काठमाडौं- किशोरावस्थामा पुगेपछि महिलाहरुमा महिनावारी चक्र सुरु हुनु भनेको प्राकृतिक प्रक्रिया हो । जुन व्यक्तिअनुसार २१ देखि ३५ दिनको फरकमा हुने गर्दछ ।
यो सबै महिलाहरुमा १० देखि १५ वर्षको उमेरदेखि सुरु हुन्छ भने लगभग ४५ देखि ५५ वर्ष पुगेपछि रोकिन्छ । महिनावारी चक्र सुरु भएको ३ देखि ५ दिनसम्म योनीबाट रगत बग्छ । महिनावारी भएका बेला सरसफाईको विशेष आवश्यकता पर्छ ।
महिनावारी भएका समयमा दैनिक रुपमा नुहाउने, पोषिलो खानेकुरा खाने, समय समयमा योनी सफा गर्ने, साथै ३९४ घण्टाको फरक वा आवश्यकता अनुसार रगत व्यवस्थापनमा प्रयोग गरिएका प्याड, ट्यामपोन, महिनावारी कपको पनि सफाई गर्नुपर्दछ ।
पहिले पहिले हाम्रो समाजमा महिनावारीलाई लिएर यो बेलामा बग्ने रगत दूषित हो, यस्तो बेलामा कुनै मठ मन्दिर जानुहुँदैन, खाना पकाउनुहुँदैन, पुरुषको अनुहार हेर्नुहुँदैन, छुट्टै बस्नुपर्छ लगायतका गलत धारणहरु थिए । तर पछिल्लो समय यसमा निकै परिवर्तन आएको पाइन्छ ।
नेपालका किशोरीहरू महिनावारीबारे पहिलेभन्दा धेरै खुला, आत्मविश्वासी र सुसूचित बन्दै गएका छन् । महिनावारीलाई लाज र सङ्कोच रूपमा लिने पुरानो धारणा विस्तारै परिवर्तन हुँदै गएको देखिन्छ । तर, केही समुदाय तथा ग्रामिण भेगहरुमा भने अझै यस्तो भन्ने चलन कायमै रहेको छ ।
पछिल्लो तथ्याङ्क अनुसार ८० प्रतिशत महिला महिनावारी भएको बेला कानुनी प्रावधान, स्थानीय, समुदायका अभियन्ता र महिला आफैँको जुझारुपनले घरभित्र वा सुरक्षित स्थानमा बस्न पाउँछन् । बाँकी २० प्रतिशत महिला अझै पनि घर बाहिर असुरक्षित तरिकाले बस्ने गरेको तथ्याङ्कले देखाएको छ ।
महिनावारीबारे खुल्दै किशोरी
विद्यालयमा स्वास्थ्य शिक्षा, किशोरीमैत्री कार्यक्रम, तथा डिजिटल माध्यमबाट जानकारीको पहुँच बढेसँगै युवतीहरू महिनावारीबारे खुलेर बोल्न थालेका दरबार हाईस्कूल काठमाडौंकी प्रधानाध्यापक शारदा पौडेलले बताइन् ।
प्रधानाध्यपक पौडेलले भनिन् पहिले पहिलेका छात्राहरु महिनावारी हुँदा शिक्षक शिक्षिकाहरुलाई नभन्ने, पेट दुख्छ भनेर विद्यालय नै नआउने, प्याड माग्न लाज मान्ने गर्थे भने अहिलेका किशोरीहरु खुलेर बोल्छन्, आफ्नो समस्या खुलेर राख्छन् ।
उनका अनुसार कसैलाई पेट दुखेको छ भने ‘मलाई महिनावारी भएर पेट दुख्यो म्याम घर जान्छु’ भनेर आउँछन् भने कतिले ‘ब्लड धेरै भएर गाह्रो भयो’ भनेर निर्धक्कसँग बोल्छन् । अझ कतिपय किशोरीहरुले आफ्नो घरपरिवारमा बुवासँग, दाजुभाइसँग महिनावारीबारे खुलेर कुरा गर्ने, प्याडहरु ल्याइदिन भन्ने गरेको समेत उनले जानकारी दिइन् । यो सकारात्मक पक्ष भएको उनले बताइन् ।

सामान्य पेट दुखाई हो भने केही समय आराम गर्न समय दिने र धेरै गाह्रो भएको छ भने घर पठाइदिने गरेको उनको भनाइ छ । उनका अनुसार विद्यालयमा प्याड वितरणसँगै त्यसको व्यवस्थापन गर्न महानगरपलिकाले मेसिनको पनि व्यवस्था गरेको छ ।
महिनावारी व्यवस्थापनमा विद्यालय नर्सको भूमिका
किशोरीहरुको महिनवारी व्यवस्थापनमा विद्यालय नर्सको महत्वपूर्ण भूमिका रहेको प्रधानाध्यापक पौडेलले जानकारी दिइन् । ४ कक्षाभन्दा माथिका किशोरीहरुलाई कक्षामै गएर विद्यालय नर्सहरुले महिनावारी व्यवस्थापनबारे परामर्श दिने गरेका छन् ।
पछिल्लो समय ९ वर्षको उमेरदेखि नै कतिपयलाई महिनावारी हुने गरेको अनुभव सुनाउँदै प्रधानाध्यापक पौडेलले भनिन् ‘उनीहरुलाई महिनावारी व्यवस्थापन कसरी गर्ने ? प्याडको प्रयोग कसरी गर्ने ? पेट दुख्दा के गर्ने ? भन्नेबारे ज्ञान नै हुँदैन । त्यसैले सानै उमेरमा महिनावारी भएका बालिकाहरु आत्तिने, डराउने गर्दछन् । त्यस्तो बेलामा विद्यालय नर्सले उनीहरुलाई प्याडको प्रयोग र व्यवस्थापनबारे सिकाउँदै मनोसामाजिक परामर्श पनि दिने गरेका छौँ ।’
तर, विद्यार्थीको अनुपातमा एक जना नर्स पर्याप्त नभएको उनले बताइन् । ११ सय विद्यार्थी भएको विद्यालयमा आइरन चक्की वितरणदेखि विद्यार्थीलाई लाग्ने चोटपटक, प्याड वितरण र मनोसामाजिक परामर्शसम्मको जिम्मेवारी पूरा गर्न एक जना नर्सले कसरी सम्भव छ ? उनले प्रश्न गरिन् ।
उनका अनुसार विद्यालय नर्ससँगै एक जना मनोपरमर्शकर्ता पनि आवश्यक छ ।
महिनावारी शिक्षापाठ्यक्रममा समेटिनुपर्छ
नेपालीविद्यालयको औपचारिक पाठ्यक्रममै महिनावारीसम्बन्धी शिक्षा अनिवार्य रूपमा समेटिनुपर्ने माग उठिरहेको र यो एकदमै आवश्यक रहेको प्रधानाध्यापक पौडेको भनाइ छ ।
वर्तमान पाठ्यक्रममा यौन तथा प्रजनन् स्वास्थ्यसँग सम्बन्धित केही सामान्य विषयहरू समावेश भएपनि महिनावारी व्यवस्थापन, जैविक प्रक्रिया, सुरक्षितअभ्यास र सामाजिक कुसंस्कारबारे पर्याप्ततथा स्पष्ट शिक्षानहुँदाविद्यार्थीहरू अझै समस्या भोगिरहेका उनले बताईन् ।
यदि पाठ्यक्रममै यो विषय समेटियो भने किशोरीसँगै किशोरहरुले पनि महिनावारीबारे पर्याप्त जानकारी पाउँथे र आफ्नो परिवारमा हुने गरेको महिनावारी विभेदबारे आवाज उठाउने , महिनावारीका समयमा उनीहरुलाई कस्तो सहयोग चाहिन्छ त्यसबारेमा उनीहरुलाई जानकारी हुन्थ्यो ।
मानव अधिकार र किशोरी स्वास्थ्यका क्षेत्रमा काम गर्ने संस्थाहरूले महिनावारीलाई अझै धेरै घरपरिवार र समुदायमा ‘लाजको विषय’ वा ‘छुने नहुने अवस्था’ को रूपमा लिइने भएकाले यो सोच परिवर्तन गर्न औपचारिक शिक्षाको भूमिका निर्णायक हुने बताउँदै आएका छन् । उनीहरूको भनाइमा, केटा विद्यार्थीलाई समेत महिनावारीबारे शिक्षित गराउँदाविद्यालयमाबदमासी, जिस्क्याइँतथा लैङ्गिक भेदभाव घट्नेछ ।
शिक्षा मन्त्रालयले पनि विद्यालयहरूमा महिनावारी स्वच्छता व्यवस्थापन (एमएचएम) सम्बन्धी कार्यक्रम विस्तार गरिरहेको भएपनि यो विषयलाई पाठ्यक्रममै अनिवार्य रूपमा समावेश गर्ने विषयमा औपचारिक निर्णय भने भइसकेको छैन ।
सरोकारवालाहरूले सरकारसँग यस विषयलाई प्राथमिकतामा राखी कक्षा ६ देखि १० सम्मका विद्यार्थीका लागि वैज्ञानिक, व्यवहारिक र सामाजिक पक्षलाई समेट्ने छुट्टै अध्याय तयार गर्न आग्रह गरेका छन् ।













प्रतिक्रिया