‘बालेन्द्र–सुनिता द्वन्द्व’को कोपभाजनमा काठमाडौंको बजेट | Khabarhub Khabarhub

‘बालेन्द्र–सुनिता द्वन्द्व’को कोपभाजनमा काठमाडौंको बजेट

महानगरको बजेट : अन्योलमा पर्ला कि फास्ट ट्रयाकमा आउला ?


२६ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट अन्योलमा परेको छ । मेयरसँग कर्मचारी र अन्य जनप्रतिनिधिको विवाद बढेपछि ०८१ पुस ८ गतेयता कार्यपालिकाको बैठकसमेत बस्न सकेको छैन ।

स्थानीय तहले हरेक वर्षको असार १० गते नयाँ बजेट ल्याउने प्रचलन छ । बजेट उपप्रमुखले पढ्ने भए पनि कार्यपालिकाले पारित गरेर नगरसभामा अनुमोदनका लागि लैजानुपर्ने हुन्छ । तर, अहिलेसम्म काठमाडौं महानगरपालिकाले बजेटसम्बन्धी गृहकार्य अगाडि बढाउन सकेको छैन ।

स्थानीय तहका जनप्रतिनिधिले आगामी आर्थिक वर्षमा खास काम गरेर देखाउनुपर्ने बेला हो । किनभने ०७९ मा निर्वाचित जनप्रतिनिधिले ल्याउन लागेको यसपालिकाे बजेट चौथाे बजेट हुनेछ । ०८३ असारमा ल्याइने अन्तिम बजेट पूर्णरुपमा कार्यान्वयन नहुँदै ०८४ बैशाखमा जनप्रतिनिधको कार्यकाल सकिनेछ ।

काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतलाई महानगर प्रवेश गराउने विषयमा विवाद भएपछि महानगर प्रमुख बालेन्द्र साह (बालेन) र जनप्रतिनिधिबीच बोलचाल छैन । महानगरका ४२ कार्यपालिका सदस्यमध्ये उपप्रमुख सुनिता डङ्गोलसहित ४१ जना सदस्यले कार्यपालिका बैठकको माग गर्दै ध्यानकर्षण गराएका थिए । तर बालेन्द्रले कार्यपालिका बैठक डाकेका छैनन् ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले जेठ १० गतेभित्रमा स्रोत तथा सीमा निर्धारण समितिको बैठक राखेर बजेटको सीमा निर्धारण गर्नुपर्ने निर्दिष्ट गरेको छ । ऐनमा असार १० गतेसम्ममा नगर सभामा बजेट पेस गरिसक्नुपर्ने व्यवस्था छ ।

तर महानगरमा यो प्रक्रिया नै अवरुद्ध भएको छ । काठमाडौं महानगरपालिका सूचना अधिकारी ध्रुवकुमार काफ्लेका अनुसार कार्यपालिकाको बैठक बसेर स्रोत सुनिश्चिता गर्नुपर्छ । कानूनमा एक महिनामा एक पटक कार्यपालिका बैठक बस्नुपर्ने भनिए पनि विगत ७ महिनायता कार्यपालिका बैठक बसेको छैन ।

स्थानीय सरकार सञ्चालन ऐनको दफा १७ को उपदफा १ मा ‘कार्यपालिकाको बैठक कम्तीमा महिनाको एक पटक बस्नेछ’ भन्ने व्यवस्था भए पनि महानगरमा यो नियम पालना भएको छैन ।

प्रमुख प्रशासकीय अधिकृतबिना बस्दैन कार्यपालिका

कार्यपालिका बैठकमा प्रमुख प्रशासकीय अधिकृत सदस्य सचिव हुने भएकाले बैठक डाक्दा समेत गुरागाईंलाई कानूनी रूपमा बालेनले अनुमोदन गर्नुपर्ने हुन्छ । बैठकमा गुरागाईंलाई प्रमुख प्रशासकीय अधिकृतको रूपमा जिम्मेवारी दिनुपर्ने हुन्छ । जुन कुरा बालेनले चाहेको देखिँदैन ।

महानगरका सहायक प्रवक्ता काफ्लेका अनुसार, प्रमुख प्रशासकीय अधिकृत निमित्त, भए पनि हुनुपर्ने बताउँछन् । ‘सचिव बेगरको कार्यपालिका बैठक हुँदैन ।’, काफ्लेले भने ।

स्थानीय सरकार सञ्चालन ऐनको दफा १६ को उपदफा ४ को खण्ड ‘क’ ले अध्यक्ष वा प्रमुखको काम, कर्तव्य र अधिकार तोकेको छ । जसको उपखण्ड (१) मा सभा तथा कार्यपालिकाको बैठक नगर प्रमुखले बोलाउने प्रमुख प्रशासकीय अधिकृतलाई तोक्ने भन्ने छ । र, बैठकको अध्यक्षता गर्ने प्रावधान छ ।

कार्यपालिका बैठक बोलाउँदा बालेनले आधिकारिक रूपमा प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई अनुमोदन गर्नुपर्ने हुन्छ ।

अन्योलमा आगामी बजेट

महानगरले आफ्नो बजेट ल्याउनुपूर्व प्रि–बजेट छलफल गर्छ । जसको संयोजक नगर प्रमुख हुन्छन् । प्रमुखको अध्यक्षतामा स्रोत तथा सीमा निर्धारण समिति हुन्छ । प्रमुख भएको समितिले गाइडलाइनबाट बजेट बनाउने, कुल बजेट निर्धारण गर्ने, क्षेत्रगत बजेट शीर्षकमा कार्यक्रम प्रक्षेपण गर्नुपर्छ ।

स्रोत तथा सीमा निर्धारण समितिले दिएको गाइडलाइनको आधारमा बजेट माग गर्ने, स्रोत खोज्ने र राजस्वका विषयमा उपमेयर संयोजक रहेको बजेट तर्जुमा समितिले काम गर्छ । कार्यक्रम माग गर्ने, डीपीआर भए–नभएका आयोजना, क्रमागत आयोजना यो वर्ष सकिने र नसकिने, चालु आर्थिक वर्षमा छुट्याइएका खर्चका विषय समीक्षा गर्ने काम उपप्रमुख संयोजक रहेको बजेट तर्जुमा समितिले गर्छ ।

जेठको १० गतेभित्रमा स्रोत तथा अनुगमन समितिको बैठक राखेर सङ्घ र प्रदेशबाट प्राप्त हुने अनुदान सुनिश्चित गर्नुपर्छ । अनुमानित नगद मौज्दातको अनुमान गर्ने र राजस्व सङ्कलन अनुमान गरेर आगामी वर्षको कार्यक्रम प्रस्ताव गरिसक्नु पर्छ ।

तर, अहिले काठमाडौं महानगरपालिकाको हकमा भने त्यस्तो केही पनि भएको छैन । काठमाडौंको छिमेकी पालिका ललितपुर महानगरले बजेटको छलफल धमाधम गरिरहेको छ । बजेटको सुझाव पेस गर्न ललितपुरका मेयर चिरिबाबु महजर्नले आह्वान समेत गरिसकेका छन् । तर, यता काठमाडौंको बजेट बन्ने प्रक्रिया भने अन्योल देखिएको छ । महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार विगतका वर्षमा भने बजेट सम्बन्धि कामहरू फटाफट हुने गरेको बताउँछन् ।

‘सबैभन्दा पहिला कार्यपालिकाको बैठक बस्थ्यो, त्यसले नगर सभाको समय स्वीकृत गर्थ्याे ’, मानन्धरले भने, ‘त्यसपछि सीमा निर्धारणको काम हुन्थ्यो । प्रमुखले सीमा निर्धारण गरिसकेपछि विषयगत समितिमा जान्थ्यो, विषयगत समितिले आफू मातहतका र सबै वडामा भएका योजना बारे छलफल गर्थ्याे ।’

ऐनले निर्दिष्ट गरेअनुसार असार १० गतेसम्ममा नगर सभामा बजेट पेस गरिसक्नु पर्ने व्यवस्था छ । जेठ १० र असार १० को बीचमा योजना छनोट गर्ने, योजना बनाउने, बजेट र कार्यक्रम तय गर्ने, सीमा निर्धारण समितिले दिएको आधारमा कार्यक्रम तयार गर्ने, सम्बन्धित समितिमा छलफल गरेर पास गर्ने काम एक महिनाभित्रमा गर्नुपर्ने हुन्छ ।

चालु आर्थिक वर्षको बजेटमा भने चैतबाट काठमाडौं महानगरमा छलफल चलेको प्रवक्ता मानन्धर बताउँछन् । ‘कार्यपालिकाको बैठक बसेको छैन । बजेट बन्ने प्रक्रिया रोकिएको छ’, मानन्धरले भने, ‘बजेटसम्बन्धी कुनै पनि बैठक बस्न सकेको छैन ।’

बजेट तयारीमा कर्मचारी खट्दै

काठमाडौं महानगरको बजेट निर्माणमा कर्मचारीले धमाधम काम गरिरहेका छन् । सहायक प्रवक्ता काफ्लेका अनुसार महानगरको बजेट बन्ने काम ९९ प्रतिशत सम्पन्न भएको छ ।

केन्द्र सरकार र प्रदेशले दिने बजेटको सिलिङ आइसकेको हुनाले त्यसलाई आन्तरिक रुपमा छुट्याउने काम मात्र बाँकी रहेकाले त्यो कर्मचारीले गरिरहेको काफ्ले बताउँछन् ।

‘बजेटको सिलिङ फर्मल्ली निर्धारण समिति (मेयरको संयोजक हुने) ले गर्ने हो’, काफ्लले भने, ‘निर्णय हुनुभन्दा अगाडि कर्मचारीले बजेट छुट्याउन सकिन्छ । बजेट कुन शीर्षकमा कति हाल्नुपर्छ भन्ने जानकारी हामीसँग हुन्छ ।’

कार्यपालिका बैठक नबसे पनि बजेटका कामहरू भने भइरहेको काफ्ले बताउँछन् । ‘अफ लाइनमा काम भइरहेको छ’, काफ्लेले भने, ‘तर दुवै समितिको बैठक भने बसेको छैन ।’

विषयगत विभागको काम भइरहेको छ र यसअघि नगर कार्यपालिका र नगर सभाले स्वीकृत गरिदिएका काम अहिले भइरहेको काफ्ले बताउँछन् । अघिल्लो वर्ष जिम्मेवारी तोकिएको काम अहिले भइरहेको काफ्लेले बताए । ‘बजेटको ९९ प्रतिशत काम आन्तरिक हुने भएकाले त्यतातिर काम भइरहेको छ ।’ काफ्लेले भने ।

काफ्लेका अनुसार वडा तहमा सार्वजनिक सुनुवाइ गरेर बजेट माग गर्ने काम भइरहेको छ । ‘वडाबाट महानगरमा योजना पठाइएको भने छैन’, काफ्लेले भने, ‘वडाबाट प्राथमिकता छुट्याएर पठाउने हो, पठाउन कति समय पनि लाग्दैन ।’

बजेट उपमेयरले ल्याउने र नगरसभाले पास गर्ने भएकाले बजेट आउने प्रवक्ता मानन्धर बताउँछन् । ‘अब काम गरिन्छ होला नि ! समय बाँकी नै छ’, मानन्धरले भने, ‘बजेट ल्याउने उपमेयरले हो, आह्वान गर्ने मेयरले हो, हामी त नगरसभामा ताली बजाउने त हो । हेरौं अब के गर्छन् ।’

महानगरको बजेट आउन अझै एक महिना बाँकी रहेकाले बजेट आउने सम्भावना रहेको प्रवक्ता मानन्धर बताउँछन् । ‘फास्ट ट्र्याकमा काम गर्ने भन्ने प्रमुखज्यूको विचार पनि होला । असार नाघिसकेको अवस्था त छैन । अझ समय छ ।’

प्रकाशित मिति : २६ जेठ २०८२, सोमबार  ७ : ४८ बजे

मनसुनको एक महिना : ३१ जनाको मृत्यु, ११२ घाइते

काठमाडौं– गत जेठ १५ देखि यही असार १६ गतेसम्म ६७४

बाबुरामको टिप्पणी- कुलिङ पिरियडमा भएको बदमासी निकृष्ट र लाजमर्दो

काठमाडौं- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम

सिरहामा पर्याप्त वर्षा नहुँदा रोपाइँ प्रभावित

सिरहा– असार महिनाको मध्यभागसम्म आइपुग्दा पनि सिरहाका धेरै खेत सुक्खै

कर्णाली प्रदेशका उत्कृष्ट ३० जना शिक्षक सम्मानित

सुर्खेत– कर्णालीका १० जिल्लाका ३० जना शिक्षकलाई सम्मान गरिएको छ

ङुइला नाका तीन महिनाका लागि खुल्ला

गोरखा– तिब्बती क्षेत्र आवतजावत गर्ने उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–७ छेकम्पारको