ऐतिहासिक पनौती हिलेजात्रा मनाइँदै | Khabarhub Khabarhub

ऐतिहासिक पनौती हिलेजात्रा मनाइँदै


२५ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काभ्रे– काभ्रेको पनौतीमा हिलेजात्रा (ज्याःपुन्ही) मनाइँदैछ । जात्रा सोमबारदेखि सुरु हुँदैछ । पनौतीवासीले त्रयोदशीदेखि पूर्णिमाको रात  रहुन्जेल (जेठ २६ देखि २८गतेसम्म)  हिलेजात्रा मनाउँछन् ।

जात्रा सकिएको भोलिपल्टदेखि खेतको काम थाल्ने यहाँको प्रचलन रही आएको छ । यहाँका वुढापाकाहरु ‘जेष्ठ शुक्ल पूर्णिमाका दिन जात्रा नमान्ने र मङ्सिर पूर्णिमाको रात निद्रा नपुर्‍याउनेले कहिल्यै सुख पाउँदैन’ भन्ने मान्यता राख्छन् ।

जात्रा मनाएको चार दिनदेखि पनौतीमा हुरीबतास चल्छ, अनि वर्षा सुरु हुने मान्यता समेत रहेको छ । यहाँको जनविश्वासअनुसार जात्राको अन्तिम दिन पनि वर्षा हुनैपर्छ । प्रत्येक वर्ष यस्तै हुँदै आएको यहाँका स्थानीयवासीसँग अनुभव पनि छ । स्थानीय बुढापाकाको भनाइमा जिल्लाको पनौती जात्रामा सामेल हुनैपर्ने परम्परागत तथ्य पनि छ ।

जात्रा सकेर खेतमा रोपाइँ सुरु गर्ने परम्परा पहिल्यैदेखि चलिआएकोले यसलाई हिलेजात्रा अर्थात् नेवारी भाषामा ज्याःपुन्हीसमेत भन्ने गरिएको हो ।

किंवदन्तीअनुसार परापूर्वकालमा यसै समयमा पनौती पारिपट्टिका ब्रह्मायणी र भद्रकालीको पूजा गर्न जान समस्या परेपछि ललितपुरको बुङ्मतीबाट वासुकी नाग पनौती आएर पुण्यमाताको उर्लँदो बाढीमा पुलजस्तै तेर्सो परी देवतालाई तार्ने काम गरेका थिए । त्यसैको स्मरणमा जात्रा सुरु गरिएको मानिँदै आइएको स्थानीय विकुनारायण ताम्राकार बताउँछन् ।

करिब पचास मिटर चौडा पुण्यमाता खोलामा हरेक वर्षको त्रयोदशीका दिन नागको प्रतीकका रूपमा दुईवटा बाँस तेर्साइने र एक घण्टा लगाएर तर्ने गरिन्छ । तीन दिनसम्म मनाइने यो जात्रालाई स्थानीय पर्वमध्येको निकै ठूलो जात्राका रूपमा लिने गरिएको छ । जात्रा मनाउने क्रममा त्रयोदशीका दिन खोला तर्ने काम सकिएपछि चतुर्दशीका दिन पनौती नगरका सम्पूर्ण देवीदेवताका मठमन्दिरमा पूजाअर्चना गरिन्छ ।

यस्तै इन्द्रेश्वर महादेव मन्दिरको पूर्वमा रहेको गणेशको मूर्तिलाई खटमा राखी धुमधामका साथ नगर परिक्रमा गराइन्छ । जात्राको मुख्य आकर्षण अर्थात् पूर्णिमाका दिन सबेरै बजारमा भद्रकाली, महादेव र इन्द्रेश्वरका तीनवटा रथको भागदौड गराउने र रथ भेटिँदा रथलाई एकापसमा जुधाउने काम हुन्छ । यही क्रियाकलापलाई जात्राको मुख्य आकर्षणका रूपमा लिँदै युवायुवतीको सहभागिता उत्साहजनक रहने गर्छ ।

स्थानीय वृद्धवृद्धाको भनाइमा पूर्णिमाको दिन भद्रकालीले ६४ योगिनीको एउटै रुपधारण गरी कामोत्तेजक भई महादेवलाई लखेट्छिन् । महादेव भने त्रिवेणीमा हामफाली लुक्छन् तर त्यहाँ पनि भद्रकालीले नछाडेपछि महादेवले उन्मत्त भैरवको रूपधारण गरी भद्रकालीलाई भगाउँछन् । भाग्ने र पिछा गर्ने कार्यका रूपमा रथ जुधाइन्छ । रथ जुधाईसँगै अबिरजात्रा पनि हुन्छ । लखेट्दै गएर भैरवले चौतर्फी घेराबाट भद्रकालीलाई बीचमा पारेपछि पछाडिबाट ठक्कर दिन्छन् भने अगाडिबाट आएका इन्द्रेश्वर महादेवले पनि अगाडिबाटै धकेल्छन् । सोही क्रममा ब्रह्मायणी भने शान्त स्वभाव प्रस्तुत गर्छिन् । धार्मिक विश्लेषणका आधारमा रथ जुधाउने परम्परा रहेको छ । रथ जुधाउँदा जोश झनै बढ्ने भएकाले युवायुवती अबिरजात्रासहित रथ जुधाउन तछाडमछाड गर्छन् ।

इन्द्रेश्वर मन्दिरका पुजारी रमेश जंगमका अनुसार रथ जुधाईमा कामोत्तेजक कार्य प्रदर्शन गर्नुपर्ने भएकाले पहिलेपहिले झिसमिसे अगावै रथ जुधाइने गरिएको थियो । विशेषतः काम–क्रिडासँग सरोकार राख्ने जात्रा भएकाले मध्यरातदेखि झिसमिसेको बीचमा समापन गर्नुपर्ने मान्यता रहिआएको थियो तर, पछिल्ला केही वर्षदेखि देवतारुपी रथलाई दिउँसो जुधाउने गरिएको छ ।

जात्राको परम्पराअनुसार विशेष पूजामा सामग्री, सुकुण्डा बोकेर कर्माचार्य (आचाजू)हरू सुस्तरी हिँड्नुपर्छ । यो परम्परालाई नेवारी भाषामा न्ह्यायकेगू भन्ने भनिन्छ । कर्माचार्य खोलापारी गोरखनाथ पुगेपछि नाग आसनबाट उठ्ने भएकाले ती नागराजाको कृपाले पानी र रोपाइँ सफल हुने जनविश्वास गरिन्छ । कुनै वर्ष कारणवश जात्रा रोकेमा पनौतीमा ठूलो अनिष्ठ हुने, खडेरीले दुःख दिनेजस्ता आध्यात्मिक विश्वास मनमा पाल्नेले जात्रालाई निरन्तरता दिएको विश्वास गरिँदै आइएको छ ।

अर्को रोचक प्रसङ्ग, जात्रामा चिउली र केरा खाएर घुम किन्नुपर्ने मान्यता छ । जात्रामा चिउली चपाएर जिब्रो पड्काउँदै युवायुवती हौसिएका देखिन्छन् । स्थानीयले जात्रा अवत्रिभर आफ्ना पाहुना बोलाई स्वागत सत्कारकासाथ भोज गरिन्छ । भोजका लागि प्रत्येक घरमा बलिदिने प्रथा अझै कायम रहेको बताइन्छ ।

किंवदन्तीअनुसार राजा प्रताप मल्लले रानीपोखरी बनाइसकेपछि विभिन्न तीर्थस्थलको जल राख्ने क्रममा पनौतीस्थित त्रिवेणीघाटको जल पनि राखेको शिलालेखमा उल्लेख छ । तीन नदीको सङ्गमस्थल त्रिवेणीघाटमा पुण्यमाता र रोशी खोलाबाहेक पार्वती नदी गुप्त रूपमा बहिरहेको मान्यता रहेको छ ।

भारतको प्रयागमा गङ्गा र यमुना नदीको संगममा गुप्त रूपले सरस्वती मिसन नदी बहेझैँ पनौतीस्थित रोशीलाई रुद्रावती नदी, पुण्यमाता नदीलाई लिलावती र गुप्तरुपले बहेकी ब्रह्मायणी मन्दिरको मुनिबाट दूध बग्ने नदीलाई पद्मावती मानिँदै आइएको छ । (रासस)

प्रकाशित मिति : २५ जेठ २०८२, आइतबार  १० : ०० बजे

तीनै तहका सरकारले अनावश्यक खर्च गर्नु हुँदैन : डा प्रकाशशरण महत

काठमाडौं– नेपाल विद्यार्थी सङ्घबाट राजनीतिक यात्रा सुरु गरेका नेपाली कांग्रेसका

प्रतिपक्षीले विरोध जनाए पनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुन्छ : सभामुख

काठमाडौं– भिजिट भिसा प्रकरणमा प्रतिपक्षीले विरोध जनाए पनि प्रतिनिधिसभाको बैठक

प्रेमिकालाई ङ्याँकेर मारेको आरोपमा भारतको हैदरावादमा एक नेपाली पक्राउ

काठमाडौं– प्रेमिकालाई ङ्याँकेर मारेको आरोपमा भारतको हैदरावादमा एक जना नेपाली

मनै लोभ्याउने शैलुङको सुन्दरता (तस्बिरहरू)

काठमाडौं– दोलखास्थित सुन्दर पर्यटकीय क्षेत्र शैलुङ देशकै सुन्दर, रमणीय पर्यटक

सप्तकोशीमा बेपत्ता सशस्त्रका अर्का जवानको पनि शव भेटियो

काठमाडौं- विपद् पूर्वाभ्यासको क्रममा गत जेठ २२ गते कोशी बराजस्थित