दक्षिण एशियाली आकाशमा आयातित हतियार परीक्षण, चिनियाँ र इजरायली हतियारबारे चासो | Khabarhub Khabarhub

दक्षिण एशियाली आकाशमा आयातित हतियार परीक्षण, चिनियाँ र इजरायली हतियारबारे चासो



काठमाडौं– भारत र पाकिस्तानबीचको टकराव उत्कर्षमा पुगेको छ । दुबै मुलुकमा एक अर्कालाई लक्षित गरी आक्रमण–प्रत्याक्रमणलाई जारी छ । दक्षिण एशियामा अवस्थित दुई आणविक शक्ति सम्पन्न छिमेकी मुलुक परम्परागत दुश्मन हुन् । सन् १९४७ मा बेलायती शासनबाट स्वतन्त्रता पाएदेखि नै यी दुई देशबीच शत्रुतापूर्ण सम्बन्ध छ । विशेषगरी विवादित भूमि कश्मीरको सार्वभौमिकताको विषयलाई लिएर यी दुई देशले युद्ध लड्दै आएका छन् ।

इतिहासलाई फर्केर हेर्दा सन् १९४७, १९६५, १९७१ र १९९९ मा गरी चार पटक भारत र पाकिस्तानबीच युद्ध भएका छन् । चारमध्ये तीन युद्धहरु सन् १९४७ को युद्ध, सन् १९६५ को युद्ध र सन् १९९९ को युद्ध कश्मीरको विषयलाई लिएर भएका थिए भने सन् १९७१ को युद्ध तत्कालीन पूर्वी पाकिस्तान अर्थात् अहिले अस्तित्वमा रहेको बाङ्लादेशको स्वतन्त्रताको विषयलाई लिएर भएको थियो ।

गत अप्रिल २२ का दिन भारत प्रशासित जम्मु कश्मीरको पहलगाम क्षेत्रमा २६ जना पर्यटकको ज्यान जानेगरी भएको आतंककारी आक्रमणपछि फेरि तनाव चुलिएको छ । उक्त आक्रमणमा एकजना नेपाली नागरिक सुदिप न्यौपाने पनि मारिएका थिए । आतंककारी आक्रमणमा पाकिस्तानको हात रहेको भारतले आरोप लगाएको छ ।

सोही आक्रमणको बदला लिन भारतले गत बुधबार सबेरै पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका विभिन्न ९ स्थानलाई लक्षित गरी हवाई आक्रमण गर्‍यो । भारतले पाकिस्तानमा रहेका आतंककारी पूर्वाधारलाई लक्षित गरी पाकिस्तानी भूमिमा आक्रमण गरेको जनाएको छ ।

पाकिस्तानविरुद्ध भारतले ‘अपरेशन सिन्दुर’ नामक सैन्य कारवाही सञ्चालन गरेपछि सारा संसारको चासो दक्षिण एशियातर्फ मोडिएको छ । खासगरी यी मुलुकले प्रयोग गर्ने हतियार र सैन्य उपकरणका विषयमा धेरैले चासो राखेका छन् ।

पछिल्लो तनावका क्रममा यी मुलुकहरुले आफैँले उत्पादन गरेकोबाहेक अरु मुलुकबाट आयात गरिएका हतियार र उपकरणको पनि प्रयोग गरेका छन् । यसै कारण दक्षिण एशियामा जारी तनावलाई संसारभरिका सैन्य विश्लेषकहरुले नियालिरहेका छन् ।

पाकिस्तान हतियारका लागि चीनमा निर्भर छ । पाकिस्तानले चीनबाट ८१ प्रतिशत हतियार आयात गरेको छ भने नेदरल्याण्ड्सबाट १० प्रतिशत र टर्कीबाट ६ प्रतिशत हतियार आयात गरेको छ । उसले बाँकी विश्वबाट भने ९ प्रतिशत हतियार आयात गर्छ

पछिल्लो तनावका क्रममा प्रयोग भएका चिनियाँ र पश्चिमा मुलुकका हतियारको टक्करलाई लिएर ठूलो चासो छ । उदीयमान शक्ति मानिएको चीनले उत्पादन गरेका हतियारले पश्चिमा मुलुकले उत्पादन गरेका र अन्य परम्परागत हतियारविरुद्ध कस्तो प्रदर्शन गरिरहेका छन्, ती हतियारको गुणस्तर तथा क्षमता कस्तो छ र कति प्रभावकारी छन् भन्ने विषयमा धेरैले ध्यान दिएका छन् ।

हतियार तथा सैन्य उपकरणका लागि दुबै मुलुक विदेशी आयातमा निर्भर छन् । स्टकहोम इन्टरनेशनल पिस रिसर्च इन्स्टिच्युट (सिप्री) का अनुसार भारत विश्वको दोस्रो ठूलो हतियार आयातकर्ता मुलुक हो भने पाकिस्तान पाचौँ ठूलो आयातकर्ता हो । उक्त संस्थाका अनुसार सन् २०२० देखि सन् २०२४ सम्म भारतले आफ्नो कुल हतियार आयातको ३६ प्रतिशत रुसबाट, ३३ प्रतिशत फ्रान्सबाट र १८ प्रतिशत इजरायलबाट र १३ प्रतिशत बाँकी विश्वबाट ल्याउने गरेको छ ।

पाकिस्तान भने आफ्नो हतियारका लागि चीनमा निर्भर छ । सोही अवधिमा पाकिस्तानले चीनबाट ८१ प्रतिशत हतियार आयात गरेको छ । त्यसैगरी, उसले नेदरल्याण्ड्सबाट १० प्रतिशत र टर्कीबाट ६ प्रतिशत हतियार आयात गरेको छ । पाकिस्तानले बाँकी विश्वबाट भने ९ प्रतिशत हतियार आयात गर्छ ।

अपरेशन सिन्दुरका क्रममा पनि दक्षिण एशियाली आकाशमा फ्रान्सेली र चिनियाँ हतियारको टकराव देखियो । बुधबार पाकिस्तानले भारतीय वायुसेनाका ५ वटा लडाकु विमान खसालेको दाबी गरेको थियो । पाकिस्तानले भारतीय वायुसेनाको फ्रान्समा निर्मित तीन वटा रफायल तथा एक एक ओटा सोभियत संघमा बनेका मिकोयान मिग २९ र सुखाइ सु ३० लडाकु विमान खसालेको दाबी गरेको थियो । मिग २९ र सु ३० को तुलनामा रफायल अत्याधुनिक लडाकु विमान मानिन्छ ।

पाकिस्तानले चीनमा निर्मित जे १० सी लडाकु विमानले रफायल खसालेको दाबी गरेको थियो । अमेरिकाका दुई अधिकारीले समाचार संस्था रोयटर्सलाई पाकिस्तानले जे १० को प्रयोग गरेर भारतीय वायुसेनाका कम्तीमा दुई वटा लडाकु विमान खसालेको बताएका छन् ।

अमेरिकी अधिकारीका अनुसार पाकिस्तानले जे १० विमानबाट आकाशबाट आकाशमा मार हान्ने क्षेप्यास्त्रको प्रयोग गरी दुई वटा भारतीय लडाकु विमान खसालेको हो । अर्का अधिकारीले पाकिस्तानले खसालेको भारतीय वायुसेनाको कम्तीमा एउटा लडाकु विमान रफायल रहेको दाबी गरेका छन् ।

फ्रान्सको रफायल र चीनको जे १० दुबै तुलनात्मक रुपमा अत्याधुनिक ४.५ जी लडाकु विमान मानिन्छन् । रफायलमा फ्रान्समै निर्मित मेटोर आकाशबाट आकाशमा मार हान्ने क्षेप्यास्त्र र जे १० मा पनि चीनमै निर्मित पीएल १५ आकाशबाट आकाशमा मार हान्ने क्षेप्यास्त्र प्रयोग हुन्छ । यद्यपि हवाइ युद्धका क्रममा कुन मुलुकको लडाकु विमानमा कस्तो क्षेप्यास्त्र प्रयोग भएको थियो भन्नेबारे अझै स्पष्ट भइसकेको छैन ।

पाकिस्तानले भारतीय वायुसेनाको विमान खसालेको दाबीको भारतीय पक्षले खण्डन गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले पनि घटनाबारे जानकार नरहेको प्रष्ट्याएका छन् ।

रफायल निर्माता फ्रान्सेली कम्पनी डासटले पनि यसबारे टिप्पणी गर्न अस्वीकार गरेको छ । यदि पाकिस्तानी दाबीको स्वतन्त्र पुष्टि भएमा कुनै पनि युद्धका क्रममा दुश्मनले रफायल खसालेको यो पहिलो घटना हुनेछ ।

जसले जेसुकै दाबी गरेपनि चिनियाँ पुँजी बजारमा जे १० लडाकु विमान निर्माण गर्ने एभीआईसी कम्पनीको शेयर मूल्यमा यस साता मात्रै ४० प्रतिशतको वृद्धि देखिएको थियो ।

बिहीबार भने परिस्थिति अर्कै देखियो । पाकिस्तानले बिहीबार भारतले आफ्नो मुलुकमा इजरायलमा निर्मित ड्रोन हानेको आरोप लगायो । पाकिस्तानी सेनाको अन्तरसेवा जनसम्पर्क कार्यालय (आईएसपीआर) ले भारतले पाकिस्तानी भूमिमा आक्रमण गर्नका लागि इजरायलमा निर्मित हारोप नामक चालहरहित हवाई उपकरण (ड्रोन) प्रयोग गरेको आरोप लगाएको थियो ।

आईएसपीआरका महानिर्देशक लेफ्टिनेन्ट जनरल अहमद शरिफ चौधरीले भारतबाट प्रहार भएका यस्ता २५ वटा हारोप ड्रोन खसालेको दाबी गरे । उनले ती ड्रोनहरु कराँची र लाहोरसहित विभिन्न स्थानमा निस्तेज पारिएको पनि दाबी गरेका थिए ।

हार्पुन भनिने हारोप ड्रोन तुलनात्मक रुपमा अत्याधुनिक हतियार मानिन्छ । यो ड्रोन इजरायली कम्पनी इजरायल एरोस्पेस इन्डष्ट्रीको एमबीटी मिसाइल डिभिजनले निर्माण गर्दै आएको छ । दुश्मनको हवाई रक्षा प्रणालीलाई निस्तेज पार्नका लागि हार्पुन ड्रोनको प्रयोग हुने गरेको बताइएको छ ।

यद्यपि पाकिस्तनले इजरायमा निर्मित ड्रोन खसाल्न कस्तो हवाई प्रतिरोधी प्रणालीको प्रयोग गरेको भन्ने उनले खुलाएनन् । पाकिस्तानसँग चीनमा निर्मित एचक्यू ९ श्रृङ्खलाका हवाई प्रतिरोधी प्रणाली रहेको विश्वास गरिन्छ । चीनले रुसमा निर्मित एस ३०० जमिनबाट आकाशमा मार हान्ने क्षेप्यास्त्रको मोडेलमा यो प्रणालीको विकास गरेको हो । यसको अधिकतम मारक क्षमता २ सय ५० किलोमिटरसम्म रहेको बताइन्छ । पाकिस्तानले सन् २०२१ मा चीनबाट एचक्यू ९ पी हवाइ प्रतिरोधी प्रणाली खरिद गरेको थियो ।

त्यसबाहेक पाकिस्तानसँग चीनमै बनेका एचक्यू १६ हवाई प्रतिरोधी प्रणाली पनि रहेको ठानिन्छ । एचक्यू १६ को मारक क्षमता एचक्यू ९ को तुलनामा केही कम रहेको बताइएको छ । बिहीबार नै भारतले पाकिस्तानको लाहोर शहरमा रहेको हवाइ प्रतिरोधी प्रणाली ध्वस्त पारेको दाबी ग¥यो । भारतीय अखबार टाइम्स अफ इण्डियाले हार्पुन ड्रोन प्रयोग गरी पाकिस्तानको एचक्यू ९ हवाइ प्रतिरोधी प्रणाली ध्वस्त पारेको दाबी गरेको छ ।

पाकिस्तानले भने भारतीय दाबीको खण्डन गरेको छ । यद्यपि एचक्यू ९ हवाइ प्रतिरोधी प्रणाली ध्वस्त पारेको भारतीय दाबी स्वतन्त्र रुपमा पुष्टि भए त्यो चीनका लागि लज्जा र पाकिस्तानका लागि चिन्ताको विषय हुने अमेरिकी थिंक ट्यांक काउन्सिल अन फरेन रिलेसन्सकी मञ्जरी चटर्जी मिलरले साउथ चाइना मर्निङ पोस्टलाई बताएकी छिन् ।

चीनले पनि आफ्नो हवाइ प्रतिरोधी प्रणालीले भारतीय वायुसेनाविरुद्ध कस्तो प्रदर्शन गरिरहेको छ भन्नेबारे धेरै चासो दिएको जानकारहरु बताउँछन् । अर्को अमेरिकी थिंक ट्यांक स्टिमसन सेन्टरका स्कट जोन्सका अनुसार दक्षिण एशियामा जारी तनावले फ्रान्सेली, रुसी, इजरायली र आफ्नै मुलुकमा उत्पादित हतियारको प्रयोग गर्ने भारतीय वायुसेनाविरुद्ध आफ्ना हतियारले कस्तो प्रदर्शन गरिरहेका छन् भन्नेबारे चीनलाई बुझ्ने अवसर मिलेको छ ।

बिहीबार बेलुकी उत्तरी र पश्चिमी भारतका केही स्थानमा पाकिस्तानले ड्रोनले आक्रमण गर्‍यो । पाकिस्तानले भारतमाथि आक्रमण गर्न चीनमा निर्मित विङ लुङ २ र सीएच ४ ड्रोनको प्रयोग गरेको बताइएको छ । विङ लुङ २ मध्यम दुरीसम्म उडान भर्नसक्ने ड्रोन मानिन्छ । सीएच ४ ले भने अमेरिकाको अत्याधुनिक एमक्यू ९ रिपर ड्रोनजस्तै काम गर्ने जानकारहरु बताउँछन् ।

सीएच ४ ले एक पटकमा १४ घण्टासम्म उडान भर्न सक्छ भने यसको मारक क्षमता १ हजार ५ सय किलोमिटरसम्म रहेको जनाइएको छ । यसले विभिन्न किसिमका क्षेप्यास्त्र र विष्फोटक गरी ३ सय ४५ किलोग्रामसम्म भारी बोक्नसक्छ ।

बिहीबार अबेर भारतीय सञ्चार माध्यममा भारतले पाकिस्तानका तीन वटा लडाकु विमान खसालेको समाचार सार्वजनिक भयो । भारतले पाकिस्तानी सेनाको एउटा अमेरिकामा निर्मित एफ १६ र दुई वटा चीनमा निर्मित जे एफ १७ लडाकु विमान खसालेको दाबी गरेको थियो । भारतले रुसमा निर्मित एस ४०० ट्रायम्फ हवाइ प्रतिरोधी प्रणालीको प्रयोग गरी ती लडाकु विमान खसालेको भारतीय सञ्चार माध्यमको दाबी छ ।

एस ४०० रुसको हालसम्मकै सबैभन्दा उत्कृष्ट हवाइ प्रतिरोधी प्रणाली मानिन्छ । भारतले सन् २०१८ मा अमेरिकाको चर्को दबाबका बावजुद रुसबाट एस ४०० खरिद गरेको थियो । यसको मारक क्षमता ३ सय ८० किलोमिटरसम्म रहेको विश्वास गरिन्छ ।

भारतले इजरायलसँग मिलेर बाराक–८ मध्यम दूरीको मारक क्षमता भएको जमिनबाट आकाशमा मार हान्ने क्षेप्यास्त्र प्रणालीको पनि विकास गरेको छ । यसको मारक क्षमता ७० किलोमिटर रहेको विश्वास गरिन्छ ।

यो सामग्री तयार पार्दै गर्दा भारतले पाकिस्तानी पक्षबाट टर्किस ड्रोन आक्रमण भएको दाबी गरेको छ । भारतीय सेनाले बठिन्डामा रहेको सैनिक कार्यालयमा आक्रमण गर्नका लागि पाकिस्तानले टर्कीमा निर्मित असिस्गार्ड सोङ्गर ड्रोनको प्रयोग गरेको आरोप लगाएको हो । यस ड्रोनमा गोली हान्ने मेसिनगन र ग्रेनेड हान्ने लञ्चर जडान गर्न मिल्छ ।

भारत र पाकिस्तानको सैन्य क्षमता
भारत र पाकिस्तान दुबै मुलुकसँग समान करिब १ सय ७० देखि १ सय ८० को हाराहारीमा आणविक हतियार रहेको अनुमान गरिन्छ । दुई मुलुकको तुलना गर्दा हरेक क्षेत्रमा भारत मजबुत र शक्तिशाली प्रतित हुन्छ । हामीले ग्लोबल फायरपावर परिसूचकको तथ्यांकमा आधारित रहेर केही महत्वपूर्ण जानकारी दिन गइरहेका छौँ ।

भारतको कुल जनसङ्ख्या १ अर्ब ४० करोड हाराहारीमा रहेको विश्वास गरिन्छ । यस्तो अवस्थामा भारतसँग युद्धका लागि ६६ करोड जनशक्ति उपलब्ध छन् । त्यसमध्ये पनि सैन्य सेवाका लागि ५२ करोड जना योग्य छन् । हाल भारतसँग कुल सैन्य जनशक्ति ५१ लाख रहेको विश्वास गरिन्छ । यसमा पनि १३ लाख ५५ हजार जना सैन्य सेवामा सक्रिय छन् । भारतसँग ११ लाख ५५ हजार जगेडा सैनिक छन् भने अर्धसैनिक २५ लाख छन् । भारतीय स्थल सेनामा २१ लाख ९७ हजार तैनाथ छन् । वायुसेनामा ३ लाख १० हजार र नौसेनामा १ लाख ४२ हजार जना तैनाथ छन् ।

भारतको कुल रक्षा बजेट ७५ अर्ब अमेरिकी डलर छ । भारतसँग ४ हजार २ सय १ वटा ट्यांक, १ लाख ४८ हजार ५ सय ९४ वटा बख्तरबन्द गाडी, १ सय वटा सेल्फ प्रोपेल्ड आर्टिलरी, ३ हजार ९ सय ७५ वटा टोड आर्टिलरी र २ सय ६४ वटा मल्टिपल लन्च्ड रकेट सिस्टम छन् ।

भारतसँग ५ सय १३ वटा लडाकु विमान छन् । तीमध्ये सैन्य सेवाका लागि ३ सय ८५ वटा तयारी अवस्थामा छन् । त्यसैगरी, भारतसँग १ सय ३० वटा आक्रामक विमान छन् । पारवहन विमान २ सय ७० वटा छन् । भारतसँग अरु ८ सय ९९ वटा हेलिकोप्टर पनि छन् । समग्रमा भारतसँग विभिन्न किसिमका २ हजार २ सय २९ वटा सैन्य विमान उपलब्ध छन् । तीमध्ये कम्तीमा पनि १ हजार ६ सय ७२ वटा विमान युद्धकार्यका लागि तयारी अवस्थामा छन् ।

भारतसँग कुल २ सय ९३ वटा नौसैनिक जहाज छन् । यीमध्ये २ वटा लडाकु विमानवाहक नौसैनिक युद्धपोत छन् । भारतसँग डिष्ट्रोयर युद्धपोत १३ वटा, फ्रिगेट १४ वटा र कोर्भेट १८ वटा छन् । यसबाहेक भारतीय नौसेनामा १८ वटा पनडुब्बी पनि छन् ।

उता पाकिस्तानको कुल जनसङ्ख्या भने केबल २५ करोडभन्दा धेरै केही बढिमात्रै छ । पाकिस्तानसँग सैन्य सेवाका लागि १०–११ करोड जनशक्ति उपलब्ध छन् । यसमा पनि ८ करोड ५० लाख जना सैन्य सेवाका लागि योग्य छन् । पाकिस्तानसँग कुल १७ लाख सैनिक रहेको विश्वास गरिन्छ । यसमा पनि ६ लाख ५४ हजार जना सक्रिय रुपमा सेनामा तैनाथ छन् । ५ लाख ५० हजार जना जगेडा छन् भने ५ लाख अर्धसैनिक छन् ।

पाकिस्तानी वायुसेनामा ७८ हजार, स्थल सेनामा १३ लाख र नौसेनमा १ लाख २४ हजार सैनिक छन् । पाकिस्तानको कुल रक्षा बजेट ७ अर्ब ६४ करोड डलर हाराहारीमा रहेको विश्वास गरिन्छ । पाकिस्तानसँग २ हजार ६ सय २७ वटा ट्यांक, १७ हजार ५ सय १६ वटा बख्तरबन्द गाडी, ६ सय ६२ वटा सेल्फ प्रोपेल्ड आर्टिलरी, २ हजार ६ सय २९ वटा टोड आर्टिलरी र ६ सय वटा मल्टिपल लन्च्ड रकेड सिस्टम रहेका छन् ।

पाकिस्तानसँग ३ सय २८ वटा लडाकु विमान छन् । यसमध्ये २ सय ३० वटा विमान मात्रै युद्धका लागि तयारी अवस्थामा छन् । पाकिस्तानसँग ९० वटा आक्रामक विमान र ६४ वटा परिवहन विमान पनि छन् । पाकिस्तानसँग अरु ३ सय ७३ वटा हेलिकोप्टर पनि समग्रमा पाकिस्तानी वायुसेनामा कुल १ हजार ३ सय ९९ वटा सैन्य विमान छन् । यीमध्ये ९ सय ७९ वटा युद्धकार्यका लागि तयारी अवस्थामा छन् । त्यसैगरी, पाकिस्तानसँग कुल १ सय २१ वटा नौसैनिक जहाज छन् ।

ग्लोबल फायरपावर परिसूचकमा भारत चौथो स्थानमा छ भने पाकिस्तान भने ११ औँ स्थानमा छ । विश्वका अरु मुलुकको तुलनामा भारत र पाकिस्तान सैन्य क्षमतामा निकै शक्तिशाली छन् । तैपनि यी दुई मुलुकबीच पूर्णस्तरको युद्ध हुने सम्भावना नरहेको जानकारहरु बताउँछन् ।

पाकिस्तानमा आधारित सुरक्षा विश्लेषक सइद मोहम्मद अलीका अनुसार यी मुलुकसँग भएका आणविक हतियारले पूर्णस्तरको युद्ध रोक्दै आएको छ । ‘पाकिस्तान र भारतसँग अर्को पक्षलाई धेरै पटक पूर्ण रुपमा नष्ट पार्ने आणविक हतियार छ ।’ उनले समाचार संस्था एपीलाई भनेका छन्, ‘उनीहरुको आणविक हतियारले दुबै पक्षलाई आपसी विध्वंशको अवस्था सिर्जना गर्छ ।’

यी मुलुकले आणविक हतियार प्रहार गर्न छोटो, मध्यम र लामो दुरीको विभिन्न प्रविधि पनि विकास गरेका छन् । तैपनि जानकारहरु एउटा मुलुकले एक पटक आणविक हतियार प्रहार गरे अर्को मुलुकले त्यसको जवाफै दिन नसक्ने गरी विध्वंश हुने अवस्था अउनसक्ने चिन्ता पनि व्यक्त गर्छन् ।

दुबै मुलुकले एकले अर्कोमाथि आक्रमण गर्दा पनि प्रायः रातको समय रोज्ने गरेका छन् । त्यस्तै, धेरै जनघनत्व र वृहद सैन्य उपस्थिती रहेको क्षेत्रमा पनि भारत र पाकिस्तानले एक अर्कामाथि आक्रमण गर्दैनन् ।

जानकारहरुका अनुसार सार्वभौमिकताको विवादमा रहेको कश्मीर क्षेत्रलाई पूरै कब्जा गर्ने दुबै मुलुकको उद्देश्य भएपनि एकले अर्काको सार्वभौम जमिन कब्जा गर्ने उद्देश्यले आक्रमण गर्दैनन् । बहुसङ्ख्यक हिन्दू धर्मावलम्बी रहेको भारतलाई मुसलमानबहुल पाकिस्तान कब्जा गर्ने कुनै इच्छा नरहेको विश्लेषकहरु बताउँछन् ।

त्यसैगरी, पाकिस्तानले पनि सैन्य आक्रमण गरेर भारतमाथि कब्जा गर्नसक्ने अवस्था छैन । विपक्षीको आन्तरिक राजनीतिमा दबाब पैदा गराउनका लागि उनीहरुले यस्तो आक्रमण गर्ने गरेको बताइन्छ ।

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  ८ : ३३ बजे

वर्षाका कारण खोटाङमा ७० प्रतिशत धानबालीमा क्षति

खोटाङ– यही कात्तिक १५ गतेदेखि चार दिनसम्म परेको अविरल वर्षाका

लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु

लमजुङ– लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

इतिहास हराएको एउटा अग्राख योद्धा 

मेरा प्रिय दाइमध्येका एक हुन्– नन्दु उप्रेती, जसलाई कुनै समय

‘विश्व रेडियोग्राफी तथा अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ मनाईँदै

काठमाडौं– ‘विश्व रेडियोग्राफी दिवस’ तथा ‘अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ आज देशभर

के थियो आलममाथिको इँटाभट्टा प्रकरण ?

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको गएराति निधन भएको