उत्तर-उत्तरआधुनिकतामा पुस्तकालय : डिजीआधुनिकतादेखि मेटाआधुनिकतासम्म | Khabarhub Khabarhub

उत्तर-उत्तरआधुनिकतामा पुस्तकालय : डिजीआधुनिकतादेखि मेटाआधुनिकतासम्म



पुस्तकको प्राचीन स्वरूप सुमेरिया असिरियामा करिब ३५०० ई.पू. अघि क्युनिफर्म लिपिमा लेखिएका माटाका ट्याब्लेट्सदेखि वर्तमान अवस्थाका इ-ट्याब्लेट्ससम्म आइपुग्दा पुस्तकालयले परिवर्तनका विभिन्न स्वरुप र चरणहरू पार गर्दै आएको छ । पुस्तकालय मात्र नभइ विश्वका हरेक क्षेत्र परिवर्तित छ । परिवर्तनको मुख्य कारण मानव सभ्यतामा भएको विकास, मानव खोज तथा नवप्रवर्तन हो ।

मानव सभ्यताको विकाससँगै विश्वले विभिन्न युग/कालहरूलाई पार गर्दै हाल उत्तर-उत्तरआधुनिक युगमा विचरण गरिरहेको छ । युग परिवर्तनको मुख्य कारण पनि मानव सभ्यतासँगै सूचना प्रविधिमा द्रुतगतिमा भएको विकास र परिवर्तन हो । परिवर्तनको प्रभाव शिक्षा, सूचना, सूचना सम्प्रेषण, ज्ञानको संरचना र प्रणालीमा गहिरो रूपमा परेको छ । यस्तो प्रभाव पुस्तकालयमा झनै सशक्त रूपमा परेको छ र हुनु आवश्यक छ ।

आदिमकालमा पुस्तकालय माटाका ट्याब्लेट्स, पपाइरस रोल, कोडेक्स, पार्चमेन्ट, भोजपत्र, ताडपत्र आदिको सङ्‍कलकका रूपमा परिचित थियो । समय क्रमसँगै पुस्तकालय एक स्थिर र गहिरो अध्ययन केन्द्रको रूपमा विकसित हुँदै गयो । परम्परागत र आधुनिक युगमा पुस्तकालय सूचना सङ्‍कलन र भण्डारणको रूपमा परिचित थियो भने उत्तर आधुनिक युगमा पुस्तकालयको भूमिकामा परिवर्तन भई ज्ञान र प्रयोगकर्ताबीच प्राविधिक सामान्जस्यता ल्याउने प्रयासमा केन्द्रित रह्यो ।

वर्तमानमा विश्वले उत्तर-उत्तरआधुनिक युगमा पखेटा फिँजाइ रहँदा पुस्तकालयको कार्यशैली तथा भूमिका पनि पुनः परिभाषित हुँदै गइरहेको छ । सूचना प्रवाह, प्रविधि, र ज्ञानको भूमण्डलीकरणको यो उत्तर-उत्तरआधुनिक युगमा पुस्तकालयहरू किताब राख्ने स्थान मात्र नभई मानव चेतनाको गतिशील केन्द्र बन्दै गइरहेका छन् र बन्नु अपरिहार्य छ ।

के हो उत्तर-उत्तरआधुनिकता (पोस्ट–पोस्टमोडर्निजम) ?

उत्तर-आधुनिकताको समयपश्चात् विकसित एक वैचारिक धार हो उत्तर-उत्तरआधुनिकता । यो एक दार्शनिक, सांस्कृतिक र कलात्मक आन्दोलन हो । यसको उत्पत्ति सन् १९९० अथवा २०औं शताब्दीको अन्त्यबाट उत्तर-आधुनिकताको प्रभाव कम भएसँगै भएको हो । यसमा उत्तर-आधुनिकता (पोस्टमोडर्निजम) मा देखिएका विखण्डनवाद, सापेक्षतावाद र अस्थायित्वको विकल्पको रूपमा पुनः संरचना, उत्तरदायित्व, सहकार्यका साथै नयाँ सत्य, अर्थ र संरचना खोज्ने प्रयास गरिएको छ ।

यस युगको वैचारिक केन्द्रका रूपमा पुनः आशावाद, सहभाव, सहअस्तित्व, सामाजिक प्रतिबद्धता रहेका छन् । उत्तर-उत्तरआधुनिकताले डिजिटल युगसँग गहिरो सम्बन्ध राख्दछ । आर्टिफिसियल इन्टेलिजेन्ट (एआई), खुला ज्ञान (ओपन नलेज), अन्तर्क्रियात्मक सञ्चारपद्धति आदिमार्फत् सामाजिक, आर्थिक, साँस्कृतिक, शैक्षिक प्रणालीहरूको पुनः संरचना (निर्माण) गर्नु उत्तर-उत्तरआधुनिकताको विशेषता हो ।

यस वैचारिक धारमा सूचना व्यवस्थापनमा नयाँ प्रविधिको प्रयोग, समावेशी विचारधारा, उत्तरदायी र अर्थपूर्ण सहभागिता प्राथमिकतामा रहेका छन् । उत्तर-उत्तरआधुनिकता सन्देहपूर्ण भन्दा पनि सन्दर्भसापेक्ष हुने गर्छ, जुन समयको गतिशीलतासँगै टिकाउ र मानवीय भावनालाई आत्मसात गर्ने हुन्छ । समाजका अन्य क्षेत्रमा जस्तै यस विचारधाराको प्रभाव पुस्तकालयमा पनि घनिभूत रूपमा परेको छ ।

यस युगमा पुस्तकालय ज्ञान सङ्‍कलन र प्राप्तिको स्थान मात्र नभई ज्ञानको प्रयोग, निर्माण, पुनःर्निर्माण तथा सिर्जनात्मक सहभागिताको केन्द्रका रूपमा परिचित हुँदै गइरहेको छ । यस अर्थमा पुस्तकालयलाई उत्तर-उत्तरआधुनिताका आधारहरूमा टेक्दै पुनःपरिभाषा र कार्यशैली तथा भूमिकालाई पुनः निर्माण गर्नु अपरिहार्य छ । यस लेखमा उत्तर-उत्तरआधुनिकताका तीन धारहरू डिजीआधुनिकता, अल्टरआधुनिकता र मेटाआधुनिकतालाई पुस्तकालयको सन्दर्भमा विश्लेषण गर्ने प्रयास गरिएको छ ।

डिजीआधुनिकता (डिजी मोर्डनिजम) र पुस्तकालय

ब्रिटिश चिन्तक एलेन किर्वीले सन् २००९ मा “ डिजी मोर्डनिजम : हाउ न्यु टेक्नोलोजिज डिस्मेन्टल द पोस्टमोर्डन एण्ड रिकन्फिगर आवर कल्चर” नामक पुस्तक मार्फत उत्तरआधुनिकताको अन्त्य र डिजिटल युगको आरम्भका रूपमा डिजीआधुनिकता (डिजिमोर्डनिजम) शब्दको प्रयोग सुरु गरेका हुन् ।

उनका अनुसार डिजिआधुनिकता डिजिटल युगको साँस्कृतिक विचार वा तर्क हो जहाँ प्रयोगकर्ताहरू सिर्जनाकार हुन्छन्, सूचना (ज्ञान) खुला (ओपन इन्डेड) हुन्छन् र सत्यहरू प्रदर्शित हुन्छन् अथवा “डिजिमोर्डनिजम इज द कल्चर लोजिक अफ द डिजिटल एज ह्वेयर युजर्स आर ओपन इन्डेड एण्ड ट्रुथ इज पर्फरमेटिभ” ।

यस वैचारिक धार अनुसार पुस्तकालय प्रयोगकर्ताहरू पाठक मात्र नभई सूचनाको सर्जक पनि हुन् । पाठकहरू विकिपिडिया सम्पादन गर्ने, ब्लग निर्माण गर्ने, आफ्ना डिजिटल फाइलहरू शेयर गर्ने आदि कार्यमा सक्रिय रहन सक्छन् । पुस्तकालयले आफ्ना प्रयोगकर्ता इन्गेजमेन्टलाई प्रोत्साहन गर्न, स्थायी सङ्‍ग्रहलाई भन्दा जीवन्त सामग्री (लिभिङ अर्काइभ्ज) प्रणालीलाई प्रोत्साहन गर्नुपर्छ ।

पाठकका व्यक्तिगत अनुभव,टेस्टिमोनियल, ओरल हिस्ट्रिज, अथवा युजर सब्मिटेड न्यारेटिभ्सलाई समेटेर पुस्तकालय सामग्रीलाई प्रवर्द्धन गर्नु पर्छ । डिजिआधुनिकतामा सूचना/ज्ञान सामाग्री भन्नाले पुस्तकमात्र नभएर अडियो, भिडियो, पोर्डकास्ट, एआईद्वारा निर्मित ज्ञान/सूचना सामाग्री, इन्फोग्राफिक आदि पनि हुन् ।

डिजिआधुनिकताको अर्को महत्वपूर्ण पाटोको उक्त डिजिटल सूचना सामग्रीका लागि डिजिटल साक्षरता प्रदान गर्नु रहन्छ । पुस्तकालयले आफ्ना पाठक वा प्रयोगकर्ताहरूलाई डिजिटल सूचनाको छनोट, मुल्याङ्कन र इमान्दारितापूर्वक प्रयोग गर्ने तरिका सिकाउनुपर्छ ।

तसर्थ डिजिआधुनिकता पुस्तकालयका लागि सैद्धान्तिक बहस मात्र नभएर एक रणनीतिक औजार हो जसले पुस्तक राख्ने स्थानबाट सृर्जनशीलता, सहभागिता र संवादको डिजिटल थलो, ज्ञान/सूचना सङ्कलन केन्द्रबाट ज्ञान/सूचनाको सह-निर्माणकर्ताको रूपमा र नयाँ आध्यात्मिकता, नयाँ सत्य र वास्तविकताको पुनः खोजी गर्ने थलोको रूपमा रूपान्तरण गर्न मार्गनिर्देश गर्छ ।

अल्टरआधुनिकता (अल्टरमोर्डनिजम) र पुस्तकालय

फ्रान्सेली कलाका समालोचक निकोलस बोरिअडले सन् २००९ मा ब्रिटेनमा आयोजना गरेको एक कार्यक्रममा अल्टरआधुनिकता (अल्टरमोर्डनिजम) शब्द सार्वजनिक गरेका थिए । अल्टरआधुनिकता भन्नाले उत्तरआधुनिकताको विकल्पमा आएको एक नयाँ साँस्कृतिक आयाम हो ।

विश्वव्यापीकरणको युगमा आधुनिकतालाई पुनः संरचना तथा पुनः परिभाषा गर्ने प्रयास अल्टरआधुनिकता हो । यो अवधारणाको मुख्य विशेषता विविध संस्कृति, दृष्टिकोण तथा सन्दर्भहरूका बीच अनुवाद, संवाद र संयोजन कायम राख्नु हो । सर्जक, रचनाकार वा कलाकारहरू स्थिर नरही विभिन्न संस्कृतिहरूको बौद्विक भ्रमण (अध्ययन, अनुशन्धान, तथा सिर्जना) गरी अनुभवहरूको सञ्चय गर्दछन् र सूचना तथा संस्कृतिहरूलाई केवल एक केन्द्रमा मात्र सीमित नराखी एक आपसमा सम्बन्धित विभिन्न टापुहरू (आर्किपेलागो लजिक) मा स्थापित हुन्छन् ।

जस्तै विभिन्न भाषाभाषी, जातजाति र भौगोलिक विविधतामा आधारित सूचनाहरू, प्राविधिक ज्ञान आदिलाई पुस्तकालयले सूचना संरचना, डिजिटल क्षमता र पहुँचको आधार तथा भाषिक सञ्जाल आदि मार्फत् संयोजन गर्ने गर्छन् । (उदाहरणका लागि एकै साथ इन्डिजिनिअस ओरल हिस्ट्रिज, एकेडेमिक रिसर्च र डिजिटल भिडिओ अर्काइभ्ज‍ एउटै स्थानमा उपलब्ध गराउने ।)

अल्टरआधुनिकताले मानकीकरण (स्टेन्डर्डाइजेशन) लाई अस्वीकार गर्दछ र आवाज विनीहरूका आवाजलाई समेट्नु पर्ने मान्यता राख्दछ । एकरुपताको अस्वीकार र विविधताको स्वीकार गर्दछ । यस दृष्टिकोण अनुसार पुस्तकालयले विश्व टुक्रिएको छैन भन्ने भावका साथ विविधता कायम राख्दै एकै छानामुनि सूचनाहरू सन्दर्भगत रूपमा सङ्‍कलन तथा सम्प्रेषण गर्ने गर्दछन् । विभिन्न भाषा, समुदाय, प्रविधि बीचमा संवाद सम्भव छ भन्ने वैकल्पिक आवाजहरूलाई केन्द्रमा राख्ने नवसंरचना निर्माण गर्दछन् ।

मेटाआधुनिकता (मेटामोर्डनिजम) र पुस्तकालय

मेटाआधुनिकता रोबिन भान डेन आक्कर र टिमोथियस वर्म्युलनले अघि सारेको साँस्कृतिक दर्शनको सिद्धान्त हो । यस दृष्टिकोणले आधुनिकता र उत्तरआधुनिकताले सिर्जना गरेका विरोधाभासलाई नयाँ सोचमा परिणत गर्दछ । मेटामोर्डानिजम न त पूर्ण आधुनिक छ न पूर्ण उत्तरआधुनिक । यो आधुनिकता र उत्तरआधुनिकताको सन्तुलन गर्ने मध्यवर्ती चेतना हो ।

मेटाआधुनिकताले यथार्थताको आलोचना गर्दै परिवर्तनको सम्भावनालाई अँगालेको हुन्छ । यसले अपूर्णतालाई सुधार्ने र स्थिरतालाई परिवर्तनशील बनाउने मान्यता राख्दछ । मानव अनुभवलाई तर्कपूर्ण पक्षका रूपमा मात्र नभइ संवेदनात्मक पक्षको रूपमा स्वीकार गर्दछ । बहुसंस्कृति, बहुभाषा, बहुधर्म, बहुधारणा, बहुदृष्टिकोण आदिलाई द्वन्द्वका रूपमा होइन सम्बन्धका रूपमा स्वीकार गर्दछ ।

ज्ञान/सूचनालाई स्थिर रूपमा नहेरी बहुदृष्टिकोणलाई समेट्ने अथवा इन्क्ल्युजिभ नलेज स्पेसका रूपमा स्थापित गर्ने प्रयास गर्दछ । यस दृष्टिकोण अनुसार पुस्तकालय सूचना भण्डारण गर्ने स्थान नभई संवाद, सृजनशीलता र विचार आदानप्रदान गर्ने स्थानका रूपमा रहन्छ । तथ्य र भावना दुवैको समायोजन हुन्छ । मेटाआधुनिकतामा पुस्तकालयमा हाइब्रिड मोडलको सेवालाई प्राथमिकता दिइन्छ जहाँ प्रविधि औजार हो भने मानवीय सम्बन्ध र उचित सूचना संप्रेषण सेवा हो ।

पुस्तकालय समुदाय केन्द्रित भई समुदायको भावना र आवश्यकतालाई सम्बोधन गर्न अग्रसर रहन्छ । सूचना प्रवाह वा संप्रेषणलाई नैतिकता र सूचनाको संवेदनशीलतासँग जोडिन्छ । पुस्तकालयले आफ्ना प्रयोगकर्तालाई फेक न्युज, सूचनाको गोपनियता आदि विषयमा सुसूचित गराउँदै सहि सूचना प्राप्त गर्न सक्ने क्षमता विकास गर्न सहयोग गर्दछ । तसर्थ मेटाआधुनिकतामा पुस्तकालयलाई प्रविधियुक्त, मानवमूल्यमा आधारित सामाजिक संवाद तथा अन्तर्क्रिया गर्ने संवेदनशील स्थानका रूपमा परिभाषित गर्न सकिन्छ ।

अन्त्यमा

आदिम युगदेखि उत्तर-उत्तरआधुनिक युगसम्म आइपुग्दा पुस्तकालयको स्वरुप, भूमिका, उद्येश्य तथा कार्यमा आमूल परिवर्तन आएको छ । डिजिआधुनिकता, अल्टरआधुनिकता तथा मेटाआधुनिकता जस्ता उत्तर-उत्तरआधुनिकताका वैचारिकधारहरूले पुस्तकालयलाई सूचना भण्डारण गर्ने स्थानको रूपमा मात्र नहेरी समावेशी, संवेदनशील, प्रयोगकर्ता केन्द्रित संवादको केन्द्रका रूपमा रूपान्तरण गर्न दिशानिर्देश गरेका छन् ।

आजको पुस्तकालय भनेको सूचना प्रवाह, सामाजिक सहभागिता, नवप्रवर्तन, डिजिटल साक्षरता आदिको संयोजन हो जसले मानव चेतना र समुदायबीचको सम्बन्धलाई गहिरो बनाउँछ । तसर्थ पुस्तकालयलाई समयानुकुल परिवर्तन गर्दै नयाँ विचारधारका आधारमा पुनःपरिभाषित गर्दै प्रविधिमैत्री, मानवीय मूल्य र मान्यताको आत्मसात गर्ने, सामाजिक संवेदनशीलतामा आधारित सूचना सञ्जालको केन्द्रका रूपमा परिमार्जन र रूपान्तरण गर्नु आजको आवश्यकता हो ।

– भट्टराई त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयकी पुस्तकालय अधिकृत हुन् ।

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  ५ : ४३ बजे

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।