छ।
अभिभावकलाई सल्लाह
बालबालिकालाई बारम्बार रुघाखोकी लाग्ने, ज्वरो आउने जस्तो समस्या भइरहेको छ भने बालरोग विशेषज्ञ चिकित्सकलाई देखाइहाल्न डा. कोइरालाको सुझाव छ।
त्यस्तै अहिलेको मौसम भनेको विभिन्न फ्लूको संक्रमण फैलाउने बेला भएकाले फ्लूविरुद्धको भ्याक्सिन लगाउने। घरमा बच्चालाई चाहिने आवश्यक तत्त्वहरु पाइने खाना जस्तै दालभात, तरकारी, हरियो सागसब्जी, फलफूल, माछामासु खुवाउने साथै पानी लगायत तरल पदार्थ पनि प्रशस्त मात्रामा खुवाउन उनले सल्लाह दिएका छन्।
सरसफाइमा ध्यान दिने, बाहिरको खानेकुराको प्रयोग कम मात्रामा गर्ने र स्वास्थ्यमा केही समस्या देखियो भने जतिसक्दो चाँडो स्वास्थ्य संस्थामा जानुपर्छ।
धेरैपटक पातलो दिसा, बान्ता र ज्वरो आयो, आँखा गड्यो, थोरै मात्रामा पिसाब गर्न थाल्यो भने तुरुन्तै अस्पताल लैजानुपर्छ।
धेरैपटक पातलो दिसा, बान्ता र ज्वरो आयो, आँखा गड्यो, थोरै मात्रामा पिसाब गर्न थाल्यो भने तुरुन्तै अस्पताल लैजानुपर्छ। किनकी बच्चाले पिसाब थोरै मात्रामा गर्न थाल्यो भने त्यसले पछि गएर किड्नीलाई असर गर्न थाल्छ। त्यसैले आफ्नो बच्चाहरुले समयमा पिसाब गरेको छ कि छैन भन्न्ने कुराको पनि ख्याल गर्नुपर्ने डा. कोइरालाले बताए।
प्रतिक्रिया