राजा फर्काउने जगमानको अभियानमा जोडिए कांग्रेस छाडेका कर्ण मल्ल र एमाले छाडेकी गंगा चौधरी « Khabarhub

राजा फर्काउने जगमानको अभियानमा जोडिए कांग्रेस छाडेका कर्ण मल्ल र एमाले छाडेकी गंगा चौधरी


२७ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


5.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- डा. जगमान गुरुङ नेतृत्वको संयुक्त जनआन्दोलन समितिले बुधबार काठमाडौं स्मार्ट दरबार, शङ्खपार्कमा गरेको प्रतिबद्धता सभामा नेपाली कांग्रेस छाडेका कर्ण मल्ल र नेकपा एमाले छाडेकी गंगा चौधरी पनि मिसिएका छन् ।

यसअघि भएका राजावादी आन्दोलनमा नदेखिएका यी दुई पात्रलाई राजावादीहरूले मञ्चमै स्थान दिएका छन् ।

गुरूङ नेतृत्वको आन्दोलन समितिले आयोजना गरेको उक्त कार्यक्रमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा पनि देखिए । मंगलबार राप्रपाले बल्खुमा आयोजना गरेको सभामा सहभागी नभएका थापा जगमान नेतृत्वको बैठकमा भने देखिए । उता राप्रपाका वरिष्ठ नेता पनि मल्ल र चौधरीसँगै मञ्चमा देखिए ।

त्यहाँ गुरुङ कार्यवाहक संयोजक रहेको ‘संयुक्त जनआन्दोलन’ सभाले राजा र हिन्दु राज्य फर्काउने आन्दोलनलाई अघि बढाउने प्रतिबद्धता सभा आयोजना गरेको हो ।

गत चैत १५ गते काठमाडौंको तीनकुनेमा नवराज सुवेदी र दुर्गा प्रसाईं नेतृत्वको राजावादीको आन्दोलन हिंसात्मक हुँदा २ जनाले ज्यान गुमाएका थिए ।

सयौँ घाइतेको उक्त घटनापछि तत्कालीन संयोजक नवराज सुवेदीलाई प्रहरीले घरमै नजरबन्द गरेको छ । उता चैत १४ गते पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेटेर जनकमान्डर बनेका प्रसाईं चैत १५ मा उपद्रो मच्चाएयता बेपत्ता छन् । उनी भागेर भारत पसेको अनुमान छ । त्यसपछि गुरूङलाई संयोजक तोकिएको हो ।

सुवेदीलाई संयोजक तोकिएपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफू नबसी अन्य नेतालाई पठाएका थिए । लिङ्देनले यो बैठकमा सहभागिता जनाएका छैनन् । राप्रपा नेपालका अध्यक्ष थापा र एकीकृत राष्ट्रवादी शक्ति निर्माण अभियानका प्रमुख केशरबहादुर विष्टले पनि समितिमा नबस्ने बताएका थिए। तर थापा र विष्ट पनि त्यो बैठकमा सहभागी छन् ।

मल्ल र चौधरी नयाँ राजावादी

कुनै बेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका प्रिय पात्र कर्ण मल्ल पनि अब राजावादी कित्तामा देखिएका छन् ।

डडेलधुरा जिल्ला सभापतिसमेत भएका मल्ल देउवासँगकै द्वन्द्वका कारण कांग्रेसबाट निकालिएका थिए । कांग्रेसबाटै प्रदेश सभा सदस्यसमेत भएका मल्लले पछि नेपाली कांग्रेस बिपीमा यात्रा थालेका थिए ।

तर उक्त पार्टीका अधिकांश पदाधिकारीलाई कांग्रेसले आफूमा विलय गराएपछि एक्लिएका उनी अब राजावादी बनेका हुन् । मल्लले केही दिनअघि आफूलाई राजावादी लाइनमा खुलाएका थिए ।

उता कुनै बेला एमालेकी समानुपातिक सांसद हुँदा प्रतिनिधिसभामा सबैभन्दा चर्को स्वरले कराउने दाङकी गंगा चौधरी पनि अब राजावादी कित्तामा पुगेकी छन् ।

उनलाई पनि जगमान नेतृत्वको समितिले मञ्चमै स्थान दिएको हो ।  निवर्तमान सांसद तथा एमाले केन्द्रीय सदस्य गंगा चौधरीले आफ्नो पार्टी नेतृत्वमाथि गम्भीर आरोप लगाएकी छन् । एमालेले २०७९ को चुनावमा टिकट नदिएपछि विरक्तिएकी उनले स्वतन्त्रतर्फ उम्मेदवारी दिएकी थिइन् । एमाले उम्मेदवार शान्ता चौधरीविरुद्ध उठेकी उनले चुनाव जितिनन् । त्यहाँ एकीकृत समाजवादीका मेटमणि चौधरी विजयी भए ।

एमाले नेतृत्वले विदेशी दबावमा परेर आफूलाई प्रतिनिधिसभाको प्रत्यक्षतर्फ टिकट नदिएको आरोप लगाएकी उनी पनि अब राजा ल्याउने अभियानमा जोडिएकी हुन् ।

त्यसो त आन्दोलन समिति संयोजक जगमान आफैं पनि कुनै बेला एमाले थिए । उनले एमाले, कांग्रेस र माओवादी तीनै दलबाट जमानामा फाइदा लिएका थिए ।

२०६१ जेठ २१ गते कांग्रेस सभापति शेरबहादुर देउवा तेस्रो कार्यकालका लागि प्रधानमन्त्री हुँदा जगमान तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सभा सदस्य बन्न सफल भएका थिए । त्यसपछि उनै जगमानले केपी ओली २०७४ मा दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बनेपछि उनकै गुनगान गाएकाथिए ।

‘केपी ओली सर्वज्ञानी नेता हुनुहुन्छ। उहाँको ज्ञानलाई चुनौती दिन सक्ने विद्वान, वैज्ञानिक, समाजशास्त्री र चिकित्साशास्त्री जन्मेकै छैनन’, कुनै बेला यसो भन्ने जगमान अहिले ज्ञानेन्द्र शाहलाई गद्दीमा फर्काउन जुटेका छन्।

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार  १ : ३९ बजे

क्यानडा पठाइदिने लोभ देखाएर ठगी, दुईजना समातिए

काठमाडौं– बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीका लागि

साउदी अरबको ताइफमा हुथीले हानेको ड्रोन लागेर एक जनाको मृत्यु, दुई घाइते

काठमाडौं– साउदी अरबको दक्षिणपश्चिमी क्षेत्र ताइफमा रोकिएको ड्रोन खस्दा त्यसको

‘देउवा दाइ र हामी गगन कांग्रेसमा जाँदैनौँ’

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा निकट दोस्रो तहका धेरै

हुथी आक्रमणपछि यमनमा एक लाख २५ हजारभन्दा बढी विस्थापित

एजेन्सी– इरानसमर्थित हुथी विद्रोहीको आक्रमण तीव्र भएपछि यमनमा एक लाख