काठमाडौं- हरेक क्षेत्रमा महिला सहभागिता र समानताको आवाज उठाउँदै आएकी डा. बिन्दा पाण्डे एमालेमा बौद्धिक नेतृ हुन् । एमालेकी स्थायी कमिटी सदस्य उनी भाटभटेनी सुपर मार्केटका मालिक मीनबहादुर गुरुङबाट भवन बनाउन जग्गा दान लिएपछि अध्यक्ष केपी शर्मा ओलीविरूद्ध उत्रिएकी थिइन् । २०८१ साल असोज २५ गते ओलीले मीनबहादुरबाट एमालेको भवन बनाउन कीर्तिपुरस्थित जग्गा लिएपछि उनले फेसबुकमा अध्यक्ष ओलीविरूद्ध लेखेकाले ६ महिना निलम्बनमा परेकी थिइन्। अर्की केन्द्रीय सदस्य उषाकिरण तिम्सेना पनि निलम्बनमा परिन् । अहिले उनीहरूको निलम्बन फुकुवा भएको छ । एघारौँ महाधिवेशन आइरहँदम पाण्डेको नाम पदाधिकारीमा छ । तर उनले सचिव हुने कुरा अस्वीकार गरिन् । उपमहासचिव अथवा महिला उपाध्यक्षमा उम्मेदवारी दिने उनकाे तयारी छ । यसबारे प्रश्न गर्दा भन्छिन्, ‘मैले आफ्नो ढङ्गले तयारी गरिरहेको छु । मेरो कुरा के हो भने प्यानलमै भन्दा स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराउन पाउनुपर्छ।’ एमालेमा संस्थापन इतर ईश्वर पोख्रेल समूहमा रहेकी उनी प्यानलगत उम्मेदवारीलाई विश्वास गर्दिनन् । उनी भन्छिन्, ‘हाम्रा प्रतिनिधिहरूले प्यानललाई भोट हाल्दैनन्, त्यो कुरा आठौँ र नवौँ महाधिवेशनमा पनि देखिसकेका छौँ ।’
उनी अध्यक्ष ओलीले अहिले नेतृत्व छाडेर सम्मानपूर्वक अभिभावकीय भूमिकामा बस्नुपर्ने कुरा बताउँदै आएकी छिन् । उनी ओलीमा व्यक्तिवादी र प्रतिशोधपूर्ण व्यवहार हाबी हुँदा राजनीतिलाई ठीक बाटोमा नलाने दाबी गर्छिन् । पाण्डे एघारौँ महाधिवेशनमा प्रतिनिधिले विवेक पुर्याएर नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको पक्षमा मतदान गर्नुपर्ने सुझाव दिन्छिन् । भन्छिन्, ‘कमरेड ओलीले विगत लामो समयदेखि पार्टीको आन्तरिक लोकतन्त्रबारेमा मान्यता स्थापित गर्नुभएको छ। उहाँले पार्टीको बहुदलीय जनवाद र आन्तरिक लोकतान्त्रीकरण भन्ने किताब नै लेख्नुभएको छ । आफूले स्थापित गरेका मूल्य र मान्यता अनुसार केपी कमरेडले अहिले प्रतिस्पर्धामा जानु उचित हुँदैन । अब एमालेको ११औँ महाधिवेशनमा नवयुवा पुस्ताले उठाइरहेको माग र आन्दोलनले स्थापित गरेका मूल्य मान्यतालाई समेट्ने नेता चुन्नुपर्ने दाबी गर्छिन् । पाण्डेसँग पार्टीको एघारौँ महाधिवेशनका विविध पक्षमा गरिएको कुराकानीको सम्पादित अंश :
महाधिवेशन आउन ६ दिन मात्रै बाँकी छ, तयारी के हुँदै छ ?
म परिस्थितिले के माग गर्छ, त्यसको तयारीमा छु। तर एमाले यथास्थितिमा चल्न सक्दैन भन्ने पक्षमा म दृढ छु।
यहाँ त सचिवमा तयारी गर्दै हुनुहुन्छ रे हो ?
म सचिवमा लड्दिनँ। अरू पदमा छलफल भइरहेको छ।
महाधिवेशनबाट फेरि उही पुरानै नेतृत्व आउने सम्भावना छ, रोक्न के तयारी छ ?
पर्सनल तयारी छैन। तर देशभरबाट झन्डै साढे २२ सय प्रतिनिधि साथीहरू हुनुहुन्छ। ती प्रतिनिधि ख्याल ख्यालमा आउनु भएकाे हाेइन । १०औँ वर्ष एमालेमा काम गरेर आएका प्रतिनिधि हुन्। उहाँहरूले भूगोलमा कसको नेतृत्व जितायो भने भोलि भूगोलमा सहज हिसाबमा पार्टीको नाममा निर्वाचन लड्न सकिन्छ भनेर विवेक पुर्याउने प्रतिनिधि आउनुभएको छ। नयाँ-पुरानो भन्दा निर्वाचनमा प्रतिनिधिले विवेक प्रयोग गरेर नेतृत्व चयन गर्नुहुन्छ भन्ने लाग्छ।
यसपटक एमालेको नेतृत्व परिवर्तन हुन्छ त ?
जसरी अहिले यसको पक्षमा यति, यसको पक्षमा यति भनेर जुन हिसाबको गणना आइरहेको छ । अहिलेको समयले माग गरेको कुरा भनेको विद्यमान नेतृत्वलाई बोकेर आमनागरिकमा जान सहज छैन । आमनागरिकको बीचमा जान हामीले नयाँ अनुहारलाई नेतृत्वमा स्थापित गर्नुपर्छ। यस्तो नभए नेतृत्वमात्रै विस्थापित हुने होइन, पार्टी नै जनताबाट विस्थापित हुन सक्छ । त्यसो गर्न दिनुहुँदैन भन्ने कुरामा लागेका छौँ ।
यहाँ त अध्यक्ष ओलीको कार्यशैलीमा प्रश्न उठाउँदा कारबाही भोगेको मान्छे। यसपटक कुन समूहमा रहने ? ईश्वर पोखरेललाई साथ दिने कि ओली समूहमै रहने ?
मेरो कुरा के हो भने प्यानल बनाएर चुनाव लड्दा गलत हुन्छ । जो मान्छे जे पदमा लड्न चाहन्छ छोडिदिनुपर्छ, तर लिस्ट बाँडेर प्यानल नै बनाउने कुरा ठीक छैन । उम्मेदवारी योग्यता पुगेका व्यक्तिको अधिकारको कुरा हो । इच्छाअनुसार दिनुपर्छ । तर नेताहरूले प्यानल बनाउन खोजे पनि हाम्रा प्रतिनिधिले प्यानललाई भोट हाल्दैनन् । त्यो कुरा ८औँ र ९औँ महाधिवेशनमा पनि देखेका छौँ । त्यसकारण प्यानलाई प्रतिनिधिले भोट हाल्दैनन् भन्ने कुरा स्थापित भइसकेको छ । यो मेरो प्यानल, त्यो मेरो प्यानल भनेर नेताहरूले कार्यकर्तालाई विभाजन नगरिदिए हुन्छ । पार्टीभित्रको निर्वाचन र महाधिवेशनमा नेताहरूलाई रेखाङ्कन गर्ने गरी विभाजन गर्नु ठिक छैन ।
नेतृत्व परिवर्तनको कुरा उठाइरहनुभएको छ, पुनः उहाँ (ओली) नै आए त समस्या होला नि ?
राजनीतिमा प्रतिशोधको भावना लिएर बस्यो भने त्यो मान्छे नेता हुँदैन । राजनीतिलाई इस्युवाइज हेर्नुपर्छ । हामीले केपी कमरेडले मीनबहादुरको जग्गामा कार्यालय शिलान्यास गरे भनेर आवाज उठाएको होइन । गलत भयो भनेर बोलेको हो । र, हाम्रो कुरामा देशभरका कार्यकर्ता र नेताले पनि समर्थन गर्नुभएको थियो । उसबेला हामीलाई कारबाही गर्नुभयो, अब सकियो । अब कारबाही भोगियो भनेर हामीले ठीक कुरालाई पनि गलत भन्ने सोच राख्नु हुँदैन । त्यो विषयमा कुरा उठाएर कारबाही परेको भनेर उहाँहरूले पनि हामीमाथि प्रतिशोधको भावना राख्नुहुँदैन । प्रतिशोध र व्यक्तिवाद हाबी भयो भने त्यसले राजनीतिमा ठिक बाटोमा लाँदैन । अहिलेको एमालेको मूल समस्या पनि नेत्तृतवमा प्रतिशोधको भावना हुनु हो । आउने महाधिवेशनले यसको समस्या समाधान गर्छ भन्ने लाग्छ ।
अर्को कुरा, एमालेमा पुरानै नेतृत्व आएको खण्डमा पार्टी पुनः फुट्छ भन्छन् नि ?
नयाँ र पुरानो भन्ने छैन । महाधिवेशन भएपछि जो निर्वाचित हुन्छ त्यो नयाँ नेता हो । त्यही व्यक्ति आए पनि नयाँ नेतृत्व हो । नयाँ विचार नयाँ आवश्यकता र नयाँ मागलाई सम्बोधन गरेर जानुपर्छ । खोलामा बगेको पानी र अद्यावधिक भएर क्रियाशील भएको पार्टी जहिले पनि जीवन्त हो । खोलामा बगेको पानी जसरी बासी हुँदैन, त्यसरी नै पार्टी पुरानो हुँदैन । यो पार्टी सदस्यको संस्था होइन । राजनीति संस्था भनेको सार्वजनिक संस्था हो । हामी चाहिँ लोकतान्त्रिक प्रकृयामा गएर, राज्यको नेतृत्व गरेर आमनागरिकलाई समान व्यवहार गर्छौँ भन्ने सोच बोकेर हिँडेको पार्टी हो । पार्टीभित्रको प्रतिनिधिले अधिकार प्रयोग गर्दा, आमनागरिकको बीचमा जाँदा कुन नेतृत्व, कुन नीति र विधि स्वीकार्य हुन्छ भन्ने हेर्नुपर्छ । तर पार्टी फुट्ने, पार्टी छाड्ने कुरा हामीलाई गलत बनाउन गरिएको प्रचार हो । कुनै हालतमा हामीले दु:ख पसिना बगाएर, बलिदान दिएको पार्टी परिवर्तन गरिँदैन । पार्टी फुटाउने होइन, एकजुट बनाउने अभियानमा छौँ ।

उसो भए अध्यक्ष ओलीलाई यहाँको सुझाव के छ ?
मेरो पहिलो आग्रह : अध्यक्ष कमरेडले विगत लामो समयदेखि पार्टीको आन्तरिक लोकतन्त्रबारे लडेर मान्यता स्थापित गर्नुभएको हो । सातौँ महाधिवेशनदेखि नै अलोकतान्त्रिक चरित्रबारे आफ्ना कुरा स्थापित गर्नुभएको हो । नवौँ महाधिवेशनमा उहाँ अध्यक्ष निर्वाचित हुँदै गर्दा नै पार्टीको बहुदलीय जनवाद र आन्तरिक लोकतान्त्रीकरण भन्ने किताब नै लेख्नुभएको छ । आफूले स्थापित मान्यताहरू अनुसार केपी कमरेडले अहिले प्रतिस्पर्धामा जानु उचित हुँदैन ।
दोस्रो आग्रह : उहाँले यो बीचमा सरकारमा रहँदा पूर्वाधार निर्माणको हिसाबमा माइलस्टोनहरू स्थापित गर्नुभएको छ । त्यो कुरालाई शीरमा राखेर सबै कार्यकर्ताले गर्व गर्नलायक स्थिति बनाउनका लागि पनि उहाँले यतिखेर उम्मेदवारी दिन उचित हुँदैन ।
तेस्रो कुरा : राष्ट्रिय प्रसंग जोडेर उहाँले जसरी संकट आएको बेला आमनेपालीको भावना प्रतिनिधित्व गर्नुभएको थियो । खासगरी संविधान घोषणा हुने बेलामा त्यसपछाडिको नाकाबन्दी चुच्चे नक्साबारेमा, भूपरिवेष्टित भनेर पढ्दै आएको इतिहास नै बदलेर उहाँले जसरी यो भुजसित भनेर स्थापित मान्यता राख्नुभएको छ त्यो मान्यतालाई आमनेपालीले गर्वसाथ हाम्रो पालामा गरेको हो । फेरि केपी ओलीले मात्र यो काम गरेको भन्नु चाहिँ गलत हुन्छ । उहाँलाई लोकप्रिय नेता भनेर आमनेपालीको मनमा स्थापित गरिराख्ने हो भने उहाँले अहिलेको समयको माग र अहिलेको जनभावना अनुसार त्यसलाई सम्मान गर्दै त्यसलाई शिरमा राखेर दुई कार्यकाल भइसक्यो, बिदा हुनुपर्छ । तेस्रो कार्यकालमा पनि अध्यक्षको पदमा प्रतिस्पर्धामा गइराख्ने कुराले उहाँको व्यक्तित्वमा पनि भविष्यमा उहाँलाई सम्झने कुरामा पनि यसले राम्रो गर्दैन ।
चौथो : यी तीन कुराका आधारमा अध्यक्ष ओली पार्टीको संरक्षक र अभिभावक भएर अहिलेसम्म उहाँका मातहतमा काम गर्नुभएका समकालीन साथीहरूमध्येबाट नेतृत्व सर्वसम्मत गराउने प्रयत्न गर्नुहोस् । आफूचाहिँ सर्वसम्मत हुने ठाउँमा नजानुहोस् भन्ने मेरो आग्रह हो । किनकि जनताले उहाँलाई फेरि अध्यक्ष नबनाउन् भनेकाले नैतिक रूपले पनि उहाँलाई अध्यक्षमा पुनः आउन सुहाएन ।
महाधिवेशन प्रतिनिधिलाई केही सुझाव छ कि ?
समयको माग, आम नागरिक भावना, जेनजी पुस्ताले उठाएका हिजो हामीले उठाइराख्दा पनि सुनुवाइ नभएको तर अहिलेको नव जवानहरुले एउटा आन्दोलनकै हिसाबबाट स्थापित गरेका मूल्य मान्यतालाई समेट्ने नेता चुन्नुपर्छ । एघारौं महाधिवेशनमा नेतृत्व चयनमा आफ्नो मतलाई विवेकपूर्ण हिसाबबाट प्रयोग गर्नुहोस् । पार्टी हित, नेपाल र नेपालीको हितमा पनि काम गर्नुहोस् भन्ने मेरो आग्रह छ ।













प्रतिक्रिया