२० वर्ष बाजेले खोजे, २२ वर्ष आमाछोराले कुरे, प्रदेशबाट फर्किएनन् पुने धामी | Khabarhub Khabarhub

२० वर्ष बाजेले खोजे, २२ वर्ष आमाछोराले कुरे, प्रदेशबाट फर्किएनन् पुने धामी


२७ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


564
Shares
  • change font
  • change font
  • change font

धनगढी – भिरालो अनि पाखो जमिन, त्यसैमा सिँचाइबिनाको खेती किसानी, कडा मिहिनेत तर कम उत्पादन । जति मिहिनेत गरे पनि उत्पादनले परिवारलाई ६ महिना खान पुग्दैन ।

यो सुदूरका पहाडमा बस्ने सबै जसोको साझा समस्या र वास्तविकता हो । जुन समस्या टार्न अधिकांशले भारत धाउनु पर्ने बाध्यता छ । आफ्नो भोको पेट भर्न र परिवार पाल्न भारत (स्थानीयको भाषामा नैताल) बाहेक अर्को विकल्प छैन । 

वर्षमा ८ महिना बढी भारतमै बस्छन् । भारी बोक्नु, मजदुरी गर्नु, भाँडा माझ्नु, चौकीदारी गर्नु र गाडी धुनु उनीहरूले पाउने प्रमुख काम हुन् । त्यही कामको आम्दानी परिवार पाल्ने श्रोत हो । दशैं-तिहारको विशेष खुसी किन्न उनीहरू प्रवास बस्छन् । असार र कात्तिकको खेती दशैं र नयाँ वर्षबाहेक उनीहरू गाउँ र परिवारसँग कमै भेटिन्छन् । 

प्रदेशको बसाइले परिवारसँग कम देखिने गर्थे, खप्तड छेडेदह गाउँपालिका ४ का पुने धामी । जो २२ वर्षदेखि बेपत्ता छन् । घर फर्केका छैनन् । धामी २ वर्षको छोरा, ६ वर्षकी छोरी र साथकी श्रीमतीसहित वृद्ध बाआमालाई छोडेर भारत निस्केका थिए । असारको काम सकाए, साउनमा भैँसी गोठको व्यवस्थापन गरेर भदौमा भारत पसे । 

दशैं-तिहार र कात्तिकको खेतीका लागि नआई नयाँ वर्षमा मात्रै फर्किने गरी धामी परिवारसँग छुटेका थिए । न फोन थियो, न ईमेल-इन्टरनेट नै, घरबाट गएदेखि फर्किएपछि मात्रै सन्चो-बिसन्चो सबै थाहा हुन्थ्यो । खबर आदान प्रदान माध्यमका रुपमा गाउँमा आउने जानेहरूले चिठ्ठी पत्र ल्याउने-लाने गरिदिन्थे। २०५९ भदौ ५ गते घर छोडेका उनै पुने अहिलेसम्म सम्पर्कमा छैनन् ।

त्यससहित उनको सातौँ पटकको प्रदेश यात्रा थियो । उमेरले ४० कटिसकेका थिए । घरको सिङ्गो जिम्मेवारी उनकै काँधमै थियो । २ वर्षसम्म त गाउँलेसँग सम्पर्कमा रहेको परिवारको दाबी छ । तर त्यो अवधिभर उनले परिवारलाई खबर गर्न छोडिसकेका थिए । आउने आशमै परिवार पर्खे रह्यो । बुढा बाआमा, श्रीमती र सन्तान बाटो कुरिबसे । तर २२ वर्ष बित्यो पुने फर्किएका छैनन्, न खबर नै पठाएका छन् ।

उमेर ढल्केका पुनेका बाबु सौरे धामीले २० वर्षसम्म लगातार खोजिरहे । भारतका सकेजति सहर पुगे । तर भेट्टाएनन् । छोरा खोज्दा खोज्दै बाबु पनि बिते । छोरा सुशील धामी बाबु प्रदेश जाँदा भर्खरै जन्मिएका थिए । उनी अहिले २२ वर्षका भए । हजुरबाले २० वर्ष खोजे तर भेटाएनन् । अहिले सुशीलको काँधमा बा खोज्ने जिम्मा आएको छ । भारतको भोजपुरमा उनी काम गर्ने गरेको ठाउँ हरेक वर्ष सुशील पुग्छन्, तर भेटाउँदैनन्, निराश हुन्छन् र घर फर्किन्छन् । आउने आशमा बसेको सुशीलको परिवारलाई बाबु हराएको पीडा मात्रै भएन, बाबु नहुँदाको कष्टले त्यसभन्दा बढी सताइरहेको छ । 

बाजे सौरे धामीको निधन भइसक्यो । छोरा खोज्दा खोज्दै बाउले प्राण त्यागे । छोरा भेट्ने आश अधुरै रह्यो । हजुरबाको मृत्युसँगै फेरि सुशीलको परिवारमा अर्को पीडा थपियो । आमा ६० कटिसकिन्, हजुरआमा दैलो बाहिर नदेख्ने अवस्थामा छन् । बाबु खोज्ने र परिवार पाल्ने दुवै जिम्मेवारी अहिले सुशीलको काँधमा छ । अहिले पनि सुशील भारतमा छन् । साथमा गएकाहरू काम गर्छन्, सुशील कामभन्दा बढी बाबु खोज्न समय दिन्छन् । 

जीवित छन्, वा मृत्यु भइसक्यो परिवारलाई यकिन गर्न मुस्किल छ । मृत्यु संस्कार गरिसकेका व्यक्तिहरू पछि गाउँ फर्किएको उदाहरण छ । बाजुराकै खप्तड छेडेह गाउँपालिकामै २ वर्षअघि अदालतमा गएर मृत्यु संस्कार गरिसकेका एक परिवारले बेपत्ताको १९ वर्षपछि घर फर्किएको उदाहरण पनि छ । जे गर्दा पनि परिवारलाई तनाव छ । 

१२ वर्षदेखि कोही व्यक्ति जानकारीबिना बेपत्ता भएमा, मृत्यु भएको मानिने वा मृत्युको न्यायिक घोषणा गर्न पाइने कानुनी मान्यता छ । प्रवास गएको, बेपत्ता भएको अवस्थामा १२ वर्षपछि जीवित नरहेको प्रमाणित गर्न मिल्ने भन्छन्, अधिवक्ता हर्क खडायत । तर सुशीलको परिवारले २२ वर्षसम्म पनि आश मारेको छैन । 

कानुन अनुसार बेपत्ता भएमा १२ वर्ष, ८० वर्ष पुरा भएको व्यक्ति भएमा ५ वर्ष, युद्ध स्तरमा खटिएको व्यक्ति भएमा ४ वर्ष र दुर्घटना भएको अवस्थामा ३ वर्ष कुनै पनि व्यक्ति सम्पर्कमा नआएमा मृत्युसंस्कार गर्न, न्यायिक घोषणा गर्न वा मृत्यु भएको मान्न सकिने प्रावधान छ । 

सुशीलमुनि भाइ पनि छ । त्यो भाइलाई बाबु भएको-नभएको थाहा छैन । तर सुशीलकी आमाले सिन्दूरको रक्षा गरिरहेकी छन् । श्रीमानको आयुको लागि, आउने आश बोकेर । २२ वर्षसम्म पनि बाउकै नामको सिन्दूर लगाएर बसिरहेकी आमाप्रति सुशीलको उच्च सम्मान छ । ‘हाम्रो खुसीका लागि आफ्नो खुसी लुकाएर बस्नु भयो, अब बाको खबर पाए हुन्थ्यो’, सुशील भन्छन् । 

उसो त त्यही गाउँमा पदम धामीका भाइ पनि बेपत्ता छन् । दशक बितिसक्दा पनि उनी फर्किएका छैनन् । भारत जाने कोही नफर्किने कसैलाई नफर्किन बाध्य पार्ने गरिएको पाइन्छ । असुरक्षित भएर पनि उनीहरू भारत रोज्न बाध्य छन् । भारतको दिल्ली, मुम्बई भन्दा कुमाउँ, गडबाल, पौडी, देरादुन, अलमोडा, रानीखेत, पञ्जाव, कस्मीर, लद्दाख जस्ता ठाउँमा गएर काम गर्ने गरेका छन् ।

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  ४ : २८ बजे

गभर्नर नियुक्तिको विषय चाँडै टुंगिने सभापति देउवाको विश्वास

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल राष्ट्र बैंकको गभर्नर

भारत–चीन सीमामा देखिएका समस्या समाधान गर्न माग

काठमाडौँ– प्रतिनिधिसभाका सदस्य डा. स्वर्णिम वाग्लेले सीमानाकाका समस्या समाधान गर्न

पाकिस्तान दूताबास अगाडि शान्ति समाजको प्रदर्शन, युद्ध रोक्न दुबै देशलाई आग्रह

काठमाडौं– मानव अधिकार तथा शान्ति समाजले भारतमा भएको आतंकवादी हमलाको

शून्य समयमा समसामयिक विषय : पाकिस्तानमा रहेका नेपालीको रक्षा गर्न माग

काठमाडौं– प्रतिनिधिसभाको शुक्रबारको बैठकको शून्य समयमा सांसदहरुले समसामयिक विषयमा सरकारको

बृहत्तर बराहक्षेत्र विकास समितिको ४ निर्णय, कार्यकारी निर्देशकको नियुक्ति अन्योल

काठमाडौं – कोशी प्रदेश सरकारको ३९औं मन्त्रीपरिषदको निर्णयअनुसार बृहत्तर बराहक्षेत्र