धरान– उमेरले चौँसट्ठी वर्ष, जाँगर तन्नेरिका जस्तै । अचेलका युवालाई पनि गुनासो गर्दै ठिक्क छ । बराहक्षेत्र नगरपालिका–८ तीनकुनेका ६४ वर्षीय युक्ति चौधरीलाई न कसैप्रति गुनासो न त आफ्नो उमेरको बहाना । बिहान सबेरै उठेदेखि बेलुका रात नछिप्पिएसम्म खेतबारीमै । उनको मिहिनेत गज्जबको छ । एकाबिहानै बारीमा पस्छन्, काँक्रा, बोडी, घिरौँला, लौका, टमाटर स्याहार्दा स्याहार्दै समय बितेको पत्तो नै हुन्न ।
युक्ति मात्र हैन उनकै लयमा हिँडिरहेका छन् छोराबुहारी र श्रीमती पनि । परिवारको लय मिलेपछि व्यवसायमा पनि त्यसरी नै सफलता मिलिरहेको छ । चौधरी भन्छन्, ‘हाल चार बिघामा मौसमी तरकारी उत्पादन गरिरहेका छौँ । परिवारको साथ पाएको छु बारीभरि लटरम्मै तरकारी छन्, बेच्न भ्याइनभ्याइ छ ।’
उमेरले आराम खोज्ने समयमा पनि जोस र परिश्रममा कुनै कमी छैन । परिश्रम र आत्मनिर्भरताको उदाहरण बन्दै चौधरीले यही खेतीबाट वार्षिक १० लाख रुपैयाँ भन्दा बढी आम्दानी गरिरहेका छन् । उनले छ वर्षअघि एककट्ठा जमिनमा तरकारीखेती सुरु गरेका थिए । त्यसको दुई वर्षपछि रितिका कृषि फार्म दर्ता गरी औपचारिक रूपमा यही उद्यम गरिरहेका छन् । ‘आराम गरेर घरमा बस्ने उमेर हो तर पनि पहिलेदेखि काम गर्ने बानी बस्यो । काम नगरी बस्नै सकिँदैन’, चौधरी भन्छन्, ‘सकुन्जेल काम गर्ने हो, हात खुट्टा चलेको छ, तागत छँदैछ । परिवारले साथ दिएकै छन् । जुनदिन सकिन्न त्यसदिनको कुरा बेग्लै होला ।’
उनको मुख्य पेसा कृषि नै हो तर घरमा केही गाई, गोरु र बाख्रा पनि छन् । यसले कृषिमा सहयोग पुगिरहेको चौधरीले बताउँछन् । ‘घरैमा पालेका गाई, गोरु, बाख्राका गोबर भेला पार्छु, ।’ चौधरी भन्छन् । उनले जैविक मललाई तरकारीखेतीमा प्रयोग गरेका छन् । रासायनिक मलको प्रयोग घटाएर स्वस्थ्य र प्राकृतिक उत्पादन गर्न सहयोग पनि पुर्याएका छन् । यसले आत्मनिर्भता र दिगोपना कायम राख्न सघाउ पुर्याएको छ ।
उनको बारीबाट उत्पादन भएको तरकारी सुनसरीका विभिन्न ठाउँ, चक्रघटी, कालाबन्जर, बाङ्गे चतरालगायत बजारमा बिक्री हुने गरेको बताउँछन् । तरकारी बिक्रीका लागि बजारको समस्या छैन, व्यापारीहरू आफैँ फार्ममै लिन आउँछन् । चौधरीले बजार मूल्यभन्दा १० रुपैयाँ कममा तरकारी बिक्री गर्ने गरेको बताए ।
आफ्नो बारीमा हुने उत्पादनले भान्छाको आवश्यकता पूर्तिका साथै छोराछोरी, नातिनतिनालाई पढाउनेदेखि घरखर्च चलाउनसम्म सबै आवश्यकता पूरा हुँदै आएको छ । चौधरी परिवारका लागि तरकारीखेती आयआर्जनको भरपर्दो स्रोत त हुँदै हो दैनिक चार, पाँच जनाले ज्यालादारीमा काम गर्न पाएका छन् । यसले थोरै भए पनि स्थानीयस्तरमा रोजगारी सिर्जना गर्न सघाउ पुगेको छ ।
पछिल्लो समय तरकारीखेतीका लागि स्थानीय नगरपालिकाले पनि बीउ अनुदानमा उपलब्ध गराउँदै आएको छ । गत वर्षमात्रै सुनसरी कृषि ज्ञान केन्द्रले एक लाख रुपैयाँको अनुदान प्रदान गरेको थियो । चौधरीका अनुसार यस्ता अनुदानले तरकारीखेतीमा केही हदसम्म सहयोग पुगेको छ र उत्पादनमा थप उत्साह र सहजता मिलेको छ ।
बराहक्षेत्रका अधिकांश स्थानीयवा तरकारीखेतीमा आत्मनिर्भर छन् । बराहक्षेत्र–८ का अर्का किसान मीनकुमार उराँवले हाल १० कट्ठा जमिनमा तरकारीखेती गर्दै आएका छन् । ‘थोरै जग्गामा तरकारीखेती गरे पनि उत्पादन राम्रो भएकाले आम्दानी पनि सन्तोषजनक छ । आफ्नै बारीमा उत्पादन भएको अर्गानिक तरकारी उपभोग गर्न पाइने र बेचेर घरमै बसिबसी आम्दानी पनि गर्न पाइने उनी बताउँछन् । उनले भने, ‘तरकारी बेचेर हरेक वर्ष तीन लाखभन्दा बढीको कारोबार गरिरहेको छु ।’
बराहक्षेत्र नगरपालिका प्रमुख रमेश कार्कीले किसानलाई तरकारीखेतीबाटै आत्मनिर्भर बनाउँदै उत्पादनमा सहजता ल्याउनेतर्फ नगरपालिका केन्द्रित रहेको बताए । उनले भने, ‘नगरपालिकाले स्थानीय किसानको आर्थिक विकासका लागि जैविक तरकारीखेती, सिँचाइ सुविधा र उत्पादन निर्यात गर्न यातायातको सुविधाका साथै प्रोत्साहनस्वरुप हरेक वर्ष तालिम र अनुदान प्रदान गर्दै आएका छौँ ।’
सुनसरी जिल्लामा हाल आठ हजार १५३ हेक्टरमा तरकारीखेती हुँदै आएको कृषि ज्ञान केन्द्रका सूचना अधिकृत प्रवीणलाल श्रेष्ठले जानकारी दिए । जिल्लाको बराहक्षेत्र, रामधुनी क्षेत्रलगायत स्थानका किसानले तरकारीखेती गर्दै आएका छन् ।
प्रतिक्रिया