सप्तकोशीमा ज्यान गुमाएका गोताखोरका बुवा भन्छन् : छोरोले एक दिनअघि घरखर्च सोधेको थियो … | Khabarhub Khabarhub

सप्तकोशीमा ज्यान गुमाएका गोताखोरका बुवा भन्छन् : छोरोले एक दिनअघि घरखर्च सोधेको थियो …



सप्तकोशीमा ज्यान गुमाउनु एक दिनअघि सुरजले फोनमा बासँग भनेका थिए– ‘अब बर्खा लाग्यो घर आउन पाउँदिन, खर्च पानी छ कि छैन ?’ सुरजका बुवा नन्द साउद भन्छन्, ‘तर कहिल्यै नफर्किने गरी गयो ।’

***

काठमाडौं – मनसुन नजिकिँदैछ । यसले ओसिलो हावासँगै हरेक वर्ष विपत्ति लिएर आउँछ । वर्षासँगै आउने मनसुनको बिझाइँबाट हुने क्षति कम गर्न राज्यका निकायले काम गर्छन् । सशस्त्र प्रहरी बल नेपालले उद्धार र विपद् व्यवस्थापनका लागि पूर्वअभ्यास गर्दै आएको छ ।

बाढीमा फसेका, हराएका व्यक्तिको उद्धार र खोज गर्न वैशाखदेखि जेठसम्म एकमहिना सशस्त्रका तालिम प्राप्त गोताखोर नदीमा हेलिँदै छन् ।

मधेश र कोशी प्रदेश बाहिनीको संयुक्त गोताखोर टोलीले सप्तकोशीमा पूर्वअभ्यास गर्दै आएको थियो । कोशी ब्यारेजबाट उत्तरतर्फ करिब २ सय मिटरमाथि जेठ २३ गतेदेखि सशस्त्रका गोताखोरले अभ्यास गर्दै आएका थिए । गत बिहीबार पनि बिहान ७ः४५ बजेदेखि नै सशस्त्रका गोताखोरले अभ्यास सुरु गरे । दिउँसो ३ बजे खाजा खाएर पुनः अभ्यासमा जुटेकामध्ये हरदेवसिंह राजवंशी र सुरज साउद सम्पर्कविहीन भए ।

हरदेव सिंहको शव भोलिपल्ट अर्थात् शुक्रबार भेटियो । सप्तकोशीमा बेपत्ता भएको चार दिनपछि अर्थात् आइतबार सुरज साउद पनि मृत अवस्थामा भेटिए । सशस्त्र प्रहरीको इतिहासमा गोताखोर बेपत्ता भएको र मृत भेटिएको यो पहिलो घटना हो ।

मृत भेटिएका राजवंशी झापाको गौरादह– ८ पक्कीभिट्टाका स्थायीवासी हुन् । उनले स्पेशल टास्क फोर्स (एसटीएफ) डिजास्टर म्यानेजमेन्ट (डीएम) र गोताखोर गरी तीन तालिम लिएका थिए ।

उनी एसटीएफका प्रशिक्षकसमेत थिए । सशस्त्र प्रहरीको प्रशिक्षणमा यो निकै कठिन र चुनौतीपूर्ण तालिम मानिन्छन् ।

सुरज साउद दिपायल सिलगढी नगरपालिका–३ कैलडागाउँ डोटीका स्थायीवासी थिए । घटना हुनुभन्दा एक दिनअघि बुबा नन्द साउदसँग फोनमा कुरा गरेका थिए । ‘अब बर्खा लाग्यो घर आउन पाउँदिन । खर्च पानी छ कि छैन ?’ सुरजले सोधेका थिए । तर उनी कहिल्यै नफर्किने गरी गए । खबरहबसँगको कुराकानीमा नन्द साउद आफ्ना छोरालाई सम्झेर भावविह्ल बने । डाँको छाडेर रोए …

६४ वर्षीय साउदसँग गरिएको कुराकानीको सम्पादित अंश प्रस्तुत गरिएको छ ।

छोरासँग अन्तिम पटक कहिले कुरा भएको थियो ?

घटना घटेको एकदिनअघि फोनमा कुरा भएको थियो । ‘अब बर्खा लाग्यो । विभिन्न घटना दुर्घटना हुन सक्छन् । बाढी पहिरो आउन सक्छ । तयारीका लागि तालिम भइरहेको छ ।’ उसले भनेको थियो । म र बुढिया (सुरजकी आमा) दुवै बुढाबुढी छौँ ।

उसले दिनै फोन गरेर हालखबर सोध्थ्यो । के खायौ ? खाएनौ ? सोध्थ्यो । बा ! ठिकै छौ ? भन्थ्यो …

खर्चपानी छ कि छैन ? भनेर सोधेको थियो । दुःख बिमार परे औषधि गर्नू भनेको थियो …

तपाईंका कति सन्तान छन् ?

मेरा दुई छोरी र तीन छोरामध्ये सुरज कान्छो छोरा हो । उसले दश पास गरेको थियो । पढाइमा धेरै रुचि थिएन । तर सानैदेखि ‘ठुलो काम गर्छु’ भन्थ्यो । सानैदेखि निकै बलियो थियो । भारी बोक्ने, खेतबारी जोत्ने काम सजिलै गथ्र्यो । सोझो र मिलनसार थियो । गाउँघरमा सबैसँग मिल्थ्यो । ज्ञानी बच्चा भगवानले चाँडै उठायो । दैव किन चुडिस्… आमाको काखको बच्चो ? … खबर सुनेदेखि त्यसकी आमाको होस् ठेगानमा छैन …

सुरजले जागिर खाएको कति भएको थियो ?

उसले जागिर खाएको तीन वर्ष पूरा भएको थियो । जम्मा २२ वर्षको थ्यो । बिहे गर्ने भनेर वैशाखमा व्रतबन्ध गरिदिएको थिएँ । जागिरे छोरो घरमा बुहारी ल्याउला परिवारमा खुसी आउला भनेर बसेका थियौँ ।

कलकलाउँदो उमेरमा नदीले खायो । नदीले खाने मान्छे थिएन… दैवले खायो । पहिलेका वर्ष कति–कति बाढीबाट मान्छेलाई जोगाएको थियो । आज ऊ आफैँ जोगिएन ।

क्षतिपूर्तिको बारेमा संगठनले केही भनेको छ कि ? केही थाहा पाउनुभयो ?

म पढेलेखेको मान्छे होइन । के गर्नुपर्छ कसो गर्नुपर्छ केही थाहा छैन । दुई छोरा गएका छन् । ठुलो छोराले २५ हजार किरिया खर्च दिएको छ भनेर सुनायो । मैले थाहा पाएको त्यत्ति हो । भोलि (मङ्गलबार) शव जिम्मा लगाउने भनेको सुनेको छु ।

छोराले काँध थाप्ला कि भनेको उल्टै बुढेसकालमा अघि लाग्यो । यो भन्दा पीडा बाउको लागि अरु के होला ? मेरो छोरासँगै अर्को जवानको परिवारमा पनि विपत्ति आइलाग्यो भन्ने सुनेँ । देश र जनताको लागि काम गर्ने सिपाहीको अकालमा मृत्यु भयो । सरकारले न्याय गरोस् ।

सिपाहीका परिवार र सन्तान, बुढा आमाबुवाको अवस्था हेरेर सरकारले क्षतिपूर्ति देओस् भन्छु । हामीलाई कहाँ के गर्ने ? भन्ने थाहा छैन । मिडियाबाट तपाईंले सम्बन्धित ठाउँमा गएर भन्दिनू है । हाम्रो टिठ मानेर क्षतिपूर्ति मिलाइदिनु है ।

***

हरदेवसिंह राजवंशीले पनि नदीमा पूर्वअभ्यास गर्नुभन्दा अघि श्रीमतीसँग फोनमा कुरा गरेका थिए ।

हरदेवका दाइ भीमबहादुरका अनुसार घरमा ३ वर्षकी छोरी छन् । समय मिलेसम्म श्रीमती सुष्मा माक्रासँग हरदेवको फोनमा कुराकानी हुन्थ्यो । छोरी के गर्दैछे ? के खाई ? सुती कि सुतिन ? दुःख दिएकी छ कि छैन ? स–साना कुराको ख्याल राख्थे, हरदेव ।

‘हाम्रा आमाहरू तीन जना हुन् । त्यसमध्ये हरदेव कान्छीका छोरा हुन् । म जेठीको छोरा हुँ । उनकी आमाको नाम सञ्जाकुमारी राजवंशी हो । बुवाको धेरै पहिले देहान्त भइसकेको छ । हरदेवले जागिर खाएको १० वर्ष भइसकेको थियो,’ हरदेवका दाइ भीमबहादुर भन्छन्, ‘त्यो दिन पनि ७ः४५ बजे उनीहरू नदीमा गएका थिए । दिउँसो १२ बजे पनि उसले कुरा गरेको रहेछ । अरु दिन जस्तै सामान्य कुरा भएको रहेछ ।’

गोताखोरका लागि सरकार उदार नभएको भिमबहादुरको आरोप छ । ‘१०औं वर्ष मेरो भाइले देश र जनताको सुरक्षाको लागि काम गर्‍यो । यस्तो कठिन कामको मूल्याङ्कन छैन । जिम्मेवारी निभाउदाँ–निभाउँदै उसले प्राण त्यागेको छ । एक नारी विधवा भएकी छन् । तीन वर्षकी बच्ची टुहुरी भएकी छन् । कम्तिमा राज्यले न्यायोचित क्षतिपूर्ति भरणपोषण गरोस् । राज्यले उनीहरूलाई टुहुरो नबनाओस् ।’

शुक्रबारदेखि किरियाकर्म सुरु भएको छ । हरदेवकी श्रीमती बोल्न सक्ने स्थितिमा छैनन् ।

***

सशस्त्र प्रहरी बलमा गोताखोरका लागि भनेर छुट्टै सेवा सुविधा र भत्ताको व्यवस्था छैन ।

सशस्त्र प्रहरी बलका नायब महानिरीक्षक तथा प्रवक्ता कालीदास धौवजीका अनुसार गोताखोर खटिएको दिन दैनिक ३०० सय रुपैयाँ भत्ता पाउँछन् ।

ड्युटीमा रहँदा हुन गएको दुर्घटनामा अन्य सिपाहीले जति क्षतिपूर्ति पाउँछन्, गोताखोरले पाउने पनि त्यति नै हो । अरु शीर्षक छैन । गोताखोरका लागि थप वा छुट्टै व्यवस्था छैन ।

‘सास भेट्ने सम्भावना थिएन लास पनि भेटिन्न कि जस्तो थियो, शव नभेटिएपछि पीडित परिवारले शरीरको एक हड्डी भए पनि खोजिदेउ भनेर दबाब दिन थाले ।’ प्रवक्ता धौवजीले भने ।

यो निकै कठिन काम हो । दोस्रो शव बालुवामुनि पाइपमा भेटियो । त्यही पाइप खोतल्दै–खोतल्दै जमिनमुनि गाडिएको अवस्थाबाट उद्धार गरियो । धौवजीका अनुसार दुवै शवको पोस्टमार्टम गरेर परिवारलाई बुझाइएको छ ।

सशस्त्र प्रहरी संगठनले बजेट अपुग भयो भनेर सरकारलाई झक्झकाइरहेको छ । बजेट बढाउने कुरामा सरकार तर्सिएरहेको प्रवक्ता धौवजी बताउँछन् ।

‘हामीले निरन्तर लबिङ गरिरहेका छौँ । बीमा बढाइदेऊ भनेका छौँ । तर, सरकारले सुनिरहेको छैन । २०६९ सम्म सशस्त्र प्रहरी बलसँग गोताखोर थिएन । २०६९ वैशाखमा पहिलो पटक गोताखोर तालिमका लागि २५ जना सुरक्षाकर्मीको टोली बङ्गलादेश पठाइएको थियो । संगठनमा बङ्गलादेशबाट तालिम गरेर फर्किएका १६ जनामात्रै गोताखोर छन् ।

२०७६ देखि सशस्त्र आफैंले तालिम दिएर गोताखोर उत्पादन गर्दै आएको छ । त्रिशूली, कोशी नदी, फेवाताल, कुलेखानीलगायतमा प्रशिक्षण गराइन्छ ।

सशस्त्र प्रहरी बल नेपाल, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा गोताखोरको तालिम दिने गरिन्छ । हाल सशस्त्रसँग १२८ गोताखोर छन् ।

अत्यन्त जोखिमपूर्ण काम भए पनि सरकारले गोताखोरलाई उपेक्षा गर्दै आइरहेको छ । गोताखोरलाई १० लाखको बीमा, काम गरेका दिन ३०० रुपैयाँका दरले भत्ता सुविधा रहेको छ ।

प्रकाशित मिति : २६ जेठ २०८२, सोमबार  ५ : ३९ बजे

हर्कको श्रमदान अभियानमा गएकी किशोरीमाथि यौनदुर्व्यवहार, एकजना समातिए

काठमाडौं- धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले चलाएको श्रमदान अभियानका क्रममा

नेपाल इन्स्योरेन्सको हकप्रद निष्कासन हुने 

काठमाडौं– नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको

हैजा नियन्त्रणका लागि काठमाडौं महानगर क्षेत्रमा जनचेतनामूलक कार्यक्रम

काठमाडौं– काठमाडौँ महानगरपालिकाले हैजा रोग नियन्त्रणका लागि ३२ वटै वडामा 

कालीगण्डकीमा व्यावसायिक अकबरेखेती

वालिङ– स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका किसानले व्यावसायिक अकबरे खुर्सानीखेती सुरु गरेका छन्

अन्तर्राष्ट्रिय सहकारी दिवसमा महासंघले विशेष समारोह गर्ने

काठमाडौं– राष्ट्रिय सहकारी महासंघले अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा विशेष समारोहको