जयरामको ‘धीमहि’ सन्देश – आत्मद्वन्द्वमा मुक्ति खोजी ! | Khabarhub Khabarhub

पुस्तक संवाद

जयरामको ‘धीमहि’ सन्देश – आत्मद्वन्द्वमा मुक्ति खोजी !

‘मैले कथा सोच्ने दुःख गरिनँ’


२७ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : 10 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

आफ्नो लेखकीय चरित्रमाथि व्यङ्ग्य कस्दै भूपी शेरचनले भनेका थिए – अनि केर्छन्, पुनः लेख्छन्, कठैबरा भूपी शेरचन ! उनै शेरचन भन्थे – ‘मैले आफैँले आफैँलाई उछिन्न सकिनँ भने किन लेख्ने ?’

‘धीमहि’ उपन्यासका सर्जक जयराम तिमल्सिना कोइलाभित्रको उरुङबाट हीरा खोज्ने स्रष्टा हुन् । उनले जन्माएका पात्र नाना, खाना, छाना, प्रेम, रोमान्स, इतिहासमात्र नभएर मनोविज्ञानको गुदी गुदी केलाउन सफल छन् । आत्मद्वन्द्वको महाभारत रचेर सत्यसँग मितेरी गाँस्नु उनको लेखनीले बोकेको धर्म हो ।

कृति जन्माउनुअघि जयराम जीवन जगतको नाडी छाम्छन् । मान्छेभित्रका कुण्ठा, खुशी र पीडा आफूभित्र मनन गर्छन् । आगोले पोल्छ भन्ने सबैलाई थाहा छ । तर, पीडाले पोलेको छट्पटी आगोको रापभन्दा सकसपूर्ण हुन्छ । फलामको आयु खियाले छोट्याएजस्तै मान्छेको मनभित्र चल्ने आँधीले उसलाई भित्रैबाट टुटाउँछ । तर, तिमल्सिना मानवीय रसायनले मानिसभित्रको सत्वलाई बचाउँछन् । यस दृष्टिबाट हेर्दा उनी अक्षरका माध्यमबाट मानिसको ढुकढुकी छाम्ने सफल शिल्पी हुन् ।

खरायोले महिना महिनामा, कुकुरले तीन महिनामा छाउरा छाउरी जन्माउँछ । तर, जयराम कृति निकाल्नुअघि महिनौँ अन्तध्र्यानमा बिताउँछन् । उनको लेखकीय प्रश्रव यति जटिल हुन्छ कि हात्तीले बच्चा जन्माएपछि आउने कम्पनजस्तै प्रभाव छोड्छन् । ढिलो जन्मिएर के भो त ! हात्तीको छावा सबैका लागि चर्चायोग्य बन्छ । वन्दनीय हुन्छ । समग्रमा शक्तिशाली बन्छ ।

नेपाली माटोबाट निःशृत विषयवस्तुमा उनिएको ‘नासो’ले गुरुप्रसाद मैनालीलाई सिद्धहस्त लेखक बनायो । धीमहिका जन्मदाता तिमल्सिनामा पनि गुणात्मकताको यस्तै झल्को भेटिन्छ । भनिन्छ – भात दुःख हो, अचार सुख हो । त्यही थोरै अचारमा मानिसले धेरै भात लपेटेर खान्छ । जयरामको लेखकीय क्षमतामा त्यही अचारको सुस्वाद पाइन्छ ।

लेखकहरूसँग भलीभाँती सङ्गत गरेका जयरामलाई कुन तत्वले लेखक बनायो – उनैलाई थाहा छैन । कुनै बेलाका सफल तबलावादक नारायणगोपाललाई ‘तिम्रो स्वरमा गायकीको जादू छ’ भनेर प्रेमध्वज प्रधानले सम्झाइदिएपछि उनले सङ्गीतमा आफ्नो लय बदलेका थिए । जयरामको जीवनमा पनि त्यस्तै तत्वले काम गर्‍यो ।

उनी मूलतः व्यवसायी हुन् । दुई दशकदेखि लेखकका किताबका कभर बनाए । उनले छापेको किताबको माध्यमबाट थुप्रै लेखक दरिए । उनको हातबाट छापिएका रंगहरूले देशविदेश यात्रा गरे । प्रज्ञा र चेतनाको कोलाज, लेखकसँगका अन्तरङ्ग कुराकानी, आफूभित्रको चेत, अनि बाटोले सिकाएको पाठले उनीभित्र लेखनको ठूलै ताजमहल बनिसकेको रहेछ । त्यही ताजमहल अन्ततः ‘धीमहि’ नाममा अवतरित भयो । तिनै स्रष्टा जयरामसँग खबर हबले कृतिका बहुआयामिक पक्षबारे संवाद गरेको छ । प्रस्तुत छ– संवादको अंश:

उपन्यासको नाम तपाईँले ‘धीमहि’ किन राख्नुभयो ?

‘धीमहि’ एउटा चरण हो, ठ्याक्कै चाहिँ अर्थ भेटिँदैन । यो मान्छेको जीवनमा आउने एउटा चरण हो । ‘धी’ भन्ने शब्दको धेरैवटा अर्थ हुनेरहेछ । ‘धी’ भनको शान्ति पनि हो । एकदम धैर्य पनि हो, अनि एकदमै उज्यालो पनि हुनेरहेछ । ‘महि’ भनेको चाहिँ स्थान हो ।

‘धीमहि’ ध्यानको एउटा ध्यानको चरणमा प्रयोग हुने शब्द हो । ध्यानबाट मोक्ष प्राप्तिका लागि जाँदा जब आत्मातिर फर्किइन्छ, त्यसबेला शान्त बनाउने अवस्थालाई ‘धीमहि’ भनिन्छ । त्यसैले उपन्यासमा ‘धीमहि’ शब्द प्रयोग गरेको हुँ ।

यो उपन्यासको कथामा मान्छेको आत्मद्वन्द्व छ । जस्तो – मलाई रिस उठ्यो, म उठेर हिडौँला, अर्कोलाई रिस उठ्यो – पिटेर हिँड्ला । यसलाई चाहिँ द्वन्द्व व्यवस्थापन भनौँ । सबैलाई सबै कुरा समान लाग्दैन । फरक मान्छेले फरक किसिमले सोचेको हुन्छ । एकै कुरा मान्छेलाई फरक लाग्न सक्छ । जस्तो – मलाई सुगर छ, चिनी विषसरह हो । अर्कोलाई ग्लूकोज नभइ नहोला ।

विशेषतः यस्ता द्वन्द्वमा मान्छेले कसरी सोचेको हुन्छ, जीवन के हो ? जीवनमा समस्या त आइहाल्छ, कसरी समाधान गर्ने ? समस्या समाधान गर्दा के–कस्ता चरण आउँछन् ? यीनै विषयमा केन्द्रित भएर मैले उपन्यास लेखेको हुँ ।

एउटा खतरा चाहिँ उपन्यासहरू उपदेशात्मक पाइन्छ । एउटा योगी आउँछ, उपदेश दिन्छ । अर्को आउँछ, कथा सुनाउँछ । मैले चाहिँ त्यही कुरा मान्छेको मित्रवृत्तमा फरक फरक घटना र पात्र उभ्याएर देखाएको छु ।

‘धीमहि’ नाम जुराएरै लेख्न थाल्नुभयो कि लेख्दालेख्दै नाम जुर्‍यो ?

मैले यो किताब निकै अनौठो पाराले लेखेँ । मैले कथा सोच्ने दुःख गरिनँ । यस्तो खालको किताब खेल्छु भन्ने चाहिँ दिमागमा थियो । सबैभन्दा पहिला मैले नाम नै लेखँ ।

धेरै किताबहरूको नाम पढ्छु, शुद्ध उच्चारण नै हुँदैन । कुनै किताबको बीचको नाम पढ्दैनौँ, प्रायः किताबको अन्तिम अक्षर हामी आधामात्रै उच्चारण गर्छौँ । सबै किताबमा मैले त्यो समस्या देखेँ । यो उपन्यासमा चाहिँ पाठकले सबै अक्षर राम्रोसँग पढुन् भन्ने मेरो इच्छा हो ।

किताबको नाम शुद्ध उच्चारण होस्, त्यही भएर मैले यो शब्द छानेको हूँ, त्यो पनि गायत्री मन्त्रको शब्द ! अझ यसलाई पनि छोटो पढ्दा ‘म’ अक्षर राम्रोसँग उच्चारण हुँदैन । उच्चारण गर्दा प्रष्ट सुनिन्छ भनेर मैले यो नाम राजेको हो ।

तपाईँ तबला पनि बजाउनुहुन्छ, तबलमा ‘धी’ शब्दको पनि विशेष अर्थ हुन्छ होला ? त्यतैबाट प्रभावित त हुनुभएको होइन ?

तबलामा दुई किसिमको आवाज हुन्छ – एउटा बन्द र अर्को खुला ! बन्द आवाजमा ‘धी’ पर्छ । ‘धीमहि’ मुख बन्द गरेर उच्चारण गर्न सकिने शब्द हो । त्यसकारण मलाई यो ‘डार्क’ आवाज भएको शब्द हो जस्तो लाग्छ ।

जिन्दगी भनेको उज्यालो मात्रै होइन । म भन्ने गर्छु – मलाई अँध्यारो मनपर्छ । यसको अर्थ फेरि उज्यालो मन पराउँदिन भन्ने होइन । तर पछि थाहा भयो – यो अँध्यारो शब्द होइन रहेछ । शान्ति शब्द रहेछ । यो पनि नाम राख्नुको अर्को कारण हो ।

राति ल्यापटपमा बस्ने, जुन पात्र देखिन्छ वा सम्झना आउँछ – ती पात्रलाई जहाँ घुसाउन मिल्छ जस्तो लाग्छ, त्यहीँ थप्दै उपन्यास पूरा गरेँ ।

उपन्यास लेख्न कति समय लाग्यो ?

लाग्यो होला डेढ–दुई वर्ष ! पहिलो ड्राप्ट गर्न नै लामो समय लाग्यो । यसमा एउटा कथा एकै अनुच्छेदमा पनि सकिएको छ ।

जति मलाई आवश्यक लाग्यो – त्यति कथामात्रै लेखेको छु । किताब छोटो बनाउने उद्देश्यले मैले त्यसो गरेको हुँ ।

लेखनमा यो सुरुवात हो या अब थप योजना छैन ?

कुनै योजना छैन । खासमा म लेखक बन्छुजस्तो लागेकै थिएन । म अलिअलि कविता लेख्ने गर्थेँ । एउटा स्ट्याटस पनि राम्ररी लेखेको थिइनँ ।

योगी सन्यासीहरूप्रति मेरो अलिक रुचि थियो । यो विषयमा चाहिँ मैले सोचिरहेको थिएँ । एउटा कुराले मात्रै मलार्ई अलिकति क्लिक गर्‍यो । वास्तविक जोगीहरूलाई जीवनसँग मतलब हुँदैन रहेछ, जीवन नै हुँदैन रहेछ । उनीहरू ज्यूँदो र मरेको नै थाहा नहुने रहेछ । उनीहरूको जीवन नै त्यस्तो हुँदोरहेछ ।

अनि हामी चाहिँ हजारौं मान्छेलाई जम्मा गरेर उपदेश दिनेलाई योगी भनिरहेका छौँ । यसमा कतै न कतै त गल्ती छ नि त । जोगीलाई त दुनियासँग मलतब नै हुँदैन नि । न उनीहरूसँग लोभ छ न उनीहरूसँग माया छ । न उसलाई केही गर्नु छ न केही प्राप्त गर्नुछ । उसलाई त यो सांसारिकताबाट अलग भएर चोला निखार्नुछ ।

तपाईँ काभ्रेको बेथानमा जन्मनुभयो, काठमाडौं कहिले आउनुभयो ?

म एसएससीपछि उच्च शिक्षाका लागि काठमाडौं आएको हुँ । रत्नराज्य (आरआर) र ललितकला क्याम्पसमा पढेँ ।

म पहिले इन्स्ट्रुमेन्ट बेच्ने पसलमा काम गर्थेँ । त्यसपछि प्रिन्टिङ क्षेत्र हुँदै कर्मले डिजाइनर बनाइदियो ।

ललितकला चाहिँ म सङ्गीत सिक्न गएको थिएँ । तबलावादन भारतको प्रयाग सङ्गीत समूहबाट सिकेँ । नेपालकै प्रमाणपत्र लिनमात्र म ललितकला पुगेको थिएँ ।

पेसा व्यवसायको हिसाबले तपाईँ आफूलाई प्रकाशक भन्न रुचाउनुहुन्छ ?

म प्रिन्टिङ लाइनमा विगत २० वर्षदेखि आवद्ध छु । त्यसैले प्रिन्टिङ व्यवसायी भन्नुपर्ला । प्रिन्टिङ र प्रकाशन एकै सिक्काका दुई पाटो भए ।

उपन्यास नै लेख्नुपर्छ’ भन्ने कुरा कहाँबाट आयो ?

मेरो दिमागमा खेलिरहेका विषयमा लेख्दै जाँदा लामो भएपछि यसलाई उपन्यास बनाउँछु भन्ने लाग्यो । दैनिक जीवनमा आफूले देखेका विषय र मान्छेहरूको कथा हो ।

हरेक मान्छेसँग आफ्नै कथा हुन्छ । मान्छेको यो पाटोलाई नै उपन्यासको विषय बनाएँ । तिनै कुरा लेख्दै जाँदा यो उपन्यास बनेको हो । दैनिक केही लेखौँ न भन्ने लाइनबाट मैले यो लेखेको हो, जसरी डायरी लेखिन्छ ।

डिजाइन र प्रिन्ट गर्ने भएकाले मलाई यता पनि आइडिया भयो । अनि उपन्यासको स्वरूपमा ल्याउन सहज भयो । सुरुवातमा त केही थिएन, फेसबुकको स्ट्याटस कलेक्सन गरेको जस्तै थियो । जम्मा सात–आठवटा लाइन थियो । त्यसलाई बढाउँदा बढाउँदै उपन्यास बन्यो ।

कस्तो प्रतिक्रिया पाउनुभएको छ ?

यो उपन्यास पुस्तकमेला केन्द्रित गरी ल्याएको हुँ, जुन जनवरी १ देखि सुरु भएको थियो । मेलामा हाम्रो पब्लिकेसनले पनि भाग लिएको थियो ।

त्यसका लागि तीन–चारवटा किताब निकालियो । हतारमै प्रिन्ट गरेर ल्याएका हौँ । विमोचनका लागि चाहिँ अलिकति कुर्नुपर्ने अवस्था भयो । यो किताब बजारमा भने गइसक्यो । राम्रै प्रतिक्रिया आइरहेको छ ।

धेरैजसो प्रतिक्रिया फेसबुकमार्फत आएको थियो । नचिनेका मान्छेहरूले पनि खोजेर प्रतिक्रिया दिइरहनुभएको छ । पाठकहरूले व्यक्तिगत रूपमा किताबबारे स्ट्याटस पनि हालि राख्नुभएको पाइएको छ । किताब सम्बन्धी पेज र ग्रूपमा प्रतिक्रियाहरू बढी आएको पाइएको छ ।

अधिकतर प्रतिक्रिया कस्ता छन् ?

फरक कन्टेन्ट छ भन्नुभएको छ । अरू ठ्याक्कै यही भन्नका लागि ठोस कुरा चाहिँ आएको छैन ।

कसैले किताबको समीक्षा पनि गरेका छन् ?

एउटा समीक्षा साहित्यपोस्टमा आएको छ ।

किताबलाई लिएर सन्तुष्ट हुनुहुन्छ ? ‘ठीकै’ गरेछु भन्ने लागिरहेको छ ?

यो मैले हतारमा गरेको काम होइन, समय दिएरै लेखेको हुँ । त्यसैले ‘मैले यति गर्न सकेँ’ भन्ने हिसाबमा मात्रै लिएको छु । ठीकै त भयो नै अब ! जे भयो राम्रै भयो ! बाँकी त अब पाठकको हातमा छ ।

धीमहि विमोचनमा सहभागीहरू, नेपाल प्रज्ञा प्रतिष्ठान ।

नाम चलेका किताबले बजार पाउँछ भन्छन् । नयाँँ अर्थात् नाम नचलेका लेखकहरूको राम्रै पुस्तक आए पनि बजार नपाएको वा समस्या भोग्नुपरेको छ भन्ने सुनिन्छ । तपाईँलाई त्यस्तो केही महसुस भएको छ ?

आफ्नो किताबका हकमा म भाग्यमानी हुँ । किनभने पहिलो चरणमै चर्चा भएको छ । तर, तपाईँले भनेको कुरामा सत्यता छ । नयाँ वा पूरानोभन्दा पनि लेखकको जनसम्पर्क कस्तो छ, त्यसले चाहिँ सम्बन्ध राख्छजस्तो लाग्छ ।

लेखकको पाठकसँग सम्बन्ध एकदमै राम्रो छ, उसले विभिन्न मान्छे भेट्ने गर्छ भने कमजोरै किताब भए पनि राम्रैगरी बिक्छ । गाउँपालिका धाएर पाँच÷सात हजार किताब बेच्ने लेखक पनि यही बजारमा छन् । किताबमा राम्रो कन्टेन्ट छ । तर, लेखक कोठाभन्दा बाहिर निस्कन सकेको छैन भने एकदमै कम किताब बिकेको रेकर्ड पनि छ ।

किताबको बिक्रीमा प्रकाशन गृहले पनि केही प्रभाव राख्छ । किताब भए पनि नपढ्ने र किताबको ओज थाहा नपाउँदा गलत सिफारिस पनि भएको छ । सही मान्छेलाई सही किताब नदिँदा पढ्ने संस्कारमै असर गरेको छ । तर, समग्रमा खोजेर पढ्न चाहनेलाई भने समस्या छैन ।

अब त तपाईँ लेखक र प्रकाशक दुबै हुनुभयो, प्रकाशकका दुःख र लेखकको खुशी तुलना गर्दा कुन बढी अर्थपूर्ण हुनेरहेछ ?

हामीकहाँ धेरै किसिमका लेखकहरू हुनुहुन्छ । धेरै लेखकहरू रहरमा बन्नुभएको छ । सरर लेख्यो, कसैलाई २–५ हजार रुपैयाँ दिएर लेखायो, अनि प्रकाशकलाई दियो, प्रकाशकले त्यसलाई व्यवस्थापन गरेर छाप्ने प्रचलन पनि छ ।

अहिलेको समय हेर्दा ‘लेखकलाई सुख छ’ भन्नै मिल्दैन । प्रकाशकको पक्षमा कुनै किताब चल्यो भने राम्रै हुन्छ । प्रकाशकलाई ‘मार्जिन लेभल’ बढी नै छ । तर, किताब चले पनि लेखकहरू सीधै कालोसूचीमा पर्ने सम्भावना छ । लेखकले फोटो गनेर बसेको हुन्छ ।

मानौँ – हामी पाँच जना छौँ । ‘एउटै किताब पढ्यौँ र पाँचै जनाले किताब पढ्यौँ’ भनेर फोटो हाल्न मिल्यो । तर, किताब त एउटै हो नि ! त्यो किताब पनि कसैबाट सापट लिएको हुन सक्छ ।

तर, लेखकले चाहिँ पाँचजना साथीहरूले किताब किने भनेर हिसाब गरेको हुन्छ । किताब चाहिँ त्यो सङ्ख्यामा नबिकेको हुनसक्छ । यो अवस्थामा लेखकले ‘मेरो किताब ५–१० हजार बेच्यो होला र मलाई हिसाब देखाएन’ भने सोच्छ ।

प्रकाशकको स्टोरमै किताब थन्किने व्यथा पनि छ । प्रकाशकको दुःख छैन पनि भन्न मिल्दैन । कहिलेकाँहीँ पाँच थान किताब पनि कट्दैन, लगानी पनि उठेको अवस्था हुँदैन, रोयल्टीको कुरा आइसक्छ । अनि अविश्वास पनि खेप्नुपर्छ ।

दोस्रो चाहिँ – लेखकमा पनि ‘प्रकाशकले कति किताब बेच्यो’ भन्ने हेर्दै नहेरी एकतर्फी सोच्ने चलन छ । यसमा पारदर्शीताको समस्या छ जस्तो मलाई लाग्छ । पब्लिकेसनले लेखकलाई बोलाएर ‘मैले तपाईँको यति किताब छापेँ, यो यो ठाउँमा तपाईँको किताबको बिल काटेँ, मैले बजारबाट यति पैसा उठाएँ, यति बजारमा फसेको छ’ भनेर स्पष्ट पार्न नसक्नु समस्या हो ।

यसो भयो भने प्रकाशक र लेखकबीचको विवाद कम हुन्थ्यो होला । तर, लेखक र प्रकाशक दुबैका दुःख समान छन् । जस्तो – एउटा किताब निकाल्यो, चार–पाँच लाख रुपैयाँको प्रोजेक्ट बन्छ । बजार कमिसन, डिजाइन, कभर, विमोचन, प्रचार, सवारी खर्च, लेखकको पारिश्रमिक सबै गरेर र लेखकलाई रोयल्टी दिएरमात्रै मुनाफा कमाउनुपर्छ । भनेपछि यसमा दुःख छैन भन्न त मिलेन नि !

लेखक र प्रकाशक दुवै सङ्कटमा हुन् ?

वास्तवमा हो ।

सङ्कटमा पर्नुको कारण कन्टेन्ट राम्रो दिन नसकेर हो वा नेपाली समाजमा पठन संस्कृति कमजोर भएर हो ? अथवा सामाजिक सञ्जालको प्रभाव हो ?

यसमा चाहिँ तीन कारण भन्नुपर्ला । पहिलो त कन्टेन्ट नै भन्नुपर्छ । अहिले पनि किताब पढ्नुपर्‍यो पनि बीपी कोइराला र पारिजात, लक्ष्मीप्रसाद देवकोटा सिफारिस गर्नुपर्ने बाध्यता छ । हामी पनि ५–१० वर्ष अगाडिकै किताबहरू दोहोर्‍याएर पढिरहेका छौँ । यो कुरा किताबमा मात्र होइन, गीतमा पनि लागु हुन्छ ।

लेखकको एउटा किताब चल्यो भने ‘दोस्रो किताब त्यो भन्दा राम्रो हुन्छ’ भन्ने अपेक्षा हुन्छ । तर, तुलनात्मक रूपमा पहिलोभन्दा कमजोर नै भएको पाइन्छ । अर्थात्, कतै यहाँ साधनाको पनि समस्या छ भन्ने बुझिन्छ ।

हामी ‘पाठक छैनन्’ पनि भन्छौँ, केही हदसम्म यो सत्य पनि हो । यो सत्य होइन, किनकी हिन्दी र अङ्ग्रेजी किताब उत्तिकै बिकिरहेको छ । यी किताब बिक्नु भनेको त पाठक कम भएको पक्कै होइन । अर्थात्, कतै न कतै समस्या छ ।

आम मानिसलाई पाठक बनाउनुपर्थ्यो, त्यसो गर्न सकेका छैनौँ । मुख्यतः हामीकहाँ किताब पढ्नुपर्ने जुन समूह हो – त्यो विदेश गएर समस्या भइरहेको छ ।

तपाईँले विभिन्न पात्रहरू भेट्नुहुन्छ, तपाईँको काम डिजाइन र पब्लिकेसन हो, कोही किताब निकाल्न आउँदा उनीहरूको लेखन हेर्दा ‘के किताब छाप्न आएको हो ?’ भन्ने लाग्दैन ? किताब स्रष्टाले मात्र लेखिरहेको छन् कि यो रोग बनेको छ ?

प्रकाशन–लेखनबाट बाहिर बसेर डिजाइनर र प्रेसकर्मी भएर हेर्दा तपाईँले भनेको कुरामा सत्यता छ ।

यस्ता धेरै किताबहरू छन्, जसलाई हामीले ‘प्रुफ हेराएर छापौँ’ भन्दा लेखकहरूले नमानेको अवस्था पनि छ । उहाँहरू ‘जे छ, ठीक छ’ भन्नुहुन्छ । बजारमा अशुद्धै किताबहरू जान्छन् ।

सम्पादनमा कत्तिको समस्या छ ?

यसमा पनि समस्या नै छ । एउटा प्रसँग भन्छु, तर किताबको नाम खुलाउँदिन । एक स्रष्टा बाहिर बस्नुहुन्छ, उहाँको किताबको प्रिन्टको काममात्रै मैले लिएको थिएँ । किताब ६ हजार प्रति बिक्यो । त्यो किताब उहाँले विदेशमा नै बेच्नुभयो । किताब सामान्य नै छ । त्यो किताबमा गुणस्तर भएको भए, हाम्रो संस्कृति र हाम्रो कुराहरू पनि जान्थ्यो भन्ने मलाई लाग्छ ।

अनि धेरै किताब चाहिँ आफू कथा दिएर अरूलाई लेख्न लगाउने चलन पनि छ । मलाई यो किताब लेख्न पाँच–छ वर्ष लाग्यो । आफ्नै किताब लेख्न मलाई यत्तिका समय लाग्यो । तर, कुनै व्यक्तिले एउटा किताब ७ दिनमा लेखेर दिन्छ । यो दुई समयावधि तुलना गर्दा तपाईँको उत्तर यसैले दिन्छ ।

बीपीले पनि ‘सुम्निमा सात दिनमै लेखेका हुन्’ भन्ने गरिन्छ त !

उहाँको दिमागमा किताबमा उल्लेखित सन्दर्भ १–२ वर्षदेखि नै बसेको थियो होला । कसैले एक घनमा किलो गाड्न सक्ला, तर उसले एक वर्ष अभ्यास गरेको पनि हुनसक्छ नि ! उसले कसैको निर्देशनमा गएर पहिलोपटक नै हानेको होइन नि त !

लक्ष्मीप्रसाद देवकोटाले ‘मुनामदन’ एकै रातमा लेख्नुभएको भन्ने कुरा छ । तर उहाँको दिमागमा कहिलेदेखि बसेको थियो ? प्रश्न त्यो हो । उहाँहरू त निपुण मान्छे हो । निपूर्णता, साधना र अभ्यासलाई हामीले नजरअन्दाज गर्‍यौँ भने चाहिँ त्यसको उत्तर भेटिँदैन ।

उहाँहरूले गरेको साधनालाई हामीले बुझ्नुपर्‍यो र स्वीकार गर्नुपर्‍यो । उहाँहरूले एक रातमा सक्नुभयो, म चाहिँ किन ?’ भन्नु लेखनप्रति अपराध हुन्छ ।

तपाईँ आफैँलाई मनपर्ने लेखक को हुन् ?

पुराना पुस्तकमै जानुपर्छ । तर मलाई मनपर्ने धेरै किताब छन्, जुन चलेका छैनन् । ती किताब आज पनि बजारमा भेटिन्छन् । तर, चलेनन् । बिक्रेताहरूले ती किताबलाई चिनिदिएनन्, ‘प्रमोसन’ गर्नेहरूले गरिदिएनन् ।

ती किताबहरूको नाम लिनुहुन्छ ?

‘पाठशाला’ भन्ने किताब राम्रो छ, तर चर्चा एकदमै कम छ । ‘अन्तिम पात’को चर्चा पनि कम छ । यस्ता किताबको सूची बनायौँ भने लामो नै हुन्छ ।

अहिले राम्रो किताबहरू छैनन् भन्न चाहिँ मिल्दैन । राम्रा किताबको ‘प्रमोसन’मा कमजोरी भएको अवस्था छ । हाम्रो संस्कृति र सभ्यता बुझेर लेख्ने मान्छे पनि छैनन् । गलत व्याख्या र लहडको पनि शिकार भएका छौँ ।

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  ६ : १६ बजे

स्ववियुको निर्वाचन कार्यतालिका सार्वजनिक ‍

काठमाडौं– त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन कार्यपालिका

आजको कार्टुन- पढ्न भारत गएका विद्यार्थीलाई डरैडर

काठमाडौं-  हजारौँ नेपाली विद्यार्थीका लागि नजिकको शैक्षिक गन्तव्य हो छिमेकी

प्रकृति प्रकरणमा बोल्यो भारत- नेपाली विद्यार्थीको सुरक्षामा सबै कदम चाल्छौँ, दोषीलाई कारबाही हुन्छ

काठमाडौं- रुपन्देहीकी विद्यार्थी प्रकृति लम्सालको गत आइतबार ओडिसाको भुवनेश्वरस्थित केआईआईटी

नबिल बैंकको ‘नबिल एसएसई कनेक्टः प्रदेशभर उद्यमशीलताको प्रवर्द्धन’ कार्यशाला सम्पन्न

काठमाडौं– नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल

‘महालेखापरीक्षकको प्रतिवेदन संसद्मा छलफल हुनुपर्छ’

काठमाडौं– सार्वजनिक निकायहरुको बेजुरु बर्सेनि बढ्न थालेपछि महालेखापरीक्षकको प्रतिवेदनले औँल्याएका