कृष्णको सैलुङ सपना : शिक्षा, स्वास्थ्य र कृषिमा फड्को | Khabarhub Khabarhub

कृष्णको सैलुङ सपना : शिक्षा, स्वास्थ्य र कृषिमा फड्को



माथि माथि सैलुङ्गेमा चौरी डुलाउनेलाई
हत्केलामा मायाको गुराँस फुलाउनेलाई।

दशकौंदेखि जनजीब्रोमा झुण्डिएको कुन्ती मोक्तानले गाएको गीतको भाव जस्तो छैन सैलुङको जीवन। न यहाँ कम्मर मर्काउने मैच्याङ छन, न डम्फू ठोक्ने च्याङ्बा नै। न त केही घण्टा सैलुङका पाटन पुगेर सेल्फी खिच्दाको जस्तो रोमाञ्चक नै छ दैनिकी। त्यहाँभित्र नाना, खाना, छानाका उधिन्न बाँकी कथा व्यथा छन्। चिसोले कठ्याङ्गिएका बाआमाका कहरलाग्दा कथाव्यथा छन्। पूरा हुन नसकेका युवाका सपनाका चाङ छन्। मल र बीउ नपाएका किसानका आर्तनाद छन्।

कतै साउँ अक्षर चिनाउने पाठशाला छन्, शिक्षक छैनन्, शिक्षक छन् पूर्वाधार छैन। विरामी पर्दा औषधोपचारको प्रबन्ध छैन्। खनी खोस्री साध्य नलाग्ने थुप्रै पीडाबीच पनि सैलुङ प्रकृतिको एउटा सुन्दर कोलाजभित्र सुखद् भविष्यको खाका कोर्दै अघि बढिरहेको छ। औंसीको रातभित्र चाँदीको घेरा कोर्ने एक शिल्पी हुन्-कृष्ण श्रेष्ठ।

चैतन्य र प्रज्ञामार्फत आफू जन्मेको धराको ऋण तिर्ने अभियानमा छन् उनी। सैलुङको बहुआयामिक विकास कसरी गर्न सकिन्छ ? यो विषयमा खाका बनाउँदै, च्यात्दै, अनि फेरि कोर्दै गर्दा उनले थुप्रै रात बिताएका छन्। युवा काठमाडौं अनि अन्त्यमा विदेशिने रोगको ‘एन्टीबायोटिक’ भएर उभिने निधो कृष्णका लागि फलामको चिउरा चपाउनुसरह थियो।

महाभारतमा कृष्णलाई सघाउने थुप्रै वीर योद्धा र स्वनामधन्य गुरु थिए। तर सैलुङका कृष्णले जिरो ग्राउण्डलाई आफ्नो सामथ्र्य बनाए। हुन पनि जीरोबाट शुरु भएको आफ्नो बाँकी जीवन त्यही धरातलमा जीवन बाँच्न बाध्य वर्गको हितमा समर्पित गर्ने अठोट लिए। कृष्णको जीवन संघर्ष उनकै शब्दमाः

बुबाको मृत्युले खोसेको बालापन
सात वर्षको हुँदा बुवाको निधन भयो। अरुका लागि लक्की सेभेन ठहरिने त्यो अंक मेरो हकमा अन्यथा बन्न पुग्यो। बुवा गंगाबहादुरले आमा गोपिनीको काँधमा छोराछोरीको जिम्मेवारी सुम्पिएर संसारबाट बिदा लिनुभयो। दुई छोरा र दुई छोरीसहित आमाले बुवाकोसमेत भूमिका निभाउनुभयो। निम्न आर्थिक अवस्था र एकल महिलाको स्थिति निकै चुनौतीपूर्ण थियो। आमाको जीवनको कठिनाइ त्यतिबेला भन्दा अहिले हुर्किए जाँदा बुझिन्छ।

गाउँमा हाम्रो मात्रै नभएर अधिकांश परिवार गरिब थियो। शिक्षाको पहुँच थिएन। स्कुल धेरै टाढा थियो। टाढाको बाटो हिँडेर पढ्न जानुपर्ने थियो। बालबालिकामैत्री नहुँदा धेरैका लागि पढाई मृगतृष्णा हुन्थ्यो। बुवाको निधनको दुई वर्षपछि सानो भाइ सागरलाई शिक्षाको लागि चरिकोटस्थित बाल मन्दिरमा पठाइयो।

त्यहाँ चार पाँच महिना राखेपछि काठमाडौंको नक्सालस्थित बालमन्दिर पुर्यायौं। संयोगवस त्यहाँबाट भाइलाई नेदरल्याण्डका एकजोडी अभिभावकले पालनपोषणको जिम्मा लिए। धर्मपुत्रको रुपमा उनीहरुले सागरलाई आफ्नै देश लगे। सुख–दुख गर्दै आमा बाँकी तीन जना छोराछोरीको हेरचाहमा लागिन्। एकल महिलाका लागि यतिका सन्तानको पालनपोषण चुनौतीपूर्ण बन्दै गयो। खनीखोस्री, मेलापात, ऐंचोपैंचो गर्दै भए पनि आमाले पारिवारिक दायित्व निर्वाह गर्नुभयो।

सन्तानका लागि आमाले त्यो सबै सहनु भयो। तर आमाले अब आफैं गरेर पनि खान सक्छन् भन्ने लागेपछि विवाह गर्नुभयो। शायद उहाँले आफ्नो जीवनको बारेमा सोच्नुभयो। आमाले बिहे गरेपछि फेरि लथालिङ्ग भयौं। अब साँच्चै बाउआमाको छहारीबाट बालबालिका विमुख भएको अनुभव भयो। अन्ततः हामी हजुरबुवा र हजुरआमाको शरणमा पुग्यौं।

नेदरल्याण्ड गएपछि भाइसँग सम्पर्क थिएन। सात वर्षपछि मात्रै उनी सम्पर्कमा आए । उनसले राम्रो परिवार पाएको थियो। भाइ र उसको अभिभावक आफैं गाउँमा आफ्नो परिवार खोज्न आए। काठमाडौं बालाजुमा राजन मेमोरियल स्कुलका संस्थापकका परिवार पनि नेदरल्याण्डमा हुनुहुँदो रहेछ। उहाँले गर्दा भाइसँग सम्पर्क गर्न सजिलो भयो।

पढाइको भोकले सोझियो काठमाडौंको बाटो
द्वन्द्वकालमा गाउँमा पढ्ने वातावरण थिएन। विद्यालय टाढा थियो। विद्यालय जाँदा आउँदा डरले मुटु ढक्क हुन्थ्यो। साना केटाकेटीलाई अभिभावकले फकाएर लैजान्थे। गाउँमा बसेर पढाइ नहुने लागेर १३ वर्षको उमेरमा काठमाडौं आएँ।

काठमाडौंमा आएर पहिलोपटक नेपाल टेलिकमको क्यान्टिनमा काम गरेँ। विभिन्न होटलहरुमा भाँडा माझ्ने काम गरें।
चार वर्ष जति काम गरेपछि राजन मेमोरियल स्कुलका भाइस प्रिन्सिलप राजेश सरलाई फोन गरेँ। ‘उहाँले के काम गर्छौ ?’ भनेर सोध्नुभयो। मैले आफ्नो हाल सविस्तार सुनाएँ। उहाँले भाइको नेदरल्याण्डको अभिभावकलाई सबै कथाव्यथा सुनाइदिनु भएछ।

दिदी गाउँमै बसेको कारण १७ वर्षको उमेरमा बिहे भयो। बहिनी र म काठमाडौं गएर राजन मेमोरियलमा पढ्यौं। मैले प्लसटुमा होटल म्यानेजमेन्ट, स्नातक र स्नातकोत्तरमा समाजशास्त्र पढेँ। सम्भवतः पढाइको विषयको प्रभावले पनि मलाई गाउँ फर्काएको हो कि जस्तो लाग्छ।

अनि शुरु भयो लेकाली बच्चाको पठनपाठन
स्नातक पढ्दै गर्दा गाउँमै गएर केही गर्नुपर्छ भन्ने थियो। गाउँमा पाँच कक्षासम्म पढेँ। तर सामान्य ए, बी, सी, डीसम्म आउँदैनथ्यो। क, ख, ग कति छन् पनि थाहा थिएन। त्यतिबेला शिक्षा र सिकाइको अवस्था त्यस्तो थियो। काठमाडौं गएपछि धेरै कुरा थाहा भयो। त्यहाँ शिक्षाको गुणस्तर निकै राम्रो थियो।

स्कुलसँगै ट्यूसन र कोचिङ जस्ता अतिरिक्त पढाइ हुन्थ्यो। गाउँमा त्यसरी पढ्ने भन्ने थाहै थिएन। आफूले बाल्यकालमा धेरै दुख पाएँ। सानै उमेरमा बुवा गुमाएँ। आमा ममता पनि लामो समय पाइएन। एक हिसाबले भन्ने हो भने अनाथ नै जसरी हुर्कनुपर्यो। मैले जस्तो दुःख अरु बालबालिकाले नपाउन् भनेर गाउँ फर्किएँ।

बेसहारा बालबालिकाको सहारा बन्नुपर्छ भन्ने थियो। उनीहरु शिक्षाबाट बञ्चित हुनु हुँदैन भनेर अन्तरआत्मामै जाग्यो। जसरी मैले काठमाडौंमा पढ्ने अवसर पाएँ , त्यो शिक्षा मलाई गाउँकै आफ्नै लेकाली बच्चालाई दिन मन लाग्यो। उनीहरुले राम्रो शिक्षा पाए जे पनि गर्न सक्छन्। शिक्षाको अभावमा अवसरबाट कसैले बञ्चित हुनु पर्दैन।

त्यहाँ शिक्षाको अभाव थियो। राम्रो विद्यालयको अभावमा केटाकेटीले पढ्न पाइरहेका थिएनन्। आफ्नै एउटा सानो घरमा १५/१६ जना बच्चालाई असाध्यै थोरै शुल्क लिएर ट्यूसन पढाउन सुरु गरेँ। त्यसरी पढाउँदा बच्चाको पढाइमा सुधार देखियो। अभिभावकले सानै भएपनि विद्यालय स्थापना गर्नुपर्छ भन्ने सल्लाह दिए।

गाउँलेकै साथ, सहयोग र हौसलाले २०७३ मा वडाबाट स्वीकृति लिएर किड्स लर्निङ इङ्लिस स्कुलको स्थापना भयो। पहिलो वर्ष १८ जना विद्यार्थी थिए। दोस्रो वर्ष ४५ जना पुगे। पछि १४५ जना विद्यार्थी भए। नेदरल्याण्डका भाइका अभिभावकले उनलाई ‘उच्च शिक्षाको लागि विदेश जाने ?’ भनेर सोधे।

तर मलाई विदेश जान मन लागेन। उनले जीवनमा दोस्रोपटक अवसर पाएका थिए। होटलमा काम गरेर पनि पढ्न पाएँ। आफूले पाएँको ज्ञान गाउँमा गएर बालबच्चा पढाउँछु भन्नेमा थिएँ। नेदरल्याण्डका अभिभावकलाई मै आफ्नो योजना सुनाएँ। उहाँहरु निकै खुसी हुनुभयो।

सुरुमा एक्लै गरिरहेको थिएँ। तर पछि नेदरल्याण्डका अभिभावकले पनि सहयोगको हात अगाडि बढाए। साथै, २०७३ सालमा बिहे पनि गरेँ। जीवनसाथीको पनि साथ र सहयोगले मेरो अभियानमा थप इँट्टा थपिदै गयो।

टोन फाउण्डेशनले लगाएको गुन
काठमाडौंमै हुँदा उनले गाउँमा गएर स्कुल खोल्दा कति खर्च होला ? भनेर हिसाब गर्थे। यहाँको जस्तो सुविधासम्पन्न भवन चाहिँदैन। सामान्य भवन र दुई चार डेस्क बेन्च भए केही कक्षा सञ्चालन गर्न सक्छु भन्ने आँट आयो। अभिभावकसँग पनि छलफल गरे। उहाँहरुसँग भर्ना शुल्क भनेर पाँच-पाँच सय उठाए। त्यही पैसाले बीउको काम गरेको थियो।

दुई वर्षपछि नेदरल्याण्डका अभिभावकको साथी नेपाल आउनुभयो। जसको नाम ‘टोन भान देन व्रिङक’ थियो। उहाँ मनास्लु पदयात्रामा जाँदा त्यहीँ निधन भयो। उद्धार गर्दा उहाँको पकेटमा ३९ हजार रुपियाँ रहेछ। तर मेरो भाइको अभिभावकले त्यो पैसा लान मान्नुभएन। साथी रेस्क्यु गरें, अरु लान्न भन्नुभयो। त्यो पैसाबाट उनले निजी जग्गामा स्कुल भवन बनाए।

पछि नेदरल्याण्डमा टोनको नाममा फाउण्डेसन स्थापना भयो। टोनको नेपालमा केही काम गर्ने सपना थियो। पहिले पनि सैलुङ घुम्न आउँदा नेपालमा केही गर्छु भन्नुहुन्थ्यो। बाटोमा लेकाली बच्चा नयाँ, गोरो मान्छे, गाडी देख्दा आत्तिने, तर्सिने गर्थे। त्यो देखेर किन यहाँको बच्चा यस्तो हुन्छ भनेर जिज्ञासा राख्नुभएको थियो।

मानिससँग घुलमिल नहुँदा बच्चा तर्सिन्छन् भन्ने कुरा बुझेपछि टोनले यहाँ स्कुल नै खोल्नुपर्ने रहेछ भन्नुभएको थियो। टोनको रहरले मात्रै सैलुङमा स्कुल खोलिएको होइन। तर अचानक उहाँको फाउण्डेसनले भवन बनाइदिने निर्णय गरेको थियो। तत्पश्चात नै टोनको स्मृतिमा भवन बन्यो।

सरकारी स्कुललाई सुधार्ने प्रयास
निजी स्कुलमा राम्रो पढाइ हुन थालेपछि गाउँको सरकारी स्कुलमा विद्यार्थी जान छाडे। विद्यार्थीको अभावमा बन्द हुने स्थितिमा पुग्यो। समुदाय, वडा र पालिकास्तरीय बहस भयो। सरकारी स्कुल राख्ने वा निजी स्कुल राख्ने भन्ने विषयमा व्यापक बहस भयो। सरकारी र नीजि मर्ज गरेर पढाउने निर्णय भयो।

फाउण्डेसन तथा दातामार्फत निर्माण भएको दुईवटा भवन स्थानीय सरकारलाई हस्तान्तरण हुने भएको छ। बालबालिकाको गुणस्तरीय शिक्षामा असर नपरोस् भनेर यसखाले निर्णय गरिएको हो। बच्चाहरुको जिन्दगी राम्रो होस् भन्ने चाहना हो। दाताले टोनको नाम कतै समावेश होस् भनेर आग्रह गरेका छन्। कार्यपालिकाको बैठकले त्यो नामलाई कहीँ कतै समावेश गर्ने वचन दिएको छ।

निजीले मात्रै सञ्चालन गर्दा तीन वर्ष लगातार पालिकास्तरमा ‘बेस्ट अवाडर्’ प्राप्त गर्यो। निजीले ३-५ कक्षासम्म सञ्चालन गरेका थियो। मर्ज भएपछि हाल ८ कक्षासम्म सञ्चालनमा रहेको छ।

जब सुत्केरीको सहारा डोजर बन्यो…
यसको पनि आफ्नै कथा छ। मेरी श्रीमतीको डेलिभरी गर्ने बेलाको कथा हो। स्वास्थ्य चौकी धेरै टाढा थिएन। तर बाटोको कारणले गर्दा गाडी पाइएन। त्यतिबेला डोजरको सहायताले तीन घण्टामा चौकी पुग्नुपर्यो। एक गर्भवतीलाई डोजरमा स्वास्थ्यचौकी पुर्याउनु कति खतरनाक अवस्था थियो। सम्झिदा मात्रै पनि आम मान्छेको शरीर थर्थराउँछ।

जुन कुरा मेरी श्रीमतीले भोग्नुपर्यो। त्यो गाउँमा अरु महिलाले यो समस्या भोग्न नपरोस् भन्ने लागेर स्वास्थ्य चौकीको निमार्णमा जुटे। त्यसपछि टोन मेमोरियल फाउण्डेसनलाई गाउँमा एक स्वास्थ्य चौकी अनिवार्य भएको भनेर अनुरोध गरेँ। ५० लाखको लगानीमा स्वास्थ्य चौकी निर्माण भयो। त्यो स्थानीय सरकारलाई हस्तान्तरण गरिएको छ। हाल त्यहाँ अनमीमार्फत सेवा दिइँदैछ।

कृषिसँग जोडिएको साइनो
गाउँको समुन्नत विकासको लागि शिक्षा, स्वास्थ्य र पौष्टिक आहार नै अपरिहार्य हो। गाउँले गाउँकै उत्पादनलाई जोड दिनुपर्छ। सैलुङ कृषिको लागि निकै उर्वरभूमि हो। कृषिको विकास पनि शिक्षा र स्वास्थ्य पछिको योजना अन्तर्गत थियो। अभिभावकलाई उत्पादनमुखी कृषिमा लगाउन सकियो भने बालबालिकाले राम्रो शिक्षा हासिल गर्न सक्छन्।

कृषिको लागि भनेर तीन वर्षको कार्यक्रम चलिरहेको छ। सर्वप्रथम भान्साघर स्वच्छ हुनुपर्छ। त्यसले बालबालिका लगायत परिवारका सबै सदस्यको स्वास्थ्य भान्सासँग जोडिएको हुन्छ। गाउँको मानिसलाई स्वच्छ हुनको लागि व्यक्तिगत तथा सामूहिक रुपमा जनचेतना जगाउदै कृषिमा जोड दिएका छौँ। आलु , मौसमी तरकारी, च्याउको अर्गानिक खेतीलाई व्यावसायिक बनाउन खेतीमा आधुनिक प्रणालीको प्रयोगमा हामी लागेका छौं। यसमा विदेशी विज्ञले पनि सघाइरहनुभएको छ। गाउँमा किसानको समूह बनाइएको छ। कृषि उपज सहज खरिद बिक्रीको व्यवस्थापन मिलाइएको छ। सैलुङ काठमाडौंबाट नजिक भएपनि ढुवानीमा चर्को भाडादरका कारण यहाँको उत्पादन सरल मूल्यमा बजार लैजान सहज छैन। त्यसको लागि हाम्रो मात्र प्रयास सार्थक हुँदैन।

मातृभूमि नछोड्दाको आत्मगौरव
बहिनी अमेरिका र भाइ नेदरल्याण्ड छन्। आफ्नो बारेमा मात्रै सोच्ने हो भने धेरैतिर अवसर थियो। तर मेरो मनले गाउँ नै रोज्यो। भाइबहिनीले समाजसेवा गर्दागर्दै कतिबेला मान्छे नाङ्गिन्छ भन्ने ठेगान हुँदैन। यसमा नलाग पनि भनेका थिए। तर बालबालिकासँगै बस्न मन लाग्यो।

उनीहरुकै बृत्ति विकासमा रम्न मन लाग्यो। उनीहरुले राम्रो पढेको देख्दा मलाई निकै खुसी लाग्छ। आफूले रोजेको कामप्रति गर्व महसुस हुन्छ। विदेश गएको भए, म एक्लै धनी हुन्थेँ होला। घर किन्थेँ, कार किन्थेँ। तर गाउँका बच्चाहरुलाई शिक्षा दिइरहेको छु। भोलि उनीहरुले प्रतिष्ठित काम गर्दा उनीहरुसँगै म कति धनी हुँला ? म अरु पनि धनी भएको देख्न चाहन्छु। त्यही भएर जीवनै बालबालिकामाथि लगानी गरिरहेको छु।

व्यवस्थापनमा सरकारको चुक
संघीयताले सरकारलाई घरदैलोमा पुर्याएको छ। कुन ठाउँमा के कुराको अभाव छ। त्यहाँ के आवश्यक छ ? के कुरामा लगानी गर्ने भन्ने कुरामा क्लिएर भएर लाग्न सकिन्छ। तथ्याङ संकलन गरेर विकास गर्नुपर्छ। बसाइँसराइ बढेको छ। वैदेशिक रोजगारमा धेरै गएका छन्। स्थानीय तहमा शिक्षा, स्वास्थ्य लगानी गर्ने हो भने यस्तो कम हुँदै जान्थ्यो भन्ने लाग्छ।

प्रकाशित मिति : २५ पुस २०८१, बिहीबार  १० : ०८ बजे

स्वास्थ्य परीक्षणपछि रविलाई पत्नी निकिताको जिम्मा लगाइयो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कास्की प्रहरीको

रविसहित ६ प्रतिवादी धरौटी बुझाएर रिहा, जीबीकी सहयोगी लीला हिरासतमै

गण्डकी- पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका प्रतिवादीहरु राष्ट्रिय

दुर्गा प्रसाईंले बुझाए तीन लाख धरौटी

काठमाडौं – मेडिकल व्यवसायी दुर्गा प्रसाईंले धरौटी रकम बुझाएका छन्

छविलाल जोशी र रामबहादुर खनालले पनि बुझाए धरौटी

काठमाडौं – सहकारी ठगी प्रकरणमा मुछिएका पूर्वडीआइजी छविलाल जोशी र

गाउँगाउँमा नागरिक सुनुवाई गर्दै प्रहरी

अर्घाखाँची – अर्घाखाँचीस्थित जिल्ला प्रहरी कार्यालयले गाउँगाउँमा नागरिक सुनुवाई गरिरहेको