कसरी अघि बढ्ला रविबिनाको रास्वपा ? | Khabarhub Khabarhub

कसरी अघि बढ्ला रविबिनाको रास्वपा ?

वैशाखमा महाधिवेशन नहुने, नेताहरू जनयात्रामा जाने



काठमाडौं– स्थापनाको छोटो समयमै उचाइ लिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अहिले संकटमा परेको छ । पाँचवटा जिल्ला अदालतमा धरौटी बुझाएर छुटेका सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासले चैत २२ मा थुनामा पठाउन आदेश दिएपछि रास्वपा संकटमा परेको हो ।

उच्चले आदेश दिएको केही घण्टामै शुक्रबार राति साढे ७ बजे लामिछानेलाई प्रहरीले घरबाटै पक्राउ ग¥यो । शनिबार बिहान भैरहवा पुर्‍याएको थियो । उनी सोमबार भैरहवा कारागार चलान भइसकेका छन् ।

लामिछाने जेल गएपछि रास्वपाको भविष्यलाई लिएर थुप्रै प्रशन उब्जिएका छन् । किनभने रास्वपा उनकै जोडबलमा स्थापित भएको पार्टी थियो । जसले स्थापनाको एक वर्ष नपुग्दै प्रतिनिधिसभाका २१ सिट जित्न सफल भयो ।

सहकारी ठगी आरोप लागेकै बेला कतिपय नेताले रविलाई सबै भूमिकाबाट बिदा गर्नुपर्ने कुरा उठाएका थिए । रास्वपाकै पूर्वमहामन्त्री मुकुल ढकालले अहिले पनि रविलाई कुनै पदमा राखिरहनु उचित नहुने बताउँदै आएका छन् ।

रवि कुनै राजनीतिक कारणले भन्दा वित्तीय अपराधमा मुछिएकाले यसलाई गम्भीर रुपमा लिनुपर्ने मत पनि रास्वपामा छ । उनले सजाय भोग्नुबाहेक विकल्प नरहेकाले नयाँ शिराबाट रास्वपालाई लैजानुपर्ने मत पनि बलियो छ ।

वित्तीय अपराधमा मुछिएका व्यक्ति त्यसबाट उम्कन कठिन हुने भएकाले पनि सभापतिको केश छाडेर रास्वपालाई ‘मुभ’ गर्नुपर्ने तर्क बलियो हुँदै गएको छ ।

तर पार्टी फुट्ने चिन्ताले अहिले नै नेताहरू रविको विपक्षमा जाने पक्षमा खुलेका छैनन् । रास्वपा बन्नुभन्दा पहिलेदेखिको सभापतिको केश उनैलाई छाडिदिएर पार्टीलाई नयाँ शिराबाट अगाडि बढाउने जोड नेताहरूको छ । रविले पनि नेताहरूलाई नयाँ रणनीति बनाएर अघि बढ्न भनिसकेका छन् ।

कस्तो होला अबको यात्रा ?

कार्यवाहक सभापति डीपी अर्याल लामिछानेको मात्रै नभएर आम जनताको पार्टी भएकाले जनताको भावनाअनुसार अगाडि बढ्ने बताउँछन् । सभापतिले नै आफू जहाँ भए पनि अगाडि बढ्नु भनेकाले रास्वपाको राजनीतिक यात्रा नरोकिने दाबी गर्छन् ।

‘सभापतिले नै म जहाँ भए पनि रास्वपाको यात्रा रोकिनुहुन्न भन्नुभएको छ । हामीलाई थाहा छ, उहाँको गल्ती छैन । उहाँ आफ्नो काम सुल्झाएर आउनुहुन्छ । हामी पार्टी विस्तार गरेर जान्छौँ’, अर्यालले खबरहबसँग भने, ‘हामीले जनयात्रा गर्ने निर्णय गरेका छौँ । यसले पार्टी निमार्णमा टेवा पुग्छ ।’

त्यसका लागि एजेन्डा तयार गर्न बुधवार पार्टीको सचिवालय बैठक बस्ने उनले बताए । ‘सभापतिको गल्ती छैन । सरकारले कति दुःख दिन्छ, हामी भोग्न तयार छौँ । तर डराएका छैनौँ,’ उनले भने ।

सोमबार कारागार चलान भएका रविले पनि सचिवालय सदस्य प्रमोद न्यौपानेमार्फत् चार बुँदे सन्देश पठाएका छन् । सन्देशमा पार्टीलाई एक ढिक्का राखेर ‘जनयात्रा’ लाई निरन्तरता दिन भनेका छन् ।

‘पार्टीलाई एक ढिक्का राखेर अभियानलाई निरन्तरता दिनुहोला । सक्नु हुन्छ बढाउनुस्, नसके पनि नघटाउनुस् । अभियानलाई जनताबीच पुर्या‍उनुस्’, लामिछानेले भनेका छन् ।

उनले आफूलाई राजनीतिक प्रतिशोध साँधेकाले जाँच दिइरहेको दाबी गरे । ‘अहिले ममाथि राजनीतिक प्रतिशोध भयो । पालो सबैको आउँछ,’ उनले भने,‘यो परीक्षाको पहिलो विद्यार्थी म भएँ । मैले जसरी नै जाँच अरूले पनि दिनुपर्ने छ ।’

जनयात्राको संयोजन गरिरहेका संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ पनि रवि सभापति मात्रै नभएर देशभरका नयाँ शक्तिको आशा भएकाले बचाएर जाने दाबी गर्छन् । उनले सभापतिको अनुपस्थितिमा रास्वपाप्रति सरकारको गलत नजरबीच जनताको मनमा बस्ने बताउँछन् । त्यसका लागि यो यात्रा गर्न लागेको उनले बताए ।

‘रास्वपा स्थापना गर्न सभापति लामिछानेको ठूलो योगदान थियो । तर पार्टी निर्माणको चरणमै हामीले विभिन्न चुनौती सामाना गर्नुपर्यो । कतिपय सरकारकै संयन्त्रबाट गरिए । यी चुनौतीलाई पार लगाउँदै पार्टी मुभ हुन्छ,’ उनले खबरहबसँग भने, ‘सभापति पक्राउ पर्नेबित्तिकै शुकबार राति बैठक राखेका थियौँ । उहाँ जहाँ भए पनि पार्टीको यात्रा रोकिँदैन । सभापति भएजस्तो त हुँदैन । तर सभापतिले पनि जहाँ भए पार्टी र नयाँ शक्तिको यात्रा नरोक्नु भन्नु भएको छ ।’

सांसद सोबिता गौतम पनि सभापतिमाथि सरकारले प्रतिशोध साँधेको जनताले बुझेकाले रास्वपाको यात्रा नरोकिने दाबी गर्छिन् । ‘रास्वपा जनताको आशा बनेर आएको छ । सरकारले हामी र सभापतिमाथि जति प्रहार गरे पनि यात्रा रोकिँदैन’, उनले खबरहबलाई भनिन, ‘०८४ मा रास्वपाले गरेको प्रगति देखेर ठूला दल तर्सिनेछन् । हाम्रो सभापतिले जानी नजानी गल्ती गरेको भए पनि सजाय भोग्न तयार छु भनिरहनु भएको छ । तर उहाँलाई दोष थोपरेर अन्य अपराधी सरकारले लुकाएको छ ।’

वैशाखमा महाधिवेशन नहुने

रास्वपाले तोकेकै समयमा महाधिवेशन गर्न तयारीमा जुटिसक्नुपर्ने थियो । तर आन्तरिक झमेला र सभापति वित्तीय अपराधमा मुछिएपछि महाधिवेशन समयमै नहुने अवस्था छ । यस्तै वडा, पालिका अधिवेशन पनि नभएकाले रास्वपाको पहिलो महाधिवेशन वैशाखमै नहुने नेताहरू बताउँछन् ।

गत असोज १ र २ गते प्रज्ञा भवनको राष्ट्रिय भेलाले ०८२ वैशाख २५, २६ र २७ २०८२ महाधिवेशन गर्ने निर्णय गरेको थियो । राष्ट्रिय भेलाको निर्णयलाई असोज १२ गतेको केन्द्रीय समिति बैठकले चितवनमा गर्ने सहमति गरेको थियो ।

यसबारे रास्वापा सांसद गौतम भन्छिन्, ‘अहिलेसम्म वैशाखमै महाधिवेशन गर्न लागेका छौँ । तर समय आइसकेकाले कतिपय तयारी बाँकी छ । पालिकागत र वडागत महाधिवेशन जारी छ । अब बस्ने सचिवालय र केन्द्रीय समितिले निर्णय गर्छ ।’

यसबारे रास्वपा सभापति रवि, उपसभापति अर्याल, संसदीय दलका उपनेता श्रेष्ठ र सहकोषअध्य दीपक बोहोराले चैत १८ गते अनौपचारिक छलफल गरेका थिए ।

छलफलमा वैशाखमै महाधिवेशन गर्न नसकिने कुरा नेताहरूले राखे । त्यसपछिको केन्द्रीय समिति बैठकमा पनि वैशाखमा महाधिवेशन गर्न नसकिने अवस्था रहेको जनकारी कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले दिए । अब अर्को बैठकमा महाधिवेशन सार्नुको कारणबारे छलफल गर्ने निर्णय गर्दै नेताहरू उठेका थिए ।

रास्वपाका सबै जिल्लाको महाधिवेशन सम्पन्न भइनसकेकाले महाधिवेशन सार्न लागि केन्द्रीय सदस्य र सचिवालय सदस्यहरूबाट सुझाव आइरहेको नेताहरू बताउँछन् । पार्टीको विधानमा पाँच वर्षमा दुई चरणमा महाधिवेशन गर्ने प्रावधान छ ।

आन्तरिक झमेलाका करण २०७९ असार ७ गते स्थापित पार्टीले पहिलो महाधिवेशन गर्न सकिरहेको छैन । ०७९ को निर्वाचनमा ११ लाख मत कटाएर देशको चौथो ठूलो दल रास्वपाका २१ जना सांसद छन् । उसले हालसम्म १० भन्दा बढी पालिकामा अधिवेशन गर्न सकेको छैन । जिल्लातर्फ अधिकांशको अधिवेशनको सुरसार नै छैन ।

‘जनयात्रा’तिर

रास्वापा नेताहरू महाधिवेशन रोकेर सात प्रदेशका २५ जिल्लामा ‘जनयात्रा’ गर्ने तयारीमा छन् । शनिबार चितवनबाट ‘जनयात्रा’ सुरुवात गरिसकेकाले अब सातवटा प्रदेश र २५ जिल्लामा पहिलो चरणको ‘जनयात्रा’ गर्ने संयोजक श्रेष्ठ बताउँछन् ।

उनका अनुसार मधेशका जिल्लाहरूमा ‘जनयात्रा’लाई प्राथमिकता दिइएको छ । ‘अब बस्ने सचिवालय बैठकले यसको सम्पूर्ण खाका बनाउँछ । अहिले सात प्रदेश र २५ जिल्लामा ‘जनयात्रा’ गर्ने हो । चितवनको जस्तै कार्यक्रम अन्त पनि हुन्छ । यो प्रारम्भिक खाका हो,’ श्रेष्ठले खबरहबलाई भने, ‘जनयात्राले पार्टीलाई थप उचाइमा लानेछ । हाम्रा कुरा जनताले सुन्छन्, उनीहरूका समस्या पनि सुन्छौँ ।’

रविको नाममा पार्टी नबिगार्न सुझाव

रास्वपा नयाँ शक्ति भएकाले यसको भविष्य उज्ज्वल बनाउन नेताहरू खट्नुपर्ने राजनीतिक विश्लेषक इन्द्र अधिकारीको सुझाव छ । नयाँ शक्तिको नाममा रवीन्द्र मिश्र, रन्जु दर्शना लगायतले पनि जनता ढाँटिसकेको बताउँदै अधिकारीले रास्वपाले आफ्नो राजनीतिक यात्रालाई थप उचाइ दिन नेताहरू सक्रिय हुनुपर्ने बताइन् ।

उनी रविको काण्ड उनैलाई सुल्झाउन सुझाव दिँदै अब रास्वपा वैचारिक नेताहरू अघि सर्नुपर्ने दाबी गर्छिन् । ‘रास्वपा नयाँ पुस्ताको आशाको त्यान्द्रो हो । यसलाई जोगाउन पनि रास्वपाका वैचारिक नेताहरू जन्मनुपर्छ’, अधिकारीले खबरहबलाई भनिन, ‘रविको नाममा रास्वपा तिलाञ्जलि हुनु हुँदैन । जनतामा आशा र भरोसा छरेर राजनीतिक यात्रामा दौडनुपर्छ । सभापतिका काण्ड ढाकछोप गर्न नलागेर उनको गल्ती सुल्झाउन उनैलाई छाड्नुपर्छ ।’

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार  २ : १५ बजे

हर्कको श्रमदान अभियानमा गएकी किशोरीमाथि यौन दुर्व्यवहार, एकजना समातिए

काठमाडौं- धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले चलाएको श्रमदान अभियानका क्रममा

नेपाल इन्स्योरेन्सको हकप्रद निष्कासन हुने 

काठमाडौं– नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको

हैजा नियन्त्रणका लागि काठमाडौं महानगर क्षेत्रमा जनचेतनामूलक कार्यक्रम

काठमाडौं– काठमाडौँ महानगरपालिकाले हैजा रोग नियन्त्रणका लागि ३२ वटै वडामा 

कालीगण्डकीमा व्यावसायिक अकबरेखेती

वालिङ– स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका किसानले व्यावसायिक अकबरे खुर्सानीखेती सुरु गरेका छन्

अन्तर्राष्ट्रिय सहकारी दिवसमा महासंघले विशेष समारोह गर्ने

काठमाडौं– राष्ट्रिय सहकारी महासंघले अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा विशेष समारोहको