आइएसओ प्रमाणित विशेष अदालत ! एकचोटि हेरौं | Khabarhub Khabarhub

आइएसओ प्रमाणित विशेष अदालत ! एकचोटि हेरौं

सरकारी काम, सुन्दर, द्रुत र आरामदायक !


२५ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : 6 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आदरणीय दर्शकवृन्द ! ‘सरकारी कार्यालय’ भन्नासाथ तपाईको दिमागमा कस्तो चित्र आउँछ ? पुरानो भवन, असरल्ल कागजपत्र, फोहोर एवं धुलो अनि ढिलासुस्ती गर्ने अल्छी कर्मचारीहरु ? शायद यही भएर होला, सरकारी कार्यालयमा कुनै काम लिएर जानुपर्‍यो भने तपाईको जिउमा काँडा उम्रन्छ !

काठमाडौंको बबरमहलमा पुरानै भवनमा रहेको भए तापनि तपाई विशेष अदालत जानुभयो भने त्यो कुनै प्राइभेट कर्पोरेट अफिसभन्दा कम देखिने छैन ।

बाटैदेखि फूलका गमला । चिटिक्कको आँगन, प्रतीक्षालयमै बसेर टीभीमा इजलासको बहस सुन्ने सुविधा, मोबाइल चार्च गर्ने सुविधा, सफा चमेनागृह, सेवाग्राहीका सामानहरु राख्ने लकर, अनि मीठो बोलीले स्वागत गर्ने कर्मचारीहरु ।

यही सौन्दर्यीकरण र चाँडो हुने प्रशासनिक काम र डिजिटलाइजेसनका कारण विशेष अदालतले अन्तरराष्ट्रिय मापदण्ड, आइएसओ सर्टिफिकेटसमेत पाएको छ ।

अदालतले न्याय दिन ढिलो गर्छ र मुद्दाहरु वर्षौंदेखि थाती रहन्छन् भन्ने मान्यतालाई पनि यस अदालतले तोडिदिएको छ । कर्मचारीहरुले अलिकति मात्रै सुधार गर्ने हो भने सरकारी कार्यालयमा क्रान्ति सम्भव रहेछ भन्ने तथ्य विशेष अदालतका न्यायाधीश र कर्मचारीहरुले देखाइदिएका छन् ।

आखिर विशेष अदालतले कसरी आइएसओ प्रमाणपत्र प्राप्त गर्‍यो ? यसबारे बुधबार अदालतमा आयोजित पत्रकार सम्मेलनमा यस अदालतको नेतृत्व गरिरहेका न्यायधीश एवं अध्यक्ष टेकनारायण कुँवरको भनाइ उनकै शब्दमा पढौं–

हाम्रो कोशिस सार्थक भएको छ, जोखिम पनि बढेको छ

टेकनारायण कुँवर, अध्यक्ष, विशेष अदालत, बबरमहल

हामीले नेपाल नापतौल तथा गुणस्तर विभागबाट यो अवार्ड प्राप्त गरेका छौं । विशेष अदालतले कोशिस गरेको थियो, त्यो आज सार्थक भएको छ र आज यो सर्टिफिकेट सार्वजनिक गर्न पाउँदा हामीलाई खुशी लागेको छ । यसमा हाम्रा स्टेक होल्डरहरु, नेपाल बार, सरकारी वकिल, विद्वान अधिवक्ता र मिडियाकर्मीहरुप्रति हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु ।

यो मेरो १२ वर्ष अगाडिदेखिको सपना हो । जब म मकवानपुरको जिल्ला अदालतमा काम गर्थें, त्यतिबेला केही इनोभेटिभ कामहरु गरौं भनेर हामीले लाग्दाखेरि यत्तिको अदालतलाई त आइएसओ सर्टिफिकेटका लागि प्रयास गर्न हुन्छ नि भनेर तत्कालीन पुनरावेदन अदालतका श्रीमानहरुले प्रोत्याहित गर्नुभयो । त्यो कसरी गर्ने होला भनेर खोजीमै बितेको थियो ।

काम गर्ने दौरानमा हाम्रो टिम विशेष अदालतमा आइपुग्यो । हामी ०८० मंसिर १८ गते हामी यहाँ आयौं । सुरुमै हामीले आइएसओ सर्टिफिकेट पाउने ढंगले काम गर्नुपर्छ भनेर शुरुमै प्रतिवद्धता, लक्ष, उद्देश्य, भिजन र मिसन लेखेर फरवार्ड गर्‍यौं ।
हामी विशेष अदालतमा आउँदा १९९ थान मुद्दाहरु थिए । पाँच वर्ष नाघेका दुई थान थिए भने बाँकी मुद्दाहरु दुई वर्षदेखि पाँच वर्षसम्म नाघेका थिए । यसलाई शून्यमा झार्ने काम गर्‍यौं ।

विशेष अदालत ऐन २०५९ को दफा १६ ले ६ महिनाभित्र पाँच किसिमका मुद्दाहरुको कारवाही किनारा गर्नुपर्ने हामीलाई निर्देशित गरेको छ । यो लक्षका साथ अगाडि बढ्दा हामीले गएको आर्थिक वर्षमा ६ महिनाभित्रका मुद्दाहरु शून्य गराउन सफल भयौं ।

बरु विभिन्न कारणहरुले गर्दा यस वर्ष दुई–चार थान मुद्दाहरु यसपालि रहलान् जस्तो छ । तर, यो धेरै ठूलो कुरा होइन, किनभने लिगल प्रोसेस हो । इन्फोर्समेन्ट अफ अर्डरअनुसार सिंगापुर, इण्डिया लगायत विदेशमा पनि सम्पर्क गर्नुपर्ने भएकाले ६ महिना नाघेका ७–८ थान मुद्दाहरु हामीकहाँ रहेका छन् । तिनलाई पनि हामी एक हप्तामा कतिपय टुंग्याउन सक्छौं ।

खासगरी विशेष अदालत नेपालको संविधान, प्रचलित कानून र अन्तरराष्ट्रिय सर्वोत्तम न्यायिक अभ्यासहरुको पालना गर्दै निश्पक्ष र प्रभावकारी ढंगले पारदर्शी न्याय प्रदान गर्न प्रतिवद्ध छ । हामी न्यायिक जनशक्ति र प्रशासनिक जनशक्ति यो प्रक्रियामा उच्चतम इमान्दारिता र सार्वजनिक विश्वास कायम राश्ख्न प्रतिवद्ध छौं ।

आज हामीले जुन सर्टिफिकेसन प्राप्त गर्‍यौं, यसले हामीलाई अझ जिम्मेवार बनाउनलाई मद्दत गर्नेछ । किनभने आउने दिनहरुमा हामीलाई यसबाट खस्कने छुट नहोला भन्ने मलाई लागेको छ । त्यसो हुनाले यो अलिकति जोखिमपूर्ण पनि छ । हरेक वर्ष हुने अडिटले जुन मापदण्ड निर्धारण गर्छ, त्यसअनुसार हामी अगाडि बढ्ने छौं ।

हामीले तीन वर्षको सर्टिफिकेसन लिएका छौं र नापतौल विभागबाट यसको मनिटरिङ हुनेछ । नापतौल गुणस्तर विभागले एकदमै तीव्ररुपमा अडिट गरेर यसलाई अगाडि बढाइदियो । उहाँहरुलाई पनि म विशेष धन्यवाद दिन चाहन्छु ।

खासगरी विशेष अदालतले यो अन्तरराष्ट्रिय मापदण्ड आइएसओ, जेनेभास्थित नेपालसमेत १७४ राष्ट्र सदस्य रहेको संस्थाले निर्धारण गरेका मापदण्डभित्र परेको प्रमाणीकरण आज हामीले प्राप्त गरेका छौं । यसले न्यायिक प्रणालीको जवाफदेहिता र दिगोपनलाई थप बलियो बनाउन मद्दत गर्नेछ ।

सम्भवतः हाम्रो नेपालमा हाम्रो तहको अदालतले लिएको यो पहिलो दस्तावेज हो । यसबाट हरेक वर्षको अडिटको हामीले सामना गर्नुपर्ने छ ।

विशेष अदालत अहिले डिजिटल आधुनिकीकरणको दिशामा अगाडि बढिराखेको छ । हामीले आगामी आर्थिक वर्षदेखि सबै मुद्दाहरु स्क्यानिङ गरेर राखेका छौं । यसमा हामीले युएनडीपीसँग सहकार्य गरेका छौं र ती डिभाइसहरु बेञ्चमा प्रदान भइसकेपछि हामीले अहिले मिसिलका भारीहरु पल्लोघरबाट वल्लोघर बोक्नुपर्ने छैन । एउटा बटन दबाएर मिसिलहरु पढ्न सक्ने भन्ने स्थितिमा पुगेका छौं ।

त्यस्तै, हामीले भर्चुअल सुनुवाईलाई ७७ जिल्लामा र विदेशमा पनि विस्तार गरेका छौं । जनकपुरबाट एकजना अधिवक्ता गत साल बहस गर्न आउनुभएको थियो । वहाँ मुद्दा स्थगित गरेर यहाँ आइपुगें, यहाँ आउँदाखेरि स्थगित भयो, बर्बाद भयो भन्नुभयो । तर, हामीहाँ छ भर्चुअल सुनुवाईको प्रणाली छ नि भनेपछि पछि उहीँबाट बहस गर्नुभयो र त्यसको निकास निस्कियो ।

अहिले देशैभरि वयान र बकपत्र मात्र होइन, र थुनछेक पनि हामीले तत् तत् जिल्ला अदालतमा उपस्थित भएर थुनछेकको वयान भर्चुअल्ली लिएर पछि प्रमाणीकरण गर्ने प्रक्रिया अपनाउँदै आएका छौं । जसरी बकपत्र गर्दै आएका थियौं, थुनछेक पनि त्यो ढंगले गर्न थालेका छौं र भएको आदेश त्यही अदालतमार्फत् कार्यान्यवन गर्छौं । एउटा सुर्खेतबाट र एउटा झापाबाट हामीले त्यो अभ्यास गरेको अनुभव छ ।

अब मुगुदेखि, हुम्दादेखि १५–२२ दिन लगाएर काठमाडौं आउनुपर्ने खर्च र दुःख कहालिलाग्दो छ । तर, अब आफ्नै जिल्लाको अदालतमा गएर वयान गर्ने प्रणाली पनि स्थापित भएको छ भन्ने सूचना जनसमक्ष पुग्न जरुरी छ । साक्षी बकपत्र पनि उतैबाट गर्न सकिन्छ । अदालतले प्रदान गर्ने यी सुविधाहरु आज आइएसओबाट सर्टिफाइड भएका छन् । यसबाट न्यायमा पहुँच वृद्धि हुन्छ भन्ने हामीलाई लागेको छ ।

पत्रकार सम्मलेनमा वितरीत तथ्यांक

अदालतका केही तस्बिरहरु-


प्रकाशित मिति : २५ असार २०८२, बुधबार  ८ : ४० बजे

टिचिङमा इर्मजेन्सी १५ शैय्या र आधुनिक एमआरआईको उद्‌घाटन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले त्रिवि शिक्षण अस्पतालमा

प्रधानमन्त्रीद्वारा भूमिहीन दलित एवं सुकुमबासीलाई जग्गाधनी पुर्जा वितरण

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले कनकाई नगरपालिकाका भूमिहीन दलित, सुकुमबासी

भारत केरलाकी नर्सलाई यमनमा मृत्युदण्डको सजाय : ‘ब्लडमनी’ अन्तिम विकल्प

काठमाडौं– यमनमा भारतीय नर्स निमिषा प्रियाको मृत्युदण्डको मिति आउन केही

मधेसमा बजेट विवाद समाधान गर्न १४ सदस्यीय कार्यदल गठन

जनकपुरधाम– मधेस प्रदेशमा बजेट सम्बन्धमा देखिएको अवरोध हटाउन ६ सदस्यीय

वैदेशिक रोजगारीमा ठगी, दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अल्बानिया पठाइदिन्छु भन्दै