राष्ट्रिय राजनीतिमा तरंग फैलाएर काठमाडौं फर्कंदै पूर्व राजा ज्ञानेन्द्र, पोखरामा दिए बिदाइ भोज | Khabarhub Khabarhub

राष्ट्रिय राजनीतिमा तरंग फैलाएर काठमाडौं फर्कंदै पूर्व राजा ज्ञानेन्द्र, पोखरामा दिए बिदाइ भोज


२५ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

पोखरा – समिट एअरको जहाज चार्टर गरेर परिवारसहित माघ २७ गते पोखरा आएका पूर्वराजा ज्ञानेन्द्र शाह महिनादिन लामो बसाइपछि आइतबार काठमाडौं फर्कंदै छन् ।

ज्ञानेन्द्र यसअघि पनि पोखरा आउँथे र जान्थे । तर यसपालि उनको पोखरा बसाइ महिनादिन लामो मात्र भएन, उनका गतिविधि र अभिव्यक्तिले राष्ट्रिय राजनीतिमा समेत ठूलै तरंग ल्याइदिएको छ ।

त्यसो त ठूला दलका नेता कुनै हालतमा राजतन्त्र फर्कने सम्भावना छैन भन्ने अभिव्यक्ति दिनै व्यस्त छन् । राजनीति गर्न चाहे दल दर्ता गरेर निर्वाचनमा होमिन उनीहरुले सुझाव दिएका छन् । यसले के संकेत गरेको छ भने पूर्व राजाको पछिल्ला गतिविधि र अभिव्यक्तिले ठूला राजनीतिक दललाई समेत सोच्न वाध्य बनाएको छ । र त उनीहरुले लगातार प्रतिक्रिया जनाइरहेका छन् ।

माघ २७ गते पोखरा आएका पूर्वराजा ज्ञानेन्द्रले प्रजातन्त्र दिवसमा फागुन ६ गते लामै भिडियो सन्देश दिए । जुन सन्देशले उनी आफै राजतन्त्र फर्काएर गद्धी आरोहण गर्न इच्छुक छन् भन्ने प्रष्ट्याएको छ ।

त्यतिबेला उनले राष्ट्रको समृद्धि र उन्नतिका लागि आफ्नो साथ आवश्यक रहेको उल्लेख गरेका थिए । उनले राष्ट्रिय समस्या समाधानका लागि विगतमा आफूले त्याग गरेको र अब पनि त्याग गर्न तयार रहेको भन्दै राष्ट्रिय एकता कायम गर्न सबैलाई आह्वान गरेका छन् ।

पूर्वराजा शाहले आफ्नो १० मिनेट २७ सेकेन्डको भिडियो सन्देशमा भनेका छन्, ‘हामीले पहिले पनि राष्ट्रिय समस्या समाधानका लागि त्याग गरेका थियौं । अब नेपालको उन्नतिका लागि आवश्यक पर्ने अरू त्याग गर्न पनि हामी तयार छौं । अब राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कायम राख्ने हो भने देशको समृद्धि र उन्नतिका लागि सबै देशवासीलाई हामीलाई साथ दिन आह्वान गर्दछौं ।’

उनले जनताको हितका लागि ओहोदा र सुविधाहरू त्यागेको दाबी गरेका छन् । ‘नेपाल हाम्रा देशभक्त पुर्खाहरूले बनाएको सुन्दर राष्ट्र हो । यस राष्ट्रमा कुनै संकट नआओस् भन्ने हाम्रो चाहना हो। त्यसैले हामीले सधैं राष्ट्रको हितमा उदारता देखाउँदै आएका छौं,’ उनले भने । साथै, उनले आफ्नो त्यागलाई कमजोरीका रूपमा नबुझ्न आग्रह गर्दै, ‘त्यागले कसैको महत्व कम हुँदैन । हाम्रो लक्ष्य सबैलाई समेटेर अघि बढ्नु हो,’ भनेका छन् ।

शाहले प्रजातन्त्रको सार्थकता व्यवहारमा देखिनुपर्ने उल्लेख गर्दै, ‘केवल सुन्दर शब्द र आकर्षक आदर्शले प्रजातन्त्र सफल हुँदैन । सेवाभाव, सही प्रजातान्त्रिक आचरण, सबैको पहिचान र अस्तित्व सुरक्षित हुनुपर्छ। निषेधको राजनीतिले प्रजातन्त्रलाई बलियो बनाउँदैन । स्वार्थ र हठवादले प्रजातन्त्रलाई गतिशील बनाउन सक्दैन,’ भनेका छन् ।

उनले नेपालको इतिहास मेटिँदै गएको तथा अस्तित्व नै संकटमा परेको गुनासो गर्दै भने, ‘युवा जनशक्ति विदेश पलायन भइरहेको छ। नवजात नेपाली शिशुको टाउकोमा ठूलो ऋणको भार छ । कलकारखाना, व्यापार-व्यवसाय निरन्तर धराशायी बन्दैछन् । नेपालको नीति तथा प्रणाली ठीक छैन भन्ने भावना बढ्दै गएको छ । यस्ता कुराले प्रजातन्त्रलाई शोभनीय बनाउँदैन ।’

उनले प्रजातन्त्र जनताको आशा र भरोसाको आधार बन्नुपर्नेमा जोड दिएका छन् । ‘प्रजातन्त्र सशक्त हुँदै जाँदा हामी सबैको भविष्य उज्ज्वल हुन्छ भन्ने विश्वास जागृत हुनुपर्छ । तीन दशकयता हाम्रो अवस्था यस्तो देखिएको छैन । आमजनताको जीवनमा मुस्कान ल्याउने, उनीहरूलाई खुसी र सुखी बनाउने व्यवस्थाको हामी सबैले चाहना राखेका छौं । तर, व्यवस्था बदलियो भन्नेहरूले अवस्था सुधार गर्न नसक्नु दुःखद विषय हो,’ उनले सन्देशमा उल्लेख गरेका थिए ।

यसबीचमा विन्ध्यवासिनी मन्दिर दर्शन गरेका थिए । फागुन २२ गते उनले पोखराको वीरेन्द्रचोकमा राजा वीरेन्द्रको सालिक अनावरण गरे । त्यसबाहेक उनलाई केही स्थानीयले नगर परिक्रमासहितको अभिनन्दन पनि यसबीचमा गरेका थिए ।

पोखराकै वीरेन्द्रचोकमा रहेको पूर्व राजा वीरेन्द्रको सालिक समेत यसबीचमा ज्ञानेन्द्रले अनावरण गरेका छन् । उक्त कार्यक्रमलाई राप्रपाले राजाको पक्षको शक्ति प्रदर्शनका रुपमा लिएको थियो ।

पोखराबाट दिएको यो सन्देश अरु समयको भन्दा अलि फरक त थियो नै । राजसंस्थाप्रतिको समर्थन देखाउन राजा ज्ञानेन्द्रले पोखरामा ठूलै शक्ति प्रदर्शन गरे । उनी पोखरामा रहँदा स्वागत र अन्य कार्यक्रमको चाँजोपाँजो मिलाउने जिम्मा प्राडा जगमान गुरुङले पाएका थिए । ज्ञानेन्द्र पोखरा आउँदा पुरानो विमानस्थलमा स्वागत गर्न होस् वा विन्ध्यवासिनी दर्शनका नाममा नागरिक अभिनन्दन गर्नका लागि जगमानले नै अगुवाइ लिएका थिए । जसमा राप्रपा मात्र होइन कांग्रेस र एमालेका समर्थक समेत सहभागी भएका देखिन्थे । केही दिन अघि पोखराको गणेशटोलमा रहेको गणेशमन्दिरदेखि विन्ध्यवासिनीसम्म पूर्व राजा ज्ञानेन्द्र पैदल यात्रा नै गरेर पुगेका थिए । जसमा कांग्रेस एमालेका कार्यकर्ताहरु नै माला र फूल लिएर स्वागतका लागि तैनाथ थिए । राप्रपा त राजतन्त्रका पक्षमा खुलेरै लागेको छ नै ।

पोखरा २१ स्थित मर्निङ ग्लोरी रिसोर्टमा परिवारसहित बसेका पूर्व राजा ज्ञानेन्द्रले यसबीचमा शाहवंशको कुलमन्दिर स्याङ्जाको आलमदेवी पुगेर दर्शन गरेका छन् । धार्मिक भ्रमणलाई समेत उनले आफू समर्थकसँग भेट्ने अवसरका रुपमा प्रयोग गरे । पोखरादेखि आलमदेवी पुग्नेबेलासम्म स्याङ्जाका विभिन्न ठाउँमा उनको स्वागतमा समर्थकहरु उतारिएको थियो।

काठमाडौंमा छोरा पारस शाह हर्टअट्याक भएर अस्पताल भर्ना भएकै दिन पूर्व राजा ज्ञानेन्द्र बागलुङको कालिका मन्दिर दर्शन गर्न पुगेका थिए । त्यसो त यसबीचमा पोखराकै लेखसाइडस्थित क्याटवाक रेन्स्टुरेन्टमा पूर्व राजा ज्ञानेन्द्रले छोरीको जन्मदिन मनाएका थिए । जसमा पारस समेत सहभागी थिए । बागलुङबाट फर्केपछि उनले माउन्ट ग्लोरीमा भेटघाटलाई तीव्रता दिएका थिए । जसमा पोखरा र वरपरका व्यवसायीहरुसहित राप्रपावाहेक दलका नेता तथा कार्यकर्ता समेत सहभागी थिए ।

शनिबार बिदाइ भोज

यसैबीच काठमाडौं फर्कनुअघि पूर्वराजा ज्ञानेन्द्रले शनिबार बिदाइ भोज दिएका छन् । पोखरा बसाइको अन्तिम रात उनले आफू बसिरहेको पोखरा २१ स्थित मर्निङ ग्लोरी रिसोर्टमा पोखरा र आसपासका व्यक्तित्वहरुलाई बिदाइ भोज दिएका हुन् ।

भोजमा प्राडा जगमान गुरुङसहित सांस्कृतिक अध्येता सुनील उलक लगायत पनि सहभागी रहे । त्यसबाहेक पोखराका विभिन्न धार्मिक संस्थाका प्रतिनिधि सहभागी थिए ।

स्याङ्जाको आलमदेवी, बागलुङ कालिका, म्याग्दीको गलेश्वर मन्दिरसहित पोखराको धर्मोदय सभा, भैरव सांस्कृतिक समिति लगायतका संस्थाका प्रतिनिधि पनि निम्त्याइएका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कार्यकर्ताहरु पनि शाहको भोजमा सहभागी बने ।

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आइतबार  ७ : ४१ बजे

धनगढीमा बन्यो ३२ करोडको सभा गृह, प्रधानमन्त्री ओलीले गरे उद्घाटन 

धनगढी– सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा सुविधायुक्त सभागृह सञ्चालनमा आएको छ

पोखरामा अनलाइन जुवा र क्रिप्टोकरेन्सी कारोबार : पाँच जना पक्राउ

पोखरा– कास्की प्रहरीले क्रिप्टोकरेन्सी कारोबार, अनलाइन जुवा र सट्टाबाजी गरेको

ज्ञानेन्द्र शाहबारे प्रधानमन्त्री- राष्ट्रपति हुँदाहुँदै नारायणहिटीको कुर्सीमा राख्दैमा कोही राजा हुँदैन

धनगढी- प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान संविधान कुनै व्यक्तिले दिएको

अर्थसंक्षेप : कुलमानले फेरि बुझाए सफाइ, नेप्सेमा गयो पहिरो र तीन करोडमुनिका योजनामा अर्थमन्त्रीको अंकुश

काठमाडौं– नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारलाई आज

नेपालद्वारा युगाण्डा एक विकेटले पराजित   

काठमाडौं– युगाण्डामा जारी चार देशीय महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले