पोखरा जोड्ने तीन सडक स्तरोन्नति हुँदै | Khabarhub Khabarhub

पोखरा जोड्ने तीन सडक स्तरोन्नति हुँदै


२५ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

गण्डकी– पर्यटन राजधानी पोखरा जोड्ने तीन सडक यति बेला स्तरोन्नतिको चरणमा छन् । पोखरा–मुग्लिन सडक, पोखरा–लमजुङ सडकअन्तर्गत तालचोक–बेगनास र मध्यपहाडी लोकमार्गको हरिचोक–याम्दी खण्ड कालोपत्र हुने भएको छ । 

पोखरा–मुग्निल सडक आयोजनाको पश्चिम (पोखरा–जामुने) खण्डमा हालसम्म ४३.३४ प्रतिशत भौतिक प्रगति भएको छ । आयोजनाका इन्जिनियर सौजन्य नेपालका अनुसार हालसम्म २९.४७ किमि सडक कालोपत्र भएको छ । चार लेनको उक्त सडकमा १५.३२ किमिमा दुईतर्फी र १४.१५ किमिमा एकतर्फी कालोपत्र भइसकेको छ । 

‘तनहुँमा साढे दुई किमि कालोपत्र हुन बाँकी छ, कास्की खण्डमा पनि अहिले धमाधम कालोपत्र भइरहेको छ’, उनले भने, ‘आगामी वर्षभित्र काम सक्ने लक्ष्य लिइएको छ ।’

चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एण्ड ब्रिज कन्सट्रक्सनले विसं २०७८ देखि उक्त खण्डको काम सुरु गरेको थियो ।

पोखराको चाउथे, अन्तरराष्ट्रिय विमानस्थलदेखि अमरसिंहचोक, बुढीबजारलगायत क्षेत्रमा पर्ने सडक स्तरोन्नति भइरहेको इन्जिनियर नेपालले जानकारी दिए । पोखरा महानगरपालिका–२७ तालचोकदेखि गगनडौँडासम्मको खण्डमा पनि निर्माणले गति लिएको उनले बताए।

कास्की र तनहुँमा पर्ने पश्चिम खण्डको तीन वर्षे ठेक्का अवधि गत भदौमा सकिएपछि निर्माण कम्पनीले म्याद थपेर काम गरिरहेको छ ।

पश्चिमतर्फ तनहुँको थर्पु, तुरतुरे, कास्कीको तल्लो गगनगौँडालगायत खण्डमा कालोपत्र भइसकेको छ । तनहुँको जामुनेदेखि पोखराको सेती पुलसम्मको आधा सडक छ लेन र आधाजति चार लेनको बन्ने इन्जिनियर नेपालले जानकारी दिए ।

वियजपुर खोला र सेती नदीमा पुल निर्माण सँगसँगै भइरहेको उनको भनाइ छ । ३८.८८ किमि दुरीको पश्चिम खण्डमा पर्ने १२ वटामध्ये नौ वटा सडक पुल निर्माणको अन्तिम चरणमा रहेको आयोजना कार्यालयले जनाएको छ ।

चिनियाँ निर्माण कम्पनीले सात अर्ब ४० करोड ४६ लाख रुपैयाँमा पश्चिम खण्ड निर्माणको जिम्मा लिएको हो । कुल ८१ किमि दुरीको पोखरा–मुग्लिन सडक एसियाली विकास बैङ्कको ऋण सहयोगमा विस्तार तथा स्तरोन्नतिको काम भइरहेको हो । 

कूल ४१.४५ किमिको पूर्वी खण्डमा पनि विसं २०७८ वैशाखदेखि निर्माण कम्पनी चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले काम सुरु गरेको थियो । 

पूर्वी खण्डमा सडक स्तरोन्नति र कालोपत्रको काम अन्तिम चरणमा पुगेको आयोजना कार्यालयले जनाएको छ । पोखरादेखि रुपा गाउँपालिका हुँदै लमजुङ जोड्ने सडकअन्तर्गत पोखरा–२७ तालचोकदेखि ३१ बेगनास जोड्ने चार लेनको सडक कालोपत्रका लागि पूर्वाधार तयारीको काम भइरहेको छ । 

विसं २०७९ चैतदेखि निर्माण थालिएको उक्त सडक विश्व बैङ्कको सहुलियत ऋणमा बन्न लागेको हो । 

कूल ३.२८ किमिको उक्त सडकको हालसम्म भौतिक प्रगति ४५ प्रतिशत पुगेको पोखरा महानगरपालिकाको सडक शाखाका इन्जिनियर नवीन गौतमले बताए । 

निर्माण कम्पनी ‘स्वच्छन्द–सपना–वल्र्डवाइड जेबी’ले ठेक्का सम्झौता भएको एक वर्षपछि बल्ल सडक निर्माणको काम सुरु गरेको थियो । 

एक अर्ब ४९ करोड रुपैयाँको लागत योजना रहे पनि निर्माण कम्पनीसँग भ्याटबाहेक ७५ करोड ४८ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको इन्जिनियर गौतमले बताए । फुट ट्रयाक, साइकल लेन र पार्किङसहितको नुमना सडक बन्ने उनको भनाइ छ । 

सडक छेउछाउमा बगैँचा, सडकबत्तीलगायत पूर्वाधार बनाइने महानगरपालिकाले जनाएको छ । सडकमा तीन वटा पुल निर्माणाधीन अवस्थामा छन् । सडक विस्तार, कल्भर्ट, नाला र पर्खाल निर्माण भइरहेको इन्जिनियर गौतमले बताए । 

इन्जिनियर नेपालले आगामी असारसम्म उक्त सडक कालोपत्र गर्ने लक्ष्य लिइएको बताए । गण्डकी प्रदेशको राजधानीसमेत रहेको पोखरासँग जोडिएको राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत हरिचोक–याम्दी खण्ड कालोपत्रका लागि पूर्वाधार तयारीको काम भइरहेको छ ।  

पर्वतस्थित लोकमार्ग आयोजना कार्यालयका अनुसार कालोपत्रका लागि ‘प्लान्ट’ राख्ने काम भइसकेको छ । करिब २२ सय मिटर दुरीको उक्त सडक समयमा कालोपत्र नहुँदा जनगुनासो बढेको थियो । 

चार लेनमा सडक विस्तारसँगै नाली, पर्खाल, कल्भर्ट निर्माणलगायतका काम सकिएको जनाइएको छ । दुई वर्षमा सक्ने गरी विसं २०७९ साउनमा काठमाडौँको मोतीदान कन्स्ट्रक्सन सेवा प्रालिले उक्त सडक निर्माणको जिम्मा लिएको थियो । 

निर्माण कम्पनीको ढिलासुस्तीका कारण सडक समयमा निर्माण हुन सकेको थिएन । दुवैतर्फ चार लेनको सडक बनिसक्दा पनि उक्त खण्ड समयमा निर्माण नहुँदा लोकमार्गको यात्रा सास्तीपूर्ण बनेको थियो । विद्युत् पोल, खानेपानी व्यवस्थापन, भुक्तानी समस्या जस्ता कारणले पनि सडक निर्माणमा ढिलाइ भएको जनाइएको छ । 

आयोजना कार्यालयले ठेक्का तोड्ने चेतावनी दिएपछि निर्माण कम्पनीले कामको गति बढाएको थियो । एकसाथ तीन ठूला सडक निर्माणका क्रममा रहेकाले पर्यटकीय राजधानी पोखराको यातायात सेवा केही असहज भने बनेको छ ।
 

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आइतबार  १ : २६ बजे

भारतले तेस्रो पटक जित्याे च्याम्पियन्स ट्रफीको उपाधि

काठमाडौं – भारतले तेस्रो पटक च्याम्पियन्स ट्रफीकोको उपाधि जितेको छ

काठमाडौं उपत्यकामा बढ्यो वायु प्रदुषण

काठमाडौं – काठमाडौं उपत्यकामा प्रदुषण बढेको छ । मौसम पूर्वानुमान

महिलाको हत्यामा संलग्न पाँचजना पक्राउ

काठमाडौं – काठमाडौंको गोकर्णेश्वरस्थित एक महिलाको हत्यामा संलग्न एक नाबालकसहित

सडकमा फोहोर गरेको भन्दै राप्रपालाई काठमाडौं महानगरद्वारा एक लाख जरिवाना

काठमाडौं – काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई एक लाख रुपैयाँ

अब कुनै पनि बहानामा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सार्ने छुट छैन : मन्त्री चाैधरी

कर्णाली – युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले अब कुनै पनि