काठमाडौं – पुसको चौथो साता अर्थात् २१ देखि २५ गतेसम्म नेपालको शेयर बजारमा ‘पर्ख र हेर’को अवस्था रह्यो । चौथो साताको शेयर कारोबार हेर्दा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) तत्काललाई २५०० बिन्दुभन्दा तल नझर्ने देखियो ।
साताका चार दिनमा नेप्सेलाई ६७ अङ्कले बढाएका लगानीकर्ताले साताको अन्तिम दिन भने १८ अङ्कले घटाए । यो प्रवृत्ति नियाल्दा शेयर लगानीकर्ताहरू रोकिँदै/अगाडि बढ्दै गरेको देखिन्छ ।
सातामा पूरै पाँच कारोबार दिन शेयर किनबेच हुँदा नेप्से ४८.८६ अङ्कले बढ्यो । अघिल्लो साताको बिहीबार अर्थात् पुस १८ गते २५८६.२३ बिन्दुमा रहेको नेप्से यो साता बढेर २६३५ बिन्दुमा पुग्यो ।
सातामा ३० अर्ब २६ करोड ३६ लाख ४१ हजार रुपैयाँ बराबरको कारोबार हुँदा दैनिक औषत ६ अर्ब पाँच करोड २७ लाख २८ हजार रुपैयाँ बराबरको शेयर किनबेच भयो ।
पाँच दिन अवधिमा ६ करोड ८१ लाख ५५ हजार ७२१ कित्ता शेयर कारोबार हुँदा दैनिक औषतमा १ करोड ३६ लाख ३१ हार १४४ कित्ता शेयर किनबेच भएको हो ।
सातामा तीन लाख ४८ हजार ७६२ पटक शेयर कारोबार हुँदा दैनिक औषत ६९ हजार ७५२ पटक किनबेच भएको देखिन्छ ।
कमजोर कम्पनीमै लगानीकर्ताको नजर
शेयर बजारका लगानीकर्ताको नजर कमजोर कम्पनीमै केन्द्रित भएको देखिएको छ ।
वर्षौंसम्म लगानीकर्तालाई लाभांश नदिएका र वित्तीय अवस्था पनि राम्रो नभएका फाइनान्स र विकास बैंकका शेयरमा लगानीकर्ता झुम्मिएका हुन् । साताको कारोबार हेर्दा लगानीकर्ताले ती समूहकै शेयरमा बढी लगानी गरेको देखिन्छ ।
नेपाल राष्ट्र बैंकले पुस तेस्रो साता कर्णाली विकास बैंकलाई कारबाही गरेपछि तर्सिएका लगानीकर्ता पुसको चौथो साता भने पुनः विकास बैंकतर्फ आकर्षित भए ।
सातामा बिहीबार बाहेक विकास बैंक समूह चारै दिन बढ्दा १९९.५१ अङ्कको बढोत्तरी देखियो । अघिल्लो साताको बिहीबार ५२८८.५८ बिन्दुमा रहेको विकास बैंक समूहको परिसूचक यो साताको बिहीबार ५४८८ बिन्दुमा आइपुग्यो ।
यता; कमजोर वित्तीय अवस्था भएको मानिएको फाइनान्स समूहमा पनि कारोबार स्थिति त्यस्तै छ । फाइनान्स समूह पाँच दिनमा दुई दिन घट्दा तीन दिन बढ्यो भन सातामा १२९.७९ अङ्कले बढोत्तरी भयो ।
अघिल्लो साताको बिहीबार २९०३.२५ बिन्दुमा रहेको फाइनान्स समूह यो साताको बिहीबारसम्म आउँदा ३०३३ बिन्दुमा आइपुगेको हो ।
उता; वित्तीय अवस्था राम्रो मानिएको र लाभांश पनि दिन सक्ने वाणिज्य बैंक समूह भने पाँच दिन कारोबार हुँदा चार दिन घट्यो भने एक दिन मात्र बढ्यो । सातामा नेप्से बढ्दा पनि वाणिज्य बैंक समूह भने समग्रमा ५.२५ अङ्कले घट्यो ।
अघिल्लो साताको बिहीबार १३८९.८५ बिन्दुमा रहेको वाणिज्य बैंक समूहको परिसूचक यो साताको बिहीबारसम्म आउँदा घटेर १३८४.६० बिन्दुमा झर्यो । यसरी हेर्दा पनि लगानीकर्ता कमजोर कम्पनीप्रति नै लगानी खन्याएको देखिएको छ ।
विकास बैंक र फाइनान्स कम्पनीहरू लो क्याप (कम कित्ता शेयर) कम्पनी भएकाले गर्दा लगानीकर्ता आकर्षित भएका शेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल बताउँछन् ।
‘जति भने पनि बैंकको शेयरको औषत मूल्य २०० रुपैयाँ नै हो’, अग्रवालले भने, ‘कम्पनीको वित्तीय अवस्था नै सबै चीज होइन, लो क्याप कम्पनीमा लगानी गर्दा भोलि माथि जान्छ र धेरै उपलब्धि हात पार्न सकिन्छ ।’
बजारमा लगानीकर्ताभन्दा कारोबार (ट्रेडर) हावी भएकाले लो क्याप कम्पनीको शेयर बढिरहेको नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे बताउँछन् ।
‘बजारमा लगानीकर्ताभन्दा ट्रेडर हावी भएका देखिन्छ, त्यसले गर्दा कमजोर वित्तीय अवस्था भएको कम्पनी बढिरहेको छ’, पाण्डेले भने, ‘तर, लगानीकर्ताले त्यस्तो गर्नुहुँदैन, वित्तीय अवस्था राम्रो भएकै कम्पनीमा लगानी गर्नुपर्छ ।’
कुन दिन कस्तो रह्यो बजार ?
पुस चौथो साताको पहिलो दिन अर्थात् आइतबार शेयर बजारमा कारोबार शुरु हुँदा हरियाली छाएको थियो । साताको पहिलो दिन आइतबार नेप्से ५.३२ अङ्कले बढेर २५९१.५६ बिन्दुमा पुगेको थियो ।
आइतबार नेप्से ०.२० प्रतिशतले बढ्दा उच्चतम २५९२.९१ बिन्दु र न्यूनतम २५७४.४३ बिन्दुमा पुग्यो ।
बजारमा झिनो अङ्कको हरियाली छाउँदा पनि चार अर्ब ८६ करोड दुई लाख रुपैयाँ बराबरको कारोबार ९३ लाख ८६ हजार ७२१ कित्ता शेयर ६१ हजार १६७ पटक किनबेच भएको थियो । उक्त दिन ३२७ वटा कम्पनीका शेयर कारोबार भएको थियो ।
सोमबार शेयर बजारमा उछालै आयो । सोमबार एकै दिन नेप्से ४९.१२ अङ्कले बढ्दा परिसूचक २६४०.६८ बिन्दुमा पुग्यो । उक्त दिन नेप्से १.८९ प्रतिशतले बढ्दा उच्चतम २६४०.७३ बिन्दु र न्यूनतम २५९४.३४ बिन्दुमा पुगेको थियो ।
सोमबार बजारमा हरियाली छाउँदा कारोबारमा पनि बढोत्तरी भएको थियो । उक्त दिन ३१२ वटा कम्पनी कारोबारमा आउँदा ६ अर्ब ३० करोड ५४ लाख ३१ हजार रुपैयाँ बराबरको एक करोड ५४ लाख ६१ हजार २६४ कित्ता शेयर ७५ हजार ५४० पटक किनबेच भएको थियो ।
बजार बढ्ने क्रम मंगलबार पनि कायमै रह्यो । मंलबार नेप्से ६.१६ अङ्कले बढेर २६४६.८४ बिन्दुमा पुग्यो । उक्त दिन नेप्से ०.२३ प्रतिशतले बढ्दा उच्चतम २६५६.५२ बिन्दु र न्यूनतम २६२५.२४ बिन्दुमा पुग्यो ।
मंगलबार बजारमा हरियाली छाउँदा कारोबार भने एक अर्ब रुपैयाँले घटेको थियो । उक्त दिन पाँच अर्ब ३८ करोड ४६ लाख ७२ हजार रुपैयाँको एक करोड २० लाख ८१ हजार ६०६ कित्ता शेयर ६६ हजार ६२६ पटक किनबेच भएको थियो । उक्त दिन ३०५ वटा कम्पनी कारोबारमा आएको थियो ।
बजार बढ्ने क्रमले बुधबार पनि निरन्तरता दियो । बुधबार नेप्से ६.३८ अङ्कले बढेर २६५३.२३ बिन्दुमा पुग्यो । उक्त दिन नेप्से ०.२४ प्रतिशतले बढ्दा परिसूचक उच्चतम २६७२.१४ बिन्दु र न्यूनतम २६४२.५९ बिन्दुबीच रह्यो ।
बुधबार पनि बजारमा हरियाली छाउँदा मंगलबारको तुलनामा कारोबारमा पनि वृद्धि भएको थियो । बुधबार ३०५ वटा कम्पनीका शेयर कारोबारमा आउँदा ६ अर्ब ४० करोड ७९ लाख ९२ हजार रुपैयाँ बराबरको एक करोड ५५ लाख दुई हजार ७५१ कित्ता शेयर ७२ हजार १२० पटक किनबेच भयो ।
लगातार चार दिनसम्म बढेको बजारमा अन्तिम दिन बिहीबार (आज) भने ब्रेक लाग्यो । बिहीबार नेप्से १८.१४ अङ्कले घटेर २६३५ बिन्दुमा पुगेको छ ।
नेप्से ०.६८ प्रतिशतले घट्दा उच्चतम २६५६.६१ बिन्दु र न्यूनतम २६२९ बिन्दुमा पुग्यो । बिहीबार बजार राताम्य हुँदा पनि कारोबार रकममा भने वृद्धि देखियो ।
बिहीबार ३०८ वटा कम्पनी कारोबारमा आउँदा सात अर्ब ३० करोड ५३ लाख ४२ हजार रुपैयाँ बराबरको एक करोड ५७ लाख २३ हजार ३७९ कित्ता शेयर ७३ हजार ३०९ पटक किनबेच भएको हो ।
प्रतिक्रिया