चैतको खडेरीमा आन्दोलनको हुरी, घेराबन्दीमा ओली | Khabarhub Khabarhub

चैतको खडेरीमा आन्दोलनको हुरी, घेराबन्दीमा ओली

चित्रबहादुरदेखि कुलमानसम्म, राजावादीदेखि सहकारी पीडितसम्म



काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मंगलबार चितवन पुगेर सरकारका कारण जनता आक्रोशित हुँदै गएको बताए ।

कांग्रेस चितवनले मंगलबार गरेको ३५ औँ जनआन्दोलन दिवस र नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान कार्यक्रममा कोइरालाले सरकारले प्रभावकारी काम गर्न नसक्दा यस्तो अवस्था आएको निष्कर्ष सुनाए ।

‘अहिले दिनहुँ जनता सडकमा आउनुपर्ने बाध्यता छ । यसलाई अन्त्य गर्न सकेमा मात्र सरकारमा कांग्रेस भएको अनुभूति हुन्छ’, उनले अगाडि भने, ‘जनताको आक्रोशलाई सामान्य लिनु हुँदैन । वर्तमान सरकार गठनका बेला भएका दुई दलीय सहमति कार्यान्वयन हुन नसक्दा पनि थप समस्या भएको छ ।’

खासमा नेता कोइराला कुनै बेला कांग्रेस-एमाले सत्ता सहकार्यको पक्षमै थिए । एमालेको साथ लिएर उनले कोशी प्रदेशमा आफूनिकट नेता केदार कार्कीलाई मुख्यमन्त्री नै बनाए ।

उनै कोइरालाले गत असार १७ गते कांग्रेस र एमालेबीच सत्ता सहकार्यका लागि ७ बुँदे सहमति हुँदा देश आफ्नो नीतिअनुसार अघि बढेको बताएका थिए । तर उक्त सहमति भएको ६ महिना पनि नबित्दै कोइराला वर्तमान सरकारबाट आजित भइसकेको अभिव्यक्ति दिइरहेका छन् ।

उनले वर्तमान सरकारका कारणदेश झन् झन् दलदलमा फसिरहेको टिप्पणी गर्न छाडेका छैनन् । आफ्नै नीतिअनुसारको कोर्षमा देश अघि बढेको बताउने कोइराला अहिलेको सरकारका कारण देश बंगलादेशको बाटोमा अघि बढ्न थालिसकेको पनि बताइरहेका छन् ।

देशमा देखिएको समस्यालाई कांग्रेस र एमाले मिलेर समाधान गर्नुपर्ने मत राखिरहेका कोइरालाको यति चाँडै कसरी मोहभंग हुन पुग्यो त ? यसको पृष्ठभूमिमा जानुअघि अहिले संघीय राजधानी काठमाडौं र देशका विभिन्न स्थानमा देखिएका असन्तुष्टिका स्वरलाई बुझ्नु जरूरी हुन्छ ।

आन्दोलनको याम

देशभरका वन जंगलमा डढेलोले विध्वंश मच्चाइरहँदा सडकमा पनि अहिले एकपछि अर्को आन्दोलनको आगो फैलिरहेको छ ।

गत फागुन २५ गते पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं फर्किँदा स्वागतको बहानामा राजावादीहरूले झोसेको आन्दोलनको आगो विस्तारै फैलिन थालेको छ ।

राजावादीले त्यसपछि दुर्गा प्रसाईं र नवराज सुवेदीको नेतृत्वमा गत चैत १५ गते काठमाडौंको तीनकुनेमा गरेको प्रदर्शनका क्रममा २ जनाले ज्यानै गुमाए ।

उक्त आन्दोलनको नेतृत्व गर्नेहरू नै मैदान छाडेर भागेपछि भएको हिंसात्मक झडपमा घाइते हुनेको संख्या नै डेढ सयभन्दा माथि थियो । जसमध्ये २० जनालाई त गोली नै लाग्यो ।

उक्त आन्दोलनका क्रममा निजीदेखि सरकारी सम्पत्तिसमेत राजावादीको निशानामा परे। कयौँ गाडी जलाइयो, घरमा आगो लगाइयो भने भाटभटेनी सुपरमार्केटमा लुट मच्चाइयो । नाफामा रहेको जडीबुटी प्रशोधन तथा उत्पादन कम्पनीमा समेत राजावादीका नाममा आगो झोसेर २८ करोड बढीको क्षति गराइयो ।

चैत १५ गतेयता राजावादीहरूको आन्दोलन उग्र भइरहेको छ। चैत १५ मै नेकपा माओवादी केन्द्र नेतृत्वको समाजवादी मोर्चाको विरोध सभा भृकुटीमण्डपमा शान्तिपूर्ण रुपमा सकियो ।

यद्यपि उक्त आन्दोलन सरकारको विरोधभन्दा पूर्वराजा र राजवादीलाई खबरदारीका लागि गरिएको थियो । करिब ३५ हजार सहभागी भएको भनिएको उक्त आन्दोलत शान्तिपूर्ण रुपमा सकिँदा सरकारलाई राहत भयो । राजावादीको हिंस्रक प्रदर्शनका कारण मोर्चाको आन्दोलन ओझेलमा परेर सेलायो ।

यहीबीचमा राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि मंगलबार काठमाडौंमा अर्को प्रदर्शन गर्‍यो । भलै यो प्रदर्शन शान्तिपूर्ण भए पनि राप्रपा नेताहरूले बल्खुको मञ्चबाट सरकारको सक्दो कुरा काटे । चैत १५ गते पक्राउ परेका रवीन्द्र मिश्र र धवल शमशेर जबरालाई यथाशीघ्र रिहा गर्न पनि नेताहरूले दबाब दिएका छन् ।

राजावादीको आन्दोलन चलिरहँदा सत्तारुढ दलका नेताहरू यो व्यवस्था नउल्टिने तर्क गरिरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार मात्रै मधेश प्रदेश सभालाई सम्बोधनका क्रममा अब देश उल्टो दिशातिर नजाने बताए ।

राजावादीहरूलाई भारतीय पक्षको पनि परोक्ष समर्थन रहेको आकलनबीच ओलीले अब राजतन्त्र फर्किने कुरा सम्भव नहुने बताएका हुन् । दुईतिहाइ नजिकको सरकारले कामबाट नतिजा दिन नसकेको भनेर आलोचना भइरहँदा ओली यो सरकार तत्काल नढल्ने अर्को कुराको रटान लगाइरहेका छन् । सरकारको कार्यशैलीमा प्रश्न उठिरहँदा सडकबाट भने एकपछि अर्को समूहले आन्दोलनको आवाज उठाइरहेको छ ।

शिक्षक आन्दोलन

शिक्षा ऐन तथा पुराना सम्झौता कार्यान्वयन गर्न माग राख्दै शिक्षकहरू ठूलो संख्यामा अहिले काठमाडौंको सडक नापिरहेका छन् । चैत २० गतेदेखि सुरू उनीहरूको आन्दोलनले विस्तारै ठूलो रुप लिइरहेको छ ।

नेपाल शिक्षक महासंको नेतृत्वमा सोमबारदेखि त देशैभरका विद्यालयमा हड्ताल गरेर शिक्षकहरू काठमाडौं केन्द्रित भएका छन् ।

उनीहरूले माइतीघर मण्डलामा भेला भई नयाँबानेश्वर पुग्दै दैनिकजसो सरकार र राजनीतिक दललाई आफ्ना कुरा सुन्न भनिरहेका छन् ।

महासंघका अध्यक्ष लक्ष्मण किशोर सुवेदीले पहिलो चरणको आन्दोलनका माग सुनुवाइ नभएकाले दोस्रो चरणका लागि सडक नाप्नु परेको बताए । महासङ्घले यसअघि फागुन २४ गते पहिलो चरणको आन्दोलन गरेको थियो । विद्यालय शिक्षा विधेयक छिटो अगाडि नबढेकामा महासङ्घले गुनासो गरिरहेको छ ।

अध्यक्ष सुवेदीले स्थायी, राहत, साविक उच्च मावि, अस्थायी, करार, बालविकास, सिकाइ अनुदान, विशेष शिक्षा, प्राविधिक धार, निजी तथा संस्थागत विद्यालयका लगायत सबै खाले शिक्षक र विद्यालय कर्मचारीको मुख्य मुद्दा शिक्षा ऐनबाट सम्बोधन हुनुपर्ने माग गरेका छन् । उनले विद्यालय, विद्यार्थी, शिक्षक र कर्मचारीमैत्री ऐन ल्याउनुपर्ने कुरा आफूहरूले उठाइरहेको बताए ।

दोस्रो चरणको आन्दोलनअन्तर्गत प्रमुख राजनीतिक दलका कार्यालयमा प्रतिनिधिमूलक धर्ना भइसकेको छ । जसअनुसार फागुन २७ देखि चैत ५ गतेसम्म नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टीलगायत प्रमुख राजनीतिक दलका केन्द्रीय कार्यालयमा धर्ना दिँदा पनि नसुनेपछि चैत २० बाट कडा आन्दोलन थालिएको हो ।

यो आन्दोलनलाई नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीसहितका विपक्षीले पनि साथ दिएका छन् । माओवादी अध्यक्ष प्रचण्डले त सरकारले माग पूरा नगरेसम्म काठमाडौं नछाड्न भनेर शिक्षकलाई हौस्याएका छन् ।

चैत ७ गतेदेखि चैत १५ गतेसम्म काठमाडौँमा रिले अनसन बसेका शिक्षकहरूले चैत २० गतेबाट अनिश्चितकालीन सडक आन्दोलनका कार्यक्रम थालेका हुन् । यस आन्दोलनलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले यसरी सडकमा आउनैपर्ने जरूरी नभइरहेको बताएका छन् ।

तर, सरकारले यसबीचमा संसद्को हिउँदे अधिवेशन अन्त्य गरेको छ । जसका कारण शिक्षा ऐन अघि बढ्न अब वर्षे अधिवेशन नै कुर्नुपर्ने बाध्यता छ । यसबीचमा अध्यादेशबाट ऐन अघि बढाउन सक्ने विकल्प सरकारलाई छ । तर यसअघि अघि सारिएका अध्यादेश नै झन्डै फेल भएकाले सरकारले त्यो बाटो रोज्ने सम्भावना कमजोर छ ।

कुलमान समर्थक पनि सडकमा

नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशक कुलमान घिसिङलाई सरकारले गत चैत ११ गते बर्खास्त गरेपछि देशमा अर्को आन्दोलनको माहोल बनेको छ ।

घिसिङको बर्खास्तगीविरुद्ध प्रतिपक्षी दलहरूसमेत सडकमा उत्रिए । तर उक्त प्रकरणमा सर्वोच्च अदालतले अन्तरिम आदेश नदिई हितेन्द्रदेव शाक्यालाई नै निरन्तरता दिएपछि उक्त आन्दोलन सेलाएको छ ।

तर पछिल्लो पटक कुलमानको पक्षमा विभिन्न जातीय समूह पनि सडकमा उत्रिएका छन् । केही दिनयता काठमाडौंको माइतीघर मण्डलमा घिसिङको पुनर्बहाली र कार्यकारी राष्ट्रपति बनाउने मागसहित संयुक्त आन्दोलन भइरहेको छ ।

विरोध प्रदर्शनमा सहभागीले ‘प्राधिकरणमाथिको राजनीति बन्द गर, ‘देशको शान कुलमान घिसिङ’, लगायत नारा लगाइरहेका छन् । कुलमानलाई ‘उज्यालो नेपालका नायक’ भन्दै सरकारको विरोधमा चलिरहेको छ ।

प्रदर्शनमा कुलमानलाई कार्यकारी राष्ट्रपति बनाउन पर्नेसहितका नारा पनि लागिरहेका छन् । कुलमानको पक्षमा सडकको आवाज घटे पनि सरकारलाई भने यस प्रकरणले सामाजिक रुपमा अप्ठ्यारो पारेको छ । देशको लोडसेडिङ हटाउन मुख्य भूमिका खेलेका व्यक्तिलाई बर्खास्त गरिएपछि प्रधानमन्त्री ओली र ऊर्जा मन्त्री दीपक खड्काले सत्तारुढ र प्रतिपक्षीदेखि सर्वसाधारणले पनि गाली गरिरहेका छन् ।

डाक्टर पनि सडकमा

नेपालको राजनीतिक इतिहासमा चैत महिना आन्दोलनका लागि उपयुक्त समय हो । ०४६ सालको राजनीतिक परिवर्त या ०६२/६३ को दोस्रो जनआन्दोलन यी दुवै चैत महिनामा उठेका ठूला आन्दोलन हुन् ।

यिनै आन्दोलनको आँधीबेहेरी उठाएको चैतमै यति बेला काठमाडौंका सडक पनि आन्दोलनमय छन् । यो बेला अतिआवश्यकीय सेवामा पर्ने स्वास्थ्यकर्मीसमेत पोशाकमा एप्रोन सजिएरै सडकमा उत्रिएका छन् ।

सोमबार मात्रै शिक्षकहरूको आन्दोलन माइतीघरबाट अघि बढ्नेबित्तिकै स्वास्थ्यकर्मीको एउटा समूह त्यहाँ उत्रियो । चैत महिनामा एकपछि अर्का पेशागत समूह र दलहरू सडकमा उत्रिरहेका बेला स्वास्थ्यकर्मीलाई पनि यही समय सडकमा झर्नुपर्ने बाध्यता परेको छ।

शिक्षकहरू दिन दिनै आन्दोलित हुँदा माइतीघरमण्डलमा पोशाकसहित डाक्टर र नर्स देखिए । मन्त्रिपरिषद्‍बाट पारित भएको न्यूनतम् तलब ४८ हजार नदिई १९५०० मात्रै दिएर श्रम शोषण गरेको भन्दै उनीहरू आन्दोलित भएका हुन् ।

श्रम शोषणविरुद्ध नेपाल मेडिकल कलेज जोरपाटीका डाक्टरहरू माइतीघरमा उत्रिए । उनीहरूले कलेजबाट न्यूनतम् तलबसमेत नदिएर श्रमशोषण गरिरहँदा पनि सरकारी निकाय मौन बसेको गुनासो गरे । उनीहरूले पनि चरणबद्ध आन्दोलन यही चैत महिनामा चलाइरहेका छन् ।

उता नेपाल मेडिकल कलेज प्रशासनले आन्दोलनरत आवासीय चिकित्सकलाई कारबाही गर्ने चेतावनी दिएको छ । मंगलबार कलेजका विभागीय प्रमुख, प्रबन्ध निर्देशक, प्राचार्य तथा अस्पताल निर्देशकसहित बसेको बैठकले आवासीय चिकित्सकलाई कारबाही गर्ने चेतावनी दिएका हुन् ।

‘अनुपस्थित आवासीय चिकित्सकको नाम व्यवस्थापनलाई पठाइदिन अनुरोध छ । उक्त नामावली अस्पताल निर्देशकमार्फत प्राचार्यज्यूलाई आवश्यक कारबाहीका लागि पठाइने छ’, कलेज प्रशासनले विभागीय प्रमुखलाई पठाएको पत्रमा भनिएको छ ।

सरकारले निजी मेडिकल कलेजमा चिकित्सा शिक्षा स्नातकोत्तर तह (पीजी) अध्ययन गर्ने आवासीय चिकित्सकलाई मासिक ४८ हजार रुपैयाँ निर्वाह भत्ता दिने निर्णय गरेको थियो । तर २५ माघमा बसेको चिकित्सा शिक्षा आयोगले गरेको सो निर्णय लागू नभएको भन्दै अहिले आवासीय चिकित्सक सडक आन्दोलनमा उत्रिएका हुन् ।

अस्तित्व खोज्दै राप्रपा

गत चैत १४ गते नवराज सुवेदी र दुर्गा प्रसाईंलाई पूर्वराजा ज्ञानेन्द्र शाहले निर्मल निवास बोलाएर मन्त्रणा गरेपछि राजावादी दलहरूमा चिसो पसेको छ।

विधानमै राजा र हिन्दु राज्यको एजेन्डा लेखेका राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा नेपाललाई माइनस गर्दै पूर्वराजाले प्रसाईं र सुवेदीलाई बोक्न थालेपछिको तितो राजेन्द्र लिङ्देनले मंगलबार बल्खुमा पोखे ।

भृकुटीमण्डपमा सभा गर्न मागिएको अनुमति दिन स्थानीय प्रशासन तयार नभएपछि २०८० मंसिर ७ मा दुर्गा प्रसाईंले सभा गर्दा झडप भएको बल्खु नै जानुपर्ने बाध्यता राप्रपालाई आइलाग्यो ।

जहाँ राप्रपा नेताहरूले गणतन्त्रवादीहरूलाई एकपछि अर्को धावा बोले । बिहानैदेखि कडा सुरक्षा व्यवस्था गरिएको बल्खुको सभामा राप्रपाले सोचेजति जनमत उतार्न भने सकेन । यद्यपि राप्रपाले पूर्वराजा, गणतन्त्रवादी दल र प्रसाईंसमेतलाई एउटा सन्देश दिन भने सफल भयो ।

राप्रपाले यो कार्यक्रम चैत १५ अगावै तय गरेको थियो । चैत १५ मा तीनकुनेको उग्र प्रदर्शनमा मिसिँदा राप्रपाका दुई शीर्ष पक्राउ परेका छन् । चैत १५ गते साँझ राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर जबरा पक्राउ परे । आन्दोलनलाई उक्साएको भन्दै समातिएका दुवै नेतामाथि राज्यविरुद्धको अपराध अभियोगमा चैत १८ मा ५ दिन र मंगलबार थप १५ दिन म्याद थपिएको छ।

आफ्ना शीर्ष नेता पक्राउ परे पनि मंगलबारको कार्यक्रम राप्रपाले रोकेन । बल्खुमा आयोजित कार्यक्रममा राप्रपा अध्यक्ष लिङ्देनले राजावादीका रुपमा दुर्गा प्रसाईंलाई स्वीकार्न नसकिने सन्देश दिएका छन् ।

उनले तीनकुने घटनामा राज्यले चर्को दमन गरेको विरोध मात्रै गरेनन्, त्यसको कारणका रुपमा दुर्गा प्रसाईं रहेको कुरा पनि उल्लेख गर्न भ्याए ।

राप्रपाको प्रदर्शन र आमसभालाई सम्बोधनका क्रममा दुर्गा प्रसाईं भगाउनमा सरकारकै हात रहेको लिङ्देनले बताएका हुन् । उनले यसो भनेर प्रसाईंलाई राजावादी आन्दोलनको जनकमान्डरका रुपमा स्वीकार्न नसकिने संकेत पनि गरेका छन् ।

‘चैत १५ गते तीनकुनेमा प्रहरीलाई किच्ने गरी गाडी चलाउँदै आएका प्रसाईंलाई किन तत्काल पक्राउ गरिएन ? प्रहरीको ब्यारिकेड तोड्दै अघि बढेका उनलाई सरकारले नै त्यहाँबाट भगायो’, उनले भने, ‘प्रसाईंलाई नियन्त्रणमा नलिई भगाएका प्रहरीले त्यही बेला कार्यक्रम भइरहेको मञ्चमा भने अश्रुग्यास र गोली हान्ने काम गरे ।’

उनले तीनकुने घटनाका क्रममा राप्रपाका केही नेतालाई थुनिएको बताउँदै त्यसबाट बिचलित नहुने पनि बताए । ‘हाम्रा नेतालाई जेलमा हालिरहने हो भने प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई भन्न चाहन्छु, तपाईंहरू पनि गतिलो जेल बनाउँदै गर्नुहोला, त्यसमा बस्ने दिन आउनेछ’, उनले अगाडि भने ।

चित्रबहादुरको पनि आन्दोलन

चैत महिनाको आन्दोलनको यामलाई चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले पनि सदुपयोग गरिरहेको छ । संघीय संसद्मा एक सीट रहेको जनमोर्चाले आइतबारदेखि संघीय राजधानीकेन्द्रित एक हप्ते आन्दोलन गरिरहेको छ ।

आन्दोलनअन्तर्गत आइतबार, सोमबार र मंगलबार जनमोर्चाले काठमाडौंमा प्रदर्शन गरेको छ । जनमोर्चाले गणतन्त्र तथा राष्ट्रियताको रक्षाका लागि आन्दोलन भनेको छ । गणतन्त्रको रक्षाका लागि भनेको जनमोर्चाको विरोधाभाषपूर्ण कुरा के छ भने संघीयता चाहिँ उसले खारेज हुनुपर्ने माग गरिरहेको छ ।

जनमोर्चाले चैत २४ देखि ३० गतेसम्म जनपरिचालनसहितको आन्दोलन थालेको हो। त्यसक्रममा प्रदर्शनलाई सम्बोधन गर्दै जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले नेपाललाई संघीयता घाँडो भइसकेको बताए ।

जनमोर्चाले आन्दोलनका क्रममा प्रत्येक दिन राजधानीका शान्तिबाटिका, चाबहिल चोक, माइतीघर मण्डला, गोंगबु चौक, न्यूरोड (भूगोल पार्क) र भृकुटीमण्डपमा जुलुस, सभा, सांस्कृतिक कार्यक्रम र प्रचारात्मक अभियान चलाइरहेको छ ।

प्रभु साह पनि सडकमा

मुलुकमा भ्रष्टाचारको साम्राज्य खडा भएको भन्दै प्रभु साह नेतृत्वको आम जनता पार्टी पनि आन्दोलित छ ।

जनान्दोलन दिवसको अवसरमा पार्टीले ‘तेस्रो जनआन्दोलन’ सभा आइतबार काठमाडौंमा गरेको छ । सभामा बोल्दै अध्यक्ष साहले सिंहदरबारमा लोकतन्त्रको नाममा लुटतन्त्र र भ्रष्टाचारको साम्राज्य खडा भएको बताए ।

सभामा अध्यक्ष साहले दलका नेतादेखि काठमाडौंका नगर प्रमुखसम्मलाई गाली गरे । उनले नेतालाई राजा बनाउन नेपाली जनता नलडेको भन्दै जनआन्दोलन र जनयुद्धपछि प्राप्त उपलब्धिलाई अहिलेका शासकले बेचेर खाएको आरोप लगाए ।

अध्यक्ष साहले आन्दोलनको बलमा हिजो नेपाली जनताले राणा र राजालाई हटाएको अब भ्रष्ट, दलाल र लुटेरालाई लखेट्ने निश्चित भएको बताए ।

‘लोकतन्त्रको नाममा लुटतन्त्र र भ्रष्टाचारको साम्राज्य खडा गर्नेहरूले सिंहदरबार खाली गर्न ढिलाइ गरे जनताले सिंहदरबारभित्र छिरेर कठालोमा समातेर गलहत्याउने छन्,’ उनले भने ।

साहले काठमाडौंमा कवाड व्यवसाय र मजदुरमाथि चरम अत्याचार गरेको भन्दै काठमाडौं महानगरका नगर प्रमुख बालेन्द्र साहको विरोध गरे ।

उनले कवाड व्यवसायमा आवद्धलाई राज्यले राम्रो काम गरेको भनेर पुरस्कृत गर्नुपर्नेमा उल्टै अपराधीजस्तो दुःख दिएको बताए । उनले व्यवसायीमा आतङ्कको वातावरण सिर्जना गरिएको बताए ।

‘काठमाडौंजस्तो सङ्घीय राजधानीमा खोला किनारामा बसेका सुकुम्वासीलाई पिउने पानीमा नाकाबन्दी लगाएर राज्यले मानवताविरोधी अपराध गरेको छ ।’ अध्यक्ष साहले भने ।

कवाड व्यवसायी आक्रोशित

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहविरुद्ध कवाड व्यवसायीहरू डेढ वर्षदेखि आन्दोलित छन् । महानगरसमेत घेरिसकेका उनीहरूले दुई दिनअघि गरेको आन्दोलनको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ ।

जहाँ कवाड व्यवसायी समाज नेपालका सदस्यहरूले बालेन र नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई चोरको संज्ञा दिएका छन् । उनीहरूले ‘बालेन साह चोर, देश छोड’, ‘राजुनाथ पाण्डे चोर, देश छोड’, जस्ता आपत्तिजनक नारासहित प्रदर्शन गरिरहेका छन् ।

समाजका अध्यक्ष रामकेवल गुप्ताले व्यवसायीमाथि भइरहेको ज्यादतीको प्रतिकार गर्ने अवस्थामा आफूहरू पुगेको बताएका छन् । उनीहरूलाई जनता समाजवादी पार्टी र आमजनता पार्टीसहितले साथ दिइरहेका छन् ।

डेढ वर्षदेखि आफूहरुले आन्दोलन गर्दा पनि ‘नशाको धुनमा सुतिरहेका’ महानगरका मेयर साहले समस्याको कुनै समाधान नखोजेको आरोप लगाए । नगरप्रहरीको दमनले मेयर बालेनको दुर्गति भइरहेको जिकिर गरेका छन् ।

कवाड व्यवसायी समाजले आफूहरुमाथि महानगरको ज्यादती रोकेर व्यवसाय गर्ने वातावरण बनाइदिन आग्रह गरेको छ । आफूहरूमाथि भइरहेको ज्यादती नरोकिएमा थप संघर्षका कदम चाल्ने गुप्ताले बताए ।

सहकारी पीडित निरन्तर आन्दोलित

चैत महिनाको आन्दोलनको लहर यतिमै रोकिएको छैन । दलहरू, शिक्षक र स्वास्थ्यकर्मीसँगै आन्दोलनको मेसोमा जोडिएका छन् सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज पीडितहरू पनि ।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज उत्पीडनविरुद्ध अनिश्चितकालीन संघीय राजधानी काठमाडौं केन्द्रित आन्दोलन गरिरहेको छ । यो समूहले देशभरबाट आएका पीडितिहरूसहित मंगलबार रत्नपार्क केन्द्रित आन्दोलन गरेको छ ।

सरकारले पटक पटक सम्झौता गर्ने तर पीडितको समस्या समाधान नगर्ने गरेको उनीहरूले गुनासो गरेका छन्। लघुवित्त संस्था खारेज गर्नुपर्ने, सामूहिक ऋण मिनाहा गर्नुपर्ने, मिटरबाजी तमसुक रद्द गर्नुपर्नेसहितका माग राख्दै उनीहरू काठमाडौं केन्द्रित आन्दोलनमा होमिएका छन् ।

एयरपोर्टमै आन्दोलन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि तलब नपाएका कर्मचारी आन्दोलित छन् । १० दिने आन्दोलन घोषणा गरेका कर्मचारीको माग सम्बोधनका लागि नेपाल नागरिक उड्ड्यन प्राधिकरणसँग पहल भइरहेको विमानस्थल व्यवस्थापन पक्षले जनाएको छ ।

विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार तलब नपाएको भन्दै आन्दोलनमा रहेका सरसफाइ कर्मचारीको समस्या समाधानका लागि पहल सुरू भएको छ ।

विमानस्थलका सरसफाइ कर्मचारीले गत पुसदेखि तलब नपाएको गुनासो गर्दै आएका छन् । कर्मचारी आन्दोलित हुँदा डेढ सातादेखि विमानस्थलको आन्तरिक टर्मिनल भवन क्षेत्रबाट फोहोर उठाइएको छैन । त्यसका कारण यात्रुहरूले दुर्गन्धले सास्ती भएको गुनासो गरेका छन् । दुर्गन्धका कारण यात्रुले नाक थुन्नुपर्ने अवस्था आएको यात्रु कर्ण बोहराले बताए ।

प्रतिपक्षीको अभियान

नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीले पनि आफ्ना राजनीतिक अभियानलाई यतिबेला अघि बढाइरहेका छन् । माओवादीले त दुई महिनादेखि तराई-मधेस्थित हुलाकी राजमार्गमा मेची-काली अभियान चलाइरहेको छ।

फागुन २५ गते राजावादीले राजधानी तताएपछि मधेशबाट काठमाडौं फर्किएको माओवादी पंक्ति यतिबेला लुम्बिनी प्रदेशबाट सुदूरपश्चिमतिर छिर्ने तर्खरमा छ ।

यो अभियानमा पनि माओवादीले प्रमुख निशाना सरकारलाई नै बनाइरहेको छ । हुलाकी राजमार्ग केन्द्रित ‘जनतासँग माओवादी तराई-मधेस जागरण अभियान’लाई बर्दिया पुर्‍याएर अध्यक्ष पुष्कमल दाहाल प्रचण्ड काठमाडौं फर्किएका छन् । माओवादीले यो अभियानका क्रममा ‘खबरदारी सभा’ गरिरहेको छ। उक्त सभालाई सम्बोधन गर्दै प्रचण्डले सरकारमाथि नै निशाना साँध्ने गरेका छन् ।

रवि थुनिए पनि अभियानमा रास्वपा

साढे ५ महिनापछि सभापतिको जिम्मेवारीमा फर्किएको ६ दिनमै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पक्राउ परे ।

गत शुक्रबार पक्राउ परेका उनी सोमबार भैरहवा कारागारमा चलान भइसकेका छन् । रवि गत चैत १७ मा मात्रै पार्टी कामका लागि कार्यालयमा हाजिर भएका थिए ।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सुप्रिम सहकारी ठगी प्रकरणमा उनलाई शुक्रबार नै थुनामा पठाउन आदेश दिएको थियो । धरौटीमा छाड्ने जिल्ला अदालतको आदेश उल्ट्याएको उच्चले साझेदार छविलाल जोशीसँगै रविलाई पनि जेल पठाउन आदेश दिनुअघि नै रास्वपाले दुई महिने जनयात्रा घोषणा गरेको थियो ।

तर पार्टी काममा फर्केको ६ दिनमै रवि पक्राउ परे पनि रास्वपाले गत शनिबारदेखि चितवनबाट दुई महिने ‘जनयात्रा’ कार्यक्रम सुरु गरेको छ । रास्वपा उपसभापति स्वर्णीम वाग्लेले उक्त जनयात्रा शुभारम्भ गरे । यद्यपि रवि थुनिएपछि रास्वपाको जनयात्रा फितलो र फिका देखियो ।

उपसभापति वाग्लेले जनभावना बुझ्न सुरु गएिको कार्यक्रममा देशका ७७ जिल्लामा पुग्ने बताए। यस अभियानबाट आफूहरूले जनताले व्यवस्था परिवर्तन चाहेको या नचाहेको कुरा बुझ्ने बताए ।

उपसभापति वाग्लले पुराना दलहरूले अहिलेको व्यवस्थामा पनि जनताको अवस्था परिवर्तन गर्न नसकेको आरोप लगाए । पार्टीका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जनताको अवस्था र चाहना बुझ्न तय गरिएको कार्यक्रम सभापति रवि लामिछाने पक्राउ पर्दा नरोकिने बताए । यद्यपि रास्वपाको यो यात्रा कति प्रभाकारी हुन्छ भन्ने कुरा बुझ्न केही समय लाग्नेछ ।

एकीकृत समाजवादीको पनि अभियान

माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले पनि देशभर विरोध प्रदर्शनका कार्यक्रम चैत २३ मै सार्वजनिक गरिसकेको छ।

चैत १५ मा राजावादीबाट भएको पार्टी कार्यालय तोडफोडको विरोध र तीनकुने प्रदर्शनमा भएको आगजनीको छानबिनको माग गर्दै पार्टीले सोमबार देशभर प्रदर्शन गरेको छ ।

अध्यक्ष नेपालले त ठूला दलले आफ्नो कार्यालयमा सुरक्षा बल तैनाथ गरेर समाजवादीको कार्यालयमा तोडफोड गराएको आरोप पनि लगाए ।

समाजवादीले मातहतका कमिटीले देशभरका पालिका, वडा तह, प्रदेश, क्षेत्रमा विरोध प्रदर्शन गरेका प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिए ।

घटनाको निष्पक्ष छानबिन गरी त्यसमा संलग्न दोषीलाई कानुनी कारबाहीका लागि दबाब दिने उद्देश्यले विरोध प्रदर्शन एवं सभा गरिएको ज्वालाले बताए ।

मुलुकको पछिल्लो विकसित राजनीतिक घटनाक्रम, अन्तर्राष्ट्रिय परिस्थितिबारे जनतालाई सुसूचित गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि मुलुकमा सुशासन, रोजगारी, समृद्धिलगायत विषयमा देशभर राजनीतिक सभा पनि समाजवादीले गर्दैछ । समाजवादीले यही चैत २ देखि आगामी वैशाख २२ गतेसम्म सञ्चालन गरेको अभियान जारी रहेको जनाएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार  ८ : ४६ बजे

आईपीएलः एक सय ६३ रनको लक्ष्य पछ्याउँदै मुम्बई

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत जारी खेलमा सनराइजर्स

काम गर्न नसकेपछि पद ओगटिरहनु उचित लागेन : सुमना श्रेष्ठ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले आफूले पार्टीबाट

राप्रपाको केन्द्रीय कार्यसमिति बैठकले के–के गर्‍यो निर्णय ?

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी वैशाख ७ गते काठमाडौंको निषेधित

एनएसएल : चितवन नेपाल सुपर लिगको प्ले अफमा

काठमाडौं – लिग चरणको अन्तिम खेलमा धनगढी एफसीलाई पराजित गर्दै

शिक्षकका माग सम्बोधन गर्न रास्वपाले दबाव दिने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको महाधिवेशनको मिति तोकेको