एमालेमा केपी र विद्याको ‘म्याच फिक्सिङ’ | Khabarhub Khabarhub

एमालेमा केपी र विद्याको ‘म्याच फिक्सिङ’

‘बम पड्किने’ आश नगरे हुन्छ : ओली


२५ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : 7 मिनेट


3.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेभित्र नेतृत्व परिवर्तन हुनै लागेको र अध्यक्ष केपी शर्मा ओलीको ठाउँ पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ओगट्न लागेको ‘भाष्य’ बजारमा धुमधामका साथ बिक्री भइरहेको छ । मिडियाकर्मी मात्रै होइन, स्वयं एमाले कार्यकर्तासमेत काठमाडौंमा निर्मित ‘भाष्य’बाट प्रभावित हुन थालेको पाइन्छ । तर, अन्तर्यमा हेर्दा अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारीको भित्री खेल भने अर्कै देखिन्छ ।

नेकपा एमाले आगामी वर्षको मंसिरमा महाधिवेशन गर्नुपर्ने वैधानिक सीमाभित्र रहेको छ । उक्त महाधिवेशनपछि वर्तमान अध्यक्ष ओलीको विकल्पमा विद्यादेवी भण्डारी अध्यक्ष निर्वाचित भइन् भने पार्टीको राजनीतिक कार्यदिशामा के–कस्तो परिवर्तन आउला ? एमालेको राजनीतिक–वैचारिक लाइन र संगठनात्मक सिद्धान्तमा ओलीको भन्दा विद्याले कुनै फरक धार अगाडि बढाउलिन् ? अथवा, ओलीको ठाउँ विद्याले लिँदा नयाँ बोतलमा पुरानै रक्सी हालेजस्तो मात्रै पो होला कि ? यी प्रश्नहरुको विचारधारात्मक जवाफ नखोज्दासम्म ‘ओलीको विकल्पमा विद्या’ भन्ने ‘भाष्य’ केवल भ्रम मात्रै ठहरिने पक्कापक्की छ ।

नेकपा एमालेमा चल्दै आएको राजनीतिक/वैचारिक संघर्षको इतिहास सिलसिला हेर्दा आगामी महाधिवेशनमा ‘ओली–विद्या नेतृत्व हस्तान्तरण’सम्बन्धी बहसको मूलतः तीनवटा परिणाम आउन सक्ने देखिन्छ –

एक– पार्टी नेतृत्वमा विद्या भण्डारीको आगमन एमालेभित्र चल्दै आएको ‘विद्या–ओली संयुक्त गुट’ कै निरन्तरता हुनेछ । यसका लागि ओलीले सहमतिमै विद्यालाई अध्यक्ष छाडिदिनेछन् । अथवा, भण्डारीले आगामी महाधिवेशनपछि पनि ओलीकै नेतृत्वलाई स्वीकार्ने छिन् । अथवा, ओलीको सहमतिबाटै अध्यक्ष पदमा आउने छिन् । अन्ततः ओली या विद्या जोसुकै नेतृत्वमा आए पनि त्यो, ‘भारुण्ड चरो’ जस्तै हुनेछ । पार्टीको विचार, राजनीति, संगठन र व्यवहारमा कुनै तात्विक भिन्नता वा सुधार आउने छैन ।

दुई– विद्यादेवी भण्डारीको असहमतिका बीच महाधिवेशनमा प्रतिस्पर्धै गरेर ओली अध्यक्ष बन्नुपर्ने परिस्थिति आइलाग्यो भने एमालेभित्र ओली–विद्याका ‘असैद्धान्तिक गुट’हरु वा कलह जन्मने छ । त्यस्तै, ओलीको अरुचीकै बीचबाट विद्या पार्टी अध्यक्ष बनिन् भने पनि उही ‘असैद्धान्तिक झगडा’ को जन्म हुनेछ । यो आन्तरिक कलहले एमालेको नेतृत्व अहिलेको भन्दा थप कमजोर बन्ने छ । दुई नेताबीचको ‘मतभेद’ कुनै सिद्धान्तको जगमा नभई आपसमा कुटाकुट गर्ने दुई पक्षका कार्यकर्ताका ‘सरदार’ का रुपमा मात्र हुनेछ ।

तीन– हिजोसम्म ओलीको साथमा रहेर हाल विद्या भण्डारीतर्फ ढल्किएका एमालेका कयौं नेता–कार्यकर्ताहरुले भण्डारी अध्यक्ष बनेपछि फरक तरिकाले एमाले अघि बढ्ने अपेक्षा गरेको पाइन्छ । खासगरी, कांग्रेससँग गठबन्धन नहुने, चीनसँगको सम्बन्ध भरपर्दो बन्ने अनि माओवादी र एकीकृत समाजवादीजस्ता वाम दलसँग सहकार्यको ढोका खुल्ने कतिपय एमाले नेता–कार्यकर्ताको आश छ । तर, विद्या भण्डारीसँग जे–जस्ता नेताहरुको टिम छ, तिनीले माओवादीलाई एमालेसँग मिल्न दिने छैनन् । बरु, ओलीले भन्दा पनि अप्रगतिशील र पश्चगामी बाटोमा एमालेलाई धकेल्ने जोखिम बढ्ने देखिन्छ ।

यहाँ चर्चा गरिएका ‘तीन सम्भावना’ मध्ये एमालेमा पहिलो सम्भावना नै बढी देखिन्छ । फलतः एमालेको आगामी महाधिवेशनपछि पनि या त केपी ओलीकै नेतृत्वले निरन्तरता पाउने छ, या ओलीकै अनुमतिमा विद्या भण्डारी ‘डिफ्याक्टो अध्यक्ष’ बन्नेछिन् र ओलीको अलोकप्रियताको ‘फेस सेभिङ’ को प्रयास गर्नेछिन् ।

निष्कर्षमा– ओलीको विकल्प चाहने एमालेजनका लागि विद्याको त्यस्तो आगमन अहिलेको भन्दा ‘झूर विकल्प’ ठहरिने छ । तर, फेरि पनि भनौं– एमालेमा पहिलो नम्बरको सम्भावना नै बढी देखिन्छ ।

किनभने–

केपी ओली, विद्या भण्डारी, ईश्वर पोखरेल, शंकर पोखरेल सबैजना मदन भण्डारीको ‘जबज’का प्रवक्ता वा भक्त हुन् । मधेस मामिला, संघीयता, पहिचान, माओवादी जनयुद्ध आदि विषयलाई हेर्ने दृष्टिकोण यी सबै नेताको एउटै छ । ‘जबज’को कुरा गरे पनि पार्टीमा भिन्न मतप्रति यी सबै नेताहरु समानरुपमा असहिष्णु मानिन्छन् । भिन्न विचारप्रति यी सबै नेताहरु उदार हैन, कठोर छन् । विपक्षीप्रति सबैको व्यवहार रुखो र असहिष्णु प्रकारको छ । समग्रमा भन्नुपर्दा ओली र विद्या दुबै समूहका नेताहरुको विचार र व्यवहारमा कुनै भिन्नता छैन । त्यसर्थ, केपी ओली र विद्या भण्डारीमा वैचारिक भिन्नता देख्नु नै वस्तुसंगत दृष्टिकोण होइन ।

गत असार १४ गते मदन भण्डारीको ७४ औं जन्म जयन्तीमा एमाले अध्यक्ष ओलीले सम्भवतः ठीकै भनेका हुन् । एमालेमा कुनै ‘तहल्का’ नहुने ओलीको भनाइ थियो । विद्या–केपी एउटै मञ्चमा उपस्थित उक्त कार्यक्रममा प्रधानमन्त्री ओलीले ‘विद्या भर्सेस ओली’ का भाष्यकार (अनलाइन मिडिया ?) माथि प्रहार गर्दै यसो भनेका थिए–

‘मदन भण्डारीको ७४ औं जन्मजयन्ती, यसलाई उनीहरुले विभिन्न आश गरेका छन्, अपेक्षा गरेका छन् । यहाँ मैले एकदम बम पड्काउँछु, विद्या भण्डारीजीले बम पड्काउनुहुन्छ, डाङडाङ डुङडुङ ! यहीँबाट एमाले ध्वस्त हुन शुरु गर्छ… यो सपना देखेर बसेका छन् । कुनै बम, बन्दुक, बारुद, गोला केही पड्किनेवाला छैन । आश नगरे हुन्छ । नेकपा एमाले एक छ । एक रहन्छ । एकजुट भएर अगाडि बढ्छ । आश पनि, कस्ता–कस्ता आश गरेको ! आश गरेर बसेका छन् । एस्सो अनलाइनतिर पसेर हेर्नुभने तपाईहरु छक्क पर्नुहुन्छ ।’

मैले पार्टी सदस्यता नवीकरण गरेकी छु : विद्या

मदन भण्डारीको ७४ औं जन्मजयन्तीका अवसरमा विद्या भण्डारीले सगर्व एमालेको पार्टी सदस्यता नवीकरण गरेको घोषणा गरिन् । विद्याले उक्त कार्यक्रममा गरेको भाषणको अंश यस्तो थियो–

विभिन्न विज्ञहरुसँग छलफल गरेकी छु, त्यसका आधारमा निस्केको निष्कर्ष भनेको सामाजिक न्याय र समानतामा आधारित समाजवाद निर्माण गरेर जनतालाई सुखी र राष्ट्रलाई समृद्ध बनाउनुपर्ने दायित्व अझै पूरा भएको छैन भन्ने नै हो ।

देशभक्त, राष्ट्रवादी र प्रगतिशील पार्टी भएकाले नै म विद्यालयमा हुँदादेखि नै पहिलेको माले र अहिलेको एमालेमा आवद्ध भएर सामाजिक राजनीतिक रुपान्तरण अभियानमा आवद्ध भएकै हुँ ।

वास्तवमा त्यसबेलै पार्टीमा आवद्ध भएर जीवनभर जनता र राष्ट्रको सेवा गर्ने अठोट गरिसकेकै मैले थिएँ । फरक ढंगको राजनीतिक जिम्मेवारीबाट मुक्त भएपछि नेकपा एमालेमै रहेर पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ मैले पार्टी सदस्यता नवीकरण गरेकी छु । अब म नेकपा एमाले परिवारको एक सदस्यको रुपमा पुनः जोडिएको छु र यसमा म गर्व गर्दछु । मेरो कुनै विशिष्ट आकांक्षा छैन । देश र जनताको हित नै मेरो ध्येय र लक्ष हो ।

मलाई राजनीतिक उतार–चढावले धेरै कुरा सिकाएका छन्, बुझाएका छन् र थप पसिरपक्वसमेत बनाएका छन् । मलाईजस्तै विगतले अरुलाई पनि महत्वपूर्ण शिक्षा र अनुभव दिएको छ भन्ने मलाई लाग्दछ ।

जननेता मदन भण्डारीद्वारा प्रतिपादित ‘नेपाली क्रान्तिको मौलिक सिद्धान्त जनताको बहुदलीय जनवाद’ को मार्गदर्शनमा सामाजिक–आर्थिक रुपान्तरण गर्ने दायित्व बाँकी नै रहेको छ । यस्तो महत्वपूर्ण दायित्व पूरा गर्नका लागि नेपाली कम्युनिष्ट आन्दोलनको मूल प्रवाहको रुपमा विकसित नेकपा एमाले सक्षम हुने छ र निर्णायक राष्ट्रिय शक्ति निर्माण गरी यसलाई अक्षुण राख्दै नेपाललाई विश्व सामु एक समुन्नत राष्ट्रका रुपमा चिनाउन एमालेलाई सफलता मिल्ने छ भन्ने दृढ विश्वास समेत मैले लिएको छु ।’

भण्डारीमा व्याप्त भ्रम

विद्या भण्डारीले राष्ट्रपतिका रुपमा खेलेको विवादास्पद राजनीतिक भूमिका, ओली सरकारले संसद विघटन गरेका बेला उनले दिएको साथ र अन्य दलको विरोधमा देखाएको पूर्वाग्रही व्यवहार, नागरिकता विधेयकमा लिएको अनुचित अडान अनि राष्ट्राध्यक्ष भइसकेर पनि एमालेको कार्यकर्ता भन्दा माथि नउठेको मानसिकता हेर्दा विद्या भण्डारी अनेकन प्रश्नका घेराभित्र छिन् ।

अझ, अब एमालेको सदस्यता नै नवीकरण गरिसकेपछि उनी प्रश्नको सामना गर्नुपर्ने ठाउँमा औपचारिक रुपमै ओर्लिएकी छिन् ।

पूर्वराष्ट्रपति डा. रामवरण यादव नेपाली कांग्रेसमा नफर्किई राजनीतिबाट निरपेक्ष रहेका छन् । तर, विद्या भण्डारी अब दलीय राजनीतिमा उत्रिइसकेकी छिन् । तथापि उनी अझैसम्म ‘म पूर्वराष्ट्रपति नै हुँ र मलाई सबैले मान्छन् भन्ने भ्रममा छिन् ।’

विद्या भण्डारीमा केही भ्रमहरु देखिन्छन् । राष्ट्रपति भइसकेपछि उनले आफूलाई सर्वमान्य नेता हुँ भन्ने सम्झेकी छिन् । आफू निकै ठूलो मान्छे र भविष्य द्रष्टा हुँ, पार्टीलाई, देशलाई दिशा दिन सक्नु भन्ने भ्रम उनमा देखिन्छ । कहिले चीनले पनि बोलाइहाल्छ, भीआइपीहरुले हात जोडेर नमस्कार गर्छन् । यति हुँदा त म ओलीभन्दा पनि ठूली भइसकें भन्ने दम्भ उनमा देखिन्छ । यसबाहेक विद्यासँग देश बनाउने एजेण्डा के छ ?

विद्याले समातेको ‘जबज’को लाइनको सन्दर्भ पुरानो भइसकेको छ । तर, ‘श्रीमानको सिद्धान्त’ भएकाले उनले यसमा आस्था राखिरहेको हो या उनीसँग यसबारे कुनै स्पष्ट विचार पनि छ ? यो प्रश्न विचार भन्दा पनि भावना र आवेगसँग जोडिएको छ । राजनीति आवेगले चल्दैन ।

मानिलिऊँ, कार्यनीति र समसामयिक राजनीतिको कुरा गर्दा पाथीभरामा भइरहेको सरकारी दमनबारे ओली र विद्याबीचको वैचारिक अन्तर के छ ? संघीयता र पहिचानबारे ओली र विद्याको विचारमा के फरक छ ? माओवादीसँको पार्टी एकताबारे विद्याको लाइन के हो ? विगतको संसद विघटनलाई कसरी हेर्ने ? कांग्रेससँग अहिले भइरहेको गठबन्धनबारे विद्या किन मौन छिन् ?

यी कुनै पनि प्रश्नको जवाफ विद्या भण्डारीसँग छैन । उनको गुटमा लागेका एमाले नेताहरुसँग पनि यसको जवाफ छैन । वास्तवमा विद्या भण्डारी ‘भाग्यमानी’ तर विचारविहीन एवं रित्तो मान्छेको नाम हो । उनीभित्र केही छ भने त्यो ‘भ्रम’ मात्रै छ । रित्तोपन छ ।

भण्डारीले सार्वजनिकरुपमा भनेकी छिन्, ‘मलाई राजनीतिक उतार–चढावले धेरै कुरा सिकाएका छन्, बुझाएका छन् र थप पसिरपक्वसमेत बनाएका छन् ।’

यदि उनी ‘परिपक्व’ बनेको भए राष्ट्राध्यक्ष भइसकेको व्यक्ति दलको चौवन्नी सदस्य किन बनेकी होलिन् ? यसैबाट स्पष्ट हुन्छ उनमा अपरिपक्वता बाँकी नै छ ।

केपी–विद्या : तुलना नै बेकार

केपी ओली र विद्या भण्डारीको वैचारिकीको तुलना गर्ने हो भने संसद विघटनदेखि लिएर नेकपाको विभाजनमा सम्म दुबैको भूमिकामा केही फरक देखिँदैन । नागरिकता विधेयकको सन्दर्भमा त झनै ओलीभन्दा विद्याको भूमिका पश्चगामी एवं संकीर्ण देखियो ।

राष्ट्राध्यक्ष भइसकेको व्यक्तिमा पार्टी सदस्यता नवीकरण गर्ने जुन चाहना देखियो, यसले ‘राजनेता’ वा ‘स्टेटम्यानसिप’को सन्देश विल्कुलै दिएको देखिँदैन ।

भण्डारी र ओलीबीच तुलनै गर्ने हो भने केपी ओली कयौं गुणा अब्बल नेता हुन् । पार्टीलाई दिएको योगदान, संकटको सामना गर्ने क्षमता, वौद्धिकता अनि पार्टी हाँक्न सक्ने सामर्थय सबै कुरामा विद्या भण्डारी र केपी ओलीबीच तुलना हुन सक्दैन ।

यो स्थितिमा ओलीको विकल्पमा विद्यालाई कसैले उभ्याउने सोचेको छ भने त्यो वस्तुसम्मत विकल्प हुने देखिँदैन । ओली आफैंले विद्यालाई अध्यक्षको कुर्सीमा राखेर आफूले पार्टी चलाउन चाहे भनेमात्र त्यो सम्भव होला । अन्यथा– विद्या आफैं ‘फस्ट म्यान’ भएर पार्टी चल्ने देखिँदैन, वैचारिक रुपमा पनि र संगठनात्मक रुपमा पनि ।

तर, आगामी महाधिवेशनबाट केपी ओलीकै चाहना अनुसार विद्या भण्डारी नेकपा एमालेको अध्यक्ष बनिन् भने के होला ? त्यसो भयो भने त्यो दुई नेताबीचको ‘म्याच फिक्सिङ’ हुने छ ।

अहिले एमालेभित्र ओली पक्ष र विद्या पक्ष भनेर जसरी दोस्रो पुस्ताका नेताहरुमा ध्रुवीकरण भइरहेको छ, भोलि केपी–विद्या आपसमा मिलिदिए भने त्यो ‘म्याच फिक्सिङ’ नभए अर्थोक के होला ?

एमालेको सदस्यता नवीकरण गरेको घोषणा गर्नुअघि केही साता पहिले भण्डारीले बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग किन लामो खुसामत गरिन् ? के त्यो ‘म्याच फिक्सिङ’को पूर्वअभ्यास होइन ?

स्मरण रहोस्– एमालेको इतिहासमा केपी–विद्या गुट सधैं एकै स्थानमा रहँदै आएको छ, चाहे त्यो माधव नेपालविरुद्ध गुटबन्दी गर्दा होस्, चाहे झलनाथ खनालविरुद्ध लड्दा होस् । अथवा, नेकपा विभाजनका बेलामा नै किन नहोस् ।

शायद माओवादी अध्यक्ष प्रचण्डले मंगलबार अनलाइनखबरलाई दिएको अन्तरवार्तामा ठीकै निष्कर्ष निकालेका हुन्–

‘मैले केपी ओली र विद्याजीमा कुनै तात्विक भिन्नता देखेको छैन । उहाँहरू बीच विचार, एजेन्डा, संस्कार, प्रवृत्तिमा भिन्नता छ भन्ने मलाई लाग्दैन । कोही कोहीले भन्छन् विद्याजी आएपछि त पार्टी एकता भइहाल्छ, त्यो चाहिँ होइन । केपीजी भन्नु र विद्याजी भन्नु एउटै हो । उहाँ राष्ट्रपति हुँदा केपीजी प्रधानमन्त्री हुँदा दुई–दुई चोटि संसद् विघटन भयो । गलत तरिकाले नै भएको थियो । पछि त अदालतले पनि भन्यो । सडकमा जनताले पनि भने । हामीले पनि भन्यौं । तर, राष्ट्रपतिले त्यसैलाई ठप्पा लगाएको लगाएकै गर्नुभएको राष्ट्रपति उहाँ (विद्या) नै हो नि !’

अनि, प्रधानमन्त्री ओलीले पनि असार १४ गते ठीकै भनेका हुन्–

‘…उनीहरुले विभिन्न आश गरेका छन् । मैले एकदम बम पड्काउँछु, विद्या भण्डारीजीले बम पड्काउनुहुन्छ, डाङडाङ डुङडुङ ! यहीँबाट एमाले ध्वस्त हुन शुरु गर्छ… यो सपना देखेर बसेका छन् ।… कुनै बम, बन्दुक, बारुद, गोला केही पड्किनेवाला छैन । आश नगरे हुन्छ ।’

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  ४ : १० बजे

विद्यालयलाई आर्थिक सहयोग

तनहुँ– नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले तनहुँको एक विद्यालयलाई सहयोग गरेको

सिरहाका विपन्न परिवारलाई ग्यास चुलो वितरण

सिरहा– सिरहाको बरियारपट्टि गाउँपालिका–३ दलित बस्तीका विपन्नलाई ग्यास सिलिण्डरसहितको चुलो

वडा कार्यालयमा आगलागी, आठ लाख बराबरको क्षति

तनहुँ– तनहुँको शुक्लागण्डकी नगरपालिका– ११ को वडा कार्यालयमा बुधबार विद्युत्

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौं– नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बिहीबार बस्दैछ । बैठक

सरकार उपभोक्ताको कि चिकित्सकको ?

काठमाडौँ – विश्व उपभोक्ता दिवसको अवसर पारेर नेपालमा वि.सं. ०८१